काठमाडौं ।
स्वरसम्राट स्व. नारायण गोपालको ३४औैं स्मृति दिवसको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ।
उनको पुण्यतिथिमा नेपाल साङ्गीतिक संघ र गीतकार संघ नेपालको सहआयोजना तथा रेडियो नेपालको सहकार्यमा नारायण गोपाल संगीत कोषले कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्झनामा नारायण गोपाल : ३४औं पुण्य स्मृति सम्मान एवं साङ्गीतिक समारोह आयोजना गरेको हो।
समारोहमा गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ र कवि तथा गीतकार शिवशंकर थापालाई जनही ५१ हजार रुपियाँसहित नारायण गोपाल स्मृति सम्मान २०८१ बाट सम्मानित गरेको छ। कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायक–गायिकाले ४५ जनाको भव्य अर्केस्ट्राका साथ नारायण गोपालका कालजयी गीत प्रस्तुत गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका थिए।
कार्यक्रममा गायक रामकृष्ण ढकालले नारायण गोपालको कालजयी गीत तिमीलाई भुल्दा गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए भने उनका अन्य गीतका विभिन्न अंश गाएर वाहवाही पाएका थिए। विभिन्न गायक गायिकाको समूहले सबलाई सुख होस् गाएको कार्यक्रममा दिव्यकुमार सिटौलाले मलाई छोडी मेरो छायाँ, साजन लामाले यति चोखो यति मिठो, राजेन्द्रमान श्रेष्ठले गल्ती हजार हुन्छन्, नविन पौडेल क्षेत्रीले तिमीलाई म के भनुँ, महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ए कान्छा ठट्टैमा, युवराज पोर्तेलले शिरको टोपी भुईंमा राखी, सन्देश पौडेलले लौ सुन म भन्छु मेरो रामकहानी, सम्भव जंग थापा र संगीता तिमिल्सिनाले मेरो जोवन लैजाउ, छिरीङ भुटियाले मन्दिरमा छ कि मुर्तिमा माया, रामवीर मानन्धर र अञ्जु हमालले मैले गाएको गीतमा, भुषण मुकारुङ राईले संगाल घुम्टोहरू, मौसम खरेलले सेरो र फेरो मेरो, बेनुप क्षत्रीले मेरो बेहोशी आज र उत्सव नेपालले विरताको चिनो प्रस्तुत गरेका थिए। कोषका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीपक स्वप्निल श्रेष्ठले स्वरसम्राट नारायण गोपालको आँखा छोपी नरोउ भनी बोलको गीत नेवारी भाषामा गाएका थिए।
१९९६ साल असोज १८ गते जन्मिएका नारायण गोपालको २०४७ मंसिर १९ गते वीर अस्पतालमा निधन भएको थियो। उनका दर्जनौं फिल्मी र आधुनिक गीत लोकप्रिय छन्।
प्रतिक्रिया