गीतमा भजन मिसाएर लोकप्रियता कमाउँदै कुम सागर

4.98k
Shares

भक्तपुरका एक युवाले हिजोआज गीत संगीत क्षेत्रबाट लोभलाग्दो लोकप्रियता कमाई रहनुभएको छ । त्यो पनि गीतमा नेवारी भजन मिसाएर । उहाँ हुनुहुन्छ कुम सागर । धेरैले उहाँलाई कुमार सागर भन्ने गछ्र्रन् । खासमा उहाँको नाम सिद्धि सागर प्रजापति हो । प्रजापति भनेको माटोको भाँडा बनाउने समुदाय हो । जसलाई कुम भनिन्छ । कुमले थरको कुम र नामको सागर जोडेर फेसबुकमा कुम सागरको नाममा आईडी बनाउने प्रयास गर्नुभयो । तर, स्पेलिङ लेख्न नजानेर कुम सागरका नाममा आईडी खोल्नुभयो । त्यसपछि उहाँले कुम सागर र कुमा सागरको नाममा लोकप्रियता कमाई रहनुभएको छ ।

पछिल्लो समय नेपाली संगीत क्षेत्रमा कुम सागर आप्mनो अलग गायन शैली र व्यक्तित्वका साथ छाइरहनुभएको छ । कुुमका गीतहरू सामाजिक सञ्जालमा लोकप्रिय छन् । फरक पहिचान बोकेर हिँडिरहनुभएका कुम मौलिक नेवारी वाद्यवादन र आधुनिक संगीतको गज्ज्बको फ्युजन गर्दै संगीत दुनियाँमा फरक स्वाद पस्किरहनु भएको छ । नेवार संस्कृतिको थलो ख्वप (भक्तपुर) मा जन्मेर हुर्कनु भएका कुुमको मौलिक नेवारी लवजका कारण उहाँ भिन्न स्वरका साथ छाइरहनुभएको छ । आफू जस्तो हुनुहुन्छ, त्यस्तै रूपमा प्रस्तुत हुने शैलीले पनि उहाँ दर्शकमाझ फरक व्यक्तित्वका साथ उभिएनुभएको छ ।

कुम आप्mना हरेकजसो गीतमा नेवारी भजन मिसाएर संगीतप्रेमीको मन जितिरहनुभएको छ । संस्कृतिमा धनी नेवार समुदायको संस्कृतिसँग जोडिएका भजनलाई गीतमा रेकर्ड गरी आम मानिसबीच ल्याउने प्रेरणा भने कुमले आफ्नो पुर्खा र परिवार अनि टोलका बाजेहरूबाट पाउनुभएको छ ।

गीत संगीतको माध्यमबाट आफ्नो संस्कार र संस्कृतिलाई अगाडी बढाउँदै आउनुभएका उहाँ संगीत क्षेत्रमा लागेको करिब आधा दशक भए पनि गत वर्ष सार्वजनिक ओ चम्पा गन वानबाट धेरैमाझ चिनिनु भएको हो । परम्परागत नेवारी बाजागाजा र आधुनिक वाद्यवादन तथा संगीत प्रयोग गरिएको सो गीतमा उहाँले मौलिक नेवारी भजन श्री रानेन्द्रको एक खण्ड प्रयोग गर्नु भएको छ । ‘यही गीतपछि हो मलाई मान्छेहरूले बबाल नोटिस गरेको’ गायक सागर आप्mनै मौलिक लवजमा सुनाउनु हुन्छ ।

सानैदेखि आफ्नो हजुरबुवाका साथ डफामा भजन गाउन जाने उहाँले आफ्नो अनुभव, हजुरबुबाको प्रेरणा र साथ सहयोगले सो गीतमा भजनको मिश्रण गरेर फरक शैलीमा ल्याउनुभएको हो । ‘ओ चम्पा बोलको गीतमा भजन समावेश गरेर रेकर्ड गराउँदा टोलका बाजेहरूले निकै सपोर्ट गर्नुभयो ।

बाजेहरूसँग सानैदेखि भजन गाउने भएकाले अधिकांश नेवारी भजन मलाई कण्ठै थियो । आफ्नो मौलिक भजनलाई किन रेकर्ड नगर्ने त भन्ने सोच आयो र भजन मिसाएर ओ चम्पा रेकर्ड गरेको हो । यसरी रेकर्ड गर्नुअघि टोलका भजनमा गाउने बाजेहरूसँग पनि सहल्लाह लिएँ ।

उहाँहरू हाम्रो भजन पनि रेकर्ड हुने भयोे भनेर दंग पर्नुभयो । ‘झन् त्यसका लागि भिडियो खिच्ने बेलामा त अब हामी टिभीमा पनि देखिने भयौं भनेर दौरा सुरुवाल लगाएर आउन भएको रहेछ’ गायक सागरले हर्ष व्यक्त गर्दै सुनाउनु भयो । कुमका साथ श्री ब्रम्हायनी डफा भजन मण्डलको स्वर रहेको गीतको भिडियोमा परम्परगत नेवारी भजन गाउने शैलीका साथै नेवारी संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

