अष्ट्रेलियाबाट पिआर बनाउँदै शोभित


काठमाडौं ।

निर्माता निर्देशक शोभित बस्नेतले सलोन सलिना फिल्म्स्को ब्यानरमा पीआर नामक फिल्म निर्माण गर्ने भएका छन्। आरएफएम फ्यासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुति रहने फिल्म शोभित बस्नेतले निर्देशन गर्नेछन्।

फिल्म शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद तथा मानस राजको संगीतमा निर्माण हुनेछ। निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिने जानकारी गराए।

‘सम्पूर्ण कलाकार र प्राविधिक अष्ट्रेलियाबाटै हुनेछन्। अंग्रे्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर सुटिङमा जानेछौं’ निर्माता निर्देशक बस्नेतले जानकारी गराए। फिल्म निर्माणको घोषणा गर्दै फिल्म निर्माण समूहले यसको फस्टलुक पनि सार्वजनिक गरेको छ।

फस्टलुकमा हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका युवालाई देखाइएको छ। जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको। महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ। पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य छ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता रहेका छन्। निर्देशक बस्नेतका अनुसार फिल्मका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ।