सत्तरी वर्ष पुरानो हस्तलिखित पात्रो

1.13k
Shares

कुरा झन्डै ४० वर्षअघिको हो । पहाड–घरमा कागजपत्र खोज्ने क्रममा पुरानो खाँडीको रुमालको पोको खोलेर बेला–बेलामा बालाई सघाउँथेँ । त्यस पोकामा चिना बेरेजस्तो बेरेर राखिएका अनगिन्ती कागजपत्रहरू थिए । एकदिन ती कागजपत्रमध्ये सबैभन्दा कम चौडाइ (साढे २ इन्च) को बेरिएको नेपाली कागजमा मेरो ध्यान गयो । मैले सो कागज फुकाएर हेरेँ । त्यो त वि.सं. २०११ को चान्द्रमासअनुसार तयार गरिएको हस्तलिखित पात्रो पो रहेछ ।

अहिले मलाई लाग्छ, नेपाल संवत् नेवारी समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको हो भन्ने कुरालाई ७० वर्षअघिको यस हस्तलिखित पात्रोले पुष्टि गरिदिएको छ । यस पात्रोमा क्रमशः तिथि, नक्षत्र, बार र अन्त्यमा गते लेखिएकाले सौर्यमासलाई महत्व नदिई चान्द्रमासलाई बढी महत्व दिइएको ज्ञात हुन्छ । चान्द्रमासलाई महत्व दिनु भनेको नेपाल संवत्लाई महत्व दिनु होइन त ?

गोकुलराज शर्माद्वारा तयार गरिएको यो पात्रोको लम्बाइ अहिले नाप्दा ५५ इन्च छ भने चौडाइ साढे २ इन्च रहेको छ । नेपाली कागजको दुवैपट्टि लेखिएको भए पनि चिना बेरेझैँ बेरेर राखिएकाले अहिलेसम्म अधिकांश अक्षर पढ्न सकिने अवस्थामै छन् ।

हाम्रा प्रायः चाडपर्व, संस्कार, धार्मिक एवं पितृकार्यहरू गतेअनुसार नभई चान्द्रमासअनुसार मनाइने गरिएको सर्वविदित नै छ । त्यसैले तिथिलाई नै प्राथमिकता दिएर यस पात्रोको पहिलो कोलममा तिथि लेखिएको छ । त्यसपछि नक्षत्र, बार र अन्त्यमा मात्र गते लेखिएको छ ।

तिथि र नक्षत्रको घडी त लेख्नै प¥यो तर पला नलेखेकाले त्यस बेला पलालाई खासै महत्व नदिएको बुझ्न सकिन्छ । आजकल बजारमा पाइने पचाङ्ग निर्णायक समितिद्वारा स्वीकृत छापा पात्रोमा भने गतेलाई प्राथमिकता दिएर यसलाई नै पहिलो कोलममा लेख्ने गरेको पाइन्छ ।

हुन त त्यस बेला छापा पात्रोको चलन आइसकेको थियो तर दोलखा जिल्लाको दुर्गम गाउँ हिलेपानीमा छापा पात्रो कसले पु¥याउने ? त्यसैले स्थानीय ज्योतिषीहरू आफैँ यस्तो पात्रो तयार पार्न बाध्य हुन्थे । त्यस ठाउँका सबैजना यस्तै हस्तलिखित पात्रोअनुसार आ–आफ्ना जन्म–मृत्यु संस्कार, चाडपर्व, जात्रा मनाउने गर्थे ।

चान्द्रमासलाई महत्व दिनु नेपाल संवत्को महत्वपूर्ण पक्ष हो । विक्रम संवत्अनुसार तयार गरिएको पात्रोमा चान्द्रमासको पाटोलाई छुटाइएको छ भन्न खोजिएकोचाहिँ होइन, चान्द्रमासको पाटोलाई अलग्याउने हो भने पञ्चाङ्ग नै तयार हुन सक्दैन । अर्थात् पात्रोमा हुनुपर्ने मुख्य अंगहरू नै छुट्छन् । यति मात्र भन्न खोजिएको हो कि हाम्रा पूर्वजहरूले अंगिकार गरेको चान्द्रमासको पाटोलाई प्राथमिकता दिई तयार गरिएको यो हस्तलिखित पात्रोले नेपाल संवत्को झझल्को भने पक्कै गराएको देखिन्छ ।

यस पात्रोमा कृष्ण पक्षलाई वदि र शुक्ल पक्षलाई सुदि भनेर इंगित गरिएको छ । पात्रोको अन्त्यमा ‘अथ वान हेर्ने चक्र’ भनेर तालिका दिइएको छ । वान भनेको वाण हो । यस तालिकाबाट कुन दिन कुन वाण पर्छ ? थाहा हुन्छ । यसको मतलब त्यो समयमा कुनै साइत हेर्दा वाण अनिवार्य हेर्नुपर्ने चलन रहेछ भन्ने पनि बुझ्न सकिन्छ ।

नेपालको दुर्गम पहाडी भेगको एउटा ब्राह्मण बस्तीमा ७० वर्षअगाडि चान्द्रमास अर्थात् नेपाल संवत्अनुसारको पात्रो प्रयोगमा आएको कुरा ब्राह्मणकै घरमा भेटिएको यो हस्तलिखित पात्रोले प्रमाणित गर्दछ । नेपाल संवत्को गरिमालाई यस किसिमको हस्तलिखित पात्रोले अवश्य टेबा पु¥याउनेछ ।