पाठक पत्र: हात फैलाउने बानी कहिलेसम्म होला ?


केही वर्षयता मुलुकमा मागेर गुजारा गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सडकछेउछाउ, सार्वजनिक स्थल, आकाशे पुलमा लाम लगेर माग्न बसेको देखिन्छ । यता, घरघरमा पनि माग्न आउनेको संख्या उत्तिकै छ । कोही मिर्गौलापीडित भन्दै माग्न आउँछन् त कोही अन्य घरायसी समस्या देखाउँदै आउँछन् ।

हातमा एउटा कागज बोकेर माग्दै हिँड्ने उनीहरु वास्तवमै पीडित हुन् त ? कसले खोतल्ने ? सरकारलाई मतलब नै छैन। मागेर हिँड्नेहरु छ्यापछ्याप्ती भेटिन्छन्। कोही उपचार गराउन नपाएर भन्छन्, कोही खान नपाएर। उनीहरु साँच्चिकै मिर्गौलापीडित हुन् भने त सरकारले निःशुल्क उपचार गरिदिनुपर्‍यो।

उपचारका लागि मागेर हिँड्नुपर्ने भए नेपालको संविधानले सुनिश्चित गरेको स्वास्थ्यको हक कार्यान्वयन भयो त ? उपचारका लागि भनेर माग्न हिँड्ने उनीहरु कसरी रोगी भए ? उनीहरुको आम्दानीको स्रोत के छ ? उपचारको क्रममा कति सम्पत्ति सकियो? थप उपचार गर्न सक्छन् कि सक्दैनन् ? यसको अनुगमन गर्ने जिम्मा सरकारको हो।

वास्तवमै ऊ पीडित छ भने सरकारले निःशुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाइदिनुपर्‍यो । मागेर उपचार गर्नुपरेमा देशमा राज्य भएको काम नै लागेन नि । घर जलेको भन्दै माग्न आउनेहरु पनि असंख्य छन् । मठमन्दिर, सार्वजनिक स्थल जताततै मागेर बसेको देखिन्छ । भुरादेखि बूढासम्म मागिरहेका हुन्छन्। उनीहरु सडकमै खान्छन्, सडकमै सुत्छन् । पछिल्लो समय सार्वजनिक यातायातमा चढेर माग्नेहरु पनि यत्तिकै छन् । हातमा कागज बोकेर हिँडेका उनीहरुले यात्रुलाई त्यो कागज बाँड्छन् र पैसा माग्छन् । कोही मिर्गौलापीडित भन्छन्, कोही कान नसुन्ने भन्छन् । माग्ने आउने सबैको आ–आफ्नै व्यथा छ।

यता, गन्धर्वहरुले पनि गीत गाउँछन् र जबरजस्ती पैसा माग्छन्। दिनु वा नदिनु स्वैच्छाको कुरा हो । तर, उनीहरु यात्रुसँग जबरजस्ती गर्छन् । माग्ने नाममा व्यापक बेथिति मौलाएको छ। मिर्गौलापीडितलाई सहयोग भन्दै टेम्पो, स्कुटरमा स्पीकर बोकेर दुई–तीन जना आउँछन्। उनीहरुले माइक बजाएर पैसा माग्छन्।

यतिसम्म कि स्कुल जान लागेका विद्यार्थीसँग पनि उनीहरु पैसा माग्छन् । मिर्गौलापीडित भन्दै कोही स्पीकर बोकेर गाडीमा आउँछ ? यो त व्यापार भयो। पैसा उठाउने अनि लगेर खाने। माग्ने नाममा ठगीधन्दा चलिरहेको छ । यसको अनुगमन र समस्या समाधान गर्ने प्रशासन कहाँ छ ?

कोही–कोही सडकछेउछाउ बोरा लिएर माग्न बस्छन् । उनीहरुको पेसा नै दैनिक माग्ने बनेको छ । बिहान उठ्यो, सडकमा आएर बस्यो, दिनभर पैसा बटुल्यो, घर गयो । उनीहरुले मागेरै एकदिनमा दशौं हजार कमाउँछन् । उनीहरुलाई माग्ने बानी नै लागिसक्यो । काम पनि गर्न नपर्ने, मागेर दिनकै हजारौं बटुल्ने भएपछि कसले काम गरोस् ।

यस्तै अवस्था रह्यो भने जो पनि सडकमा माग्न आउँछन् । केही वर्षपछि नेपाल माग्नेको देश बन्छ । सरकारले यसलाई बेलैमा नियन्त्रण गर्नुप¥यो । नत्र, यहाँ माग्नेहरुको बिगबिगी हुन्छ । माग्न बसेका उनीहरु खुट्टामै झुत्तिन आउँछन् । स–साना बालबालिकाहरु सडकमा मागिरहेका हुन्छन् । उनीहरुको छेउछाउबाट हिँड्नुपर्छ, खुट्टा समात्छन्, झोला तान्छन् । पैदल यात्रीलाई बाटोमा हिँड्नसमेत सास्ती भइसकेको छ । गरिब भए पनि, धनी भए पनि नागरिक हो । हरेक नागरिकप्रति राज्यको जिम्मेवारी बराबर हुनुपर्छ । तर, सडकमा बस्नेहरुका लागि यहाँ राज्य नै भएन ।

