परिवार पढेलेखेको भएको र विद्यालय तहदेखि आईए,विए नेपाल भाषा र थप विषय अर्थशास्त्रमा पनि गरेको थिए । मास्टर्स गर्न इलेक्टीभमा ६क्रेडिट आवर पुग्नुपर्ने हुन्छ । तर, त्रिविको कोर्समै क्रेडिट ६ राख्नुपर्नेमा ५ मात्र राखेर पढाइमै स्कोर नपुगेको भनेर त्रिविले अल्झायो । लामो लडाईंपछि प्रोफेसर त दियो पोखराको लागि तर परिवारबाट अनुमति पाइन । एउटा विषयमा मास्टर्स गरेपछि अर्को विषयमा डिप्लोमा भए पनि पढाउन पाउने नियम बन्यो । पाटन क्याम्पसमा रुटिन दिइसकेको भोलिपल्ट जाँदा डिन कार्यालयबाट सधैं अनुमति लिएर अर्कै व्यक्ति गइसकेछन् । त्यसपछि नेपाल भाषाको मास्टर्स गर्न टीयूमा निवेदन दिन जाँदा क्रेडिट आवर पुगेन भन्यो । गल्ती टीयूको सजाय हामीले किन भोग्ने भनेर लडाईं लडें । मैले पढाएको विद्यार्थीले मास्टर्स पढ्न पाउने मैले पढन नपाउने कहाँ छ भनेर मंगलराज जोशीसँग बहस गरेपछि नीति संशोधन भयो र मैले नेपाल भाषामा मास्टर्स गरें । म नेपाल भाषा नै पढ्छु भनेर लागें र आफ्नो पहिचान दिन पनि सजिलो भयो ।
नेपाल भाषा पढेकाले मैले धनबहादुर सरसँग संस्कृतिसम्बन्धी इन्साइक्लोपेडिया निकाल्दा कमल प्रकाश मल्लले हेर्ने जिम्मा दिनुभयो । त्यतिबेला निकालेकै इन्साइक्लोपेडियाबाट नेवा इन्साइक्लोपेडिया निक्लियो । यसमा पनि सांस्कृतिक पक्षमा म संयोजक भएर निकाल्यौं । त्यस्तै, बृहत् राष्ट्रिय इतिहासमा पनि ईश्वरलाल प्रधानांग, त्रिरत्न मानन्धर माडसाब, तुल्सीराम वैद्यलगायत थुपै्र विद्वानसँग बसेर काम गर्ने अवसर पाए । मलाई नेपाल भाषामा प्रोत्साहन दिने धनबज्र बज्राचार्य सर नै हो । धरपउ, अभिलेख, घटनामा केन्द्रित भएर काम गर्न उहाँले नै मलाई हौस्याउनुभयो । यसरी थुपै्र सामग्री संकलन गरी नेपाल भाषाको इतिहास बुझ्ने र काम गर्ने अवसर पाएँ ।
नेपाल भाषामा कमलप्रकाश मल्लले आर्टिकल राम्रो छ भन्नुभयो तर मेरो आर्टिकल आएन । कसैले मलाई नेपाल भाषामा पहिलो हुनलाई रोक लगाउन खोज्यो र अर्कैलाई छनोट गरियो । त्यसपछि जो महिलालाई पीएचडीको लागि छनोट गरेको थियो उहाँसँग एउटा कार्यक्रममा मेरो भेटभयो । मैले पीएचडीको काम कति सकियो भनेर सोधे । उनले परिचयको च्याप्टर नै सकिएको छैन भनिन् ।
त्यसपछि म फेरि नेपाल भाषामा पीएचडी गर्छु भनेर आधुनिक नाटक महिला सम्बन्धी, पूर्णाकीमा गर्छु भनेर लागे । त्यतिनै बेला विज्ञापन पनि आयो मैले विश्व विद्यालयलाई नै चुनौती दिन पहिलाको एउटा पनि आर्टिकल राखिन सबै नयाँ बनाएँ । पहिला पावर पोल्टिक्समा अर्को महिला छनोट हुनु भएको थियो । मेरो स्ट्याटिजी जसरी पनि नेवारी भाषामै पीएचडी गर्ने थियो । यस्तो कुरा टीयूले बुझ्ने कुरै भएन ।
