कांग्रेस एमालेलाई अनपेक्षित, माओवादीलाई उत्साह, रास्वपालाई झड्का

ठूला र पुराना दलकै पक्षमा जनसमर्थन

10.72k
Shares

काठमाडौं ।

स्थानीय तहको उपनिर्वाचनमा पुराना र ठूला दलहरुकै पक्षमा जनसमर्थन देखिएको छ। स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष गरी ४१ पदमा भएको चुनावी परिणामले पुरानै राजनीतिक दलहरुप्रति नागरिकको समर्थन देखिएको पुष्टि भएको हो।

स्थानीय, प्रदेश र संघमा क्रमशः पहिलो दोस्रो र तेस्रो दल बनेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले नै उपनिर्वाचनमा पनि राम्रो अंक ल्याउन सफल भए।

गत २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस ३२७, नेकपा एमाले २०७, माओवादी १२२, जनता समाजवादी ३०, नेकपा एस २०, लोसपा १६ र अन्य ३१ स्थानमा विजयी भएका थिए।

त्यस्तै वडा तहमा पनि नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा थिए। उक्त निर्वाचनपश्चात देशभरका ३३ वडा अध्यक्ष, १ नगरपालिका प्रमुख, २ गाउँपालिका अध्यक्ष र ४ जना उपाध्यक्ष खाली थिए।

ती स्थानीय तह तथा वडामा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिका प्रमुखसहित सबैभन्दा बढी वडाहरु जितेको छ। यद्यपि गत निर्वाचनमा जितेका स्थानीय तह र वडाहरुमा उपनिर्वाचनमा फरकफरक दलका उम्मेदवार निर्वाचित भएका छन्। प्राप्त मतपरिणामअनुसार उपनिर्वाचनमा कांग्रेस जिल्ला समन्वय समिति ओखलढुंगा, कैलाली, कीर्तिपुर नगरपालिका र १६ वडा गरी १९ स्थानमा जित निकालेको छ।

गत निर्वाचनमा यीमध्ये जिसससहित २६ पद कांग्रेस, एमाले र माओवादी ८/८, जसपा नेपाल र स्वतन्त्र उम्मेदवारले जितेको एक–एक सिटमा दलहरूको शक्ति परीक्षण भएको थियो।

उपनिर्वाचनमा नेपाली कांग्रेसलाई घाटा लागेको छ भने माओवादी फाइदामा गएको छ। एमाले बराबरको स्थितिमा छ। कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडामा जीत हासिल गरेको छ। यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँचवटा वडामा विजयी भएको छ।

माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सातवटा वडामा जीत हासिल गरेको छ। उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एकरएक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उमेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन्।

यो उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा जितेर स्थानीय तहको प्रतिनिधित्व गर्न पुगेको छ । रास्वपाका उम्मेदवारहरुले कांग्रेसकै मत काटेकाले कांग्रेसलाई धक्का लागेको नेताहरुले स्वीकार गरेका छन् । उपनिर्वाचन परिणामलाई स्वाभाविक ठानेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समिति सचिवालय संयोजक नानु बास्तोलाले बताउनुभयो।

‘हामीले यो परिणामलाई स्वाभाविक ठानेका छौं’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पुराना दलहरुप्रति वितृष्णा रहेको भन्ने शंका यो परिणामले मेटाएको छ। यद्यपि हामी उपनिर्वाचन भएका ठाउँमध्ये २ जिल्ला समन्वय समितिसहित २६ पदमा निर्वाचित भएका थियौं । त्यस बेला आवश्यकताअनुसार माओवादी केन्द्रसँगको गठबन्धन पनि थियो।

अहिले एक्लै लड्दा आएको यो परिणामलाई नागरिकले गरेको विश्वासका रुपमा लिएका छौं। आगामी दिनमा जनताका पक्षमा काम गरेर कांग्रेस अझ दर्बिलोरुपमा प्रस्तुत हुनुपर्छ भन्ने सन्देश पनि उपनिर्वाचनको परिणामले दिएको छ।’ ०८४ को निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लडेर एकल बहुमत ल्याउन सक्ने आधार देखिएको उहाँको दाबी छ।

नगरिकले पुरानै दल रोजे पनि सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले दाबी गरेअनुसार यो उपनिर्वाचनबाट अपेक्षित मत निकाल्न सकेन । एमालेले कीर्तिपुर मेयर, काठमाडौं १६ देखि बहुमत क्षेत्रमा जित्ने दाबी गर्दै आएको थियो । एमालेले एउटा गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष बोनस जित निकाल्दा केही वडा गुमाएको छ।

अध्यक्ष र उपाध्यक्ष एक एक पद थप्दा वडातर्फ भने एमालेले अपेक्षित नतिजा निकाल्न नसके पनि मत संख्याका आधारमा आफ्नो पक्षमा बलियो जनाधार रहेको दाबी गरेको छ। एमालेका सचिव गोकर्ण विष्टले सिट संख्याको आधारमा उपनिर्वाचनको नतिजाबारे विश्लेषण गर्न नहुने बताउँदै भन्नुभयो– ‘अहिलेसम्म निर्वाचनमा परिणाम आएको क्षेत्रको सिट संख्या हेरेर मात्रै हुँदैन । खसेको मतको कति पार्टीलाई कति प्राप्त भएको छ भन्ने अध्ययन गरेर मात्रै पार्टीले विश्लेषण गर्छ।’

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि विपक्षी कित्तामा पुगेको माओवादी केन्द्र भने यो निर्वाचनको नतिजाले हौसिएको छ । आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाएको माओवादीले कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको छ।

त्यस्तै जाजरकोटको नलगाढ नगरपालिका उपमेयर पनि जितेको छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले यो निर्वाचनलाई समग्रमा हेर्दा माओवादीको उकालो यात्रा शुरू भएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यो उपनिर्वाचनको परिणाम र मत संख्या हेर्दा हाम्रो विस्तारै उकालो यात्रा शुरू भएको छ ।’

प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष जितेर स्थानीय तहमा आफ्नो पहिलो उपस्थिति देखाएको छ । त्यहाँ रास्वपाकी रोजिना श्रेष्ठ विजयी हुनुभयो। काठमाडौंमा बाहेक रास्वपाले उम्मेदवारी दिएको अन्य क्षेत्रको उपस्थिति भने कमजोर रहेको मत परिणामले पुष्टि गरेको छ।

उपनिर्वाचनमा रास्वपा र राप्रपाले अपेक्षित मत ल्याउन नसकेको स्वीकार गरेका छन्। यसलाई समीक्षा गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने योजना बनाउने राप्रपाका नेताहरुको भनाइ छ।

यस्तै, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि रौतहटको गढीमाई नगरपालिका रौतहटमा एउटा वडाध्यक्ष जितेर बीउ जोगाएको छ । जसपा नेपालले सप्तरीको डाक्नेश्वरी १ र ४ को गरी दुई वडाध्यक्ष जितेको छ। नेमकिपाले कालिकोटको तिलागुफा–४ मा एउटा वडाध्यक्ष जित्न सफल हुँदा झापा कन्काई–६ स्वतन्त्र उम्मेदवारले जितेको छ।