काठमाडौं ।
गायिका अयूमी तामाङको ‘आफैलाई’ बोलको आधुनिक पप गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको छ।
रचना, संगीत र स्वर अयूमीकै रहेको म्युजिक भिडियोमा उनी स्वयम र उदयमान अभिनेता कुङसाङ बमजनले अभिनय गरेका छन्।
म्युजिक भिडियोमा काठमाडौ र ललितपुर वरपर तामाङ बस्ती र संस्कृति सम्बन्धी दृश्यका अतिरिक्त आधुनिकतातर्फ लम्किरहेको जीवन परिवेशलाई समेत समावेश गरिएको छ। म्युजिक भिडियोमा युवा युवती गहिरो माया प्रेममा डुब्न अघि पहिले आफूलाई अनि एक–अर्कालाईबुझन पर्छ भन्ने गहिरो सन्देश दिन खोजिएको छ।
साथीभाई र पारिवारिक जमघटमा भएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अयुमी पिता गीतकार डा आशबहादुर तामाङले नेपाली लोक संस्कृति सवै गीत संगीतको आधार भएकाले कुनै श्रष्टाले आफनो देश, वेशभूषा, भाषा र संस्कृति भूल्न नहुने सुझाव दिए।
यसअघि ‘जाने भए’ बोलको पप आधुनिक गीतमा पनि उनकै रचना, संगीत र स्वर थियो । अयुमीका बाजे/बजु चन्द्रबहादुर र धनमाया प्रख्यात लोक गायक/गायिका थिए भने पिता डा आशबहादुर तामाङ र माता हेमा पनि लोक श्रष्टाको परिचय बनाउन सफल भए । नेपालको लोक गीत/संगीतको संरक्षण र सम्बद्र्धनमा उनीहरु तीन पुस्ताकै योगदान रहेको छ ।
गीत/संगीतको पारिवारिक वातावरण र प्रेरणामा अयूमीले सिर्जनामार्फत आफनो क्षमताको निखार र परिचय अघि बढाइरहेका छन् ।
विदेशमा कार्यरत भएपनि नेपाली गीत/संगीतप्रतिको लगाव र तत्परतालाई जीवन्त तुल्याउन उनका परिवारका अतिरिक्त साथीसङ्गीले समेत प्रेरणा दिइरहेका छन्। उनको पछिल्लो श्रृजनाले त्यस विषयलाई उजागर गरेको छ।
अयुमीका हजुरआमा धनमायाले ७२ बर्षको उमेरमा गण्डकी प्रदेशमा प्रचलित ठेट, ठाडो तथा ढिला भाकाका दाइँ गीतजस्ता लोपोन्मुुख गीत रेकर्ड गरी एल्वम मार्फत सार्वजनिक गरेकी थिइन्। त्यसैगरी पिता डा आशबहादुरको रचना र संगीतमा तामाङ सेलो ‘ओई सोल्टीनी’ गत वर्ष सार्वजनिक भएको थियो ।
प्रतिक्रिया