काठमाडौं ।
र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठको संयुक्त प्रस्तुतिमा र्याप गीत चिसो चिसो हावाले सार्वजनिक गरिएको छ। हालै राजधानीको जमलस्थित विश्वज्योति सिनेप्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको र्याप गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन्। गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिसबहादुर सिंहलगायतले अभिनय गरेका छन्।
सार्वजनिक गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले बताए। ‘गीतमा चिसो हावालाई प्रेम कम्ल्पना गरिएको छ। केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो। हाकिम दाइसँग यसको अडियो तयार गरेपछि नेस स्टुडियो र फुजी स्टुडियोले भिडियो परिकल्पना गरेका हुन्। अडियोझैँ भिडियो पनि सशक्त हुनुपर्छ भन्ने लागेर हामीले मिहिनेत गरेका छौँ,’ उनले भने।
गीत सार्वजनिक समारोहमा सहभागी र्यापर गिरिश खतिवडाले र्यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए। ‘यसरी र्यापर अगाडि आएर आफूलाई चिनाउँदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ। यो गीतको अडियो र भिडियो पनि राम्रो बनेको छ।
यस्तै कार्यक्रम गरेर गतिविधि बढाउनुपर्छ,’ र्यापर खतिवडाले भने। र्यापर हाकिमले र्यापरको भेटघाटका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए। ‘हामीले सधै कभर भिडियो बनाएर गीत सार्वजनिक गर्ने गरेका छौँ। आर्थिक अनुकुलता नहुँदा पनि त्यस्तो भएको पाइन्छ, तर यसरी सानै भएपनि कार्यक्रम गर्दा आत्मीयता बढ्छ र एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ,’ उनको भनाइ थियो।
विवेक मगरको छायांकन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको हो। र्यापर हाकिमको राक्षस र चोरी देउ लौन मलाई तथा ब्रिजेशको रंग, ओ मैचा, डल्लीलगायत गीत लोकप्रिय छन्।











प्रतिक्रिया