जहाँ आफ्नोपन त्यहाँ अडिन्छ मन

9.78k
Shares

वासिंगटन डिसी अमेरिका

जहाँ आफ्नोपन हुन्छ त्यहाँ हाम्रो मन टक्क अडिन्छ । नेपाली पनले नेपालीहरुबीच भावनात्मक एकता सिर्जना गर्दछ । यहाँ नेपाली भन्नेबित्तिकै एउटा भौगोलिक नक्साभित्र बसोबास गर्ने जाति मात्र हैन । जुनसुकै भूगोलको भए पनि एउटै संस्कृति, संस्कार परम्परा, रीतिरिवाज र रहनसहन भएको समुदाय नेपाली हो । यसलाई भौगोलिक सीमाभित्र सीमित गर्न सकिँदैन ।

अमेरिको भर्जिनिया वरपरको मात्र कुरा गर्ने हो भने यहाँ नेपाली मन्दिर, नेपाली सामुदायिक केन्द्र, नेपाली पाठशाला, नेपालीका भजन टोली, नेपाली परम्परामा युवायुवतीहरुको विवाह र अन्य कर्म, सामुदायिक भवनमा सामूहिक पूजाअर्चना देख्दा जोसुकैलाई लाग्छ यहाँ पनि नेपाल रहेछ । अमेरिका भरमा जहाँ नेपाली समुदायको घनत्व बढी रहेको छ, त्यहाँँ नेपाली समुदायले मन्दिरको आवश्यकता महसुस गर्दछ । समुदायमा जो अग्रपंक्तिमा समुदायको नेतृत्व गर्ने क्षमता राख्दछ, उसँग समुदायका सदस्यहरुको आग्रह हुने गर्दछ कि यहाँ एउटा नेपाली मन्दिर चाहियो ।

त्यसपछि शुरु हुन्छ– स्थान खोज्ने, रकम जम्मा गर्ने, संस्था दर्ता गर्ने, सामूहिक पूजा, व्रतबन्ध, वनभोज सांस्कृतिक कार्यक्रम आयोजना गर्ने आदि । सन् १९६७ मा वासिंगटन डिसी वरपर बस्ने नेपालीहरुले यस्तै खाँचो महसुस गरेर नेपाली समाज अमेरिका (एएनएस) गठन गरेका थिए । जसको नेतृत्व भने नेपालका लागि अमेरिकी राजदूत एल्सवर्थ वर्करले गरेका थिए । उनी एएनएसको मानार्थ अध्यक्ष थिए । केही कारण थियो होला उनले कार्यकारी पद लिन अस्वीकार गरेका थिए । तर उनको उद्देश्य नेपालीहरु प्रवासमा संगठित रहन र आफ्नो भाषा संस्कृति र परम्परा कायम राख्न मद्दत पुगोस् भन्ने नै थियो भन्ने कुरामा दुई मत छैन । एएनएसको स्थापना यता हेर्ने हो भने नेपालीहरुको हजारभन्दा बढी संघ–संस्था अमेरिकामा क्रियाशील छन् ।

यी सबैको उद्देश्य नेपाली कला, संस्कृति, दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने, तथा नयाँ पुस्तामा आफ्नो संस्कृति र राम्रो संस्कार हस्तान्तरण गर्ने नै रहेको हुन्छ । वासिंटन डिसी वरपर नै उस्तै उस्तै उद्देश्य भएका सयौंको संख्यामा सामाजिक संघ–संस्थाहरु सञ्चालित छन् । समुदायलाई सहयोग पु¥याउन स्थापना भएको यस्ता संस्थाहरुले आफ्नो अन्तिम लक्ष्य एउटा सामुदायिक वा धार्मिक केन्द्र स्थापना गर्ने रहेको हुन्छ ।

वासिंगटन डिसी नजिक रहेको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)ले भगवान् शिव र भगवान् बुद्धको प्रतिमा आफ्नो प्रांगणमा प्रतिस्थापन गरिसकेको छ । यसले भगवान् बुद्धको स्तूपा र भगवान् शिवको कैलाश वा शिवालय निर्माण गर्ने लक्ष्य राखेको छ । यससँगै दुई सयको हाराहारीमा मानिस अटाउने प्रेक्षालय निर्माणको शुरुवात नै गरिसकेको छ । यो संस्थासँग झन्डै २० एकड आफ्नै जमिन र मन्दिरका लागि एक भवन पनि अवस्थित छ ।
यसको परिसरमा एक खोला पनि भएकाले हाम्रो नेपाली मैथीली, भोजपुरी समुदायले छठीमाईको पूजा अराधना र व्रत गर्ने र सूर्य भगवान्लाई अर्घ चढाउने पवित्र पूजा पनि केही वर्षयता हुँदै आएको छ । हरेक वर्षको तीजमा करिब १ सय पचासको संख्यामा दिदीबहिनीहरु उपस्थित भएर भगवान् शिवको पूजा गर्नै गरिएको धेरै वर्ष भयो । यसको साथै मन्दिरमा नियमित पूजा अर्चनाका लागि नियुक्त पण्डितबाट नेपाली सांस्कृतिक धार्मिक पर्वअनुसारको पूजा आयोजना गरिँदै आएको छ । पण्डितबाट नेपाली समुदायलाई आइपर्ने पुरोहित सेवा पनि प्रदान गर्ने गरिएको छ ।

