३ सय ८४ वर्षको इतिहास बोकेको ललितपुरको प्रसिद्ध कार्तिक नाच । ८७ वर्षीय हरिमान श्रेष्ठ,त्यो इतिहासको एउटा अत्यन्त दुर्लभ पात्र (सम्भवतः पहिलो व्यक्ति होला) हुनुहुन्छ, जसले ७० वर्षसम्म लगातार कार्तिक नाचमा नाच्नुभएको थियो ।
कार्तिक नाचमा उहाँको योगदान त्यतिमा मात्र सीमित छैन । २००८ देखि २०७० सालसम्म लगभग ६२ वर्षसम्म कार्तिक नाचको विरासत जोगाउन उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । ३२ वर्षसम्म दुई दिनमा सीमित कार्तिक नाच वि.सं २०३८ सालदेखि आठ दिनसम्म सञ्चालन हुनुको पछाडि उहाँकै अथक मिहिनेत लुकेको छ ।
यो कार्तिक नाच आजभन्दा ३ सय ८४ वर्षपहिले ललितपुरका राजा सिद्धनरसिंह मल्लले कृष्णमन्दिर अगाडिको खुल्ला डबलीमा कार्तिक महिना नचाउने चलन चलाएका थिए । त्यही नाचमा प्रवेश गर्नको लागि श्रेष्ठले २००१ सालमा ७ वर्षको उमेर छँदा माटोबाट बनेको सानो पालामा चामल, सुपारी र पैसा राखेर (किसंली तयेगु) नाट्यश्वर भगवानलाई चढाउनुभएको थियो । धार्मिक हिसाबमा नाट्यश्वरलाई कीसंली चढाउनुको अर्थ नाच सिक्नको लागि व्यक्तिले गरेको संकल्प हो । परम्परागत बाजा सिक्न, देवगण भएर नाच्न जोकोहीले शुरूमा कीसंली चढाउनुपर्ने परम्परा रहेको छ । गुरु हेमबहादुर श्रेष्ठ (बाबुकाजी गुरु) बाट नाचको प्रशिक्षण लिएपछि २००२ सालमा उहाँले कृष्ण बनेर नाच्नुभयो ।
२००७ सालसम्म यस नाच कार्तिक महिनाभरि सञ्चालन हुने गर्दथ्यो।राजा सिद्धिनरसिंह मल्लले २१ वटा गजुर भएको कलात्मक कृष्णमन्दिर निर्माण गरेको अवसरमा नै सो नाच चलाएका थिए।यसले गर्दा पनि कार्तिक महिना भरि नचाईने सो नाचमा कृष्णको बढी महिमा रहेको छ।नाचको प्रत्येक दिन कृष्ण प्रवेशपछि मात्र अरू नाच देखाइन्छ भने कृष्णगणको उपस्थितिमा आरती नृत्य गरिसकेपछि मात्र नाचको अन्त्य गरिन्छ । विशेषतः शास्त्रीय पक्षमा धार्मिक पृष्ठभूमिको प्रबलता रहेको पाईन्छ ।
श्रेष्ठले ६ वर्षसम्म लगातार सो नाचमा कृष्णगणको भूमिकामा महिनाभरि नाच्नु भएको थियो । आफ्नो भूमिका सकिएपछि श्रेष्ठ डबलीको अगाडि बसेर अरू जम्मै कलाकारको अभिनय र नाच हेरिरहन्थ्यो । यसले गर्दा पनि कुन कलाकारको अभिनय कति राम्रो र सुधार गर्नुपर्ने सबै श्रेष्ठलाई थाहा हुने गर्दथ्यो । यसले पनि नाच सिकाउन धेरै सघाएको श्रेष्ठको कथन रहेको छ ।
कृष्णको भूमिकामा नाच्दै आएका श्रेष्ठलाई अचानक २०३७ सालपछि बाथः प्याखः अर्थात् बाठाहरूद्वारा खेलिएको लोकनाटकमा बाथःकिजा अर्थात यले बाथःं (बाठाहरूमध्ये सबैभन्दा कान्छो) को अभिनय गर्नुपर्ने परिस्थिति पैदा भयो । कार्तिक नाचको शुरूको तीन दिन बाथः प्याखं भनेर तीन जना बाठाहरूको लोकनाटक देखाइन्छ । राजा सिद्धिनरसिंह मल्ल हुँदै श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लसम्म आउँदा सो को अभिनय स्वयं मल्ल राजाले गर्दथे । त्यसमा पनि विशेषतः बाथः किजाको (सबैभन्दा बाठो पात्र) को अभिनय मल्लकालमा राजाहरूले गर्ने गरेकोले तिनका सन्ततिहरूले मात्र सो पात्रको अभिनय गर्नुपर्ने नियम थियो ।
