रातो मच्छिन्द्रनाथः जसमा धेरै सांस्कृतिक अभियन्ताहरू जोडिए

5.08k
Shares

पृथबिन्दु महर्जनले पाँच वर्षयता संस्कृति, सम्पदासँग सम्बन्धित थुप्रै विषयहरू उठान गरिसक्नुभएको छ । उठाइएका धेरै विषय सम्बोधन पनि भएको छ । तर, पनि उहाँलाई धेरैले ललितपुरको रातो मच्छिन्द्रनाथको अभियन्ताका रूपमा चिनेका छन् ।

हुनत उहाँ अहिले ललितपुर– ११ बंगलामुखीस्थित मिसा हिटीमा ऐतिहासिक मूर्ति चोरी हुँदा प्रहरी प्रशासन धाउन्ने मात्र नभई पुरातत्व विभागसँग समन्वय गरी चोरी भएको मूर्ति पुनःस्थापनाका लागि उतिकै खटिरहनुभएको छ । एक समय पुल्चोकस्थित समय फल्चा (पाटी) बनाउनुपर्ने पक्षमा लागेका महर्जन अहिले ऐतिहासिक कमलपोखरीको जग्गा मिचेर बनाएको छाया सेन्टरका विरुद्ध कानुनी तथा सडक संघर्षमा पनि सक्रिय रहनुभएको छ ।

तैपनि महर्जनलाई काठमाडौं उपत्यकामाझ रातो मच्छिन्द्रनाथको अभियन्ताको रूपमा चिनिनुमा रातो मच्छिन्द्रनाथको २०७७ सालको रथयात्राको सन्दर्भ जोडिएकोले हो । त्यही सन्दर्भमा महर्जनलाई एक सातासम्म प्रहरी हिरासतमा राखिएको थियो ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले २०७७ चैत्र ११ गते मंगलबारदेखि पहिलोपटक लकडाउनको घोषणा गरेको थियो । रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने साइत २०७७ चैत २७ गते परेको थियो । सो दिन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी रातो मच्छिन्द्रनाथको स्नान गराइएको थियो । तर, कोरोना महामारीका कारण रथ बन्न सकेको थिएन । पछि रथ बनाउने भनेर पूजा गरिएको थियो । यसले जात्रा होला कि नहोला भन्ने अन्यौल नै थियो । यसअघि वैशाख ११ गते बसेको सरोकारवालाको बैठकले जेठ ११ गते रथ बनाउने भने जेठ ९ गते ललितपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले त्यसलाई स्थगित गरी उपयुक्त समयमा रथ निर्माण गर्ने भनेर निर्णय गरेको थियो ।

यसैबीच असार १० गते लकडाउन खुकुलो भएका बेला गुठी संस्थानले रथ बनाउने काम शुरू गर्न अनुमति दियो । सम्बन्धित गुठियारहरूले क्षमा पूजा गरी दिनरात रथ बनाउनमा लागे । रथ बनाउन सकिएपछि असार २४ गते देवतालाई रथमा विराजमान गराउने भनिएकोमा त्यसको अघिल्लो दिन असार २३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले रथारोहण कार्य स्थगित गरियो । त्यसपछि श्रावण ७ गते रथारोहण गर्ने भनिएकोमा श्रावण ६ गते बसेको बैठकले त्यसलाई स्थगित गरेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा संस्थानले पटक–पटक रथारोहणको साइत तोक्ने र पछि सार्ने काम गरिरह्यो । त्यसपछि सरोकावालाहरूको आग्रहअनुरूप महानगरपालिकामा बसेको बैठक अनुसार श्रावण १० गते रथारोहण गरियो । जात्रा हुने कि नहुने अन्यौल थियो । त्यसदिनदेखि भदौ १८ गतेसम्म रथयात्राको टुंगो लागेको थिएन ।