यसैबीचमा छात्रवृत्ति पनि निस्कियो । त्यतिबेला पीएचडी गर्दा पहिला अस्थाई र एक वर्ष पछिमात्र स्थायी दर्ता हुन्थ्यो । स्थायीको एकबर्ष कुर्ने समयमा मैले नाटक साहित्यको इतिहास लेख्न टीयूमै अप्लाई गरे, त्यो अप्रुभ भयो । यसले ऐतिहासिक पृष्ठभूमिका लागि जति सामग्रीहरू संकलन गर्नुपर्ने हो त्यो सबै सामग्री यही अवधिमा संकलन गरें । पीएचडी गर्न एउटा एक्स्ट्रा ब्यागग्राउन्ड पनि चाहिन्थ्यो । यो १ वर्षको अवधिमा प्रोजेक्ट पनि सकियो र सामग्री संकलन गर्ने काम र ऐतिहासिक ब्यागग्राउन्ड गरी दुईवटा काम एकैपटक सकियो ।
मेरो ३ वर्षको छात्रवृत्ति थियो । तर, काम पहिला नै सकिएकोले २ वर्षमै सकियो । छात्रवृत्तिमा वर्षमा यो यो कामको यति यति बजेट भनेर शीर्षकअनुसार तोकिएको हुन्थ्यो । मेरो थेसिर प्रिन्ट गर्न तोकिएको बजेट र बुक मोटो नै थियो । मैले काम फटाफट सकेर साढे २ वर्षमा थेसिस सकेर बुझाएँ । शुरूमा ६ सयको छात्रवृत्ति बढेर १ हजार भयो । पहिला गरेको प्रोजेक्टमा पनि पैसा नै आउने भयो । त्यसले गर्दा मैले पाएको छात्रवृत्ति पुरै मलाई खर्च गर्नुपरेन र टीयूलाई फाइदा भयो । यसरी लिट्रेचरमा नेपाल भाषामा पीएचडी गर्ने पहिलो महिला म नै भएँ । भित्री चाहना भयो भने गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो । यस अघि लेक्चरल, प्रोफेसर हुनलाई निकै सघर्ष गरी मुद्दा नै हाल्नुपर्यो । म कुनै पार्टीमा पनि नलागेको र कडा मिजासको भएका कारण छनोटमा पर्न गाह्रो थियो । आफ्नो इकोनोमिक क्यारियर बनाउन कडा र मिहिनेती हुनैपर्छ । अध्ययन गर्ने, पढने र लगनशील भएर अघि बढ्नेका अगाडि जस्तासुकै चुनौती पनि सामान्य भएर जान्छ ।

कुमारी प्रथा
कुमारी प्रथाको इतिहास धेरै पुरानो छ । कुमारीको विरोधमा शुरूमा नेकपा एमालेको तर्फबाट विद्या भण्डारी नै लाग्नुभयो । उहाँलगायत कुमारीको संस्कृति नबुझ्नेहरूले हेर्ने दृष्टिकोण फरक छ । कुमारी प्रथा बुझ्नेले सम्मान पूर्वक हेर्छन् । कुमारी भनेको श्रीशक्ति हो । एकपटक अस्मितामा महिला सशक्ति करण भनेको कुमारी हो भनेर मैले लेखेको थिएँ । इन्द्र जात्रा भनेकै श्रीशक्तिको प्रदर्शन हो । कुमारीको जात्रा श्रीशक्तिको नै जात्रा हो भनेर लेखेको छु ।
