संस्कृति र सम्पदा संरक्षणमा हाम्रो अभियान


कामना न्यूज पब्लिकेसन्स्को ४१औँ वार्षिकोत्सवका अवसरमा यसपटक हामीले प्रकाशन गर्ने विशेषांकको प्रमुख विषय नै संस्कृति र सम्पदा संरक्षणलाई बनाएका छौँ। आदरणीय पाठकवृन्द, हरेक मुलुकको आफ्नै मौलिक सभ्यता, संस्कृति, सम्पदा र संस्कार हुन्छ। सभ्यता, संस्कृति, सम्पदा र इतिहास नै त्यो मुलुकको परिचय र राष्ट्रिय गौरवको विषय पनि हो।

त्यसैले पनि हामीले विशेष जिम्मेवारीबोधका साथ संस्कृति र सम्पदा संरक्षणको विषयलाई उठान गरेका हौँ । हाम्रो यो विशेषांकमा संस्कृति र सम्पदा संरक्षणका विभिन्न विषयलाई प्राथमिकता दिई संस्कृति र सम्पदा संरक्षणमा लामो समयदेखि समर्पित हुँदै आइरहेका व्यक्तित्वको भूमिका एवं योगदानलाई कदर गर्दै उनीहरुका गाथालाई समावेश गरेका छौँ।

हाम्रो मुख्य लक्ष्य भनेकै सबै पक्षबाट संस्कृति र सम्पदाको संरक्षण निरन्तररुपमा भइरहनुपर्छ भन्ने नै हो । यदि हामीले हाम्रो संस्कृति र सम्पदा गुमायौँ भने त्यससँगसँगै मुलुकको पहिचान पनि गुमाउँछौँ । जब मुलुकको पहिचान नै गुमायौँ भने त्यति बेला हामी र हाम्रो मुलुकको अवस्था के होला ? त्यसैले मुलुकको पहिचानलाई सदा–सदा स्थापित गरिरहन र गौरवगाथालाई जोगाउन पनि संस्कृति र सम्पदाको संरक्षण अपरिहार्य रहन्छ भन्ने हाम्रो विश्लेषण र ठहर हो ।

संस्कृति हाम्रो सुन्दरता हो, संस्कृति हाम्रो परिचय हो र बहुमूल्य गहना पनि । विश्वका अति प्राचीन मुलुकमा पर्ने नेपालको आफ्नै विशेषता छ । नेपालको भौगोलिक बनावट, धर्म, संस्कृति, परम्परा, इतिहास र पौराणिक कालसम्म जोडिएको चर्चा–परिचयले हाम्रो सभ्यता स्रोतको गहिराइ अनुमान गर्न सकिन्छ । काठमाडौं उपत्यका त झनै संस्कृति र सम्पदाको खानी नै हो।

मन्दिर नै मन्दिरको शहर भनेर चिनिने काठमाडौंलगायत सिंंगो मुलुक नै हाम्रो संस्कृति, धर्म र सम्पदाको खानी हो। यहाँका हरेक ढुंगामा देवताको बास छ, प्रत्येक नदीमा धर्मको सुगन्ध छ। यहाँका प्रत्येक डाँडा–थुम्कामा आस्थाको प्रतीक छ। जहाँ गयो त्यहीँ संस्कृति र सम्पदाको मुहान छ । विश्वका चर्चित अनुसन्धानकर्ताहरुले समेत यहाँको कला, संस्कृति र सम्पदाको अनुसन्धान गर्दा निकै चाख दिएर गर्ने गरेको पाइन्छ । नेपालको सभ्यता यिनै कला, संस्कृति र सम्पदासँग जोडिएको छ । यस प्रकारको हाम्रो सभ्यताको धरोहरको रुपमा रहेको संस्कृति र सम्पदाको संरक्षणमा सरकार तथा हामी सबै नागरिकले जुन रुपमा चासो दिनुपर्ने हो त्यो रुपमा दिन सकेका छैनौँ । युवाशक्ति देशका ऊर्जा भएकाले युवाशक्तिले पिता–पुर्खाले बचाउँदै आएको संस्कृति र सम्पदालाई जोगाउन कम्मर कसेर लाग्नुपर्ने बेला आएको छ ।

राज्यको चौथो अंगको रुपमा रहेको मिडिया क्षेत्रले पनि संस्कृति र सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बेला आएको छ । त्यसैले हामीले यही तथ्यलाई आत्मसात् गरी संस्कृति र सम्पदा संरक्षणका अगुवा तथा नायकहरुलाई उत्प्रेरित गर्दै उनीहरुलाई आगामी दिनमा यो अभियानमा लाग्न थप अभिप्रेरित गर्ने गरी यो विशेषांक प्रकाशन गरेका हौँ। मिडिया क्षेत्रको भीडमा पृथक पहिचान बनाउँदै आइरहेको सिंगो कामना न्यूज पब्लिकेसन्स् र यहाँबाट प्रकाशित नेपाल समाचारपत्र दैनिकले संस्कृति र सम्पदा संरक्षणको अभियानलाई विगतदेखि नै प्रमुख प्राथमिकतामा राख्दै आइरहेको विदित नै छ।

आगामी दिनमा पनि हामी यो अभियानलाई अझै जीवन्त र बुलन्द किसिमले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ । संस्कृति र सम्पदालाई मुलुकको समृद्धिसँग जोड्ने प्रशस्त संभावना हुँदाहुँदै पनि त्यसतर्फ सरकारी निकायले कुनै चासो दिन नसक्नु दुःखद छ। अब सरकारले पनि गम्भीर भएर सोच्नै पर्छ।

सरकारले संस्कृति र सम्पदा संरक्षणका लागि नियमितरुपमा नै विशेष कार्यक्रम ल्याएर त्यसलाई सशक्त अभियानका रुपमा अगाडि बढाउनु अहिलेको अहं आवश्यकता हो । अर्कोतर्फ संस्कृति तथा सम्पदा संरक्षण कुनै एक पक्षको मात्र जिम्मेवारी होइन, संस्कृति कुनै एक क्षेत्र, जात, धर्म, सम्प्रदायको मात्रै पनि होइन । यो साझा सम्पत्तिको संरक्षणमा प्रत्येक नेपालीको पनि साझा दायित्व रहन्छ । यो दायित्व निर्वाह गर्न सबै सचेत हुनै पर्छ।