संस्कृति कुनै समाज, समुदाय वा जातिको साझा विश्वास, परम्परा, कला, भाषा, र आचार–व्यवहारको एक समूह हो जसले मानिसहरूको जीवनशैली र सोचलाई आकार दिन्छ । यसमा परम्परागत रीति–रिवाज, धार्मिक विश्वास, संगीत, नृत्य, साहित्य, व्यञ्जन र सामाजिक मान्यताहरू समावेश छन् । संस्कृति, समाजका सदस्यबीचको आपसी सम्बन्ध र पहिचानलाई बल पु¥याउने एउटा माध्यम पनि हो । जसले सामाजिक, ऐतिहासिक र भौगोलिक अवस्थाहरूको बारेमा कालान्तरसम्म साक्षात्कार गराउनुका साथै कुनै पनि समुदायको पहिचान र अस्तित्वको मूलस्तम्भको रूपमा काम गर्दछ ।
नेपाल पनि विभिन्न जात जातिले भरिएको एउटा साझा फूलबारी हो । नेवार समुदायको बाजा संस्कृति पनि त्यही फूलबारीभित्रको एउटा फूल हो जसको वास्नाले विश्व जगत्मा नेपाललाई सुगन्धित बनाएको छ । यसै सन्दर्भमा सेतो मच्छिन्द्रनाथ जात्रा, येयां (इन्द्रजात्रा), न्हूंद समारोह समिति, पचली भैरव जात्रालगायत काठमाडौंमा हुने जति पनि जात्रा पर्वहरू छन् ती सबैमा विगत लामो समयदेखि संयोजकको भूमिकामा सक्रिय रहँदै आउनुभएका ६३ टोल ज्यापु महागुठी नेपाः काठमाडौं महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जनसँग बाजा संस्कृतिको विषयमा पत्रकार कविरस शर्माले गरेको कुराकानी ।
यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
सांस्कृतिक संयोजकको रूपमा २०६७ सालदेखि सक्रिय छु । तर, आफ्नो गुठी र टोलमा चाहिँ करिब ४० वर्ष जति भइसक्यो ।
६७ सालयता संस्कृति उत्थानमा तपाईंको भूमिका कस्तो रहेको छ ?
सुरूमा चुनौतीपूर्ण थियो । ६७ सालतिर हाम्रा टोलहरूमा परम्परागत बाजाहरूमात्र थियो । पुख्र्यौली बाजा चलाउनलाई पनि निकै गा¥हो थियो ।
अहिलेसम्म कहाँ र कसरी बाजा संयोजन गर्नुभयो ?
ज्यापु महागुठीको अध्यक्ष भइसकेपछि चाहिँ ६३ टोलकै बाजालाई संयोजन गर्दै आइरहेको छु । झन्डै डेढ दशकअघि र अहिले आकाश जमिनको भिन्नता छ । त्यतिबेला कुनै एउटा टोलबाट बाजा बजाउने समूह खोज्न नै मुस्किल पथ्र्यो । तर, अहिले चाहिँ त्यस्तो अवस्था धेरै हदसम्म कम भएको छ ।
के–कस्तो समस्या थियो ?
पहिलो समस्याचाहिँ व्यावसायिक रूपमा जान नसक्नु हो । आफ्नै स्रोत साधनले सधंैभरि धान्न सकिँदैन । अर्को कारणचाहिँ युवा वर्गमा देखिएको विदेश मोह हो । हामीलाई जसरी हाम्रो पुर्खाले संस्कृति हस्तान्तरण गरेर गए त्यसरी नै हामीले अहिलेको युवा पुस्तालाई हस्तान्तरण गर्न सकिरहेका छैनौं । बाजा संस्कृतिमै लागेर जीविकोपार्जन गर्न गा¥हो भएकोले पनि नयाँ पुस्तामा यस्तो समस्या देखिएको हो ।
तपाईं पुर्खाबाट हस्तान्तरित कुन–कुन बाजाको जानकार हुनुहुन्छ ?