नेवार समुदाय बुद्धिस्ट या हिन्दु जे भए पनि कुमारीलाई आफ्नै तरिकाले मान्छन् । हिन्दुहरूले तलेजु भवानीको रूपमा मान्छन् । बुद्धिष्टहरूले कुमारी महिला शक्तिमा सर्वशक्ति एकीकृत हुने शक्ति भनेको कुमारी भन्ने मान्यता साथ मान्छन् । कुमारी भनेको बसुन्धरा धनको देवी हो । पहिलो पृथ्वीबाट निस्कने धनको प्रतिकको रूपमा कुमारी मानिन्छ । अर्को खानीबाट निस्कने खनिज लक्ष्मी, समुन्द्रको तलबाट निस्कने मोती, मुगाजस्ता चीज धन हो । नवरत्नको रत्नहरू जुन पानी मुनीको सम्पत्ति हो । यो तीनवटाको स्वरूप बसुन्धरा हो । बसुन्धरा भनेको पनि कुमारीकै प्रतीक हो । अजिमा, बज्रयोगिनी कुमारी हो । सरस्वती, श्रीदेवी कुमारी हो । जन्मेदेखि मृत्युसम्मको ठुलो ठूलो पुजा गर्नुपर्दा पनि कुमारीलाई नै पुजा गर्नुपर्छ । बुद्धिष्टहरू र हिन्दुहरू दुवैले कुमारीलाई देउताकै रूपमा मान्छौं । जति पनि अजिमा छ आफ्ना आफ्नै विशेषताको छ त्यो शक्ति प्रदान गर्ने कुमारी नै हो । श्रीदेवीको एकारूप भनेको कुमारी हो ।
कुमारी भनेको हाम्रो दिमागमा देउताको, धर्मको फिलोसपी हो । साधारणतया ई नगरेको केही थाहा नपाएको स्वच्छ दैवी शक्ति भएका जे बोल्छन् सत्य बोल्छन् त्यस्ता बालिका हुन् । नेवारी समाजमा कुमारी भनेको पाटनको, वसन्तपुरको अहिले जो आशनमा बसिरहेको हो त्यो नै कुमारी हो भन्नेछ । तर त्यो मात्र होइन जो ई नगरेका बालिकाहरू छन् ती सबै कुमारी हुन् । कुमारीको इस्यु भएको बेला मानव अधिकारवादीहरू, सिविनका गौरी प्रधानलगायतका व्यक्तिहरूलाई राखेर समस्याको समाधानका लागि छलफल गरेका थियौं । त्यतिबेला गौरी प्रधानले सडक बालिकाहरू पनि कुमारी हो र भन्ने प्रश्न गर्नुभयो । मैल ती पनि बालिका हुन र कुमारी नै हुन भनेको थिए । नेवारी समाजमा बालिकाहरू सबैलाई ई गर्नु पहिला कुमारी नै मान्छांै । यो फिलोसपी नेवारको मात्र होइन । अझ बालिकामात्र कुमारी मान्ने नभई बालकहरूलाई पनि कुमारको रूपमा मान्छौं । इन्द्र जात्राको बेलामा गणेश कुमार हुन्छन् । कुमारी एक जना केटी हुन्छ । कुमार केटा र कुमारी केटीलाई समान रूपमा देउताको रूपमा मान्छन् । बच्चा बच्चीहरूलाई देउताको रूपमा मान्ने भनेको नराम्रो होइन । बच्चाहरूसँग दैवीय शक्ति भएकाले उनीहरूले जे भन्यो त्योअनुसार जीवन चलाउन लगायो भने ठीक ठाउँमा जान्छ । त्यसैले सबै बच्चा र बच्चीहरू कुमार कुमारी हो र उनीहरूमा दैवीय शक्ति हुन्छ ।
जतिबेला कुमारीको इस्यु उठ्यो आवाज उठाउनेहरूले कुमारीको महत्व र दैवी शक्तिका बारेमा बुझेर आउन सकेको थिएन । अहिलेका कुमारीहरू कुमारीको दैवी शक्ति र महत्वका बारेमा आफैं बोल्छन् । पाटनको कुमारी एसएलसी दिँदा त्यतिबेलै डिस्टिन्सन ल्याएको । पाटनको कुमारी पनि बाहिर जाँदैनन् र शिक्षकले त्यही आएर पढाउने र जाँच लिने गर्छन् । अहिले उनले बोल्दा म त छिरिङै हुन्छु । उनले