विधिपूर्वक रथारोहण पछि रथयात्रा हुनेमा स्थानीय ढुक्क भए । तर,यति हुँदा पनि रथयात्रा शुरू गरिएन । बरू रातो मच्छिन्द्रनाथलाई महिनौंदेखि बीच सडकमा अलपत्र छाडियो । यही विषयमा महर्जनले सामाजिक सञ्जालमार्फत् लगातार ध्यानाकर्षण गर्दै आउनुभएको थियो । भने अर्का अभियन्ता रवि शाक्य भने सामाजिक सञ्जाल, युट्युब च्यानल, र विभिन्न सञ्चारमाध्यमबाट रथयात्राको अन्योलको विषयमा आफ्ना धारणा राख्दै आउनुभएको थियो । त्यसले जनतास्तरमा एकखालको धारणा बनाउन निकै सघाएको थियो ।

हुन त कोरोना कालमा उपत्यकाका अन्य जात्राहरू भएका थिएनन् । तर, ललितपुरमा भने रातो मच्छिन्द्रनाथको स्नानदेखि रथ बनाउने तथा रथारोहण गरिएको थियो । रथारोहणको प्रक्रिया पूरा भएपछि त्यसपछि रथथात्रा हुनुपर्ने हो, तर प्रशासनले रथयात्राको लागि अनुमति दिएको थिएन । यदि, रथ नै नबनाएको भए रथारोहण र रथयात्राको कुरौ नै आउँदैन थियो । रथ बनाइसकेपछि त्यसलाई परम्पराअनुसार तान्नुपर्ने थियो । यसमा अनिर्णयको बन्दी हुनुभएन भन्ने अभियन्ताहरूको कथन थियो । रथ निर्माण गर्ने बाराही, रथ निर्माणमा बेतबाँसको काम गने यँग्वाल, पुजारी पानेजु, रथमा मोड्ने घकू, ज्योतिषीहरू सबै यही धारणा थियो । यी धारणाहरू सामाजिक सञ्जालमा लगातार आइरहेका थिए ।

लकडाउनको समयमा कोरोना महामारी नियन्त्रणको शर्तमा प्रशासनले नागरिक स्वतन्त्रता समेत केही बन्देज लगाएको थियो । त्यसले गर्दा रातो मच्छिन्द्रनाथको महास्नानदेखि रथारोहणसम्मको प्रक्रियामा प्रशासनको निर्णायक भूमिका थियो । परम्परामा बढी नै प्रशासनीकरण भएको महसुस गरिएको थियो । कतिपय सरकारी निकायहरूले यसलाई सहज रूपमा लिएका थिए भने कतिले दोहोरो भूमिका निर्वाह गरेका थिए । स्थानीय तह गैर जिम्मेवार देखिएका थिए । त्यसप्रति सम्बद्ध गुठीयारहरूलाई पटक्कै चित्त बुझेको थिएन ।

परापूर्वकालदेखिको जात्रा बीचैमा रोकिँदा र आफ्नो आस्थाको केन्द्र रातो मच्छिन्द्रनाथलाई बीच सडकमा छाडिँदा गुठियारहरू चिन्तित र आक्रोशित भए । उनीहरूले कोरोना महामारीको जोखिम ख्याल राख्दै सुरक्षा उपाय अपनाएर जसरी पनि जात्रा सम्पन्न गर्न सरकारसँग आग्रह गरे । कफ्र्यू लगाएर कसैलाई घरबाट निस्कन नदिई रथयात्रा चलाउन पनि उनीहरूले प्रस्ताव गरेका थिए ।

यही क्रममा रातो मच्छिन्द्रनाथका मूल पुजारी (पानेजु) कपिलमुनि बज्राचार्यका तर्फबाट कफ्र्यू वा निषेधाज्ञा लगाएर भए पनि रथयात्रा गराउन राष्ट्रपतिका नाममा लिखित आग्रह पेस गरियो । कसरी सुरक्षित रथयात्रा गराउने भनेर खाका समेत पेस गरिएको थियो ।

