काठमाडौं ।
इजिप्टमा जारी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इन्टरकन्टिनेन्टलमा नेपाल भोटिङ राउण्डको टप टेनभित्र पर्न सफल भएको छ। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी कलाकार तथा मोडल डा. आयुष्नोभा ढुङ्गाना भोटिङ राउण्डको टप टेनभित्र पर्न सफल भएकी हुन्।
प्रतियोगितामा भोटिङ राउण्डको टप टेनमा पर्नेले सिधै फाइनलमा प्रवेश पाउने प्रावधान छ। प्रतियोगितामा ढुङ्गानाले पहिरेको पहिरनले पनि चर्चा पाइरहेको छ। उनले नेसनल कस्ट्युमको रूपमा राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन पहिरिएकी थिइन्।
प्रतियोगिताको फाइनल आज शुक्रबार हुँदैछ। प्रतियोगितामा ५५ देशका प्रतिनिधि सहभागी छन्। डा. ढुङ्गानाले नेपालमा आयोजित मिस इन्टरकन्टिनेन्टल नेपाल उपाधि जितेपछि प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी हुन्। ढुङ्गानाले कलाकारिता, मोडलिङ र डक्टर पेशालाई एकसाथ अघि बढाइरहेकी छिन्।
प्रतिक्रिया