मानवताका बारेमा थुप्रै परिभाषाहरू छन्। मानवको मूल प्रकृति नै मानवता हो ! तथापि, दुवै सम्भावना हुन्छ। आज मानिस एक–अर्कालाई मार्नका लागि समर्पित भएको छ । ठग्ने बानी परेको छ। उसले एक–अर्काको भलाइका बारेमा पनि सोच्न त सक्छ तर ऊ अरूको भलाइमा समर्पित छैन।
मानवता कहाँबाट प्रारम्भ हुन्छ ? के तपाईँको परिवारबाट हुन सक्दैन ? तपाईँ बिहानै उठ्नुहुन्छ । तपाईँका बालबच्चा छन्, तपाईँ परिवारसँग हुनुहुन्छ । कतिपय आमाहरूले आफ्ना बालबच्चालाई गाली गर्ने गर्नुहुन्छ, ‘ढिलो भइसक्यो भन्या ! ढिलो हुन्छ ! छिटो गर्नुपर्दैन !’ हतारिनुको अर्थ के हो ? के तपाईँलाई आफ्नो बच्चालाई देखेर खुशी लाग्दैन ! तपाईँ त्यो खुशीलाई किन व्यक्त गर्नुहुन्न ? किनभने, सानो कुरा मात्रै पनि तपाईँले भने पुग्छ, ‘शुभ बिहानी छोरा ! के छ खबर ?’
यथार्थमा मानवता यहाँबाट प्रारम्भ हुन्छ । एक मानवले अर्को मानवलाई यही तरिकाले व्यवहार गर्न शुरु गर्नुपर्छ ।
एउटा कुरालाई हेर्नुहोस् त ! श्रीमान्–श्रीमतीमा कति अप्ठ्याराहरू हुन्छन् । क्लेश हुन्छ, सम्बन्ध विच्छेद हुन्छ, झगडा हुन्छ !
श्रीमतीले बिहान उठ्नेबित्तिकै भन्छिन्, ‘यो ल्याउनुहोस् ! त्यो पनि ल्याउनुहोस् !’
तपाईँ हिम्मत गर्नुहोस्, धैर्य गर्नुहोस् अनि आफ्नो दिमागलाई पूर्णरूपले उपयोग गर्नुहोस् ! आफ्नो डरलाई होइन, आफ्नो दिमागलाई प्रयोग गर्नुहोस् । हिम्मतका साथ अघि बढ्नुहोस् । तपाईँ मानिस हुनुहुन्छ । तपाईँसँग हिम्मत छ अनि यो तपाईँको शक्ति हो । यदि तपाईँले आफूले आफूलाई चिन्नुभयो भने तपाईँको कमजोरी के हो र तपाईँको क्षमता के हो भन्ने कुरा पनि थाहा पाउनुहुनेछ ।
श्रीमान् आफ्नी श्रीमतीसँग भनिरहेका हुन्छन्, ‘यो कहाँ राख्या छ ? मेरो खाजा खोइ ? मेरो यो चीज छैन ! मेरो त्यो चीज पनि छैन!’
जिम्मेवारीको बोझमा मानिस यतिसम्म परिवर्तन भइसक्यो कि हामीले जनावरलाई हेर्ने हो भने मानिसले भन्दा त जनावरले नै आफ्ना बालबालिकालाई बढी माया गरिरहेको हुन्छ। यस्तो अवस्था बन्यो भने मानवता कहाँ रहन्छ र ? जो मानिसले हामीलाई मार्गदर्शन प्रदान गर्छन् जस्तो लाग्छ तिनैले हामीलाई भ्रमित तुल्यारहेका हुन्छन् ! आजको झुटको मूल्य कति छ ? यस विपरीत सत्यको मूल्य कति छ भनेर भन्नुपथ्र्यो । सत्यको त कुनै मूल्य नै छैन ! जसले चाहन्छ, जसरी चाहना गर्छ, उसले चाहे जति झुटो बोल्छ । उसलाई यसको परिणाम के हुन्छ भनेर कुनै वास्ता नै हुँदैन । जब हामीले नै यस्तो माहोल बनाएका छौँ भने मानवताको नाम कहाँबाट आउँछ र ?