दैवी शक्ति छ भन्छिन् । उनले उदाहरण दिएको दरबार हत्याकाण्ड हुनुभन्दा अगाडि उनी रोएको रोएकै । बस्दा, खाँदा, पढ्दा जतिबेलै रोएको रोएकै अनवरत रूपमा आँशु आएको आएकै भयो रे । ३ दिन सम्म पाटन र काठमाडौंको कुमारीलाई पनि त्यही भयो रे । यो संकेतको रूपमा देखा परेको हो रे । क्षमापूजा गर्न आमाहरूले सामग्री तयारी गरेको थियो रे पूजा गर्न नपाउँदै राति दरबार हत्याकाण्ड भयो । सुतीराखेको कुमारी जुरुक्क उठेर अब मेरो काम सकियो भनेर हाँसेर सुत्यो रे । आँशु पनि रोकियो ।
काठमाडौं कहिल्यै डुबानमा परेको थिएन यही अशोज १२ गतेको भीषण वर्षामा डुब्यो । इन्द्रजात्रामा कुमारी खसेको, गणेश रिसाएको रोएको र अर्को एकजना कुमारी आँसु नै झारेर रोएका थिए । कुमारी हाँस्नु र रुनु भनेको अनिष्ठ हुन्छ भन्छन् त्यो डुबानलगायत धनजनको क्षतिले देखाउँछ ।
इन्द्रजात्रालगत्तै काठमाडौंलगायत विभिन्न जिल्लाहरूका बाढी, पहिरो आयो ठूलो धनजनको क्षति भयो । त्यतिबेला दोलखा भीमसेनमा पसिना आयो । पसिना कताबाट आयो र कसलाई नराम्रो हुने भनेर सोध्दा कुमारीले जनतालाई नराम्रो हुने बताउनु भएको थियो । पहिला पहिला दरबार, शासकहरूलाई नराम्रो हुने भन्ने थियो । त्यतिबेला शासकको कुरा नै उठेन । यो क्षतिमा मार परेको जनतालाई मात्रै हो । त्यसैले दैवी शक्ति छ भन्ने प्रमाणित गर्छ । जुन कुमारीले एसएलसीमा डिस्टिन्सन ल्याइन उनले कुमारीमा अजिवको शक्ति छ र देशमा राम्रो वा नराम्रो हुने कुमारीहरूलाई थाहा हुन्छ भन्ने दाबी नै गरेकी छन् ।
इन्द्र जात्रामा कुमारी खस्ने कहिल्यै भएको छैन । कहिलेकाहीँ गजुर खस्ने हुन्थ्यो । त्यतिबेला पनि राजनैतिक अस्थिरता हुने गर्छ । त्यसैले कुमारी स्वच्छ दैवीशक्ति भएको देवता हो । नेवारी समाजमा हामीसँग देउता छ भन्ने विश्वास गर्छौ । हामी सबैभन्दा ठूलो भनेकै आत्मा हो भनेर पूजा गर्छौ । दैवीशक्ति भएको देवी भनेकै कुमारी हो ।
यसको परम्परा कहिलेदेखि भन्ने ऐतिहासिक पृष्ठभूमि हेरि हेरिछ । यज्ञमानले दुई तिन शताब्दीमा शुरू गरेको पनि भनिन्छ । धेरै ऐतिहासिक दस्तावेजले ५, ६, ७, ८ शताब्दीदेखिको हो भन्ने उल्लेख गरेको पाइन्छ । हामीले इतिहास पढ्दा देख्ने भनेको मान्छेलाई कुमारीको रूपमा प्रतिस्थापना गरिसकेपछिको हो भन्ने छ । त्यो प्रतिस्थापनाको कुरा पनि नेवारहरूकोमा आफ्नो समुदायको, क्षेत्रको, राज्य नै रक्षाका लागि पनि राखेको पाइन्छ ।