कोरोनाको जोखिम हेरेर सुरक्षित रूपमा रथयात्रा सम्पन्न गर्न सरकारलाई पटक – पटक सुझाव दिएका थियौं । संक्रमण फैलिने जोखिम छ भने रथ तान्नेहरूको पीसीआर परीक्षण गराएर जात्रा सञ्चालन गरौं पनि भनेको हो । कप्mर्यू लगाएर अरू कसैलाई आउन नदिउँ पनि भनेको हो । सरकारले हाम्रो कुनै कुरा सुनेको थिएन’ उहाँले भन्नुभयो । यसमा रथयात्रामा ललितपुर महानगरपालिकाको कुनै भूमिका नहुने भन्दै बीचमै पन्छिएको थियो । प्रशासनले कुनै सुनुवाइ गरेन ।

यसबीचमा रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा राखेर महिनांै दिन अनिर्णयको बन्दीमा रहेको अवस्थामा २०७७ भदौ १८ गते बिहीबार बिहान ११ बजे रथयात्राको बारेमा निर्णय गर्न सरोकारवालासहित गुठी संस्थान केन्द्रीय कार्यालयमा अन्तिमपटक निर्णायक बैठक बस्ने तय भएको थियो । सरोकारवालालाई दबाब दिने उद्देश्यले अभियन्ता महर्जनको अगुवाइमा पुल्चोकमा मच्छिन्द्रनाथको रथ सामुन्ने सोही दिन बिहान ९ बजे शान्तिपूर्ण धर्ना कार्यक्रम चलिरहेको थियो । सामाजिक सञ्जालको माध्यमबाट त्यसको जानकारी पाएर स्वस्र्फूत रूपमा ती युवाहरू त्यहाँ जम्मा भएका थिए । उनीहरूले हातमा प्ले कार्ड लिएर प्रदर्शन गरेका थिए ।

गुठी संस्थानमा बिहान ११ बजे बोलाइएको बैठक पनि १ बजेको लागि स¥यो भन्ने सूचना आउने बितिक्कै धर्नामा भेला भएका युवावर्गको सरोकारवालाप्रति भरोसा टुटेको थियो । पटक पटक बैठक बस्ने अनि निर्णय नगर्ने स्थितिले हैरानी भएका युवाहरू अन्तिम निर्णायक भनेर बोलाइएको बैठक पनि निर्णायक नभएपछि आक्रोशित हुँदै रथ तान्न शुरू गरेका थिए । रथ तान्ने खोजेको भिडियो सामाजिक सञ्जालबाट धमाधम लाइभ गरिएपछि करिब आधा घण्टा अवधिमा हजारौं युवाहरू स्वस्फूर्त रूपमा रथ तान्न पुल्चोकमा आएका थिए ।

त्यसको दुई घण्टापछि प्रहरीसँग झडप भएको थियो । झडपमा क्रममा प्रहरीले दर्जनांै अश्रुग्याँस प्रहार गरेको थियो । जनजीवन पुरै तनावग्रस्त बनेको थियो।त्यतिबेलाको घटनाको स्मरण गर्दै महर्जनले भन्नुभयो लकडाउनको समयमा स्वतस्फूर्त रूपमा रथ तान्ने कुनै योजना थिएन । मात्र सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउन सामाजिक सञ्जालमार्फत् सो भेला आह्वान गरिएको थियो । भेलाकै बीचमा गुठी संस्थानको बैठक स्थगित भएको सूचना आएपछि प्रदर्शनकारीहरु अचानक रथ तान्नतिर अग्रसर भएका थिए ।’