मलाई विशेषगरी दाफः बाजा र धिमे बाजाबारे जानकारी छ । विभिन्न ताल रहेको दाफः बाजाअन्तर्गत नेपाल भाषाको भजनहरूचाहिँ गाउँछु । तर, सम्पूर्ण बाजाहरूको संयोजनचाहिँ गर्छु ।
बाजा संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुनै प्रक्रिया हुन्छ ?
हुन्छ, यसको लागि परम्परागत रूपमा चलिआएको एउटा विधि नै छ । यो विधि पुरानो र परम्परागत रूपमा रहेको टोलकाहरूले अनिवार्य अपनाउनु पर्छ । बाजा सिक्नेले नीति नियमको पालना गरोस् भनेर नै परापूर्वकालदेखि यस्तो विधिलाई पालना गराइन्छ । पहिले यो ६३ टोलमा रहे पनि अहिले ३२ टोलमा मात्र सीमित छ ।
बाजा सिक्नका लागि के–कस्तो परम्परागत विधि पालना गर्नुपर्छ ?
परम्परगत रूपमा जाने हो भने बाजा सिक्नका लागि ज्यापु समुदायमा नयाँ व्यक्तिले १२ वर्षको उमेरसम्म तीन पटक लगालग “वलाः छोयेगु” भन्ने एउटा विधि पूरा गर्नु पर्छ । त्यसमा सम्बन्धित टोलका १२ वर्षसम्मका युवाले एक रात घरबाट बाहिर कुनै शक्तिपीठमा बास बस्नुपर्ने नियम छ । शक्तिपीठमा बसेकालाई भोलिपल्ट आफन्तजनले नूनबाहेकका खानेकुरा लिएर हेर्न आउँछन् । पटक–पटक गरी तीन वर्षसम्म यसरी विधि पूरा गरेपछि व्रतबन्धजस्ता बाँकी रहेका कर्मकाण्ड सकाएर “वलाःढोंगकयेगु” गरेर विधि समापन गरिन्छ र धिमे बाजा बजाउन सिकाइन्छ ।
सिक्ने बेला कुनै विधिको पालना गर्नुपर्ने नियम छ ?
शुरूमा घरमा पूजा गरिन्छ र नाशः द्यो (नाट्यश्वर) मन्दिरमा पूजा गरेर कालो टीका लगाउने भन्ने चलन छ । बाजा बजाउन शुरू गर्दा नीति नियममा बस्नका लागि त्यसरी कालो टीका लगाउनु पर्छ । तीन महिनापछि बाजा बजाउन जानिसकेपछि त्यसरी लगाएको कालो टीकालाई फिर्ता गर्ने चलन छ । यदि, कसैले तीन महिना अवधि पूरा नगरी कालो टीका फिर्ता नगरेमा अशुभ हुने मान्यता रहिआएको छ । परम्परागत रूपमा बाजा सिकाउँदा सबै निःशुल्क हुन्छ । अहिले म नै अगाडि बसेर धिमे बाजा सिकाउन शुरू गरिएको छ ।
धिमे बाजा के कसरी बजाइन्छ ?
ठूलो (तःग्वगु) र सानो (चिःग्वगु) गरी दुई प्रकारका धिमे बाजा प्रचलनमा छ । ठूलो धिमे परापूर्वकालदेखि नै चलन चल्तीमा छ र ज्यापु समुदायले पनि आफ्नो प्रतीकको रूपमा मान्छन् । ठूलो धिमे कुनै विशेष अवसरमा बजाइन्छ र यो बजाउनु अघि विधि पु¥याउनुपर्ने चलन रहेको छ । सानो धिमेचाहिँ ज्यापुबाहेकका अन्य समुदायलेले पनि बजाउने गरेको छ । अहिले प्रायः बजाउने भनेको नै सानो धिमे हो ।
धिमे बाजा कहाँ कसरी बजाइन्छ ?
