नन्दकृष्णका, देउडा दुःख


बौजुका कम्पनी माला दाइ क्यान मास्ता हुन्

मन भन्या साउनकी रात दन्त क्यै हाँस्ता हुन्
ओ बाज झूम्र्यौली बाज ।

सुदूर पश्चिमको दुर्गम ठाउँ बझाङका गायक नन्दकृष्ण जोशीले रहरै रहमा गाएको देउडा गीत अहिले सबैतिर पैmलिएको छ । २०३४ साल कार्तिक १४ गते रेडियो नेपालमा पहिलोपटक देउडा सम्राट नन्दकृष्ण जोशीले ओ बाज झूम्र्यौली बाज लयमा देउडा गाएका थिए । हाल आम मानिसमा लोकप्रिय देउडा २०३४ सालअघि भने सुदूर पश्चिमाञ्चलमा मात्र सीमित थियो । भारतका शास्त्रीय संगीतलाई प्राथमिकताका साथ बजाउने राष्ट्रिय प्रसारण रेडियो नेपालले नेपालकै सुदूरपश्चिमको देउडालाई चिनेकै थिएन । सेती अञ्चलको हिमाली जिल्ला बझाडको तलकोटमा २०१५ सालमा जन्मेका नन्दकृष्णको काठमाडौं आएर २०३४ सालमा देउडा गाएर रेडियो नेपालमा सुनाएपछि मात्र यसले रेडियोमा प्रवेश पायो र यसको चर्चा हुन पुग्यो ।

नन्दकृष्णको गाउँमै रेडियो थिएन । घरमा दाइले ल्याएको रेडियोमा कवि केशरी धर्मराज थापाका होहो माले होहो, स्वर सम्राट नारायण गोपालका अल्झे छ क्यारे पछ्यौरी सुनेर हुर्किएका नन्दकृष्णलाई हाम्रा गाउँका देउडा गीत चाहिँ रेडियोमा किन बज्दैनन् भन्ने खुल्दुली लागिरहन्थ्यो रे । उनकी आमा गङ्गमती देवी माँगल गाउने पहिलो महिला थिइन् । विवाह, व्रतवन्धलगायतका विभिन्न मांगलिक कार्यमा आमाले गाएको माँगल सुनेर उनी पनि माँगल गाउने गर्थे । अनि वनमा गाई बाख्रा चराउन जाँदा उनका दाइ जयकृष्ण निकै मिठा मिठा वन गीत गाउँथे ।

छड्क्या नन्द केश हाल बैजु तोडीका तेल

हामी जन्म्या देश धन पाकी

पहेँलो भैगो हामी जन्म्या देश ।

यस्ता गीत सुन्दै र गाउँदै हुर्किएका उनी घरमा आमा र वनमा दाइबाट प्रभावित थिए । ‘त्यति बेलाको समाजमा ब्राम्हणको छोराले गीत गाउनु हुन्न भन्ने थियो । गाउँ समाजकाले बाहुनको छोराले गीत गाउँदै हिँडेको मन पराउँदैनथे । तर वनमा गाइने वन गीतलाई मैले विद्यालयमा ल्याएँ । त्यो बेला थलारा प्राईमरी स्कुल, जुन पछि दुर्गा भवानी मावि बन्यो, त्यहाँ सीडीओ र योगी नरहरीनाथ आउनुहुँदा पनि स्वागतमा यिनै देउडा गाएर सुनाएँ’ देउडा सम्राट जोशीले जोशिँदै सुनाए ‘देउडा गाउँदा गीत बन्छ, लेख्दा कविता र त्यसलाई व्यापक रूपमा लेख्दा सङ्लो साहित्य बन्छ । त्यस कारण देउडा गीत कविता र साहित्यको त्रिवेणी पनि हो । यी गीतलाई पहिला वन गीत भन्थे। पछि देउडा गीत भनियो । डेढ कदम अर्थात् एक कदम अगाडि र आधा कदम पछाडि गरेर खेलिने भएकाले यसलाई डेउडा भनिन्थ्यो । डेडी कदम खेलिने डेउडालाई पछि देउडा भनियो’ गायक जोशीले खुलाए ।