बुद्धिस्ट नेवारहरूको बहाल बहालमा कुमारी हुन्छ उनीहरूले देउताको रूपमा रक्षा गर्ने भनेर राख्ने हो । नेवारहरूको समुदायमा यस्तो देखेपछि राजाहरूले पनि राख्न लगाए । तलेजु भवानी भक्तपुरमा राखे । ज्योति मल्लले कुमारीसँग कुरा गरेर नै राजकाज चलाउने कुरा गरे । यो देखेर राजाको श्रीमतीले शाक्य, बज्राचार्यको छोरीहरू ल्याएर कुमारी स्थापना राखे र तलेजु भवानीको रूपमा स्थापना भयो ।
काठमाडौंमा तलेजु भवानी थिएन राजा महेन्द्र मल्लभन्दा अघिदेखि नै कुमारीको पूजामा तलेजु भवानी भक्तपुर जान्थे । त्यसपछि काठमाडौंको हनुमान ढोकामा पनि तलेजुको स्थापना गरियो । अमर मल्लदेखि शुरू गरेको भन्ने धेरैजसो जात्रापर्वको परम्परा हेर्दा सुनिन्छ, अनुसन्धान गर्न बाँकी नै छ । मल्ल राजाहरूको होडबाजीले पाटनमा पनि सिद्धि नरसिंह मल्लले तलेजु भवानीको स्थापना गरी कुमारी राखे ।
राजाहरूले राज्य सुरक्षाका लागि कुमारीको प्रतिस्थापना गरेका हुन् । इतिहसमा हेर्दा नेपाल समाचारपत्रको कार्यालय परिसर नजिकै एउटा रुख थियो । त्यहाँ कसैले खेती गर्दैनथे । त्यो कुमारी खेल्ने ठाउँ भनेर सुरक्षित राखिएको हो । कुमारीले खेल्ने ठाउँको त्यो ठूलो रूखले परेको पानी सोस्छ र त्यसको मुनी पानीको मूल (कुवा) हुन्छ । त्यही पानी नजिकैका खेतवारीमा सिंचाइको लागि प्रयोग गरिन्थ्यो । त्यो रूख अहिले छैन ।
बज्रयोगिनी भनेको पनि कुमारीको प्रतीक हो । कुमारीले समुदायको सुरक्षा गर्ने देखेर मल्ल राजाहरूले पनि कुमारीलाई राज्यको संरक्षकत्वका रूपमा राखेका हुन् । यसरी परम्परा शुरू भएको हो । यो परम्परा नबुझ्नेहरूले कुमारी भनेको बच्चाहरूलाई समाजबाट अलग गर्ने, बाल अधिकार शोषण गर्ने भनेर इस्यु बनाएका हुन् । त्यतिबेला मसँग पनि धेरै प्रश्नहरू गरेका थिए । जतिबेला कुमारी परम्पराको सुरुवात भयो त्यतिबेला पढ्ने परम्परा नै थिएन । कुमारी परम्परा राम्रो हो । त्यसलाई दैवीय शक्ति जुन छ स्वच्छ मनले सम्मान गर्यो भने ऊ राम्रो नायक भएर अघि बढ्छ ।
कुमारीलाई देउता मान्नु नराम्रो होइन । आफ्ना बच्चाहरूलाई देउता मानेर राख्नुभनेको नराम्रो संस्कृति होइन । अहिले मोर्डन युगमा पनि आफ्नो बच्चाले भनेको जस्तो गर्छो नि । नेवारहरूमा कुमारीको परम्परा त्यही हो । फिलोसोपी नबुझ्ने, सस्कार नबुझ्नेहरूले कुमारीलाई उपहास गरेजस्तो भयो । कुनै पनि धर्म, संस्कृति या विषयलाई गहिराईसम्म नबुझी विरोध गर्नुहुन्न ।