काठमाडौं उपत्यकाको तीन सहरको कुरा गर्दा धिमे बाजा बजाउने तरिका फरक छ । परापूर्वकालदेखि नै काठमाडौंको पुरानो वस्तीलाई थःने (माथिल्लो वस्ती) दथुः (मध्य वस्ती) र क्वनेः (तल्लो टोल) गरी तीन भागमा विभाजन गरिएको छ । जसनुसार तल्लो वस्तीमा ठूलो जोडी धिमेसँगै पोंगा, गांै र भुस्या प्रयोग गरिन्छ भने मध्य र माथिल्लो वस्तीमा ठूलो जोडी धिमेसँगै धुन्या, गौं र भुस्या प्रयोग गरिन्छ । ठूलो धिमे ज्यापु समुदायले मात्र बजाउँछन् भने सानो धिमे भने सबै समुदायले बजाउने गरेको छ । अहिले सामान्यतया जताततै मनोरञ्जन तथा अन्य क्रियाकलापका लागि सानो धिमे बजाइन्छ ।
धिमे एकै प्रकारको हुन्छन् कि फरक ?
स्वनिगः अर्थात् काठमाडौं उपत्यकाको तीन सहरमा बजाइने धिमेहरु भिन्न छन् । बाजा एउटै भए पनि नोटेसन र बाजाबाट निस्किने आवाज भने फरक हुन्छ । भक्तपुरको र काठमाडौंको ठूलो धिमेको आवाज नै फरक हुन्छ । अहिलेका युवाहरूले त झन नोटेसनमा फ्यूजन गरेर धिमेको मौलिकतालाई परिवर्तन गरेको पाइन्छ । मनोरञ्जनको लागि गरिए पनि यो एक प्रकारको विकृति हो । संस्कृति जोगाउन यस्तो कुरा रोक्ने प्रयास पनि जारी छ ।
धिमे विशेष गरी कुन जात्रापर्वमा बजाइन्छ ?
अहिले काठमाडौंको प्रत्येक जात्रापर्वमा बजाइन्छ । हाम्रो गुठीको देवाली पूजामा त अनिवार्य बजाउनु पर्छ । धेरै वर्ष पहिले इन्द्रजात्रामा धिमे बजाइन्नथ्यो । इन्द्रजात्रामा बजाउने भनेकै लाखे आजु, पुलुकिशी, गुरुज्यूको पल्टन र सवा भकुको मात्र बाजा हो । संस्कृति जगेर्ना गर्नुपर्छ र भएका बाजाबिना जात्रा पर्व राम्रो देखिँदैन भनेर मेरै संयोजकत्वमा एउटा कमिटी गठन गरेर इन्द्रजात्रामा पनि धिमे बजाउन शुरू गरेका हौं । त्यति बेला बाजा बजाउने युवाहरू भेला गर्न निकै गा¥हो भएको थियो । हाम्रा अग्रजहरूले समेत इन्द्रजात्रामा धिमे बजाउने विषयमा असहमति जनाएका थिए । लगत हेरेर बाजा खलः को पहिचान गरी बाजा बजाउन आह्वान गरेपछि मात्र इन्द्रजात्रामा धिमे बजाउन सम्भव भयौं । १६ वर्षअघि जम्मा चारवटा बाजा खलः मात्र सहभागी भएका थिए । पहिलोपटक धिमे बजाइएको उक्त इन्द्रजात्रा निक्कै राम्रो भएको प्रतिक्रिया पाएका थियौं । अर्को वर्ष विभिन्न १० वटा बाजा खलः आएका थिए भने अहिले यो बढेर ९३ खलः पुगिसकेको छ । बाजाको संख्याका कारण व्यवस्थापन गर्न कठिन भएकोले केही वर्षयता हामीले तीन दिने रथयात्रामा ९३ खलः लाई विभाजन गरी कुन दिन कसले बजाउने बनेर छुट्याउने गरेका छौं । यसरी नै अन्य जात्रा पर्वमा पनि हामीले बाजा व्यवस्थापन गरेका छौं । सेतो मछिन्द्रनाथ जात्रामा चाहिँ धुन्या अनिवार्य हुन्छ । काठमाडौंमा १९ वटा धुन्या खलः छ । तीमध्ये चार धुन्या खलः ले अनिवार्य बजाउनु पर्छ । त्यसबाहेक अन्यलाई पनि हामीले निमन्त्रणा गर्दै आएका छौं । पचली भैरवलगायत अन्य जात्रामा पनि हामीले यसरी नै व्यवस्थापन गर्ने गर्छौं ।
धिमे बाजाबाहेक अरू कुन–कुन बाजा काठमाडौंको जात्रापर्वमा बजाउने गरिन्छ ?