उनका अनुसार देउडाका विभिन्न लय हुन्छन् । देउडा दशैं, माघी, गौरा पर्व, विशु पर्व आदिमा बझाङ, बाजुरा, अछाम, डडेलधुरा, बैतडी, हुम्ला, जुम्ला, कालीकोट मुगुलगायत धेरै ठाउँमा खेलिन्छ । यसमा १४÷१४ वटा शब्द हुन्छन् । देउडा गीतमा एक हजारभन्दा बढी मौलिक भाका छन् । पृथक खालका भाका अनि प्रत्येक लयका आ–आफ्नै विशेषता हुन्छन् । देउडा चार थरीका देखिन्छन् । पहिलो, खेलसम्बन्धी गीतहरू जुन सवाल–जवाफमा आधारित हुन्छन् । दोस्रो थरीका गीतहरू मायाप्रेम, सुखदुःख, मिलनबिछोड, हर्ष विस्मातमा आधारित हुन्छन् । तेस्रो चाहिँ कानमा हात राखेर गाइने गीतलाई ठाडी (ठाडो) भाका भनिन्छ । जुन विरह र कारुणिक हुन्छन् । अर्कोचाहिँ झिट्टा गीत हुन्, जुन विशेषगरी गीताङ्गीले मात्र गाउँछन् र प्रश्नोत्तरीमा आधारित हुन्छ ।

ब्राम्हणले गीत गाउन बर्जित भए पनि विद्यालयका विविध कार्यक्रममा गीत गाउने नन्दकृष्णले आफू जता जता पुगे, देउडालाई पनि त्यहाँ सँगै पु¥याए । उनी अध्ययनका सिलसिलामा बझाङको सदरमुकाम चैनपुरमा पुगे । त्यहाँ पनि धेरै कार्यक्रममा देउडै गाएर सुनाए । चैनपुरपछि थप अध्ययनका लागि उनी काठमाडौं आए । काठमाडौं आउनुको कारण पढाइ भए पनि उनको भित्री इच्छा भने रेडियो नेपाल पुगेर देउडा गाएर देशभर गुञ्जाउनु थियो । ‘म २०३४ सालको असारमा हिँडेर करिब १५ दिनमा नेपाल (काठमाडौं) आइपुगेँ । बझाङको दुर्गम गाउँ तलकोटबाट १२ दिनको पैदल हिँडेर धनगढी पुगेँ । त्यहाँबाट रक्सौल भएर भारतको बाटो हुँदै सिमभन्ज्याङको बाटोबाट १५ दिनमा काठमाडौं टेकेको थिएँ । साउनमै रेडियो नेपाल खोज्दै गएँ । म बझाङी भाषामात्र बोल्थें । नेपाली भाषा बुझ्थेँ तर फर्काउन सक्दिनथेँ । रेडियो नेपालमा कसैलाई चिन्दिनथेँ । सबैलाई हजुर नमस्कार गर्दै म गीत गाउन आएको हजुर । मेरो घर बझाङ हो, मलाई गीत गाउन देउ भन्थेँ’ नन्दकृष्णले विगत सम्झिए ‘साउन भदौको महिनाभरी रेडियो नेपाल धाएँ । तर, केही मेलोमेसो पाइनँ । असोजतिर त्यो बेला विदेशमा बस्ने नेपालीहरूको लागि कार्यक्रम चलाउने दामोदर अधिकारीले मदन परियार र रत्न बेहोसीलाई उहाँ पहाडबाट आएको मान्छे, उहाँलाई गीत रेकर्ड गराउन लगाईदिनुस भन्नुभयो’ गायक जोशीले जोशिँदै संघर्ष र सफलताको कथा सुनाए ‘हामी वनमा बाजागाजा बिना त्यसै गीत गाउँथ्यौँ । न मादल हुन्थ्यो, न हार्मोनियम । त्यहाँ त हार्मोनियममा सुर ताल मिलाएर गाउनु पर्ने भयो । सुर ताल केही पनि नमिलेपछि गीत रेकर्ड भएन । तर, मैले हार मानिनँ । सोही साल कार्तिक १४ गते फूलबारी कार्यक्रममा रत्न बेहोसीले बजाएको हार्मोनियममा मैले गीत गाएँ । ’ त्यो गीत रेडियोमा बज्न अलि समय लाग्यो । तर जुन दिन बज्यो, नन्दकृष्णले गीत गाउन गरेको दुःख र संघर्ष एक छिनमै बिर्सिए । ‘म धर्तीमा छु कि स्वर्गमा छु जस्तो लाग्यो ।’

