–पुस ७ गतेभित्र डीन र क्याम्पस प्रमुखको नियुक्ति गर्न निर्देशन
–एजेन्डा लिन नसकेकोमा उपकुलपतिको माफी
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको हिजो शुक्रवारको त्रिविसभा (सिनेट) बैठक स्थगित भएको छ। बैठकमा प्रस्तुत भएको एजेन्डा भद्रगोल रूपमा अघि बढाएपछि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गते बस्ने गरी स्थगित गर्नुभएको हो। उहाँले पुस ७ गतेभित्र डीन र क्याम्पस प्रमुखको नियुक्ति गर्न निर्देशन दिनुभएको छ।
बैठकमा कर्मचारी र शिक्षकको विषय उठान गरी प्रस्तुत गरेको एजेन्डामा विवाद भएपछि बैठक स्थगित भएको हो । कुलपति ओलीले भन्नुभयो– ‘अहिलेसम्म त्रिविको सिनेटको बैठक यस्तो देखिनँ, अब समस्या समाधान हुने गरी ७ गते बैठक बस्ने छौं ।’ उहाँले बैठकमा १५ दिनअगावै एजेन्डा नदिएकोमा दुःख व्यक्त गर्नुभयो ।
बैठकमा बोल्दै कुलपति प्राडा केशरजंग बरालले त्रिविसभा सदस्यलाई १५ दिनअघि एजेन्डा उपलब्ध गराउन नसकेकोमा माफी चाहन्छु भन्नुभयो । उहाँले अबको बैठकमा यस्तो नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठक स्थगित भएलगत्तै कर्मचारीले त्रिविका तीनैजना पदाधिकारीलाई घेराउ गरेका थिए । कर्मचारीले सल्लाह नगरी एजेन्डा अघि बढाएको आरोप लगाउँदै पदाधिकारी घेराउ गरेका हुन् ।
मंसिर १८ मा त्रिवि कर्मचारी संघसँग भएको चारबुँदे सम्झौता कार्यान्वयनको नीति बनाउन सभाबाहिर शक्ति प्रदर्शन गरेका थिए। प्रदर्शनको नेतृत्व त्रिवि कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्कीले गर्नुभएको थियो । १५ वर्ष सेवा गरेकालाई पदोन्नति गर्नुपर्ने, बिदा, स्वास्थ्य उपचारलगायत विशेष सुविधा दिनुपर्ने, नियमित बढुवा गर्नुपर्ने माग राखेर नर्सिङ र प्राविधिक कर्मचारीले समेत शक्ति प्रदर्शन गरेका थिए ।
२०६६ सालपछि नियुक्ति पाएकाले विशेष सुविधा नपाएको उहाँको भनाइ छ । ‘हामीसँग सहमति भए पनि कार्यान्वयन भएको छैन । लगत्तै शिक्षकले पनि १५ वर्षे सेवा अवधि पुगेकालाई पदोन्नति, कर्मचारी र शिक्षकको माग सम्बोधन गर्नुपर्ने चेतावनी दिँदै घेराउ गरेका हुन् । बैठकमा ११ वटा एजेन्डा प्रस्तुत गरेका थिए । बैठकमा त्रिविको शिक्षक हुन योग्यता परीक्षण परीक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गर्ने योजना अघि बढाएको छ ।
नीतिमा विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्नका लागि न्यूनतम योग्यताको पुनर्विचार गर्ने विषय उल्लेख छ । आयुर्वेद औषधि विज्ञान, लिबरत आर्टस र होटल एसोसियसनसँगको सहकार्यमा मिश्रित पद्धतिअनुसार होटल व्यवस्थापनको स्नातक तहको पाठ्यक्रम विकास गर्ने, नेपालका विशेष कार्यक्रम माउन्टेन इन्जिनियरिङ, माउन्टेन रिक्स म्यानेजमेन्ट, हाइअल्टिच्युट स्पोर्टसलगायत साहसिक खेलको पाठ्यक्रम विकास गर्ने विषय एजेन्डामा उल्लेख गरेको छ ।
बैठकले श्रम बजारको मागअनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गरिने, विश्वविद्यालयको पुनःसंरचना गर्न ऐन र नियमको संशोधन गर्ने, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावअनुसार विश्वविद्यालयको पुनःसंरचना गरिने, केन्द्रीय विभाग र विभिन्न स्कुलको रूपमा सञ्चालित निकायहरूको पुनःसंरचना गर्ने र अनुसन्धान केन्द्रलाई सम्बन्धित स्कुलमा गाभ्ने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइने योजना विश्वविद्यालयले सभामा पेस गरेको छ ।
निजी क्षेत्रमा सामुदायिक क्याम्पसमा सामुदायिक क्याम्पस र निजी क्याम्पस र निजी क्याम्पसबीच गाभिने नीति अवलम्बन गरिने उल्लेख छ । उपत्यकाबाहिर र उपत्यकाभित्रको क्याम्पस गाभिने छैन । तर, काठमाडौं उपत्यकाभित्रको क्याम्पस र उपत्यका बाहिरका क्याम्पससँग गाभिने छ । गाभिएर बनेको नयाँ क्याम्पस नयाँ क्याम्पस काठमाडांै उपत्यकाभित्र रहन सक्ने छैन ।
बैठकले विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नियुक्ति तथा पदस्थापन हुने शिक्षकहरू कम्तीमा विद्यावारिधि हुनुपर्ने व्यवस्था लागू गरिने उल्लेख छ।
अनुगमन निर्देशनालय, पाठ्यक्रम विकास केन्द्र अनुसन्धान निर्देशनालयसँग सम्बन्धित नियममा आवश्यक संशोधन गर्दै ती निकायलाई समयसापेक्ष गरिने र सामाजिक सञ्जाल, लैङ्गिक हिंसासम्बन्धी नीति पारित गर्ने उल्लेख छ ।
प्रतिक्रिया