पाठक पत्र: जोखिम नमोलौँ


अब जनता नै सचेत हुनुपर्ने बेला आएको छ, विशेष गरी आर्थिक क्रियाकलापमा । वर्तमान सरकारमा नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री छन् । सोही पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री छन् । एमालेकै कार्यकर्ता महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर छन् । विडम्बना, सरकार सञ्चालन र अर्थतन्त्र चलायमान बनाउने मुख्य भूमिकामा एउटै पार्टीका नेता–कार्यकर्ता हुँदा पनि देशको अर्थतन्त्र दिनप्रतिदिन नाजुक अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ।

अहिले बजार व्यापक मन्दीमा छ। घरजग्गा, गाडी, शेयर, व्यापार व्यवसायलगायतमा लगानी गरेका अधिकांश व्यक्ति डुबेका छन्। कतिपय सहकारीका सञ्चालक भागे। करोडौं बचतकर्ताको रुवावासी भयो। कतिपय लघुवित्त र फाइनान्सले पनि बचतकर्ताको बिचल्ली बनाएका छन्। अहिले बैंकमा पनि समस्या देखिन थालेको छ। सहकारीकै हालत बैंकको पनि हुने बजारमा चर्चा हुँदै आएको छ।

चेक बाउन्स र कालोसूचीमा पर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । हरेक दिन कोही न कोही चेक बाउन्समा समातिएका हुन्छन् भने कालोसूचीमा पर्ने क्रम पनि जारी छ । ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले घरजग्गालगायत धितो लिलाम गर्दा लाखौं सर्वसाधारण सडकछाप अवस्थामा पुगेका छन् । सहकारीले पैसा खाइदिँदा पनि करोडौं सर्वसाधारण घर न घाटको भएका छन्।

केही वर्षयता बजारमा मन्दी छ । विशेष गरी मन्दीको असर घरजग्गा, गाडी र शेयर कारोबारमा परेको छ । व्यापार व्यवसाय पनि उत्तिकै घाटामा छ । बजारमा लगानीकर्ताको अभाव छ । अहिले घरजग्गा, गाडी र शेयरमा लगानी गर्न चाहने पनि कोही छैन । बेच्न चाहने भने यत्तिकै भेटिन्छन् । मन्दीका कारण घरजग्गा, गाडी र शेयरको मूल्य सस्तिँदै गएको अवस्था छ। तर, यसको फाइदा सीमित व्यक्ति तथा दलालीहरुले उठाउन थालेका छन् । मानिसको मजबुरीको फाइदा उठाएर दलाली, माफियाहरुले आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । यहाँ अधिकांश मानिसले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र शेयर किनेका थिए । अहिले बैंकको ऋण तिर्न नसकेपछि उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् ।

एकातिर ऋण तिर्न पैसा छैन, अर्कोतिर धितो बिक्री हुँदैन । फेरि बैंकको ऋण नतिर्नेबित्तिकै कालोसूचीमा परिहालिन्छ । त्यसैले, अहिले अधिकांश मानिसले सस्तोमा धितो बिक्री गर्न थालेका छन् । तर, त्यसको फाइदा सीमित व्यक्तिहरुले उठाइरहेका छन् । बैंकको ऋण ५० लाख बाँकी छ र साढे दुई करोड पर्ने धितो भएमा उनीहरु डेढ करोडमै दिन तयार हुन्छन् । त्यसमा पनि ५० लाख तत्काल र बाँकी रकम दुई वर्षपछि दिने भनेर तमसुक गरिन्छ । यसैको फाइदा उठाएर दलाली, माफियाहरु धितो आफ्नो नाममा पास गर्छन् तर सम्झौता अनुरुप दुई वर्षपछि रकम दिँदैनन् ।

हिजो बैंक तथा वित्तीय संस्थाले घुसको आडमा आँखा चिम्लेर घरजग्गा, गाडी र शेयरलाई कर्जा प्रवाह ग¥यो । एक करोड ऋण दिँदा १० लाख त घुसै खाने । सेवाशुल्क तीन प्रतिशतसम्म लिने । ब्याज १६ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । बैंकहरुले छिट्टै नाफा कमाउन घरजग्गा, गाडी र शेयरमा लगानी गरे । तर, उनीहरुले सोचेनन् कि यसको मूल्य कृत्रिमरुपमा बढाइएको हो।

घरजग्गा, गाडी र शेयरको मूल्य बढाउनुमा दलाली, भूमाफियाहरुको ठूलो हात छ । यिनीहरुले पाँच हजार रोपनीमा बिक्री नहुने खेतीयोग्य जमिन प्लाटिङ गरी आनाकै लाखौंमा बेचबिखन गरे । भारत र चीनमा एक लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर दशौं गुणा बढी मूल्यमा बेचे ।

यता, बैंकले सय रुपियाँ कित्तामा निष्कासन गरेको शेयर ३२ सय पुर्‍याए। दलालीहरुले घरजग्गा, गाडी र शेयरको मूल्य कृत्रिमरुपमा बढाइरहे अनि आम नागरिक र बैंक, वित्तीय संस्थाले मूल्य बढेको देखेर लगानी गर्न हानाथाप गरे। मानौं, त्यहाँ लगानी गर्नेको प्रतिस्पर्धा नै चल्यो। अहिले यसको मूल्यमा गिरावट आउँदा व्यक्तिदेखि बैंकसम्म चुर्लुम्मै डुबेको अवस्थामा छन् ।
घरजग्गा, गाडी र शेयरमा लगानी गरेका धेरैले ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन्।