त्यसको भोलिपल्ट शुक्रवार कफ्र्यु हुने आदेश जारी गरिएको थियो । प्रशासनले एक सातासम्म रथवरपर निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले लकडाउनको समयमा सयौं मानिसहरुको भीडकाबीच रथ तान्ने संलग्न हुनेलाई अराजक, उच्छृंखल तत्वको संज्ञा दिएका थिए । रथ तान्नुपूर्व गर्नुपर्ने धार्मिक विधिविधान नगरी रथ तानिएकोमा आपत्ति जनाउनेहरूको दृष्टिमा रथ तान्नेहरूलाई अराजक ठहरिएको थियो ।

त्यसपछि प्रदर्शनको अगुवाई गरेका कारण महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीलाई ढुंगा हानेको वा गाली गरेको कारणले महर्जनलाई प्रहरीले पक्राउ गरेको भने होइन । सामाजिक सञ्जालमार्फत् प्रदर्शनका लागि आह्वान गरी बिहान शान्तिपूर्ण प्रदर्शन गरेका कारण दिउँसो झडप भएको बुझाइले गर्दा प्रहरीले महर्जनलाई नियन्त्रणमा लिएको थियो ।

२०७७ भदौ १९ गते शुक्रवार कफ्र्युको दिन प्रहरीले रथतान्ने युवाहरूलाई घरघरमै गएर धरपडक गरेको थियो । यस क्रममा अभियन्ताहरू महेश बज्राचार्य, श्याम था, नरेश शाक्य, सुविन शाक्य, निरोज बाडे, यादवलाल कायस्थ, ध्रुव बज्राचार्य, पुनम शाक्य, अशोक महर्जन, नेपाल शाक्य, लक्ष्मण महर्जन, अनिल शाही, दलबहादुर देउला, अमन महर्जन, सञ्जय शाक्य रवि शाक्य, असोज महर्जन, रविन शाक्य लगायत २४ जना अभियन्ताहरूलाई पक्राउ गरिएको थियो । झडपकै क्रममा प्रदर्शनकारीहरूमध्येको एउटा अराजक समूहले एक जना ट्राफिक प्रहरीलाई मरणासन्न हुने गरी पिटेकोले पनि प्रहरीले सो प्रदर्शनका अभियन्ताहरूलाई पक्रिन बाध्य भएको थियो ।

घरघरमा गएर गिरफ्तार गर्न उक्साहट गरेर कोही पन्छिए र कोहीले अहं तुष्टि गरेको थियो । अभियन्ताहरूलाई अराजक घोषणा गर्दै प्रशासनले आफ्नो गैरजिम्मेवार लुकाउने बहाना पाएको थियो ।

थुप्रै अभियन्ता र स्थानीयलाई एक सातासम्म हिरासतमा राखेर मुद्दा चलाइएको थियो । सांस्कृतिक अभियन्तालाई पक्राउ गरिएको विरोधमा नेवाः देय् दबू, नेपाल भाषा मंका खलःविभिन्न राजनीतिक दललगायत तीन दर्जनभन्दा बढी संस्थाहरूले विज्ञप्ति प्रकाशित गरेको थियो । जनस्तरबाट व्यापक दबाब प्रदर्शनपछि प्रहरीले अभियन्ताहरूलाई तारिखमा रिहा गरेको थियो ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६६ अन्तर्गत राष्ट्रसेवकलाई गैरकानुनी भेला रोक्न काम गर्दा बाधा अवरोध गरेको आधारमा मुद्दा चलाइएको थियो । स्थानीय प्रशासनले २०७७ माघ २६ गते सोमबार सो मुद्दाको अन्तिम किनारा लगाइएको थियो ।

सोही दिन साँझ करिब दुई सय मिटर पर रथ तानेर सांकेतिक रुपमा रथयात्रा सम्पन्न गर्ने योजना सार्वजनिक गरिएको थियो । सोहीअनुरूप भदौ १९ गते क्षमा पुजा, २१ गते सांकेतिक रथयात्रा,२२ गते साइत हेरेर भाद २६ गते मच्छिन्द्रनाथलाई बुंगमती लगिएको थियो । महर्जनको अगुवाईमा पुल्चोकस्थित रातो मच्छिन्द्रनाको रथ अगाडि बसेर शान्तिपूर्ण प्रदर्शन नगरेको भए सांकेतिक रूपमा नै भएपनि रातो मच्छिन्द्रनाथको रथयात्रा शायद २०७७ र २०७८ सालमा हुँदैन थियो होला । यसप्रति गुठी संस्थान, स्थानीय प्रशासन र निकायको मतैक्यता थिएन । तर, पनि त्यतिबेलाको घटनाक्रम र परिस्थितिको विश्लेषणले त्यतैतिर संकेत गरिरहेको थियो ।

रथयात्राको सम्बन्धमा झडप हुनुअघिसम्म रथयात्राको बारेमा ठोस निर्णय आएको भए त्यस्तो झडप हुँदैन थियो । कतैबाट निर्णय नआएपछि स्वस्फूर्त रथतान्ने घटनाले आफ्नो धार्मिक विश्वास,परम्परा, सांस्कृतिक भावनामाथि कुल्चिँदा चुप लागेर बस्दैन भन्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गरेको अभियन्ता रवि शाक्यको भनाइ रहेको छ ।

सुरक्षा व्यवस्थापनको हिसाबले केन्द्रीय सरकारलाई समेत चुनौती दिने गरी २०७७ भदौ १८ गते विहीबार भएको झडप कसैको निम्ति पनि प्रिय थिएन, न पूर्व नियोजित नै थियो । अप्रत्याशित रूपमा घटेको घटनाले समुदायमा धार्मिक, सांस्कृतिक चेतलाई अझ ह्वातै बढाइदियो । धार्मिक र सांस्कृतिक विश्वासले गर्दा भेला हुन रोक लगाइएकोलाई सो घटनाले चुनौती दिएको थियो । सो घटना समुदायको धार्मिक र सांस्कृतिक विश्वासको ठोस अभिव्यक्ति थियो । यद्यपि, यसलाई तत्कालीन अवस्थामा प्रशासन स्वीकार गरेको थिएन । पछि यसको अन्तरनिहित कारण, सन्दर्भलाई केलाउन थालिएपछि सांस्कृतिक संवेदनशीलताको रूपमा बुझ्ने र बुझाउने जनमत बलियो बन्दै गएको थियो । त्यसमा विशेष सामाजिक सञ्जालमार्फत् जात्रा, पर्व र संस्कृतिको प्रवद्र्धन गर्ने युवा अभियन्ता जमातको सशक्त भूमिका रहेको थियो । उनीहरू यस घटनालाई युवापुस्ताको सांस्कृतिक विद्रोहका रूपमा स्मरण गर्न रुचाउँछन् ।

अभियन्ता महर्जनले भन्नुभयो – ‘युवावर्गको संघर्ष, प्रदर्शनले, जात्रा, पर्व सञ्चालन गर्ने, व्यवस्थापनमा खटिने जोकोही भए पनि जनताप्रति जवाफेदही र उत्तरदायी हुनुपर्दछ भन्ने बोध गराएको छ । यो एउटा किसिमको सांस्कृतिक विद्रोह भने पनि हुन्छ । यही सांकेतिक रथयात्रा २०७८ सालमा पनि निरन्तरता दिएको थियो । २०७७ सालदेखि रोकिएको भोटो जात्रा २०७९ सालमा मात्र भएको थियो ।’

बरु कोरोना महामारी बिर्सिसकेको होला । त्यो झडपपछि तरङ अझै बिर्सिएका छैनन् । त्यसलाई बिर्सिनु पनि हुन्न । कोरोना महामारी त्यसमाथि लकडाउनको समेत परर्वाह नगरी सामाजिक सञ्जालको माध्यमबाट सयौं मानिसहरू पुल्चोकमा किन आएका थिए ? भन्ने प्रश्नको उत्तरभित्र परम्परादेखि चल्दै आएको धार्मिक, सांस्कृतिक परम्पराप्रतिको आस्था निहित रहने छ ।

त्यस भावनालाई कतै खेलवाड पो गर्न लागेको हो कि भनेर संशय सामाजिक सञ्जालमार्फत छताछुल्ल भइरहँदा पनि निर्णयकर्ताहरूले त्यसलाई आश्वस्त तुल्याउनसमेत आवश्यकता नठान्नु नै त्यो घटनाको अन्तरनिहित कारण हुन् । त्यस घटनालाई नजिकबाट नियालेका अधिवक्ता राजु शाक्यले भन्नुभयो ।
परिस्थतिको मागअनुरूप प्रतिकूलतासँग संघर्ष गर्दै जाँदा अभियन्ताको पहिचान बनिने रहेछ । महर्जन भन्नुभयो पदमा बसेकाहरुले ध्यान नदिँदा, गैरजिम्मेवार हुँदा नागरिकको धर्म निर्वाह गर्दै आएको हुँ । आवाज उठाउँदै जाने क्रममा मानिसले अभियन्ताका रुपमा चिनिँदो रहेछ । बेथिति माथि खबरदारी, झकझक्याउने त नागरिकको कर्तव्य नै हो ।

गुठी संस्थान, रथ निर्माणदेखि लिएर, मच्छिन्द्रनाथको महास्नान, रथारोहण, रथ तँन्ने, सबै कार्यमा स्रोत, साधन, जनशक्तिको परिचालन र व्यवस्थापनमा भूमिका निर्वाह गर्ने राज्यको इकाई हो । तत्कालीन समयमा घटेको त्यो घटनाले यी कार्यमा संस्थानलाई अझ गम्भीर र थप जिम्मेवार बनाएको संस्थानका पूर्वप्रशासक प्रशासक किरण शाक्यले बताउनुभयो ।

त्यो घटनापछि गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ । चार वर्षयता रथयात्राको समयमा सुरक्षा चुनौतीलाई ध्यानमा राखेर जिल्ला प्रहरी परिसरले सुरक्षा योजना तयार गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दै आएको छ । त्यसका साथै सरोकारवाला, गुठीयारबीच समन्वय र छलफललाई उच्च प्राथमिकता दिँदै आएका छ ।

त्यो घटनाको सिकाइको रूपमा चार वर्षपछि नेवाः समुदायका २१ जाति अब एउटै संरचना अटाउने गरी साझा संयन्त्रण निर्माण गरिएको थियो । विशेषतः पाटनलाई मुख्य कार्यक्षेत्र बनाई क्रियाशील ती संगठनहरूको संस्थागत प्रतिनिधिमूलक संगठनको रूपमा यल नेवाः समाजको स्थापना गरिएको हो ।
स्थानीयको आवाजलाई सांस्कृतिक संवेदनशीलताको हिसाबले व्यवहार गर्नुको साटो प्रहरी प्रशासनको बलमा डिल गरिएको थियो । सामुदायिक एकतामा आँच आउन सक्ने स्थिति बनेको थियो । सो घटनापछि ती संगठनलाई आआफ्नो परम्परागत जातीय संगठनको घेराभन्दा माथि उठेर सोच्नुपर्ने, सँगै बस्नुपर्ने र मिलेर काम गर्नुपर्ने अवस्था उत्पन्न गराईदिएको समाजका अध्यक्ष विनोद ताम्रकारले बताउनुभयो ।

झडप नकारात्मक घटना हो । यसले समुदायमा अझ एकताको भाव बनाउन उत्प्रेरित गर्नु सकारात्मक उपलब्धि हुन् । अध्यक्ष ताम्रकारले भन्नुभयो – ‘यसमा अभियन्ताहरूको महत्वपूर्ण भूमिका रहेको छ ।’