काठमाडौं ।
कलाकार मुक्तिसिंह थापाले देशको मौलिक कलालाई विश्वसामु चिनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र ललितकला क्याम्पस भोटाहिटीको संयुक्त आयोजनामा बुधवार राजधानीमा सम्पन्न ललितकला संवादमा अग्रज पौभा कलाकार थापाले यसमा जोड दिएका हुन्।
उनले मौलिक कला हराउँदै गएको हालको अवस्थामा नयाँ पुस्ताले नै कलाक्षेत्रका विकासमा अग्रसरता लिनुपर्ने बताए। ५२ वर्षदेखि कला साधनामा सक्रिय कलाकार थापाले मौलिक नेपाली कलाको खोज, अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिए। प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले परम्परागत कलाको विकास र संवर्धनमा प्रतिष्ठानले काम गरिरहेको दाबी गरे।
कार्यक्रममा विद्यार्थीहरूले परम्परागत कलाका विषयमा अध्ययन गर्न चाहने नयाँ पुस्तालाई पुस्तक तथा स्रोतको अभाव रहेको बताए। कलाकार थापाले परम्परागत कला अन्य कलाजस्तो तुरुन्तै सिकिने कला नभएकाले यसका लागि धैर्य र तपस्याको जरुरी रहने बताए। कार्यक्रममा एक सयजनाभन्दा बढी विद्यार्थीको सहभागिता थियो।
प्रतिक्रिया