उनले २०३५ सालमा रेडियो नेपालकै फूलबारी कार्यक्रममा अर्को गीत रेकर्ड गराउने अवसर पाएँ । वनमा गाउने गीतलाई देउडाका रूपमा चिनाउँदै देशव्यापी गरेका नन्दकृष्णले २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनलाई देउडा गाएरै सघाए ।

नेपाल हनुमान ढोका तस्विर टाँस्याका छन्:

मन भने साउनका रात दन्त हाँस्याका छन् ।
विद्यार्थी आन्दोलन चर्काउन उनले गाएको यो गीतको अर्थ नेपालको हनुमान ढोकामा राजाको तस्विर टाँसेका छन् तर जनताहरू गरिब छन् । साउनका रातजस्तै अँध्यारो छ भन्ने हुन्छ । ‘त्यो आन्दोलनमा म जेल परेँ, जेलमा पनि गीतै गाएँ। प्रतिबन्धित कालमा पनि ललितपुरको गोदावरीमा देउडा खेल्यौं । त्यसपछि बहुदल कि निर्दल छान्ने भनेर जनमत संग्रहको घोषणा भयो । म बहुदलको पक्षमा गाउँ गाउँमा देउडा गाउँदै डुलेँ । बहुदलको माग गर्दै नेपाली कांग्रेसले २०४२ सालमा सत्याग्रह ग¥यो । त्यो आन्दोलनमा नख्खु जेलमा परेँ । १० महिना जेल बस्दा पनि गीतै गाएँ’ गायक जोशीले सुनाए । यीमात्र नभई नेपालमा भएका प्रायः राजनैतिक आन्दोलनलाई नन्दकृष्णले देउडामार्पmत् थप सघाएका छन् ।

हिउँ भौती मालिका पड्डो पाटन पुरिँदैन झ्याम्म झ्याम्म

साई दुरै म पनि दुरै माया दुुरिँदैन झ्याम्म झ्याम्म।

यो झ्याम्म झ्याम्म लयको देउडा नन्दकृष्णले २०६२÷२०६३ सालको जनआन्दोलन सफल पार्न गाएको देउडा गीत थियो । हजारौं मान्छेले उनको गीतबाट प्रभावित भएर प्रतिगमनका विरुद्ध सडक तताएका थिए । रामेश, रायनका गाउँ गाउँबाट उठ, आमा दिदी बहिनी हो जस्तै झ्याम्म झ्याम्म पनि क्रान्ति गीत बनेको थियो ।
२०४२ सालको सत्याग्रहका कारण जेल परेका उनी जेलबाट छुटेपछि २०४३ सालमा रेडियो नेपालको लोकगीत कार्यक्रममा प्रतिस्पर्धा गर्न पुगे । उनले त्यहाँ गाइदिए

नेपालगञ्ज शहरैमा पानी पड्यो टिनमा

सम्झना घरकी लाग्दी यति लामा दिनमा

छमक्क छमक्क ।

त्यो देउडाले उनलाई प्रथम स्थान दिलायो । ‘रेडियो नेपालमा गीत गाउँदा धेरै मानिससँग टक्कर पथ्र्यो । त्यो बेला रेडियो नेपाल दरबारको एउटा निकायजस्तै थियो । हाम्रा गीतहरू सेन्सर हुन्थे । सूर्य थुलुङ, रामेश दाई, रायन दाई, जेबी दाईहरू प्रगतीशील विचारका हुनुहुन्थ्यो, म प्रजातान्त्रिक विचारधाराको थिएँ । त्यसैले हामीले गीत गाउँदा हामीलाई रेडियो नेपालमा नै अराष्ट्रिय तत्व भन्थे’ नन्दकृष्ण सम्झिन्छन् ‘तर अहिले देउडाको जुन लोकप्रियता छ, त्यो एउटा क्रान्ति हो र देउडा संस्कृतिको प्रगति पनि हो।’