कुमारीको विरोध हुँदा देउकी प्रथा, कुमारी देउता, झुमाको विरोध भएको थियो । कामना पब्लिकेसन्स प्रालिको परिसरमा भएको कुमारी मूर्तिको रूपमा छ यो परम आन्दपछि मूर्तिमा परिणत भएको हो । त्यो छुट्टै प्रकारको मूर्ति छ । नेपाल समाचारपत्रको वरिपरि ४ वटा कुमारीको मन्दिर छ । नेपाल समाचारपत्रको संस्थापक स्व.पुष्करलाल श्रेष्ठले कार्यालय बनाएपछि त्यहाँको कुमारी मन्दिर राम्रो बनेको छ । अन्यत्र देख्नै गाह्रो भइसकेको छ । तलेजु भवानी त्रिकोण आकारको छ । मन, बुद्धि र आत्माको कुरा समिश्रण छ । त्यो परम शुख, परम आनन्द, परम ज्ञानको कुरा भयो । कुमारी शून्यमा खोज्ने कुरा हो । जो कुमारी भए उनीहरूमा दिव्य ज्ञान प्राप्ति भएको छ र उनीहरू आफैंले कुमारीको शक्तिका बारेमा बोल्छन् । जो कुमारी बने उनीहरूले यो परम्परा नराम्रो भनेकै छैन । दैवीशक्ति हुन्छ त्यसलाई कसरी र कहाँ प्रयोग गर्ने भन्नेमात्र फरक हो ।
२०४६ पछि देशमा प्रजातन्त्र आएपछि कुमारी, झुमा, देउकी प्रथा हटाउनुपर्छ भनी एमालेले चर्को विरोध गर्यो । २०६३ को अन्तरिम संविधानदेखि २०७२ को संविधान आएपछि जति पनि जात जाति, भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने आयो । सिडको रिपोर्ट अहिले पनि कुमारी प्रथालाई महिला विरुद्धको प्रथाका रूपमा उल्लेख गरिएको छ ।
कुमारी पूजा गर्दा केटाहरूलाई एक ठाउँमा बसेर पूजा गर्छन् । गुरुज्यूहरूले एक ठाउँमा बसेर पुजा गर्छन् । महिलाहरू गएर भोज बनाएर ठागुहरू राखेर कुमारी पूजा गर्ने भनेर महिला महिला बसेर कुमारी पूजा गरेर प्रसाद खाइसकेपछि मात्र गुरुज्यूहरूले पूजा गरेको ठाउँमा ल्याउँछन् । त्यसपछि मात्र सबैलाई राखेर प्रसाद बाँड्छन् । यो महिला सशक्तीकरण होइन ? यो महिलालाई सम्मान गरेको भयो । महिलाको शक्ति बिना अरू पूजा नै खेर जाने हो । कुमारी पूजा भनेको ठूलो ठूलो पूजामा मात्र गरिन्छ । पूजाको मूल स्रोत महिलाको शक्तिको लागि भयो । त्यसैले कुमारीको परम्परा हटाउने भन्ने हुँदैन । नेवारी परम्परामा कुमारी र कुमार भनेको सबै बालबालिका हुन र ती देउता हुन भन्ने मान्यता छ ।
हाम्रो देउतालाई न्यास गर्दा १० कर्म गर्नुपर्छ । १० कर्मभित्र ईही गर्नुपर्छ । ईही गर्दा कुमारी बच्चीहरूलाई पुजा गर्नुपर्छ । त्यतिबेला सबैभन्दा पहिला कुमारीकै पूजा गर्नुपर्ने हुन्छ । सांस्कृतिक रूपमा सेन्सेटिभ छु । यस्ता विषयमा धेरै मिडियाले मसँग कुरा गरे । मैले कुमारी संस्कृति हुनुपर्छ भन्ने विषयमा नै अडान लिए । त्यसपछि विरोधको नेतृत्व गर्दै आउनुभएकी निवर्तमान राष्ट्रतिले लिखित रूपमै माफी पनि माग्नुभयो । एमालेका नेता कृष्णगोपालले लिखित रूपमै माफी मागी सकेपछि गाली गर्न पुग्यो भन्दै लिखित माफी हातमा थमाइदिनुभयो । त्यसपछि उहाँले कुरा गर्ने छामछुम भयो तर अरूले सर्वोच्च अदालतमा मुद्दा पर्यो । यो मुद्दाका बारेमा मैले एउटा किताब सर्वोच्च कुमारी भनेर किताब नै निकालेको छु ।
