संघारमा सञ्चार युद्ध

6.77k
Shares

पूर्वीय सभ्यता र सनातन धर्म मान्नेहरु छोराको नाम दुर्योधन राख्छन् तर विभीषण राख्दैनन् । महाभारत युद्ध गराउने भिलेनको नाम आशीर्वचन ‘मानं च दुर्योधने’ मा पनि जपिन्छ। श्रीरामभक्त भनिएका विभीषण युगौंयुग कलंकित छन्।

नेपाली मिडियामा पनि विभीषणहरु कलंकित बन्न हात धोएर लागेका छन्। रामायणका विभीषण रावण र कुम्भकर्णहरुलाई मार्न सघाएर सत्तामा पुगे, तर नेपाली विभीषणहरु धराशयी हुने निश्चित छ। उनीहरुलाई सत्ताको मजा लिन दिइने छैन। आम नेपाली मिडियाको भलाइका लागि सरकारको संगठित तर भ्रष्ट प्रशासकसँग जुधिरहेको प्रकाशक समूहलाई उनीहरुले निकृष्ट रूपमा धोका दिए, आफ्नो तुच्छ स्वार्थका लागि भ्रष्टाचारीको जुत्ता चाट्न गए, उनीहरुलाई माफी दिन सकिन्न। सिंगो नेपाली मिडिया जगत् बाँचोस्, यसमा शुद्धीकरण आओस् र नेपाली आम पाठक–श्रोताले व्यावसायिक सेवा प्राप्त गर्न सकून् भनेर चालिएको कदमलाई लाजमर्दो तरिकाले तुहाउन खोजे, उनीहरु राष्ट्रद्रोही हुन्। राज्यको चौथो अंगका दुश्मनहरु हुन्। दुश्मनहरुले हतियार उठाइसकेका छन्। हामी श्रद्धेय पाठक–श्रोतासँग जबाफी हमलाको अनुमति चाहन्छौं।

हाम्रोजस्तो अल्पविकसित वा विकासशील मुलुकको सरकार र प्रशासन यन्त्र मिडियालाई कमजोर बनाउने रणनीति बनाएर बसेको हुन्छ। मिडिया बलियो भयो भने नेताहरुले जनतालाई मूर्ख बनाएर राज गर्न गाह्रो हुन्छ। देशमा लोकतन्त्र ल्याउनमा नेपाली मिडियाको पनि ठूलो हात छ। त्यसरी नै आज देशको अवस्था यस्तो रहनमा पनि मिडियाको भूमिका देखिन्छ। हिजो सरकारमा जानुअघि ठूला–ठूला आश्वासन दिने नेताहरुबाट अब आश्वासनबाहेक केही पाइनेवाला छैन भनेर २०८१ जेठ ३० गते मिडिया अलायन्स नेपाल (म्यान), नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ (आन) र राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले अब हामीले मिडिया उद्योगको नक्सा आफैंले कोर्नुपर्छ भनेर एउटा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्‍यौं।

साइन गरेको पहिलो दिनदेखि नै एउटा आर्थिक पत्रिकाले विज्ञापनको रेट बिगार्‍यो। त्यसको चार दिनपछि अर्को आर्थिक पत्रिकाले पनि सम्झौता विपरीत रेट बिगारेर बजारमा गयो। यसपछि अरु मिडियाहरुले पनि रेट बिगारेर बजारमा फेरि अस्वस्थ प्रतिस्पर्धा गर्न थाले। उक्त सम्झौतामा नेपाली प्रिन्ट मिडियाले आफ्नो रेट १० वर्षअघि चलनचल्तीमा जे थियो त्यही कायम गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका थिए। किनभने सरकारले जनताको करबाट सिर्जित राजस्वबाट केही रकम विज्ञापनबाट नेपाली मिडियालाई दिने जो प्रशंसनीय कार्य गरेको थियो त्यसको ८० प्रतिशत रकम भ्रष्ट प्रशासकले नै खान्थे, टेबुल मुनिबाट। अस्वच्छ प्रतिस्पर्धाको भुमरीमा प्रकाशन गृहहरुलाई फसाएर कसले बढी कमिसन दिन्छ उसलाई विज्ञापन दिने कालो नियत प्रशासकहरुको थियो।