यदि मानवतालाई पुनः शुरु गर्ने हो भने यसको जगबाटै थाल्नुपर्छ । आफूबाट शुरु गर्नुपर्छ । आफ्नो परिवारबाट शुरु गर्नुपर्छ । यथार्थमा हामीले साँच्चै नै प्रेम गर्ने मानिसहरूबाट शुरु गर्नुपर्छ । त्यसपछि हामीले अर्को व्यक्तिसँग कसरी प्रेम गर्ने भनेर बुझ्न सक्छौँ । हिजोआजको माहोल त कस्तो भयो भने परका मान्छेलाई ‘शुभ प्रभात’ भन्नका लागि हामी तयार हुन्छौँ तर आफ्ना नजिकका मान्छेहरूका लागि केही पनि भन्दैनौँ ।
चुनौती आउनुको अर्थ सबै चुनौतीमा तपाईँ सफल हुनुहुन्छ भन्ने हुँदैन तर तपाईँले केही गर्न सक्नुहुन्छ। तपाईँ हिम्मत गर्नुहोस्, धैर्य गर्नुहोस् अनि आफ्नो दिमागलाई पूर्णरूपले उपयोग गर्नुहोस् ! आफ्नो डरलाई होइन, आफ्नो दिमागलाई प्रयोग गर्नुहोस्। हिम्मतका साथ अघि बढ्नुहोस्। तपाईँ मानिस हुनुहुन्छ। तपाईँसँग हिम्मत छ अनि यो तपाईँको शक्ति हो। यदि तपाईँले आफूले आफूलाई चिन्नुभयो भने तपाईँको कमजोरी के हो र तपाईँको क्षमता के हो भन्ने कुरा पनि थाहा पाउनुहुनेछ । यसकारण आफूले आफूलाई चिन्नु आवश्यक छ। वास्तवमा यदि हिम्मतका साथ अघि बढ्यौँ भने, तागतका साथ अघि बढ्यौँ भने जुनसुकै समस्यालाई, जस्तोसुकै चुनौतीलाई सामना गर्न सकिन्छ।
दुईवटा पर्खाल छन् । एउटा पर्खालबाट तपाईँ आउनुभयो– तपाईँको जन्म भयो अनि बीचमा तपाईँको जीवन छ र अर्कोतिरको पर्खाल भएर तपाईँले जानुपर्नेछ । तपाईँ कहाँ जानुहुनेछ ? तपाईँ के हुनुहुन्थ्यो ? वैज्ञानिकहरूका अनुसार तपाईँ धूलो हुनुहुन्थ्यो– धूलो ! यतिखेर तपाईँ धूलो हुनुहुन्न ! हुनचाहिँ हो तर अहिले धूलो हुनुहुन्न । अनि, तपाईँ त्यो पर्खालबाट जानुभएपछि फेरि धूलो बन्नुहुनेछ ।
यो तपाईँको जीवन तपाईँको बिदाको समय हो । धूलो हुनुभन्दा अघिको छुट्टीको समय हो । करोडौँ वर्षसम्म तपाईँले धुलै बन्नुपर्नेछ– वैज्ञानिकको भनाइअनुसार तपाईँ यो संसारमा पहिला पनि धुलै हुनुहुन्थ्यो । यतिखेर धूलो हुनुहुन्न तर फेरि धूलो बन्नुहुनेछ । यो सारा संसार धूलोले बनेको छ । पृथ्वी पनि धूलोबाटै बनेको छ । सूर्य पनि धूलोबाटै बनेको छ । चन्द्रमा पनि धुलैबाट बनेको छ । सारा ग्रह, सूर्य, तारा सबै चीज धूलोबाट बनेका छन् । यो तपाईँको एउटा बिदाको समय हो– धूलो बन्नुभन्दा पहिलाको । मेरो प्रश्न के हो भने, ‘यो तपाईँको बिदाको समय कसरी बितिरहेको छ ?’
यदि तपाईँ द्विविधामा हुनुहुन्छ, दुःखी हुनुहुन्छ भने यो कुनै बिदा भएन । बिदा हुनका लागि तपाईँले चिन्तामुक्त महसुस गरेको हुनुपर्छ । तपाईँले यसको आनन्द उठाइरहनुभएको हुनुपर्छ । हरेक दिनको आनन्द लिइरहनुभएको छ भने यो बिदाको समय बन्नेछ ! यही कुरा सबैभन्दा ठूलो कुरा हो । आफ्नो जीवनको हरेक क्षणलाई आनन्दपूर्वक बिताउनुहोस् अनि तपाईँले बिदा पाउनुभएको छ । यसमा भरपूर रमाउनुहोस् ।
तपाईँले आफ्नो जीवनमा कैयौँ रुख–बिरुवाहरू देख्नुभएको होला । तर, कहिल्यै तपाईँले यो पनि सोच्नुभएको छ– त्यो रुख जुन बिउबाट उम्रियो, त्यसको स्वभाव कस्तो छ ? त्यसको क्षमता के हो ?