यसै गरी भर्जिनियामा बसोबास गर्ने नेपालीहरु भारतीय मूलको समुदायले निर्माण गरेका मठ मन्दिरहरुमा पूजा गर्न र तीजमा नाचगान गर्न लाग्दा अनुमति नपाएको र अपमान पनि सहनुपरेको कारण आफ्नोपनअनुसारको सांस्कृतिक भवनको माग उच्च थियो । सन २०१९ मा यसको लागि रकम जुटाउन महाँपुराणको आयोजना गरिएको थियो । यसबाट जम्मा भएको रकम र त्यसपछि पनि नेपाली समुदायले विभिन्न कार्यक्रम आयोजना गर्दै रकम जम्मा गरेर भर्जिनियाको मनाससमा एक पुरानो चर्चसँग दुईवबटा भवनसहित ७ एकर्ड जमिन खरिद गरेको छ । अमेरिका नेपाल सामुदायिक केन्द्र (न्याक) को पहलमा यो संरचना निर्माण हुन लागेको हो ।

यसमा ४० देखि ५० लाख डलरको लागतमा धार्मिक र व्यापारिक प्रयोजनका लागि संरचना निर्माण भइरहेका छन् । अबको ६ महिनामा यो संस्थासँग पनि एउटा प्रेक्षालयसहितको व्यापारिक भवन र अर्को मन्दिर तयार हुने प्रायः निश्चित छ । यसको निमित्त समदायका सम्पूर्ण अग्रज सदस्यहरु अहोरात्र खटिरहेको देखिन्छ । त्यहाँ विभिन्न व्यावसायिक इकाइहरु, निजी व्यवसायका कार्यालयहरु, बैंकट हल, मिटिङ हलहरु निर्माणाधीन छन् ।

निकट भविष्यमा समुदायका प्रत्येक सदस्यले आफूलाई आवश्यक परेको सामुदायिक सेवा त्यहाँ उपलब्ध हुने विश्वास गरिएको छ । निर्माणको क्रममा रकम नपुग हुँदा समुदायका सदस्यहरु आफूले गरेको दानको परिमाण बढाउन तयार देखिन्छन् । संस्थाले आह्वान गरेमा आफूसँग भएको रकम सापटी वा सहुलियत दरमा ऋन दिन पनि तयार छन् । यो समर्पणले प्रवासमा आफ्नो संस्कृतिको संरक्षणप्रतिको लगाव देखाउँछ । अमेरिकामा यस्ता उदाहरण धेरै छन् । जहाँजहाँ नेपाली समुदाय घनत्वमा बसेको छ त्यहाँ मन्दिर सामुदायिक केन्द्र बन्दै गएका छन् ।

केही वर्ष यता तीव्र गतिमा समुदायले आफूलाई पायक पर्ने ठाउँमा एउटा मन्दिर, सामुदायिक केन्द्र, नेपाली भाषा पाठशाला आदि निर्माण गर्ने क्रम तीव्र बनेको छ । यस क्रममा समुदायले धेरै पाठ पनि सिकेको छ । केही वर्ष अघि बालटिमोरस्थित पशुपति बुद्ध मन्दिरमा ठूलो भीड लाग्यो भनेर स्थानीय मानिसहरुले अदालतमा मुद्दा नै दायर गरेका थिए । मुद्दा चार वर्षसम्म चलेर टुंगो लाग्यो । नेपाली समुदायकै पक्षमा फैसला भए पनि यो हाम्रो समुदायका लागि धेरै भारी भएको थियो । त्यहाँको नेपाली समुदायले पनि आफ्नो संस्कृतिको मायाले नै यो झमेला बेहोरेको थियो । सन् २००९ मा क्यालिफोनियाको लसएन्जलस शहरमा पनि नेपालीहरुले चर्च किनेर मन्दिर बनाएका थिए । भवन तयारी थियो । मन्दिरकै लागि यो संरचना खरिद गरिएको थियो तर त्यो भवनको अगाडिबाट क्रस चिन्ह हटाउन मात्र पनि वर्षौं लागेको थियो ।

त्यहाँ पनि छिमेकीहरुबाट निक्कै झमेला बेहोर्नुपरेको थियो । दक्षिण लस एन्जलसमा बसोबास गर्ने नेपालीहरुले यो सामुदायिक भवन तथा मन्दिरका लागि निकै लगानी गरेका छन । न्युयोर्क, बोस्टन, टेक्सासको डालास, क्यानडाको टोरन्टो, जार्जियाको एटलान्टा, ओहायोको कोलम्बस सिन्सीनाटीलगायत दर्जनौं राज्यहरुमा यति बेला नेपाली समुदाय एउटा नेपाली शैलीको मन्दिर, सामुदायिक केन्द्र, नेपाली संग्रहालयजस्ता संरचना नेपाली पहिचानका लागि पनि निर्माणको चाहना राखेर आफ्नो खाजाको थोरै रकम, आफ्नो मनोरञ्जनका लागि छुट्याएको सानो रकम कटौती गरेर जुटेको छ ।

आफूले आफ्नै शैलीमा आफ्नै परम्पराअनुसार बनेका संरचनाले मात्र नेपालीको मन जित्न सक्ने भएकाले यसैको धेय छ अमेरिका आउने पहिलो पुस्तालाई । दोस्रो पुस्ताले पनि नेपाली शैली र परम्परालाई चटक्कै छाड्न सक्दैन । छाड्न कोसिस पनि गर्दैन । यदि उसले छाडन कोसिस गरिहाले पनि उसले गुमाउने मात्र हो पाउने केही हैन भन्ने बुझेको छ । प्रवासको नेपाली दोस्रो पुस्ता नेपाली संस्कारमा जति रमाउँछ त्यति नयाँ परिवेश र नयाँ संस्कारमा रमाउँदैन । उसलाई पूर्णरुपमा रमाउन नेपाली भाषाशैली परम्परा र संस्कृति नै चाहिन्छ । आफ्नोपन नै चाहिन्छ ।