यसरी गाउँदै हिँडेका नन्दकृष्णले देउडालाई वनबाट घर, गाउँ, विद्यालय हुँदै रेडियो नेपालसम्म पु¥याएका थिए । आफ्नै गाउँमा भने बाहुनको छोरोले सप्ताह लगाएर कथा वाचन गर्नुपर्ने गीत गायो भनेर उनलाई समाज भँडुवाको उपनाम दिएका थिए । हुन पनि त्यति बेलाको समाजमा उनले एक किसिमको क्रान्ति नै गरेका थिए । ब्राम्हण परिवारमा जन्मिएर राम्रो शिक्षा दीक्षाको अवसर पाएका उनी सरकारी जागिर वा अन्यमा लाग्न सक्थे । तर देउडालाई व्यापकीकरण गर्नतिर लागे । ‘मलाई २०४० सालसम्म पनि आफ्नै गाउँघरमा गीत गाएर गाउँ समाज भाँड्यो भनेर भाँड भन्थे । त्यति बेला बाहुनले क्षेत्रीसँग खेल्न नहुने क्षेत्रीले दलितसँग देउडा खेल्न नहुने । मैले सबै जातजातिलाई हातमा हात समातेर देउडा खेलाउँदै हिँडे, खेलाएँ । महिलाले देउडा खेल्दैनथे, पछि महिलाले पनि खेल्न थाले । त्यसैले मलाई यसले समाज विखण्डन ग¥र्यो भन्थे’ उनले सम्झिए ।

पहिले नारायण गोपाल, महमद रफि, लता मङ्गेस्कर बज्ने सुदूर पश्चिमका भूमिमा नन्दकृष्णका गीतहरू घन्किन थाले । त्यसपछि भने उनी गाउँ समाजको नजरमा पर्न थाले । यी गीत नन्दकृष्णले कयौँ दिन विभिन्न जिल्लामा पैदलमा हिँडेर संकलन गरेका थिए । ‘मेला पर्व लाग्ने ठाउँलाई जात भनिन्छ । जस्तै बझाङको सुर्मादेवी, डडेलधुराको उग्रतारा, बैतडीको देहीमाण्डुजस्ता स्थानको जातबाट देउडा भाका संकलन गरेको छु । मैले गाउँ गाउँ गएर विभिन्न देउडा भाका संकलन गरेर काठमाडौंमा ल्याएर रेर्कड गराएँ ।

भाकाहरू संकलन गर्ने क्रममा जुम्लाबाट ५ दिन हिँडेर कालीकोट पुग्थेँ । बझाङबाट पैदल यात्रामा डडेलधुरा त्यहाँबाट डोटी, अछाम र त्यहाँबाट सुर्खेत पुगेको छु । यसरी सुुदूरपश्चिमका विभिन्न जिल्लाका गाउँमा लगातार हिँडेर गीत संकलन गर्दाको दुःख वर्णन गरी साध्य छैन’ नन्दकृष्णले भावुक हुँदै सुनाए ।

२०४५ सालमा उनले नन्दकृष्ण जोशीका लोकगीतहरू नामक पहिलो एल्वम सार्वजनिक गरे । त्यसपछि उनका सेतीको सन्देश महाकालीको मौसम, कठै दैन, ओ बाज झुम्य्रौली बाज, गलबन्दीमा रातो धागो, जमुना र सुवा, रैबारलगायत करिब दुई दर्जन एल्मब प्रकाशन भएका छन् । जसमा साँढे तीन चार सय जति झर्रा खालका देउडा गीत समावेश छन् ।

‘त्यति बेला पैसा हुँदैनथ्यो, त्यति दुःखले संकलन गरेर ल्याएका गीतहरू काठमाडौैं आएर ३६ पर्सेन्ट ब्याजमा ऋण लिएर आप्mनै लगानीमा म्युजिक नेपालमा रेकर्ड गराएँ । त्यति बेला नेपालमा फोर कलर थिएन । एल्बमको कभरका लागि गौरी डाँगी भन्ने व्यक्तिलाई मुम्बई पठाएर कभर छपाएँ । उहाँले प्लेन भाडा लिुन भएन ।