यदि मरुभूमिमा बालुवाभित्र दबिएर रहेको बिउको धैर्यतालाई हेर्ने हो भने त्यसले वर्षौँसम्म त्यहाँ रहेर आफ्नो अनुकूलको मौसम र वर्षालाई प्रतीक्षा गरिरहेको हामी पाउँछौँ । कुनै बेला ऋतु आफ्नो नियमानुकूल नहुँदा त वर्षा पनि हुँदैन । यद्यपि त्यो बिउले आफ्नो उद्देश्यलाई कहिल्यै भुल्दैन । उसको लक्ष्य स्पष्ट हुन्छ । चाहे जतिसुकै समयसम्म वर्षा नहोस्, उसले आफ्नो तयारी गर्न छोड्दैन । यदि त्यस बिउको ठाउँमा मानिस हुने हो भने ‘यत्तिका वर्षसम्म त वर्षा भएन अब के हुन्छ ?’ भन्ने सोच हुन्थ्यो । आफैँलाई असहाय सम्झेर हिम्मत हार्ने थियो । तथापि, त्यो बिउले त्यस्तो गर्दैन । त्यसले कहिल्यै हिम्मत हार्दैन । ऊ सधैँ तत्पर रहन्छ । पानी परेपछि त्यो बिउ क्रियाशील भएर बिस्तारै अङ्कुराउन (टुसाउन) थाल्छ । रातारात त्यो उम्रिन थाल्छ । आफ्नो लक्ष्य प्राप्तिका लागि ऊ सदैव तम्तयार भइरहन्छ ।
हरेक मानिसभित्र पनि मानवता र शान्तिको एउटा बिउ छ । त्यो बिउले पनि उम्रेर फूल फुल्ने अनि सफल हुने मौका मिलोस् भन्ने चाहन्छ । तपाईँको जीवनमा विचार, विवेक र आत्मविश्वासको वर्षा भएपछि त्यो बिउ तपाईँको हृदयमा अवश्य उम्रन्छ। यो निश्चित कुरा हो। त्यो बिउजस्तै मानिसलाई पनि अघि बढ्नका लागि आत्मबल र आत्मविश्वासको आवश्यकता पर्दछ। मरुभूमिमा रहेको बिउ आफ्नो जीवनमा आँधी, तुफान, जाडो–गर्मी, सुख–दुःख सबै सहँदै एकदिन प्रस्फुटित हुन्छ। अनि मरुभूमिको शोभा बन्दछ । त्यसै गरी तपाईँ पनि आफूभित्र रहेको मानवता र शान्तिको बिउलाई विकसित हुने मौका दिनुहोस्। त्यो वृक्षको छायामा बसेर आफ्नो जीवनको आनन्द र सन्तुष्टिको अनुभव गर्नुहोस्, जसले गर्दा यो जीवनको शोभा बढोस् । तपाईँ पनि आफ्नो जीवनलाई सफल बनाउनका निम्ति त्यो बिउलाई उम्रने मौका दिनुहोस् र त्यसलाई धेरैभन्दा धेरै विकसित हुन दिनुहोस् ।
एउटा नरिवलको उदाहरण लिऊँ । यदि तपाईँले कहिल्यै समुद्रको बीचमा कुनै विकट उष्ण टापुलाई हेर्नुभयो भने तपाईँले त्यहाँ देख्नुहुन्छ– त्यस निर्जन टापुमा नरिवलका अग्ला–अग्ला रुखहरू हुन्छन् । यो अचम्म भएन त ? आखिर त्यस टापुमा ती रुख कसरी पुगे ?
