कार्साङ गरिबीले निम्त्याएको कथा


काठमाडौं ।

आगामी पुष २६ गते रिलिज हुने फिल्म कार्साङको टिजर सार्वजनिक गरिएको छ। गाउँमा धामी बसेको सेटअपबाट शुरू हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको सास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुकलाई प्रस्तुत गरेकोे छ।

ऋण र सरसापटले काम चलाउनु पर्ने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ। टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छ भन्ने देखाएको छ। अर्कोतिर सन्तान नजन्मिएपछि श्रीमान् श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण यो फिल्मको कथा रहेको टिजरबाट थाहा हुन्छ।

कार्साङ यम शेर्पाको डेब्यू निर्देशनमा निर्माणाधिन फिल्म हो। फिल्मको कथा पनि निर्देशक आफैँले लेखेका छन्। शेर्पा समुदायको संस्कृतिमा आधारित फिल्म्ममा दयाहाङ राई, डेब्यू अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पा, बालकलाकार राशी लिम्बु, सोहन थापालगायतका कलाकारले अभिनय गरेका छन्।

यार्सा फिल्म्सु र पुरुषोत्तम प्रधान फिल्म्स्को व्यानरमा छाया“कार पुरुषोत्तम प्रधानद्वारा निर्मित फिल्ममा हर्क साउद र डीपी खनालको शब्द रचना, मनोज थापा मगर, एसडी योगी र बिशो डोङको सङ्गीत, मनोज थापा मगर, एसडी योगी, रेश्मा पुन मगर, बिशो डोङ, सुनिता थेगिम, सुबानी मोक्तान, अस्मान लोप्चन, पाल्मु शेर्पाको स्वर, पुरुषोत्तम प्रधानको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन र मनोरञ्जन श्रेष्ठको रङ ग्रेडिङ रहेको छ।

फिल्ममा सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसर वीरेन्द्र शाही रहेका छन्।