–प्रिसिनेट भएन, दिनभर तनाव
–बैठकमै एजेन्डा दिएर सभा गर्ने तयारी
–त्रिवि कर्मचारी संघ पदाधिकारी खोज्दै सहकुलपतिकहाँ
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको गम्भीर लापरबाहीका कारण हिजो प्रि–सिनेट हुन नसके पनि सभामै एजेन्डा दिएर आज बिहीबार सिनेट बैठक गर्ने भएको छ। त्रिविका सिनेटरले १५ दिनअगावै पाउनुपर्ने एजेन्डाको विषय हिजो बुधबारसम्म पाउन सकेका छैनन्। उपकुलपति, रेक्टर र रजिस्टारको दम्भ र सिनेटरलाई पेल्दै निर्णय गर्ने सोचका कारण सिनेटको बैठकको एजेन्डा गोप्य राखिएको हो।
बुधबार प्रि–सिनेट सिनेट हुन सकेन । सिनेटरलाई एजेन्डा नदिएको विषयमा सदस्यसचिव एवं रेक्टर प्राडा खड्ग केसीसँग भेट गर्न त्रिवि कर्मचारी संघका अध्यक्ष त्रिवि सभा सदस्य एवं सिनेटर छत्रबहादुर कार्कीसहितको टोली पुगेको थियो । त्यस बेला उहाँले तपाईंहरूलाई अप्ठ्यारो नपर्ने गरी एजेन्डा राखेको बताउनुभएको थियो।
रेक्टर केसीको जवाफलगत्तै कार्कीले १५ दिनअघि दिनुपर्ने एजेन्डा किन नदिएको र आज हुनुपर्ने प्रि–सिनेट किन हुन नसकेको भनी प्रश्न गर्नुभएको थियो। सदस्यसचिवको हैसियतमा रेक्टर केसीले नियमको यादै नगरी कसैलाई समस्या नपर्ने गरी एजेन्डा राखेको उल्लेख गर्नुभएको थियो।
आज हुन लागेको सिनेटको बैठकको विषयमा प्रश्न गर्दा रेक्टर प्राडा केसीले भन्नुभयो– ‘सबैलाई १५ दिनअगावै एजेन्डा दिनु आवश्यक नभएको जवाफ दिनुभयो ।’ उहाँले भन्नुभयो– ‘कुलपति र सहकुलपतिलाई दिएका छौं, त्यति भए पुगिहाल्छ ।’ उहाँले नेपाल समाचारपत्रले नियमसहितको समाचार लेखेको विषयमा भन्नुभयो– ‘त्यसो भए रजिस्टारलाई सोध्नु ।’ मोबाइल नउठाएपछि ह्वाट्एपमा म्यासेज गर्नुभएका रेक्टर केसीले पटकपटक १५ दिनअघि एजेन्डा दिन नपर्ने जवाफ फर्काउनुभएको थियो । सिनेटको नियमकानुनको विषयमा जानकारी हुँदाहुँदै रेक्टर केसीले नियम मिचेर भए पनि सिनेटको बैठक हुने आशयको उत्तर दिनुभयो।
सिनेटको बैठकको विषयमा दिनभर अन्योल भइरहँदा सिनेटरहरूले पदाधिकारीलाई भेट्न खोजेका थिए । तर, तीन जना पदाधिकारी दिनभरजसो गायब भएका थिए । कर्मचारी संघसँग भेटघाट गरेपछि गोप्य बैठक बस्न हिँडेका तीन पदाधिकारी कसैको सम्पर्कमा छैनन् । भेट हुन नसकेपछि कर्मचारी संघका अध्यक्ष एवं सिनेटर कार्कीको टोली बुधबार राती सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई भेट गर्न सिंहदरबार पुगेका थिए।
तीन पदाधिकारीहरू सहकुलपतिसँग भेट गर्न जाने सुईंको पाएपछि सिनेटरहरू सिंहदरबार पुगेका थिए । सिनेटर एवं कर्मचारी संघका अध्यक्ष कार्कीले एजेन्डा नै नभइकन बैठक गर्नुको औचित्य नभएको बताउनुभयो । त्रिवि प्राध्यापक संघका अध्यक्ष एवं सिनेटर वसन्त ढकालले भागेर र लुकेर बैठक गर्नुको औचित्य नभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘बुधबार प्रि–सिनेट नभएपछि आजको सिनेट बैठक कसरी गर्न सकिन्छ ।’
उहाँले यस्तो विवादित अवस्थामा कुलपति आउनुको औचित्य नभएको बताउनुभयो । त्रिविले आज बिहान ११ बजे त्रिवि स्मृति भवनमा बैठक बोलाएको छ । एजेन्डामा नियम परिवर्तन गर्ने विषय उल्लेख छ । के विषयमा नियम परिवर्तन गर्ने तीन पदाधिकारीबाहेक कसैलाई जानकारी छैन ।