गीत संगीतको माध्यमबाट मौलिक नेवारी भजनको प्रचार गर्दै नयाँ र पुरानो पुस्तालाई जोड्दै आउनुभएका कुम सानैदेखि नै मौलिक नेवारी भजन गाउनमा रुचि राख्नु हुन्थ्यो । ‘मेरो बाजे डफामा भजन गाउनु हन्थ्यो । साथै नेवारी बाजा खिङ बजाउनुहुन्थ्यो । म सानैदेखि बाजेसँग भजन गाउन जान्थेँ । बाजे बितेपछि बजैले भजनमा पठाउनु हन्थ्यो र बाजाहरू सिक भन्नु हन्थ्यो । ‘म भजनमा जाँदा खिङलगायत भजनमा बजाइने परम्परागत बाजा बजाउथेँ’ कुमले भजनमा पोख्त हुनुको कारण खुलाउँदै भन्नु भयो । ‘स्कुल पढ््दा पनि म गीतहरू लेख्ने गाएर साथीहरूलाई सुनाउने गर्थें । यसो गर्दा निकै आनन्द आउँथ्यो । मनपर्ने केटीलाई पट्याउन पनि गीत लेख्ने र गाउने गर्थें । गीत लेखेर गर्लफ्रेन्डलाई सुनाउने गर्थें ऊनी अहिले मेरो श्रीमती छिन् ।’

सन् २०१७ तिरबाट आफैं गीतार बजाएर मोबाइलमा गीत रेकर्ड गर्न थाल्नुभएका उहाँले संगीत सम्पादन एपको मद्दतबाट पहिलो गीत बाजेको बझाङ आफ्नो युट्युबमा सार्वजनिक गर्नु भएको थियो । यसै गरी केही गीत सार्वजनिक गर्नुभएका उहाँले हालसम्म एक दर्जन हाराहारीको गीतमात्रै सार्वजनिक गर्नु भएको छ । तर, यिनै गीतले उहाँलाई देशदेखि विदेशसम्म लोकप्रियता दिलाएको छ ।

केही समय गितार सिक्नुभएको उहाँ गीतार बजाएर विभिन्न रेस्टुरेन्टमा गीत गाउने गर्नु हुन्थ्यो । ‘त्यो बेला मलाई भजनको साथी बिकेशले साथ दिन्थ्यो । तर जहिले घरमा जान ढिला हुने भएपछि उसले मसँग हिँड्न छोडेर अर्कै काम गर्न थाल्यो’ सागरले सुनाउनु भयो। एक दिन कुमको भेट गायक रोजमान महर्जनका साथ भयो । रोजमानले म पनि बजाउँछु कुनै गीतमा बजाउन परेमा म आइदिन्छु भनेपछि उहाँहरूबीच भेटघाट हुन थाल्यो । करिब एक डेढ वर्षसम्म कुमले गीतार र रोजमानले खिङ बजाएर गीत गाउने गर्नु हुन्थ्यो । ‘गीत गाउँदै जाँदा बाँसुरी एउट पनि थप्न पाए अझ राम्रो हुने थियो भन्ने लाग्यो । बाँसुरीमा अमन मालीलाई हालियो । उहाँ संगीत पढेर बाँसुरीवादनमा निकै राम्रो गर्नु भएको मान्छे हो ।

कति अरूको गीत मात्र गाउने अब आफ्नै ओरिजिनल गीत गरौँ भन्ने लागेर ३ जना मिलेर गीत निकाल्न थाल्यौँ । हामी कोही पनि प्रोफेसनल थिएनौं’ कुम गफिनु भयो ‘अधिकाशं गीत संगीतमा रुचि भएको तर सिक्न नपाएका टोलका अन्य साथीलाई पनि व्यान्डमा थप्दै गयौं । अनि कुम सागर एन्ड ख्वप व्यान्डको स्थापना ग¥यौं ।’

ब्यान्डमा कुम गायनका साथ गितार बजाउनु हुन्छ भने रोजमान खिङ, प्रविन लाबजु र नगरा, रोसिक जौधरी सारंगी, रोशन बज्रचार्य बेस गितार, सुमन गैडा गितार, बिके प्रजापति भुस्या बजाउनु हुन्छ भने सरद देउलाले व्यवस्थापन सम्हाल्नु हुन्छ, साउन्ड इन्जिनियर राम सुन्दर धुसु हुनुहन्छ । कुमलाई अमन मालीभन्दा पहिले बाँसुरीमा साथ दिने यजु आचार्य भने हाल ब्यान्डबाट केही समयका लागि अलग हुनुभएको छ ।

त्यस्तै, अर्को गीत फूरफूरीमा कुमले कुमारीसम्बन्धी भजन कुमारी जननी देवी समावेश गर्नुभएको छ । जसलाई धेरैले रुचाए भने चहरे सारीलाई उहाँले राजा रणजित मल्लप्रति समर्पित गर्नु भएको छ ।