उनीहरुको यो कर्तुत मिडिया जगत्को एकताबाट मात्र तोड्न सकिन्थ्यो। केही प्रिन्ट मिडियाका सञ्चालकहरुले यति सामान्य कुरा पनि बुझ्न सकेनन्। आफ्नै व्यवसायको बारेमा सोच्न सकेनन्। आफ्नै हित सोच्न नसक्ने यस्ता प्रिन्ट मिडियाले देश र जनतालाई कसरी सचेत र जानकार राख्न सक्लान् ? उनीहरुमा आधारभूत क्षमताकै अभाव देखियो।

अहिलेको विज्ञापन रेटमा कुनै पनि प्रिन्ट मिडिया बाँच्न सक्दैनन्। यो सत्य मिडियाकर्मी, निजी क्षेत्रका विज्ञापनदाता, सरकारी विज्ञापनदाता र नेपाल सरकारलाई पनि थाहा छ। विज्ञापनबाट मिडिया टिक्न नसक्ने भएपछि मिडिया टिकाउन ब्ल्याकमेल गर्ने र आर्थिक लाभ लिई समाचार लुकाउने बाहेक अरु उपाय हुँदैन। मिडिया पनि व्यापार हो र नाफा गर्नका लागि नै चलाइने पेसा हो। हो, राज्यको चौथो अंगको गरिमा कायम गर्न यसले नाफालाई प्राथमिकता दिनचाहिँ मिल्दैन।

सबैजना चाहन्छन्– राम्रै काम गरेर कमाऊँ, तर जे गरे पनि बाँच्नै नसक्ने अवस्था आयो भने ‘मर्ता क्या नहीं कर्ता’ को अवस्था आउँछ। यो उसको बाध्यता हो। मिडियाले कागज–मसी किन्नै पर्‍यो। आफ्ना कर्मचारीलाई हरेक महिना तलब दिनै पर्‍यो। सरकारले केही गरेन, हामी आफैं मिलेर केही गरौं भन्दा पनि सीमित बेइमान मिडिया सञ्चालक र केही विज्ञापन एजेन्सीका कारण चार वर्ष लगाएर गरेको यो सम्झौताको अहिले केही अर्थ रहेन।

विज्ञापनको दर रेट भताभुंग भइसकेका कारण यसपालि मिडिया–मिडियाबीच द्वन्द्व हुने निश्चित छ। यसपालिको द्वन्द्व वार या पारको अवस्थामा आएर मात्र टुंगिनेछ। हरेक मिडियाको केही कर्पोरेट हाउस र राजनीतिक व्यक्ति वा शक्तिस“ग राम्रो सम्बन्ध छ। मिडियाले उनीहरुलाई र उनीहरुले मिडियालाई परेको बेला एक–आपसमा सघाउने काम गरिरहेका हुन्छन्। एकले अर्कालाई संरक्षण पनि दिइरहेका हुन्छन्। यसपालिको मिडिया युद्ध प्रिन्ट मिडियाबाट शुरु हुनेछ। पहिला आफ्नो विज्ञापन दर रेट रचनात्मक तरिकाले बिगारेर अरुलाई समाप्त पार्ने रणनीतिबाट युद्ध शुरु हुनेछ। त्यसपछि अरु मिडियाको नजिक रहेका कर्पोरेट हाउसलाई ब्ल्याकमेल गर्न शुरु हुन्छ। यसले पूरा अर्थ बजारलाई नै नकारात्मक असर पुर्‍याउने र मिडियाको नै साख गिराउने छ।

मिडिया भनेको समाचार पस्कने र विज्ञापन संकलन गरेर चलाउने संस्था मात्र होइन, यो सबैको डेटा जम्मा गरेर बस्ने संस्था पनि हो। मिडियालाई धेरै मानिसको धेरै कुरा थाहा हुन्छ। उनीहरूको इतिहास र अवस्था थाहा हुन्छ। मिडिया सञ्चालकहरुले यो व्यापारी फलाना मिडियाको साथी, यो राजनीतिज्ञ फलानो मिडियाको शुभचिन्तक भनेर धेरै समाचारहरु लुकाइरहेको अवस्था छ।