मुद्दा गणतन्त्र आउनुअघि दरबार हत्याकाण्डपछि राखेको हो । मुक्ति प्रधानले नेवारहरूको तर्फबाट बहस गर्नुहुन्थ्यो । उहाँकै सल्लाहमा मेरो नेतृत्वमा २५ जनाको समूह बनाएर कुमारी प्रथाको पक्षमा मुद्दा दायर गर्यो । फैसला हुन झण्डै २ वर्ष लाग्यो । ९९ वटा प्रमाण राखेर कुमारी प्रथा हुनुपर्छ मास्नु हुँदैन भन्ने फैसला भयो । ज्ञानेन्द्र राजाको पालामा आन्दोलन जारी थियो । कुमारीको सपोर्ट गर्दा केही हुन्छकी भनेर राजालाई नै डर थियो । राजा र कुमारीको ट्युनिङ नमिले पनि कुमारीलाई हटाउने गरिन्छ ।
कुमारी चयन गर्दा निकै खोजतलास गरेर गरिन्छ । हनुमानढोकामा घोडा राखेको छ त्यो घोडा कतै संसर्गमा नगएको कुमार घोडा छानिन्छ । कुमारी बदलिन्छ घोडा बदलिँदैन । दरबारहत्या काण्ड हुँदा कुमारी परिवर्तन भयो । राजा सर्वोपरि हो कुमारी सर्वोपरि होइन भन्ने कुमारी जात्राको बेला रथयात्रा गर्न राजा आउने, जात्रापछि टीका थाप्न आउने हुन्थ्यो ।
कुमारी भनेको देशको रक्षा गर्ने भएकाले पहिला पहिला कुमारी रथयात्रा वर्षमा २ पटकमात्र हुन्थ्यो । एउटा तलको भेग निरीक्षण गर्ने, अर्कोमाथिको भेग हेरेर निरीक्षण गर्ने र नवीकरण गर्ने शुरूदेखिको परम्परा हो । पृथ्वीनारायण शाहले अरूबेला जित्न सकेनन् कुमारीको रथयात्रा गरेको बेला जिते । कुमारीको रथयात्रा भइरहेको बेला भीमसेनस्थाबाट पृथ्वीनारायण शाहको दलबल आयो । त्यतिबेला जयप्रकाश मल्ल भक्तपुरमा गएर लुकिराखेका थिए । काठमाडौंमा इन्द्र जात्रा शुरू भइसकेको र कुमारी जात्रा भइरहँदा राजा नै भएन । कस्लाई राजा बनाउने भन्दा पृथ्वीनारायण शाहले कुमारी संस्कृति मान्छु भनेपछि राजा तोकिदिएको भन्ने भनाइ छ । त्यसपछि शाह राजाहरूले नेवारी संस्कृतिलाई दबाउँदैनन् । यो संस्कृति हटाउनु पर्छ भनेर एमालेका नेताहरू लाग्नु भयो तर पुनदेवीले सर्वोच्चमा मुद्दा हाल्नुभयो ।
यो समूहमा विविध जातजातिलाई समेटेर अधिवक्ता मिरा ढुंगानाले लिड गर्नुभएको थियो । त्यो मुद्दामा नेवारका तर्फबाट न्यून संख्या थियो एमालेको दलबलसहित ठूलो संख्या थियो । उनीहरूको तर्फबाट पुनदेवीले बाल अधिकारको रक्षाका लागि कुमारीलाई के के गर्नुपर्छ भनेर दिँदा हामीले लगाएको प्रतिउत्तर देखेर हामीले मागेको भन्दा तपाईहरूको कति ठूलो इतिहास रहेछ भन्दै हार स्वीकार्नु भएको थियो ।
त्यो मुद्दाले कुमारी प्रथाको महत्व, आवश्यकता बुझ्ने, बुझाउने काममा जागरण आयो र राम्रै भयो । गणतन्त्र आएपछि फेरि इस्यु भयो । राजा नै भएन भने कुमारीको अस्तित्व नै भएन । कसरी चिनो हेर्छ, कसरी चिनो मिलाउने भने । त्यसपछि राजा भए पनि नभए पनि राष्ट्र प्रमुख त हुन्छ ।
