काठमाडौं ।
ग्लोबल पप स्टार बियोन्से २१औँ शताब्दीकै सबैभन्दा महान् पपस्टार घोषित भएकी छन्। विश्व संगीत जगतकै चर्चित म्यागजिन बिलबोर्डले बुधबार सार्वजनिक गरेको लिस्टमा बियोन्से पहिलो नम्बरमा छिन्।
बियोन्सेको यो उपलब्धिसँगै संसारभरका बियोन्सेका फ्यानमा खुशीयाली छाएको छ। बिलबोर्डले केही महिना यता महान् पपस्टारको सूची सार्वजनिक गर्दै आएको थियो। यो लिस्टको पहिलो नम्बरमा को पर्ने हो भन्ने संगीतप्रेमीको कौतुहलता मेटिएको छ।
बियोन्से गत महिना एल्बम काउब्वाय कार्टरबाट ग्रामी अवार्डको ११ विधामा मनोनित हुँदै सर्वाधिक मनोनित हुने गायिका बनेकी थिइन्। ३२ पटक ग्रामी जितेकी बियोन्से आफ्नो करिअरभरि ९९ पटक ग्रामीको मनोनयनमा परिसकेकी छन्।
‘बियोन्सेले यस सूचीमा शीर्ष स्थान हासिल गर्नुका विभिन्न कारणहरू छन्। उनको २५ वर्षे कालजयी एल्बम र एकलदेखि कलाकार तथा संगीतकर्मीको रूपमा उनले संगीत उद्योग र अन्य कलाकारमा छुट्टै प्रभाव पारेकी छन्’ महत्वपूर्ण पलहरू सिर्जना गर्ने एकल क्षमताको प्रशंसा गर्दै पप संस्कृतिको इतिहासको अभूतपूर्व क्षण सिर्जना गरेको जनाउँदै बीलबोर्डले उल्लेख गरेको छ।
सूचीको दोस्रो स्थानमा टेलर स्विफ्ट परेकी छन् भने तेस्रोमा रिहाना, चौँथोमा ड्रेक, पाँचौँमा लेडी गागा, छैटौँमा ब्रिट्नी स्पियर्स, सातौंमा कान्ये वेस्ट, आठौंमा जस्टिन बिबर, नवौँमा एरियाना ग्रान्डे, दशौँमा एडेल, ११ औं स्थानमा असर, १२औँ स्थानमा एमिनेम, १३औँ स्थानमा निक्की मिनाज, १४औँ स्थानमा जस्टिन टिम्बरलेक, १५ औँ स्थानमा माइली साइरस परेका छन्।
त्यसैगरी महान् कलाकारको सूचीको १६ औँ स्थानमा जे जेड, १७ औँ स्थानमा सकिरा, १८औँ स्थानमा द विकेन्ड, १९औँ स्थानमा बीटीएस, २०औँ स्थानमा ब्रुनो मार्स, २१औँ स्थानमा लिल वेन, २२औँ स्थानमा वन डाइरेक्सन, २३औ“ स्थानमा ब्याड बनी, २४औँ स्थानमा एड सिरन र २५औँ स्थानमा केटी पेरी छन्। बीलबोर्डका अनुसार सूचीमा परेका पपस्टारले २५ वर्षयताको पपसंगीतलाई परिभाषित गरेका छन्।
प्रतिक्रिया