काठमाडौ ।
इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन भएको छ। उहाँको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १२ बजे देहावसान भएको हो। उहाँको बिहीबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।
९९ वर्षीय राणा लामो समयदेखि मृगौलासम्बन्धी रोगबाट ग्रस्त हुनुहुन्थ्यो । रक्तचापमा समस्या र अक्सिजनको कमी देखिनासाथ उहाँलाई अघिल्लो दिन बुधबार अस्पताल भर्ना गरिएको थियो। आगामी चैत १५ गते उहाँको सय वर्षको जन्मदिन मनाउने तयारी भइरहे पनि उहाँलाई बचाउन नसकिएको परिवारको भनाइ छ।
इतिहासकार राणाको जन्म वि.सं. १९८२ चैत १५ मा काठमाडौंस्थित चारबुर्जा दरबार हाल निर्वाचन आयोग रहेको भवनमा भएको थियो । उहाँ नेपालका प्रथम फिल्ड मार्सल रुद्रशमशेरका नाति र कर्णेल ईश्वरशमशेरका छोरा हुनुहुन्छ । उहाँले भारतको जयनारायण कलेज, वाराणसीबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो ।
उहाँ युवावस्था अर्थात् वि.सं. १९९७ सालदेखि नै प्रजातान्त्रिक भावनाबाट प्रेरित हुनुहुन्थ्यो भने वि.सं. २००७ को आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। त्यस बेला उहाँ पश्चिम क्षेत्र कृष्णनगर र बहादुरगन्जमा हातहतियार खरखजाना र खाकी पोशाक आदि सरसामान भारतको बंगाल, उत्तर प्रदेश, विहार आदि प्रान्तबाट र नेपाल तराईतर्फका जमिन्दारहरूबाट रसद इत्यादि समेत मुक्ति सेनाका लागि मोर्चासम्म पुर्याउने कार्य गर्नुहुन्थ्यो।
स्वर्गीय श्री ५ त्रिभुवन नयाँ दिल्लीको हैदराबाद हाउसमा भारत सरकारको पाहुनाको रुपमा सवारी भएको बेला आफूले त्यहाँ गएर विभिन्न क्षेत्रका सन्देशहरू श्री ५ त्रिभुवनमा जाहेर गर्ने गरेको इतिहासकार राणा बताउने गर्नुहुन्थ्यो ।
खास गरी इतिहास लेखनमा नेपाली एवं अंग्रेजी दुवै भाषामा उहाँले कलम चलाउँदै आउनुभएको थियो । उहाँका श्री ३ हरूको तथ्य वृत्तान्त भाग १, २ र ३, सम्झेका र सुनेका कुराहरू, भएका र गुज्रेका घटनाहरू, लुकेछिपेका प्रतिभाहरू, राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, मेरा जीवनका स्मृतिहरू, जंगबहादुर राणा : द स्टोरी अफ् हिज् राइज एन्ड ग्लोरी आदि पुस्तक प्रकाशित भएका छन् ।
उहाँका इतिहास र ऐतिहासिक व्यक्तित्वसम्बन्धी विभिन्न लेखहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पत्रिकाहरूमा समेत प्रकाशित भएका छन् । कामना प्रकाशनद्वारा नियमित प्रकाशन हुँदै आएको साधना मासिक पत्रिकाको उहाँ लामो समय कोलमनिस्टकै रुपमा हुनुुहुन्थ्यो । नेपाली इतिहास तथा राणकालीन दुर्लभ चित्रहरूका सम्बन्धमा रेडियो तथा नेपाल टेलिभिजनमा उहाँका अन्तर्वार्ताहरू पनि प्रसारण भएका छन् ।
बाल्यकालमा दरबारबाट बाहिर जान नपाएका राणा ९० सालको महाभूकम्पमा हजुरबुबा रुद्रशमशेरसँगै दौडिँदै टुँडिखेलमा आएको रोचक कुरा उहाँ आफैँ बताउनुहुन्थ्यो । जुद्ध शमशेरले हजुरबुबा रुद्र शमशेरलाई पाल्पामा पठाएकाले पुरुषोत्तम शमशेर ८ वर्षका हुनुहुन्थ्यो । त्यसैले उहाँको प्रारम्भिक पठनपाठन पाल्पा दरबारमै भएको थियो ।
खास गरी राणकालीन इतिहासका प्रखर विद्वान् इतिहासकार पुरुषोत्तम राणा अब हामीमाझ हुनुहुन्न । उहाँका एक पुत्र र दुई पुत्री हुनुहुन्छ । इतिहासकार राणा हामीबाट अस्ताए पनि उहाँले सिर्जना गरेका इतिहासका पानाहरु अमर रहनेछन् । उहाँप्रति हार्दिक श्रद्धा–सुमन ।
प्रतिक्रिया