–व्यवस्थापनमा सबैभन्दा धेरै
–विदेशिनेको संख्या बढ्यो
काठमाडौं ।
मुलुकभर सञ्चालित ११ विश्वविद्यालयमा १ लाख ४१ हजार ७ सय ७४ विद्यार्थी मात्र अध्ययनत छन्। ६ लाख ३३ हजार ५३ विद्यार्थीमध्ये बाँकी त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गत क्याम्पसमा अध्ययन गरिरहेका छन्। मुलुककै जेठो त्रिविबाट आंगिक र संम्बन्धन प्राप्त क्याम्पसमा ४ लाख ९१ हजार २ सय ९९ विद्यार्थी अध्ययनरत छन्।
देशैभरका विद्यार्थी संख्याको तुलनामा त्रिविमा ७७ दशमलव ६१ प्रतिशत विद्यार्थी त्रिवि र सो अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसमा अध्ययन गरिरहेका छन्। विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८१ मा ५३ हजार ६ सय ५ जना विद्यार्थीको संख्या वृद्धि भएको छ।
विद्यार्थीको संख्या वृद्धि भएपछि बीचमा कक्षा छाडेर जाने र प्राविधिक तहमा अध्ययनरत विद्यार्थीको संख्या घटेको छ। प्रतिवेदनअनुसार आंगिक क्याम्पसमा ३७ दशमलव ५८, सामुदायिकमा ३२ दशमलव २६ र निजीमा ३० दशमलव १६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको उल्लेख छ। हाल नेपालमा काठमाडौं, पूर्वाञ्चल, पोखरा, लुम्बिनी विश्वविद्यालय, कृषि तथा वन, सुदूरपश्चिम र मध्यपश्चिम, नेपाल खुला विश्वविद्यालय र राजश्री जनक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालनमा छन्।
प्रतिवेदनमा हाल प्राविधिक विषयमा विद्यार्थीको भर्ना १८ दशमलव ३२ प्रतिशत छ। त्यसको तुलना गर्दा ४ प्रतिशत कम विद्यार्थी प्राविधिक शिक्षामा गएका छन्। प्रतिवेदनअनुसार विषयगतरुपमा सबैभन्दा बढी व्यवस्थापनमा ४४ दशमलव ६८ प्रतिशत अध्ययनरत छन्। हाल उच्च शिक्षाको भर्नादर २२ प्रतिशत छ। तहगत रुपमा स्नातकमा ८९ र प्राविधिक विषयमा भर्नादर १८ दशमलव ३२ प्रतिशत रहेको प्र्रतिवेदनमा उल्लेख छ।
विद्यार्थी भर्नादर बढेसँगै बाहिरिने विद्यार्थी संख्या पनि ह्वात्तै बढेको छ। विद्यार्थी बाहिरिएसँगै ठूलो धनराशि पनि बाहिरिएको छ। आव ०८०/०८१ मा १ लाख १२ हजार २ सय ६९ जना विद्यार्थी वैदेशिक अध्ययनको सिलसिलामा मुलुकबाहिर गएका छन्। उक्त आवमा १ खर्ब १७ अर्ब ५८ लाख रुपियाँ बाहिरिएको छ । नेपालबाट करिब ५६ मुलुकमा वैदेशिक अध्ययनका लागि विद्यार्थीले मुलुक छोड्ने गरेका छन् ।
आव २०७९/०८० मा १ लाख १० हजार २ सय १७ जना बाहिरिँदा १ खर्ब ४२ करोड ३३ लाख रुपियाँ विदेशिएको थियो। प्रतिवेदनअनुसार विद्यार्थीको भर्ना संख्या बढे पनि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले विदेश मोह त्याग्न सकेका छैनन्। तथ्यांकअनुसार सबैभन्दा बढी जापानमा भाषाकक्षा अध्ययन गर्न विद्यार्थी विदेशिने गरेका छन्।
प्रतिक्रिया