जनताले तिरेको करबाट तलब खुवाएर हरेक स्थानीय तहले नगर प्रहरी राखेको छ । ती नगर प्रहरी देखाउनका लागि राखेको हो ? नगर प्रहरीको काम सडकमा हिँड्ने हो । नगरभित्र के भइरहेको छ ? हेर्ने हो । तर, केही नै गर्दैनन् । संविधानले हरेक नागरिकको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । तर, मागेर गुजारा गर्नेहरुले त्यसको प्रत्याभूति गर्न पाएका छैनन् । सरकारले उनीहरुलाई कुनै व्यवस्थापन गरिदिनुपर्ने हो । सडकमै जन्मिने र सडकमै मर्ने अवस्थाको अन्त्य गर्नुपर्‍यो । पछिल्लो समय माग्ने मान्छेहरु ५० रुपैयाँभन्दा घटी लिन मान्दैनन् । उनीहरु मुख फोरेरै भन्छन् ।

कसैसँग गाडी भाडा हुँदैन । पाँच–१० रुपैयाँ दियो भने उनीहरु लिनै मान्दैनन् । पैसा दिएन भने उनीहरु गाली गर्छन् । सहयोग त जति सकिन्छ, त्यति दिने हो । तर, अहिले त मुख फोरेरै माग्ने सिस्टम आयो । गाडीको हरेक स्टपमा माग्ने मान्छे चढ्छन् । कतिलाई दिन सकिन्छ ? अब त सार्वजनिक यातायात चढ्न पनि डरमर्दो भइसक्यो ।

कहिलेकाहीँ ठिक्क गाडी भाडा मात्र बोकेर हिँडेको हुन्छ। उनीहरुलाई दियो भने आफू पैदल यात्रा गर्नुप¥यो । अनि के गर्ने ? सहचालकले मिलेमतोमा माग्ने मान्छे चढाउँछन् जस्तो लाग्छ। त्यसबापत उनीहरुले पैसा लिन्छन् होला । केही दिनअघिको घटना हो, माग्ने मान्छे कोटेश्वरबाट चढे। उनीले बसभित्र मागेर चार–पाँच सय रुपैयाँ उठाए । लोकन्थली ओर्लिंदा उनले सहचालकलाई ५० रुपैयाँ दिए । यसले त सहचालककै मिलेमतो प्रस्टै देखिन्छ।

आधा किलोमिटरमै ५० आउने भएपछि सहचालकले किन नचढाओस् ? नगर प्रहरी त नाम मात्रको भइहाले । सडकमा ट्राफिक प्रहरी उभिन्छन्। तर, उनीहरुलाई यसतर्फ चासो नै छैन। माग्नेहरु यस्ता पनि छन् कि दिनभर माग्छन्, बेलुका भट्टी पसलमा गएर सिध्याउँछन् । भोलि फेरि सडकमा जान्छन् । मागेको पैसा पनि सिद्धियो, ज्यान पनि । सरकार एकदमै निरीह बन्यो । नगर प्रहरी र ट्राफिक प्रहरी ‘दिन कटाउने र माना पचाउने’ मै ध्याउन्न छन् । जहाँ घाम लाग्छ, त्यतै गएर उभिन्छन् । भनिन्छ नि, ‘सरकारी काम कहिले जाला घाम ।’ त्यस्तै पारा छ, उनीहरुको । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मानव र सडक बालबालिका व्यवस्थापन गर्ने भनी पटक–पटक घोषणा गरिसकेका छन् । तर, खोइ त व्यवस्थापन भएको ? यस विषयमा अहिलेसम्म केही भएको छैन । सरकार भन्छ मात्रै, काम गर्दैन । सास्तीचाहिँ सँधै जनताले खेप्नुपर्ने अवस्था छ ।
सरकार र जनता उस्तै हो कि के हो ? सरकार तलब खुवाउन, भत्ता बाँड्न विदेशीसँग माग्छ भने यता जनता गुजारा गर्न माग्दै हिँड्छन् । यो देश नै माग्नेको देश बनेको हो त ? सरकार पनि माग्ने, जनता पनि माग्ने । कोही काम नगर्ने, मागेर ल्याएको पैसामा मोजमस्ती गर्ने । सरकार आफू त माग्ने भयो, जनतालाई पनि माग्न सिकायो । यो अवस्था कहिलेसम्म रहिरहने हो ? यसको उत्तर कसले दिने ।
भनिन्छ नि, ‘एकचोटि बानी लागेपछि छोड्न धेरै गाह्रो पर्छ ।’ हामीलाई माग्ने बानी लाग्यो । अरुको अगाडि हात फैलाउने बानी लाग्यो । अन्य देशसँग मागेर झन्डै २७ खर्ब झ्वाम्म पारिसकियो । कमाउने उमेरमा जनता सडकमा माग्न बसेका छन् । यो भन्दा लाजमर्दो अवस्था देशको लागि के होला ?
दृष्टिविहीनहरु बरु धूप बेचेर कमाउन हिँडेका छन् । अर्काको सहारामा उनीहरु आफ्नो खुट्टामा उभिएका छन् । तर, नेता र कर्मचारीलाई लाज लाग्दैन ? देशको नेता, कर्मचारीभन्दा त धूप बेचेर हिँड्ने अपाङ्ग महान् रहेछ । जे भए पनि आफँैले कमाएर त खाएको छ । गर्न चाहनेले जसरी पनि गर्छ । दृष्टिविहीनहरुले गरिखान सिके, आँखा हुनेहरुले देश बेच्न सिके । यस्तो चाला अब कहिलेसम्म टिकिरहने हो ? सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी भइसकेको छ ।
– अनुसा थापा ।