–डीनको नाम ल्याउनै चाहँदैनन् उपकुलपति
–बैठक अनिश्चित, कार्यकारीको बैठक बस्न सकेन
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले प्रत्येकपटक स्टन्टबाजी गर्दै डीन र क्याम्पसको प्रमुखको नाम कार्यकारी परिषद्को बैठकमा ल्याउन सक्नुभएको छैन।
८ डीन र १८ क्याम्पस प्रमुख नियुक्ति गर्न नसकेका उपकुलपति प्राडा बरालले कार्यकारी परिषद्का पदाधिकारीमाथि नै अविश्वास बढाउनुभएको छ । सिफारिस समितिले दुई साताअघि नै ८ डीनको नाम सिफारिस गरेर उपकुलपतिसमक्ष पेस गरिसकेका छन्। अल्फाबेटिकल रोलक्रममा सिफारिस भएका नाममध्ये पहिलो नम्बरमा परेकालाई मात्र डीन नियुक्ति गर्छु भन्दै बराल कार्यकारी पदाधिकारीमाथि जाई लाग्न थाल्नुभएको छ।
उच्चस्रोतका अनुसार सिफारिस भएका ३ जनामा को–को परेका छन्, उपकुलपतिबाहेक कसैलाई जानकारी छैन, तर उपकुलपति बरालले समितिका संयोजकलाई आफू निकटलाई पहिलो नम्बरमा राख्न खोजेको आरोप लागेको छ। त्यसो भएमा माओवादीका अधिकांश डीन नियुक्ति हुने सम्भावना बढेका कारण उपकुलपति बरालले पहिलो नम्बरलाई डीन बनाउनुपर्छ भन्दै रटान गरेका छन्।
स्रोतका अनुसार सिफारिस भएकामध्ये एक जनालाई डीन नियुक्ति गर्नुपर्ने प्रावधान छ। हालसम्म त्यसमा कसको कति नम्बर आयो भन्नेबारेमा जानकारी नै छैन, उपकुलपति बराल पहिलो नम्बरमा परेकालाई किन र कसरी डीन नियुक्ति गर्छु भन्दै हिँड्नुभएको छ।
‘सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरिसकेको छ । तर, उपकुलतिले कार्यकारी परिषद्को बैठक बोलाएर निर्णय गर्न सक्नुभएको छैन। बरु कार्यकारीका सदस्यले आफूलाई असहयोग गर्यो भन्दै हिँड्नुभएको छ’ –स्रोतले भन्यो । आफैं बैठक नबोलाएर भागीभागी हिँडने अनि कार्यकारीका साथीहरूले बैठक डाक्न दिएनन् भन्दै हिँड्नु उपकुलपतिको अस्वाभाविक चलखेल भएको स्रोतले आरोप लगाएको छ। स्रोतका अनुसार डीन नियुक्ति गर्न रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले कार्यकारी परिषद्को बैठक बोलाउन दबाब दिइरहनुभएको छ। तर, उपकुलपति बरालले आफ्नो अडान छाड्नुभएको छैन।
त्रिविमा रानजीति भागबण्डा अन्त्य गरी मेरिटोक्रेसीको आधारमा डीन, डाइरेक्टर र क्याम्पस प्रमुख नियुक्ति गर्ने घोषणा गरेर विज्ञापन प्रकाशित गरेको चार महिना पुग्दा पनि नियुक्ति हुन सकेको छैन। उपकुलपति प्राडा बरालको लहडका कारण डीन नियुक्तिमा ढिलाइ भएको आरोप लागिरहेको छ। त्यतिमात्रै नभई क्याम्पस प्रमुख, त्रिवि योजना निर्देशनालय र तीन अनुसन्धान केन्द्रको निर्देशकको नियुक्ति पदाधिकारीकै कारण अड्किएको छ।
राजनीतिक भागबण्डामा नियुक्ति भएका पदाधिकारीले मेरिटोक्रेसीको कुरा गरेर ८ संकायको डीन, १८ क्याम्पस प्रमुख र ४ निर्देशक नियुक्तिलाई गुमराहमा राखेको आरोप उपकुलमाथि छ। कार्यकारी परिषद्ले निर्णय नगरेका कारण १८ क्याम्पसमा क्याम्पस प्रमुख निमित्तको भरमा चलिरहेको छ।
८ वटा डीन रिक्त छ, ४ निर्देशक नियुक्ति हुन सकेको छैन। कार्यकाल सम्हालेकै दिन उपकुलपति प्राडा बरालले मेरिटोक्रेसीको आधारमा डीन नियुक्ति गर्ने उद्घोष गर्नुभएको थियो। हाल त्यसविपरीत माओवादी निकटलाई मात्र डीन बनाउने चलखेल गरिरहनुभएको छ ।











प्रतिक्रिया