अब मिडिया युद्धको कारण धेरै कुरा जनतामाझ छताछुल्ल हुने निश्चित छ। यसले जनतालाई सत्य–तथ्य समाचार पाउने वातावरण त तयार गर्छ तर आम जनतामा असीम निराशा सिर्जना हुन्छ। अहिले नै यस्तो भ्रष्टाचारी देशमा के बस्ने भनेर ठूलो जमात विदेशतिर लागिरहेछ, सर्वत्र भ्रष्टाचार देख्ने–देखाउने अभ्यासले व्यक्ति आफन्त र परिवारका आँखाबाट पनि गिर्नेछ।
नेपाली मिडियामा व्यापारिक मानसिकता भन्दा पनि पत्रकार र कर्मचारी मानसिकता भएका सञ्चालकहरूको हाबी भएकै कारण यो सम्झौताले पनि व्यावसायिक रूप लिन सकेन। यी सञ्चालकहरूले क्षणिक लाभ मात्र सोचेका कारणले मिडिया इन्डस्ट्री स्थापित हुनै सकेन। व्यवसाय गर्दा दीर्घकालीन सोच राखिन्छ।

२ देखि ५ वर्षको बिजनेस प्लान बनाएर घाटा सहने आ“ट र मुटु लिएर अगाडि जाने गर्नुपर्छ। तर, यहाँ एक महिना नै कम्पनी सञ्चालन गर्न पुँजी नभएका मिडिया सञ्चालकहरू बढी भएका कारण एक हप्ता पनि ऐतिहासिक सम्झौतामा अडान राख्न सकेनन्। रेटमा अडान लिन नसक्नुको जिम्मेवारी सञ्चालकले नै लिनुपर्ने हुन्छ, कर्मचारीलाई दोष दिएर उम्कने ठाउँ रहँदैन। मिडिया इन्डस्ट्री भनेको मिडियाको ८५ प्रतिशत र विज्ञापन एजेन्सीको १५ प्रतिशत हो। केही विज्ञापन एजेन्सीहरुले आफ्नो स्वार्थका लागि मिडियालाई जहिल्यै ‘प्राइस–वार’ गराइराख्ने प्रवृत्ति सबैका लागि घातक छ। गलत अभ्यासलाई निरन्तरता दिएर एजेन्सी चलाइराख्ने विज्ञापन एजेन्सीको प्रवृत्ति पनि राम्रो होइन।

हामीले आफ्नो ४०औं वार्षिक उत्सवमा ‘के नेपाली मिडिया चुकेकै हो ?’ भन्ने विषयमा १ सय ३२ पृष्ठ ब्रोडसिट साइजमा नेपाल समाचारपत्र प्रकाशित गरेर इतिहास बनाएको यहाँहरुलाई अवगत नै छ। पाठक, विज्ञापनदाता, आन्तरिक कर्मचारी सबैको एकीकृत मेहनतका कारण त्यो सम्भव भएको थियो। हाम्रो ४१औं वर्षको यात्रा पनि त्यसरी नै सफल हुने विश्वासका साथ मिडिया युद्धमा सत्यको पक्षलाई साथ दिन पनि सबैमा सादर अनुरोध गर्दछौं।

हाम्रो लागि मिडिया हाउस भनेको मन्दिर हो। कामना परिवारको तीन पुस्ताको त्याग र समर्पण हो। कामना न्यूज पब्लिकेसन्स् जहिले पनि लो प्रोफाइलमा बस्न रुचाउने सञ्चार गृह भएका कारण यो वर्ष सम्पदा, संस्कृति र संस्कार जोगाउनतिर लाग्ने अभ्यासमा छ। यस वर्ष हामी धेरै सम्पदाहरूको डकुमेन्टेसन गर्छौं र दिन–रात खटेर संस्कृति, सम्पदा जोगाउन योगदान गरिरहेका योद्धाहरुको प्रेरक कथा पाठकमाझ पस्कनेछौं। हामी कला, संस्कृति, साहित्य, संगीत, चलचित्र जस्ता मुलुकलाई पहिचान दिने सम्पदातिर नै बढी ध्यान दिएर बस्नेछौं।