ऐतिहासिक स्थलको अस्तित्व संकटमा 

1.97k
Shares

खोटाङ। 

अतिक्रमणका कारण खोटाङस्थित ऐतिहासिक मझुवागढीको अस्तित्व संकटमा परेको छ । पम्पिङ प्रविधिको खानेपानी आयोजना, सशस्त्र प्रहरी बल लगायतले गढी अतिक्रमण गर्दा गढीको अस्तित्व संकटमा परेको सरोकारवालाले बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ स्थित किरात ऐतिहासिक स्थलको अस्तित्व संकटमा परेकोमा मझुवागढी संरक्षण समितिले चासो देखाएका हुन् । समितिले गढीमा रहेको चुला भाँचिएपछि सर्वदलीय–सर्वपक्षीय छलफलको आयोजना गरेको थियो । भेलाका सहभागी जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरूले मेवाखोला दोभान साप्सु कालिका देविथान लिफ्टिङ खानेपानी आयोजनाको ट्याङ्की गढीकै बङ्करभित्र बनाइएकोमा गुनासो राखेका छन् । यस्तै, सहभागीहरुले सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढीको जग्गा अतिक्रमण गरेको लगायतका विषयमा चासो दिएका छन् ।

सहभागी राजनीतिक दलका नेता तथा सरोकारवालाहरुले खानेपानी ट्याङ्की निर्माणले मझुवागढीको अस्तित्व संकटमा पारेकाले अन्यत्र सार्नपर्ने बताए । यसका साथै सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढी क्षेत्र अतिक्रमण गरेर तारबार लगाएकाले त्यसलाई हटाउनु पर्ने समेत धारणा राखेका छन् ।

मझुवागढी किराँती समुदायको मात्र नभई सबै धर्म समुदायका भएकाले यसको संरक्षण जुट्नु पर्ने सहभागीहरूको धारणा छ ।  सहमति विपरित खानेपानी ट्याङ्की बनाएर गढीलाई क्षति पु¥याएको, सशस्त्र प्रहरी बल हलेसी गुल्मले गढीक्षेत्रमा अतिक्रमण गरी तारबार लगाएको लगायतको विषय निन्दनीय भएको किरात राई यायोक्खाको अध्यक्ष य’ग्सन किरातको भनाई छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सबै धर्म संस्कृति समान भएकाले यसको संरक्षणका लागि सबै जुट्नु पर्ने धारणा राखेका छन् ।

छलफलमा खानेपानी आयोजनाको पाइप ढुवानी गर्ने क्रममा अन्जानबस ऐतिहासिक मझुवागढीमा रहेको तीनमध्ये एउटा चुला भाँचिएको निष्कर्ष निकाल्दै त्यसलाई तत्काल पुनः निर्माण गर्ने सहमति भएको छ । किरात संस्कृति अनुसार चुला गाड्दा लाग्ने खर्च उक्त खानेपानी आयोजनाले बेहोर्ने सहमति भएको मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, ४ खाल्ले र ५ लफ्याङबासीलाई खानेपानी पु¥याउने उद्देश्यले संघीय सरकारको ५४ करोड ६७ लाख ९० हजार सात सय १६ रुपैयाँको लागतमा २०८२ साउन २३ गतेभित्र सक्ने गरी सञ्जीवनी–सगरमाथा जेभीले आयोजनाको जिम्मा लिएको हो ।