बाटो नै बनेको थिएन, कर्णाली पुल पनि थिएन । गाडी नेपालगञ्जसम्म मात्र जान्थ्यो । नेपालगञ्जको रुपौडियाबाट भारतको बाटो हुँदै धनगढीको गौरीफन्टासम्म आफ्ना क्यासेटका पोका बोकेर पुग्थेँ । धनगढी, महेन्द्रनगर, बैतडीजस्ता ठाउँमा आपैmँ क्यासेटका पोका बोकेर एल्बम बेचेँ’ –उनले सुनाए ।
देशका विभिन्न स्थानममा गई देउडा संकलन तथा रेकर्ड गरि देउडा संस्कृतिलाई देशभर फैलाएका उनले यसलाई विदेशसम्म पनि पु¥याएका छन् । ‘मैले २०४१ सालमा पाकिस्तान टेलिभिजनमा लोकलयमा देउडाको अन्तरामा गीत गाएको थिएँ ।

सोही साल यसलाई बंगलादेशमा पनि पु¥याएँ । भारतका विभिन्न स्थानमा पुगेर देउडा खेलेँ । २०६६ सालमा म र स्व. जेबी टुहुरे दाई मिलेर कोरिया पुगेर देउडा सुनायौं र खेलाएँ । २०७४ र २०७५ मा मलेसियामा गएर देउडा खेलायौं । दुबई, अमेरिकालगायत देशमा गएर पनि यो काम गरेँ’ उनले हर्ष प्रकट गर्दै सुनाए ।
नन्दकृष्णले २०५६ मा देउडा समाजको स्थापना गरेर धेरैलाई देउडा सिकाएका रहेछन् । उनले त्यहाँदेखि निरन्तर टँुडीखेलमा देउडा खेलाउँदै आएका छन् । विशु पर्व अथवा नयाँ वर्षका दिन राष्ट्रियसभा गृहमा देउडा खेलाएका उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका साथमा विभिन्न पार्टीका शीर्ष नेतालाई पनि देउडा नचाएका छन् । यस बाहेक कयौं व्यक्ति र समुदायलाई देउडा खेल्न सिकाएका छन् ।

देउडा संस्कृतिको जगेर्ना गर्न अनवरत रूपमा लागेका नन्दकृष्णलाई २०५६ सालमा सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीले देउडा सम्राटको उपाधि दिएको छ । देश विदेशका थुप्रै संघ संस्थाले उनलाई देउडा संस्कृति फैलाएकोमा सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । नन्दकृष्णले आपूmमात्र नभई आफ्नो घर परिवारलाई नै देउडाको जगेर्नाका लागि हौस्याउँदै गायनमा लगाएका छन् । उनकी श्रीमती प्रार्थना, छोरा सुश्रुत र छोरी श्रृंखला पनि गायनमै जोडिएका छन् ।

अहिले थुप्रै गायक गायिकाले पनि देउडा गीत गाउँदै आएका छन् । तर, नन्दकृष्णलाई अहिलेका गीत र देउडा नाचमा केही कमी खड्किन्छ । ‘अहिले व्यापारिक युग छ । अहिले गीत गाउनेबित्तिक्कै यति भ्युज आयो भनेर हेर्न थालिएको छ । देउडा त्यही अनुसारले तयार पार्ने गरिएको छ । गीतलाई मर्यादित र लोकप्रिय बनाउने झर्रो खालका मौलिक लय र शब्द नै चाहिन्छ । आयातीत शब्दभन्दा गाउँघरका सङ्लाखालका शब्द नै राख्नु पर्छ जुन शब्दले हाम्रो आमा बुबाका पिँढीदेखि वर्तमान पिँढीसम्मलाई छोओस् । संगीत पनि भड्किलो होइन मादल, सारङ्गीजस्ता सरल खालका बाजा राख्नुपर्छ । त्यसले गीत संगीतलाई मर्यादित बनाउँछ । मैले धेरै मानिसलाई देउडा सिकाएँ । तर, म त अब बुढो भएँ । त्यसैले आम मानिसलाई यो सिकाउनका लागि पाठशालाको आवश्यकता छ’ नन्दकृष्णको सुझाव छ ‘सरकारले अहिले सातै प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको छ । त्यो प्रज्ञा प्रतिष्ठानले देउडा गीत माँगल, मारुनी, टप्पा, सालैज्यूको शिक्षा दिनुपर्छ ।’