ललितकला प्रतिष्ठानको प्राज्ञसभा सम्पन्न


काठमाडौं ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १७ औँ प्राज्ञसभा सम्पन्न भएको छ। सभाको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सिर्जनशीलता र परिणाममा जोड दिनु पर्ने बताए।

‘वर्तमान अवस्थामा न्यूनतम स्रोत र साधनबीच पनि कसरी सिर्जनशील र धेरै परिणाम निकाल्ने काम गर्नुपर्छ भन्नेमा हामीले सोच्नुपर्छ’, सभामा मन्त्री पाण्डेले भने ‘नेपाली कला एवं सिपलाई नवपुस्तामा हस्तान्तरण गर्दै समयानुरूप विश्वमञ्चमा अघि बढाउनुपर्छ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभामार्फत विस्तृत रूपमा आन्तरिक तथा आगामी रणनीतिक विषयमा छलफल हुने बताए। ‘युगको गतिशीलताअनुसार प्रतिष्ठानले काम गर्नुपर्नेछ। त्यसकारण हामी मनोगत र वस्तुगत तयारी गरी अघि बढ्नेछौँ’ उनले भने। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले प्राज्ञसभाले आगामी दिनका लागि राम्रो निचोड निकाल्ने विश्वास व्यक्त गरिन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठान स्थापनाकालदेखि हालसम्मको अवस्थामा निरन्तर परिपक्व हुँदै गएको दाबी गरे। सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानले ललितकला क्षेत्रको पुनर्जागरणका लागि ललितकलालाई स्थानीय तहदेखि नै सक्रिय पार्न आवश्यक रहेको चर्चा गरे।