त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँले सिनेटअघि के त्रिविको नीतिलगायत के विषयमा निर्णय गर्ने हो भन्नेबारेमा १५ दिनअगावै एजेन्डा दिनुपर्छ। हचुवाको भरमा एजेन्डाविहीन बैठकको औचित्य रहँदैन । यस्तो बैठकले कानुनी मान्यता दिँदैन । आफ्नो कार्यकालमा मात्र नभई अधिकांश उपकुलपतिको कार्यकालमा नियमअनुसार सिनेट बैठक भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो– ‘मैले सुनेको छु आजको बैठकमा के एजेन्डा पास गर्ने हो ? कसैलाई जानकारी नदिई सबै गुमराहमा राखिएको छ।’
अर्का उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले बैठक हुनु १५ दिनअघि सबै सिनेटमा गरिने छलफलको विषयबारे सबै सिनेटरलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘विना एजेन्डा, के भनेर बैठकमा जाने ? ताली बजाउनमात्र जाने हो र ? त्यसैले नियमअनुसार सिनेटको बैठक बस्नुपर्छ।’
त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को (संशोधनसहित) २०५७ को नियम उल्लंघन गर्दै कानुनविपरीत भोलि मंसिर २७ गते त्रिविको नीति तथा कार्यक्रम र नियम संशोधन गर्न बैठक राखिएको छ। बैठकअगावै त्रिविका पदाधिकारी र त्रिविसँग आबद्ध त्रिवि सभा सदस्य (सिनेट) को बैठक राख्नुपर्ने व्यवस्था छ।
त्रिवि संगठन तथा प्रशासनसम्बन्धी नियमको परिच्छेद १७ को नियम ६६ को उपनियम ‘ख’ मा साधारण बैठक बस्ने दिनभन्दा कम्तीमा १५ दिनअगावै अध्यक्ष एवं कुलपतिको पूर्व स्वीकृत लिई बैठक बस्ने मिति, समय र स्थान निश्चित भएपछि सदस्य सचिव एवं रेक्टरले अध्यक्ष, उपाध्यक्ष र अन्य सबै सदस्यलाई छिटो छरितो सञ्चारको साधनद्वारा बैठकसम्बन्धी सूचना सभामा प्रस्तुत हुने कार्यावली र प्रस्ताव पठाउनुपर्ने व्यवस्था छ ।
त्रिविको नियम ६२ अनुसार त्रिविमा वार्षिक दिवस, साधारण र विशेष बस्नुपर्ने व्यवस्था उल्लेख छ । सोही नियमको परिच्छेद ६३ को सभाको बैठक बस्ने अवस्थामा भएको व्यवस्थाअनुसार प्रत्येक सालको पुस मसान्त र असार मसान्तभित्र गर्नुपर्ने व्यवस्था उल्लेख छ । सोही नियममा असार शुक्ल नवमीको दिन विशेष बैठक बोलाउनुपर्ने व्यवस्था उल्लेख छ । त्रिविमा ४९ जना सिनेट सदस्य रहने व्यवस्था छ । त्रिविको प्रि–सिनेटमा करिब ३४ जना रहनेछन् ।
तीन पार्टीका पदाधिकारीको तीनतिर मुख फर्किएको कारण एजेन्डाविहीन सिनेटको बैठक हुने सम्भावना रहेको सिनेटरहरूको आरोप छ । तर, तीन पदाधिकारीले आफ्नो गल्ती ढाकछोप गर्न नियमविपरीत कुलपति र सहकुलपतिलाई साक्षी राखेर बैठक गर्न खोजिरहेको आरोप लागेको छ । सायद प्रि–सिनेट नभई सिनेटको बैठक राख्न खोज्ने पहिलो पदाधिकारी हुने लहरमा तीन जना लागिरहेको आरोप सिनेटरको छ ।
उता, सिनेटमा आफ्ना विषयवस्तु समेट्नुपर्ने माग राख्नै त्रिवि स्ववियु सचिव सिद्धान्त भट्टको टोलीले हिजो बुधबारबाट उपकुलपतिको कार्यलयमा धर्ना बसेका छन् । ३५ बुँदे मागसहित धर्ना बसेको सचिव भट्टले सिनेटमा स्ववियुले राखेको माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ।
यसअघि त्रिवि सचिवालयले ११ वटा बुँदा तय गरी कार्यावली पठाएको छ । कार्यावलीको ८औं बुँदामा त्रिवि नियम संशोधन र छैटौं बुँदामा उपकुलपति प्राडा बरालले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ । पत्र पाए पनि सिनेटरले कुनै पनि प्रस्ताव पाएका छैनन्।
प्रतिक्रिया