लोकनाटकमा बाथंकिजाको अभिनय गर्दै आएका सानुकाजीको २०३८ सालतिर निधन भयो । उहाँहरूको दाजुभाई खलकबाट सो भूमिकामा अभिनय गर्ने अरू कलाकार खोज्दा कोही भेटिएन । अनि श्रेष्ठ आफंै सो पात्रको अभियन गर्न तयार हुनुभएको थियो । त्यसयता बाथःकिजाको भूमिका निर्वाह गर्न मल्लराजाकै सन्तति हुनुपर्ने नियम पनि टुटेको हो । ‘मल्लराजाको सन्तानहरू मध्येबाट अभिनय गर्ने कोही नभएकोले नाच बन्द गर्ने वा अरू कलाकार खोज्ने दुई वटा विकल्प हाम्रो सामु थियो । त्यसपछि अरू कलाकार राखेर भए पनि परम्परा जोगाउनु बुद्धिमतापूर्ण हुने ठाने ।’ – श्रेष्ठले भन्नुभयो । २०३८ सालदेखि २०७० सालसम्म उहाँले बाथःकिजाको अभिनय गर्नुभएको थियो ।

यसबीचमा उहाँका कान्छो छोरा विनोदमान श्रेष्ठले कृष्णको भूमिका निर्वाह गर्नुभयो । त्यसमा १५ वर्षसम्म विनोदमानले निरन्तरता दिनुभयो । त्यसपछि कहिले श्रेष्ठले त कहिले छोरा विनोदमानले सो भूमिका निर्वाह गर्न थाल्नुभयो । श्रेष्ठले कृष्णसँगै बाथःकिजाको अभिनय वर्षौसम्म सँगसँगै गर्नुपरेको थियो । यसरी आफूले पनि नाच्ने र युवापुस्तालाई तयार गर्दै नाचलाई अघि बढाइरहेँ ।’ – श्रेष्ठले भन्नुभयो । श्रेष्ठबाट हालसम्म ५ सय जना भन्दा बढीले नाचको प्रशिक्षण लिइसकेको छन् । तिनीहरूले अहिले नाचलाई निरन्तरता दिइरहेको छ । श्रेष्ठका अनुसार नाचमा कलाकारहरूको अभाव होला भनेर अबको ३०, ४० वर्षसम्म चिन्ता लिनुपर्ने स्थिति छैन ।
राणाकालमा पाटन दरबार क्षेत्रको सुन्दरी चोकमा रहेको छेमडोल अड्डाबाट यो नाच देखाइन्थ्यो । सो अड्डाको कार्य भनेको पाटन दरबार क्षेत्रको सरसफाई, मन्दिरको पुनःनिर्माण गर्ने, गुठी र कार्तिक नाच सञ्चालनको लागि आवश्यक बन्दोबस्तो गर्ने थियो । २००७ सालको प्रजातन्त्रपछि छेमडोल अड्डा बन्द भयो । त्यसपछिका केही वर्षसम्म यस नाच सञ्चालनमा अनेकन् अवरोधहरू देखापरेको थियो । त्यसपछि श्रेष्ठ केवल नाच्नेमात्र नाच चलाउने भूमिकामा देखिनुभएको थियो ।
श्रेष्ठका अनुसार यसैबीच राणाशासन हटेको विरोधमा गोर्खा दलले आतंक मच्चाएको थियो । त्यसबाट आफ्नो ठाउँको रक्षा गर्न ललितपुरमा रक्षा मण्डल केन्द्र स्थापना गरिएको थियो । त्यसको सभापति वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी हुनुहुन्थ्यो । उहाँले यो नाचलाई लोप हुन दिनुहुन्न भनेर नाचको सञ्चालनको लागि जोड दिनुभएको बताउँदै उहाँले भन्नुभयो – ‘हुन त नाच सञ्चालन गर्न रक्षा मण्डल स्थापना गरिएको थिएन । तैपनि त्यसमा रहेका पदाधिकारीहरूमा संस्कृति जर्गेना गर्नुपर्छ भन्ने भावनाले गर्दा त्यतिबेलाको संक्रमणकालमा नाच चलाउन सबै तयार भयो ।’ छलफल चल्दै जाँदा कार्तिक नाचको मुख्य नाच रहेको बराह अवतार र नरसिंह अवतारमात्र देखाउने सकिने कुरा भएको थियो । एक महिने नाच त्यहाँदेखि २०३७ सालसम्म दुई दिनमा सीमित भएको थियो ।