नेवार समुदायका विभिन्न जात जातिले जात्रा पर्वअनुसार गुंलाः बाजा, नायोःखिई, धाः बाजं, कनाथ, म्वाएली र धाः पनि बजाउने गर्छन् । विशेषतः स्वयम्भुमा लाग्ने एक महिने गुंलाः पर्वमा धाः बाजंचाहिँ अनिवार्य रूपमा हरेक दिन बजाउनुपर्ने परम्परा रहिआएको छ । एकतिर खाली हात र अर्कोतिर मोटो लठ्ठी प्रयोग गरी धाः बाजं बजाइन्छ । सानो धिमेजस्तै देखिने भए तापनि धाःबाजं मा प्रयोग हुने लट्ठीको टुप्पो मोटो हुन्छ । त्यस्तै, नायोः खिईचाहिँ एकतिर पातलो लट्ठी र अर्कोतिर खाली हातले बजाइन्छ ।
परम्पराअनुसार नायोः खिई लाई बाजाको नाइकेको रूपमा मानिँदै आएकोले जात्राको सुरुवात नै नायोःखिई बाजाबाट गरिन्छ । जो अरू बाजाभन्दा अगाडि राखेर बजाउने चलन छ । जात्रा परम्पराअनुसार शुरूमा नायोःखिई त्यसपछि धुन्या धिमे र पोंगा, ठूलो धिमे राखी लहरै बजाउने गरिन्छ । त्यसपछाडि मात्र अन्य बाजा राखिन्छ ।
बाजा संस्कृति विकासमा सरकारीस्तरबाट के–कस्तो सहयोग मिलेको छ ?
धेरै पहिले हामी आफ्नै समुदायको गुठीमा आबद्ध भएकाहरूले आफ्नै व्यक्तिगत स्रोतबाट खर्चसमेत धान्ने गथ्र्यौं । पछिल्ला केही वर्षयता भने स्थानीय तहले पनि सहयोग गरेको छ । तर, परम्परागत पद्धतिमा चलिरहेको बाजा खलः मुख्यत सरकारको नीति नियम र प्रक्रियासँग जोडिन नसक्दा समस्या भएको छ । अहिले धेरैजसो जग्गा जमिन राज्यले आफ्नो मातहतमा पारिसकेकाले संस्कृति जोगाउन समस्या भएको छ । ज्यापु महागुठीबाट हामीले पनि आवश्यक प्रक्रिया पूरा गर्न बाजा खलः हरूलाई सहयोग गर्दै आइरहेका छौं । तर, विदेशी पर्यटक भित्र्याएर आर्थिक उपार्जन गर्न सकिने र देशकै संस्कृति र परम्परा झल्काउने राष्ट्रिय पहिचान बोकेको इतिहास संरक्षण गर्ने विषयमा केन्द्र सरकारले भने आश्वासनबाहेक केही दिन सकेको छैन । यदि, सरकारले बाजाको महत्वको बारेमा अध्ययन र अनुसन्धान गरी अक्षयकोषको स्थापना गर्ने हो भने धेरै हदसम्म बाजाको विकासमा सहयोग मिल्नेछ ।
यस्तो कुरा राज्यले नबुझेको हो ?