के तपाईँलाई थाहा छ, त्यस नरिवलले एकदमै प्रतिकूल वातावरणमा एउटा असम्भव लाग्ने यात्रा गरेको छ । के तपाईँलाई लाग्छ– त्योसँग कुनै नक्सा थियो होला त ? पक्कै पनि थिएन । न त त्यस नरिवलसँग कुनै नक्सा थियो, न आजकलको उपकरणजस्तो कुनै जीपीएस नै थियो । ऊसँग त्यहाँसम्म पुग्नका लागि कुनै डुंगा वा इन्जिन थियो भन्ने पनि होइन । तर, साँचो कुरा के हो भने यो लामो र दुरुह यात्रा गर्नका लागि त्यस सानो नरिवलभित्र उसलाई आवश्यक पर्ने सबैथोक रहेको हुन्छ । समुद्रमा जीवित रहनका लागि सफा पानीको आवश्यकता हुन्छ । यसका अतिरिक्त त्यो नरिवल कतै किनारातिर पुग्यो भने त फेरि अङ्कुरित हुनका लागि पनि उसलाई पानी चाहिन्छ ।
यसरी पूरा यात्राका क्रममा नरिवलले आफूभित्र मीठो पानी राखिरहन्छ। नरिवलको जटायुक्त खोल पूरै यात्राभरि एउटा रक्षा कवचजस्तै हुन्छ । तैरिनमा उसलाई सहयोगी भूमिकामा हुन्छ। यसै कारण नरिवल पानीमा डुब्दैन । बरु पानीको सतहभन्दा माथि तैरिरहन्छ र डुङ्गाको पालले जस्तै यसले हावाको बेगलाई समात्ने काम गर्दछ।
ठूलो उत्साहका साथ यो नरिवल आफ्नो अज्ञात गन्तव्यतिर बढिरहन्छ। रुखबाट झरेर त्यसले सागरको फिँजयुक्त छालद्वारा बार–बार तरङ्गित हुनुपर्छ। यो पटक–पटक खुल्ला सागरमा पुग्ने प्रयास गरिरहन्छ । एकपटक जब त्यो नरिवल सागरमा पुग्दछ अनि चाँडो समुद्रको छाल र हावाको गति समातेर आफ्नो गन्तव्य स्थलतिर बढिरहन्छ। कहिल्यै सोच्नुभएको छ, यति विशाल सागरको माझमा प्रचण्ड छालहरूको झापड सहेर त्यो सानो नरिवल पटक्कै आत्तिँदैन । मानवले त विशाल–विशाल जहाज, ट्याङ्कर बनाएका छन् । तर, जब समुद्रमा तुफान आउँछ, ती ठूला–ठूला जलयानहरू पनि नजिकको बन्दरगाहमा शरण लिन्छन्। आफूलाई सुरक्षित राखेर तुफान हट्ने प्रतीक्षा गर्दछन् । तर, यो नरम नरिवलले कहिल्यै त्यसो गर्दैन । हरेक वेगवान् छालसँगसँगै माथि उचालिन्छ र हरेक दोस्रो छालले तल पछारिदिन्छ । तुफानले यसका लागि एउटा यस्तो उपकरणको जस्तो काम गरिदिन्छ, मानौँ त्यो एक किसिमले उसको यात्राको सहयात्री हो ।
एकदिन समुद्रको कुनै ठूलो छालले त्यो नरिवललाई कुनै नयाँ किनारामा पछारिदिन्छ । त्यसले नयाँ ठाउँमा पुगेर चुपचाप आफ्नो जरालाई फिजाउँछ । अनि फेरि, एकदिन यस्तो पनि आउनेछ– त्यो नयाँ ठाउँमा नरिवलको एउटा रूख हुन्छ । अब त ऊ आफ्नो फललाई फेरि समुद्रका छाललाई सुम्पिनका निम्ति तयार हुनेछ। जे–जति कुरा नरिवलसँग छ, त्यसले बढीभन्दा बढी आफ्नो क्षमताको उपयोग गर्दछ ।
विनाहिच्किचाहट, केही नसोची यस्ता हरेक अवसरलाई पाएसम्म उसले समात्छ र अन्ततः त्यो त्यस गन्तव्यसम्म पुग्न सफल हुन्छ, जहाँ उसले आफूलाई फेरि पनि सृजनशील तुल्याउन सक्छ। पुनः स्थापित तुल्याउन सक्छ। हामीसँग पनि ती सम्पूर्ण अत्यावश्यक तागत छन्, ती तमाम शक्ति छन् । यिनको सही प्रयोग गरेर हामी पनि त्यस लक्षित विन्दुलाई, त्यस गन्तव्यलाई प्राप्त गर्न सक्छौँ । आफ्नो जिज्ञासा र आफ्नो साँचो उत्साहले हामीले आफूभित्र त्यो स्थानलाई प्राप्त गर्न सक्छौँ, खोज्न सक्छौँ । जहाँ सही अर्थमा, हामी आफैँ आफूसँग, आरामपूर्वक, शान्तिमय वातावरणका साथ त्यस आनन्दलाई अनुभूत गर्न सक्छौँ ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया