नेपालका सांस्कृतिक धरोहर र परम्परा हजारौं वर्ष पुराना र मौलिक छन् । तर, आधुनिकता, सहरीकरण र विविध आन्तरिक–बाह्य दबाबका कारण यी संस्कृतिहरू संरक्षणमा कठिनाइ आइरहेको छ । केही संस्कृति लोप भइसकेका छन् भने केही लोप हुने खतरामा छन् । यद्यपि, संस्कृति संरक्षणमा आ–आफ्नो क्षेत्रबाट धेरै जनाको सक्रियता र प्रतिबद्धता छ ।
राज्यको लगानी, समुदायको प्रतिबद्धता, नागरिकको सक्रियताका बाबजुत पनि नेपालको संस्कृतिमाथि विभिन्न माध्यमबाट आक्रमण भएको छ । राज्यको पहिचान नै त्यो देशको संस्कृति र परम्परा रहेको हुँदा त्यसको संरक्षण र जर्गेना गर्नु महत्वपूर्ण पक्ष हो । नेपालमा रहेको १४० भन्दा बढी जातजातिका आ–आफ्नै भाषा, संस्कृति र परम्परा रहेका छन् ।
विविधतामा एकता नै नेपालको पहिचान पनि हो । तर, पछिल्लो समयमा भएका राजनीतिक दुष्प्रचारलगायतका कारणले सबैको हरेक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । जसको पहिलो शिकार सांस्कृतिक अतिक्रमण पनि हो । त्यसबाहेकका अन्य चुनौती पनि छन् ।
सहरीकरण र आधुनिकता
परम्परागत जीवनशैलीमा क्षय ः सहरीकरणका कारण गाउँदेखि सहरसम्म परम्परागत कला, शिल्प र संस्कारहरू हराउँदै गएका छन् । नयाँ पुस्ता परम्परागत मूल्यहरू भन्दा आधुनिक जीवनशैली र औद्योगिकीकरण प्रति आकर्षित देखिन्छ, जसले संस्कृतिको निरन्तरतामा बाधा पु¥याएको छ ।
आर्थिक चुनौती
संस्कृति संरक्षणका लागि राज्यको बजेट पर्याप्त छैन । मठमन्दिरको मर्मत, लोककला संरक्षण परम्पराको संरक्षण र सांस्कृतिक कार्यक्रम सञ्चालनजस्ता काम आर्थिक अभावका कारण ओझेलमा परेका छन् । सरकारको नियमित र अनिवार्य दायित्व व्यवस्थापन गर्नका निम्ति स्रोतको अभाव भइरहेको छ ।
राज्यको स्रोत न्यून हुँदा संस्कृति संरक्षणका लागि विनियोजन गरिएको बजेट अपर्याप्त देखिन्छ । राज्यको स्रोत न्यून हुँदा सांस्कृतिक जात्रा, परम्परालाई निरन्तरता दिनका लागि वैकल्पिक स्रोत पनि बलियो देखिँदैन । धेरै संस्कृति, परम्परागत कला जीवित राख्न स्थानीय कलाकार र कालीगढलाई प्रोत्साहन गर्ने स्थानीय स्रोत पनि सीमित छ । कतिपय ठाउँमा गुठी र स्थानीय कोषबाट गर्जो टार्ने काम भइरहेको छ । तथापि धेरै जात्रा र परम्पराहरू अर्थ अभावकै कारण रोकिएका घटना कयौं छन् ।
जनचेतनाको अभाव
संस्कृति हाम्रो पहिचान हो भन्ने ज्ञानको अभाव पनि देखिँदै गएको छ । विशेषगरी युवा पुस्तामा आफ्नो मौलिक संस्कृतिभन्दा बाह्य संस्कृतिप्रतिको आकर्षण छ । त्यस्तै, कतिपय अभिभावकमा पनि संस्कृतिलाई अनावश्यक दायित्वका रूपमा बुझ्ने बानी छ । यसको मूल कारण विद्यालय र समुदायस्तरमा परम्परा र संस्कृतिबारे पर्याप्त ज्ञान र शिक्षा प्रदान नहुनु नै हो ।
विकास र आधुनिकताको नाममा सांस्कृतिक सम्पदाहरूलाई कम प्राथमिकता दिँदै आएको छ । जसले गर्दा क्रमशः नेपालको मौलिक संस्कृति हराउँदै गएका छन् । जसरी समुदाय यसप्रति जिम्मेवार हुनुपर्ने हो त्यसै गरी स्थानीय निकाय पनि जिम्मेवार र जवाफदेही हुन आवश्यक छ । आफ्नो क्षेत्रमा कुन जाति, धर्म र समुदायको बसोबास गर्छन् । उनीको संस्कृति र परम्पराको संरक्षणका निम्ति कति जागरुक छन् भन्ने बारेमा पनि स्थानीय तहका नेतृत्व तह सचेत हुन जरुरी छ ।
जलवायु परिवर्तन र प्राकृतिक प्रकोप
वि.संं. २०७२ सालको भूकम्पले धेरै पुरातात्विक सम्पदाहरू नष्ट ग¥यो, जसको पुनर्निर्माण गर्न धेरै समय र ठूलो धनराशी खर्च भयो । अधिकांश भौतिक संरचना पुननिर्माण भए तर त्यससँग जोडिएका संस्कृति र परम्पराहरू सही योजना र स्रोतको अभावमा छायामा परेका छन् । भूकम्पले नेपालका कयौं मौलिक सांस्कृतिक धरोहरहरूमा क्षति पु¥याउँदा केही पहिचान लोप पनि हुन पुगेका छन् । यद्यपि, यसको तथ्यांक फरक फरक आउने गर्दछ ।
त्यसबाहेक जलवायु परिवर्तन, प्राकृतिक प्रकोप एवम् बसाइँ सराइका कारण पनि नेपालको पहिचान गुम्दै गएको छ । जस्तै, पहाडका गुरुङहरू तराईमा बसाइँ सर्दा गुरुङ संस्कृति अंगालेको पाइँदैन । जसरी लमजुङ, कास्की र स्याङ्जामा रोधीको रौनक छ । त्यसै गरी चितवन, रूपन्देही नवलपरासीका गुरुङ समुदायमा छैन ।
पर्यटनमा निर्भरताः
सांस्कृतिक क्षेत्रहरूमा अनियन्त्रित पर्यटनले प्राचीन सम्पदामा क्षति पु¥याइरहेको छ । पर्यटनको अत्यधिक प्रयोगले यस क्षेत्रमा समस्या उत्पन्न गरेको छ । यसका निम्ति नेपालको मौलिक संस्कृति, परम्पराहरू पर्यटकहरूलाई देखाउनका निम्ति हो भन्ने भाष्य रहेका कारण पनि यसको अत्यधिक प्रयोगको भइसकेको छ ।
सूचना प्रविधिको प्रभाव
सूचना प्रविधिले संस्कृति संरक्षणमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारिरहेको छ । सकारात्मक प्रभावअन्तर्गत प्राचीन ग्रन्थ, हस्तकला र सांस्कृतिक घटनाहरूलाई डिजिटल प्लेटफर्ममा संरक्षित गर्न सकिन्छ । नेपालको मौलिक परम्परा र संस्कृतिलाई डिजिटल माध्यमबाट विश्वभर फैलाउन सकिन्छ । त्यस्तै, सामाजिक सञ्जाल र अनलाइन माध्यमले सांस्कृतिक महत्वबारे जनचेतना फैलाउन भूमिका खेलेको छ ।
नकारात्मक प्रभावअन्तर्गत धेरैजसो डिजिटलमा सीमित छ । शारीरिक रूपमा संस्कृतिलाई जोगाउन आवश्यक प्रयासहरू ओझेलमा पर्ने खतरा छ । आधुनिक जीवनशैलीको प्रभावले डिजिटल संस्कृतिको विकासले परम्परागत जीवनशैलीलाई विस्थापन गर्ने सम्भावना छ । साथै सांस्कृतिक सम्पदाहरूलाई डिजिटलाइज गर्दा यसको मौलिकता गुम्ने जोखिम बढेको छ ।
समाधानका उपायहरू
आर्थिक समाधानहरूका निम्ति संस्कृति संरक्षण गर्न सार्वजनिक–निजी साझेदारी अवधारण अगाडि बढाउन सकिन्छ । कतिपय ठाउँमा अपनाइएका त्यस्तो अवधारण सफल पनि भएका छन् । सांस्कृतिक क्षेत्रमा सरकारले छुट्टै कोष स्थापना गर्नुपर्ने देखिन्छ । हाल रहेका गुठी संस्थान र पुरातत्व विभाग, संस्कृति महाशाखालगायतका निकायलाई एकीकृत गरी विशेष प्रकारको संरचना आवश्यक छ । त्यस्तै, सांस्कृतिक पर्यटन प्रवद्र्धन गरी राजस्व वृद्धि गराउन पहल गर्ने, पर्यटकलाई देखाउनमात्रै होइन भन्ने ज्ञान पनि बढाउनुपर्छ ।
सूचना प्रविधिको सही उपयोग
डिजिटल पुस्तकालय, अनलाइन सांस्कृतिक संग्रहालय स्थापना गर्ने, परम्परागत ज्ञान र संस्कारलाई डिजिटल माध्यमबाट नयाँ पुस्तासम्म पु¥याउने, सांस्कृतिक कार्यक्रमहरूलाई अनलाइन स्ट्रीमिङ गरी दर्शक र सहभागी संख्यामा वृद्धि आदि ।
जनचेतना अभियान
विद्यालयस्तरमा सांस्कृतिक शिक्षालाई प्राथमिकता दिने, समुदायस्तरमा प्रशिक्षण र कार्यशालाहरू सञ्चालन, स्थानीय चाडपर्व र परम्पराहरूलाई थप व्यवस्थित गर्नुपर्छ ।
नीति र कानुनी सुधार
सम्पदा संरक्षणका लागि कानुनी रूपमै संरक्षण नीति लागू गर्ने, अनियन्त्रित पर्यटनलाई व्यवस्थित गर्न उचित नीति निर्माण गर्ने
निष्कर्ष
नेपालको मौलिक संस्कृति संरक्षणमा आर्थिक स्रोत, जनचेतना, र आधुनिक प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ । आर्थिक स्रोतको अभाव र आधुनिकताप्रतिको अतिविश्वासले चुनौतीहरू उत्पन्न गरिरहेको भए पनि सही रणनीति, स्रोतको कुशल उपयोग, र प्रविधिको सदुपयोगले यी समस्या समाधान गर्न सकिन्छ । सांस्कृतिक धरोहरहरू केवल हाम्रो पहिचानमात्र होइनन्, भविष्यका पुस्ताका लागि सन्देश र सम्पत्ति हुन् । त्यसैले संरक्षण कार्यलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिनु अत्यावश्यक छ ।











प्रतिक्रिया