त्यसपछि छेमडोल अड्डामा भएको गरगहना र नाचको आवश्यक सामग्री लिएर नाच देखाइएको थियो । एक वर्ष त रक्षा मण्डलको संयोजनमा नाच देखाइयो । अर्को वर्ष कुन संस्थामार्फत नाच देखाउने भन्ने समस्या भयो । त्यसपछि कुरा गर्दै जाँदा मच्छिन्द्र तहसिल गुठीमार्फत नाच देखाउने सहमति भयो । यसरी तहसिल गुठीबाट २०२१ सालसम्म नाच देखाएको थियो। अनि गुठी संस्थान संस्थापना भएपछि त्यसमार्फत २०३७ सालसम्म नाच देखाइएको थियो ।’ – श्रेष्ठले भन्नुभयो ।
त्यसपछि श्रेष्ठकै अगुवाईमा तत्कालीन प्रमुख जिल्ला अधिकारी, अञ्चलाधीश, पुरातत्व विभागका महानिर्देशक, सरकारका प्रतिनिधि सबैको ध्यानाकर्षणपछि भएको छलफलमा नाच सञ्चालनका वर्षेनी ३० हजार दिने निर्णय भयो । २०३८ सालमा माणिकलाल चित्रकारसहित श्रेष्ठको अध्यक्षतामा कार्तिक नाच प्रबन्ध समिति गठन गरी दुईमा सीमित नाचलाई आठ दिनसम्म सञ्चालन गरियो।नाचका लागि आवश्यक सामग्री, भेषभूषा सबैको प्रबन्ध मिलाए । त्यहाँदेखि कार्तिक नाच देखाउनको लागि अष्टमातृका नाचको भेषभूषा ल्याउनुपरेन। समितिमार्फत २०७० सालसम्म नाच देखाइएको थियो । श्रेष्ठबाट प्रशिक्षण लिएकाहरू सम्मिलित कार्तिक नाच संरक्षण समितिमार्फत हाल नाच देखाउँदै आएको छ ।
कार्तिक नाचमा प्रत्येक ६÷६ वर्षपछि कलाकार र भेषभूषा फेरिने चलन थियो । वि.सं १९९६ सालमा निर्वाध रूपमा यो परम्परा चलेको थियो । ६ वर्षसम्म निरन्तर नाचेका कलाकारहरूलाई कार्तिक नाच सकिएपछि बिदा दिने चलन थियो। मंसिर लागेपछि नाचको प्रशिक्षण लिन चाहनेहरूलाई जम्मा गरेर नाच सिकाइन्थ्यो । २००७ सालपछि छेमडोल अड्डा बन्द भएकोले त्यो चलन पनि हरायो । कसले नाच सिकाउने, कसलाई नाच सिकाउने भन्ने टुंगो नलागेकोले त्यो चलन चलाउन सक्ने स्थिति थिएन । यो चलन चलाउनमा आएको कठिनाईले गर्दा २००२ सालमा प्रवेश गरेका श्रेष्ठले ६ वर्षपछि २००८ सालमा कार्तिक नाच छाड्नुपरेन । यसले गर्दा पनि ७० वर्षसम्म निरन्तर नाच्ने रेकर्ड राख्न सकेको श्रेष्ठले बताउनुभयो ।
नेपाल भाषामा लेखिएको उहाँको कात्ति प्याखः नामक ग्रन्थ कार्तिक नाचप्रतिको श्रेष्ठको साधना र समर्पणको परिणति हुन् । २५ वर्षसम्मको अथक मिहिनेत र खोजबाट तयार पारिएको सो पुस्तक ३ सय ६७ वर्षसम्म गुरूशिष्य हुँदै सिकाउँदै आएको कात्तिक नाचको युगीन महत्वको दस्तावेज रहेको वाड्मय शताब्दीपुरूष स्वर्गीय सत्यमोहन जोशीले पुस्तकको भूमिकामा त्यसबारे चर्चा गर्नुभएको छ । सो पुस्तक विश्वकै लामो नाट्यमहोत्सवका रूपमा रहेको कार्तिक नाच सयौं वर्षसम्म निरन्तरताका लागि बलियो माध्यम भएको छ । अहिलेका पुस्ताले त्यही पुस्तकको आधारमा कर्तिक नाच देखाउँदै आएका छन् । यस दृष्टिले हरिमान श्रेष्ठ कार्तिक नाचका पर्यायवाचीका रूपमा लिने गरेको छ ।











प्रतिक्रिया