कतिपय देशै छोडेर भागेका पनि छन् भने कतिपय डिप्रेसनमा गएका छन् । त्यस्तै, बैंकबाट ऋण लिएर यो क्षेत्रमा लगानी गरेकाहरु पनि ऋण तिर्न नसकेपछि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेकै कारण उसले राज्यबाट उपलब्ध सेवा–सुविधाबाट वञ्चित हुनुपरेको छ । उसले बैंक खाता खोल्न पाउँदैन । न त विदेश जान नै पाउँछ । सरकारी सेवामा पनि प्रवेश पाइँदैन । यतिसम्म कि उसको तीन पुस्ताले यो नियति भोग्नुपर्छ ।

कतिपय सहकारीले करोडौं बचतकर्ताको खर्बौं रकम खाइदिएको छ । सहकारीको पनि लगानी घरजग्गा, गाडी र शेयरमै हो । बैंकको पनि सम्पूर्ण लगानी यही क्षेत्रमा रहेको छ । यसले कतिपय सहकारी त डुबे, अब बैंक पनि डुब्ने संकेत देखाएको छ ।
बैंकका बचतकर्ता पनि सहकारीकै बचतकर्ताको अवस्थामा पुग्ने देखिन्छन् । अहिले सरकार भन्छ, ‘सहकारी सञ्चालक र संस्थाको नाममा भएको धितो बेचेर बचतकर्ताको रकम फिर्ता गर्छौं ।’ तर, धितो किन्छचाहिँ कसले ? त्यसमाथि धितोको मूल्य स्वाट्टै घटेको छ । करोडौंमा किनिएको घरजग्गा अहिले लाखमा बिक्री हुन्न । गाडी र शेयरको पनि यस्तै अवस्था छ । यस अवस्थामा धितोको भनेजति मूल्य आउँदैन । अनि कसरी बचतकर्ताको रकम फिर्ता हुन सक्छ ?

एकातिर किन्ने मान्छेको अभाव हुँदा अर्कोतिर धितोको मूल्य दिनप्रतिदिन घट्दै गएको छ । अनि कसरी सरकारले बचतकर्ताको रकम फिर्ता गर्छ ? पछिल्लो समय पत्रपत्रिकामा बैंकले धितो लिलाम गरेको सूचना दिनहुँजसो देखिने गरेको छ । आजकल हरेक पत्रिकामा बैंकको लिलामी सूचना भेटिन्छ । बैंक धितो लिलाम गरेपछि त्यो बेचेर कर्जा उठाउँछ । तर, त्यो धितो किन्छचाँहि कसले ? अहिले धितो बेच्ने बढिरहेका छन् । किन्ने भने शून्यझैँ छन् । सरकारदेखि व्यक्ति, बैंक तथा वित्तीय संस्थाहरु धितो बेच्न लागिपरेका छन् । अनि किन्ने कसले ?

अर्थ मन्त्रालय र राष्ट्र बैंक समयमै चनाखो नहुँदा व्यक्तिदेखि बैंक, वित्तीय संस्था डुबेका हुन् । सरकारले करको लागि घरजग्गा, गाडी र शेयरमा लगानी गर्न दियो । यद्यपि, यो क्षेत्रमा लगानीका कारण डुब्न सकिन्छ भनेर सोचेन । घरजग्गामा कर्जा प्रवाह गर्दा सर्वसाधारण, बैंक वित्तीय संस्था डुबेका मात्र छैनन्, मुलुकको खेतीयोग्य जमिन खण्डीकरण गरेर प्लटिङ गर्दा खेती गर्ने जमिन मासिएको छ । जसका कारण भविष्यमा भोकमरीको समस्यासमेत निम्तिन सक्छ ।

यही क्षेत्रमा लगानीका कारण मुलुकको अर्थतन्त्रसमेत संकटमा परेको छ । गभर्नर महाप्रसाद अधिकारीले नै घरजग्गा, गाडी र शेयरमा कर्जा प्रवाह गर्नु मुलुकको लागि ठूलो क्षति भएको स्वीकारेका छन् । तर, डुबेपछि थाहा पाएर के गर्नु ? घरजग्गा, गाडी र शेयरको मूल्य अझै कैयौं वर्षसम्म बढ्दैन भनेर जानकारहरु नै बताउँछन् ।

यसले यो क्षेत्रमा गरिएको जो–कोहीको लगानी नराम्ररी डुब्ने देखिन्छ । अहिले बैंक घरजग्गा, गाडी र शेयरमा गरेको लगानी उठाउन सकिन्छ भनी ग्राहक खोज्दै हिँडिरहेको छ । तर, बैंक संकटमा परिसकेको छ । त्यसैले, अब बैंकमा बचत गरेका सर्वसाधारण सचेत हुनुपर्छ । नत्र सहकारीका बचतकर्ताको जस्तै अवस्था नहोला भन्न सकिन्न । कतिपय सहकारीका बचतकर्ता त डुबेहाले तर बैंकका बचतकर्ता बेलैमा होसियार हुनु राम्रो हो ।
– रुषा थापा ।