राज्य सञ्चालन गर्ने जिम्मेवार व्यक्तिहरूले नियोजित रूपमा नै असहयोग गर्न खोजेको जस्तो लाग्छ । बाजा म¥यो भने संस्कृति पनि मासिन्छ भनेर गम्भीर हुन जरुरी छ । गत वर्ष हामीले बाजासम्बन्धी अध्ययन र अनुसन्धान गर्नका लागि प्रदेश सरकारसमक्ष प्रस्तावना पेस गरेका थियौं ।
जसमा परम्परागत नेवा बस्तीमा बसोबास गर्ने नेवा समुदायको संख्या, बाजामा सक्रिय संख्या, परम्परागत टोलको भौगोलिक स्थिति, इतिहास, जन्म र मृत्युमा हुँदा गरिने संस्कार, लोप भएका संस्कृतिलाई पुनःसञ्चालन गर्नेलगायतका विषयमा लगत राख्न तथा त्यस्ता संस्कृति संरक्षण र प्रवर्धनका लागि अनुमानित बजेटसहितको प्रस्तावना बुझाएका थियौं । तर, प्रदेश सरकारले भने कुनै प्रतिक्रिया जनाएन । यो वर्ष पनि हामीले प्रस्तावना पठाउने तयारी गरेका छौं ।
परम्परागत बाजालाई संरक्षण र संवद्र्धन गर्न के गर्नुपर्ने देख्नुभएको छ ?
बाजा देशमा मात्र होइन, अन्तर्राष्ट्रीयकरण गर्न आवश्यक छ । देश–विदेशमा रहेका नेपालीले त्यहाँ पनि जात्रापर्वको अवसर पारेर धिमेलगायत अन्य सांस्कृतिक बाजाहरू बजाउने गरेका छन् । नेपालबाट बाजाका गुरूहरूलाई बोलाएर उनीहरूले प्रशिक्षण पनि लिने गरेका छन् ।
जसमा विदेशी नागरिकहरूको सहभागिता बढ्दो छ । यो एउटा राम्रो संकेत पनि हो । यसलाई अझै मध्यनजर गरी योजनासहित अगाडि बढ्यांै भने निश्चय पनि नेपाली परम्परागत बाजाले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो स्थान पाउनेछ ।
परम्परागत बाजाप्रति युवा पुस्ताको रुचि कस्तो छ ?
परम्परागत बाजाप्रति युवा पुस्ता पनि आकर्षित हुन थालेका छन् । केही समयअघि वसन्तपुरमा १ हजार जनाले सामूहिक रूपमा बाजा बजाउनु यसको उदाहरण हो । त्यहाँ बजाएको चाहिँ सानो धिमे हो तर, त्यसको सुरुवातचाहिँ ठूलो धिमेबाट गरिएको थियो । ठूलो धिमे महिलाहरुले बजाउन मिल्दैन । धिमे मात्र होइन, आजकल बिहेमा पनि परम्परागत बाजा राख्ने संस्कृति पुनः ब्युँतिएको छ ।
मौलिक बाजाप्रति अहिले अन्य समुदायका युवाहरू पनि उत्साहित देखिएका छन् । जसले गर्दा यो बाजा नेवार समुदायको सीमित जातिको मात्र नभएर सम्पूर्ण नेपालीको हो भन्ने सकारात्मक सन्देशसमेत प्रवाह भएको छ । विद्यालयमा पनि मौलिक बाजा सिकाउने संस्कार बढेको छ । यसले रोजगारीलाई पनि बढावा दिएको छ र भविष्यमा युवा पुस्ताले पनि बाजा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
प्रतिक्रिया