उहाँले नेवारी भजनबाट प्रभावित भएर युट्युबमा खोकना डफा भजन मण्डलको सहकार्यमा रुक्रिमा बोलको भजन सार्वजनिक गर्नु भएको छ । जुन युट्युबमा नवौं नम्बरको ट्रेन्डिङमा परेको छ । कुमको उपत्यकामा पहिलो कन्सर्ट कीर्तिपुरमा भएको थियो । ‘हामी त्यहाँ पुगेर साउन्ड चेक गर्दा खासै दर्शक थिएनन् । कीर्तिपुरमा त्यो पनि डाँडामा को आउला र भन्ने लागेको थियो । मान्छे आएनन् भने त मजा हुँदैन भन्ने सोचिरहेका थियौं ।

गीत शुरू गर्दा नगर्दै कयौं मानिसको भीड जम्मा भयो र उनीहरुले हाम्रै गीत पो गाउन थाले’ पहिलो कन्सर्टको सफलताप्रति रमाउँदै गायक सागरले सुनाउनुभयो ‘उपत्यकापछि पहिलो कन्सर्ट पोखरामा गरियो ।

त्यसपछि धरान, ईटहरी, लेटाङलगायत दुई दर्जन बढी कन्सर्ट गरेको यो व्यान्ड अब अस्टे«लियाबाट पहिलो विदेश यात्रामा निस्किने तयारीमा छ । गत वर्ष म अस्टे«ेलियामा सोलो प्रस्तुति दिएर आएँ ।

त्यहीको व्यान्डसँग सहकार्य गर्दा के नमिलेको जस्तो महसुस भयो, मज्जै आएन र हामीलाई हाम्रै बाजा चाहिने रहेछ भन्ने लाग्यो । त्यसैले अब बरू थोरै ठाउँको कन्सर्टमा मात्र जाने तर आप्mनै ब्यान्डको साथीहरूसँग मात्र कन्सर्ट गर्ने निर्णय गरेका छौँ। नेपालका विभिन्न सहरमा कार्यक्रम छन् ।

नेपाली भएका धेरै देशबाट कार्यक्रमका लागि बोलाईरहेका छन् । तर, हाम्रो मेहनत पुगेको छैन। अलि मेहनत गरौँ अनि जाने भनेर बसिरहेका छौं ।’
कुम र उनको ब्यान्डले आप्mना गीतमा परम्परागत बाजा प्रयोग गरेपछि अहिले युवामाझ यसको प्रयोग ह्वात्तै बढ्न पुगेको छ । ‘पहिले भजनमा बाजा बजाउनलाई युवाहरू नै पाउँदैनथ्यो । परम्परागत बाजा बजाउन अरूले रुचि राख्दैनथे । जब मैले गीतका साथ भजन ल्याएँ अनि हाम्रो परम्परागत बाजाहरू नै राख्न थालेँ, त्यसपछि यहाँका युवाहरू पनि हाम्रो मौलिक भजन र बाद्यवादनमा रुचि राख्न थालेका छन् । अस्ति मात्र पाँचतले मन्दिरमा धाँ सिकाउने अनाउन्स भएको थियो । त्यहाँ धाँ सिक्न एक सयभन्दा बढी युवा जम्मा भएका थिए । त्यो देख्दा यति खुशी लाग्यो कि अब चाँही हाम्रो बाजा युवाहरुमा पनि रुचिको विषय बन्यो भन्ने लाग्यो’ – उहाँले खुशी प्रकट गर्दै भन्नुभयो ।

कुमको अनुभवमा मन्दिर तथा सामुदायिक फल्चाहरूमा गरिने भजनले मौलिक संस्कृति झल्काउने मात्र नभई मानिसहरूलाई तनाव मुक्त गराई मानसिक स्वास्थ्य राम्रो बनाउन पनि मद्दत गर्छ । ‘मानिसहरू एक किसिमको फिल लिन पनि भजनमा आउँछन् । अनेकथरी टेन्सन भइरहेको हुन्छ, एक छिन आनन्द लिन र टेन्सन दुर गर्न पनि भजनमा आउने गर्छन् । म्युजिकमा रमाउन पुग्छन्। म्युजिक नभए त मानिसहरुमा डिप्रेसन हुन्छ नि’ –उहाँ भन्नु हुन्छ ।

कुम आगामी दिनमा नेवारी भाषाको गीतहरू निकाल्ने सोचमा छन् । ‘मलाई नेवारी भाषामै गीत गाउने र त्यसमा मौलिक भजन, नेवारी भाषा, संस्कृतिलाई निरन्तरता दिनु पर्छ भन्ने लाग्छ । वास्तवमा हाम्रो चाहना भनेको त नेवारी गीत गाउने नै हो । नेपाली त हामीलाई जबर्जस्ती गाउन लगाएको हो । तर सबै दर्शकको मागअनुसार नेपाली भाषा पनि मिसाउनुपर्छ’–उहाँको भनाइ छ ।