पहिलाजस्तो राजा फेरिँदा कुमारी फेरिने हैन । अहिले कुमारी र घोडाको योगअनुसार राष्ट्रका प्रमुख बदली हुन्छ । पहिला राष्ट्रको चिनो हेर्ने थिएन राजाकै हेर्थे । अहिले राष्ट्रमा के हुन्छ भनेर राष्ट्रबाट ज्योतिषहरूले मुर्हत निकाल्छन् । लोकतन्त्रपछि राष्ट्रपति कामचलाउ हुँदा इन्द्रजात्रा चलाउँदा मैले कुमारी प्रथाको विषयमा बिहानदेखि बेलुकासम्म मेट्रो एफएममा कुमारी प्रथाको विषयमा बोलेको बोलेकै गरें ।
राजा नहुँदैमा कुमारी हट्दैन भनेर बोले । त्यतिबेला काष्ठमण्डप भरि, चोक, गल्ली, हनुमानढोका भित्रका सबै मन्दिरमा प्रहरी नै प्रहरी र सुरक्षा तैनाथ थियो । बाहिर सामान्यजस्तै देखिन्थ्यो । वसन्तपुरदेखि न्यूरोड गेटसम्म हतियारसहितका प्रहरी तैनाथ थिए । यस्तो गरेर कुमारीलाई बचाई राखेको हो । अब समाजले स्वीकारे स्थापित भइसकेको छ।
कुमारी प्रथाको महत्व पछिल्लो समय बढेको छ । आर्थिक रूपमा पनि सबल भएको छ । काठमाडौं महानगरपालिकाले नै बजेट दिएको छ । यसमा नेपाल सरकार, गुठी संस्थानलगायतका सरोकारवाला निकायको सपोर्ट छ । अहिले एकपटक कुमारी भएपछि उसको खातामा आर्थिक बचत गर्ने प्रचलन शुरू गरिएको छ । यो राम्रै भयो । पढ्न पनि सुविधा छ । अहिले कुमारीले जुन स्कुलमा पढ्छु भन्यो त्यो स्कुलमा छात्रवृत्ति दिन्छन् । यतिमात्र नभई कुमारीलाई आफ्नो स्कुलमा पढाउनका लागि आग्रह गर्छन् । विद्यालयहरूले हाम्रोमा कुमारी पढेको भनेर प्रचारमा आउन चाहन्छन् । बाहिर जान हुनेले स्कुलमै गएर पढ्छन् । नहुनेलाई जुन स्कुल हो त्यहीबाट शिक्षक गएर पढाउने, परीक्षा लिने गरिथ्यो । कुमारी भइसकेकाले बोलेको भनाइ आत्माको बोली हो । उनीहरूको दैवी शक्ति छ भनेर प्रमाणित गर्दैछन् ।
अहिले प्रधानमन्त्री, प्रधान सेनापति, राष्ट्रपति, प्रधानमन्त्री जो हुँदा पनि कुमारीकोमा योग हेर्न आउँछन् । कुमारीका विषयमा नयाँ पुस्तालाई हामीले भनिराख्नु पर्दैन । अब उनै कुमारी भइसकेकाहरूले नै भन्दै र बुझाउँदै छन् । केशव स्थापितको पालाबाट महानगरपालिकाले नै बजेट छुट्याएर दशैको बेलामा हनुमानढोकामा सम्मान गरेर वर्षभरिको भत्ता दिन्छन् । अहिले त पूर्व कुमारीहरूलाई पनि महानगरपालिकाले भत्ता दिन्छ । वर्षको एकैपटक हनुमानढोकामा कुमारीको सम्मानसहित नगद दिइन्छ । कुमारीको विषय स्थापित र मर्यादित भयो ।
कुमारीको रातो पहिरनको विरोध गर्ने कानुनविद्हरूलाई मैले बहसका बेला प्रश्न गरे तपाईंहरू बहसमा आउँदा किन कालो कोट लगाउनुहुन्छ । विद्यालयहरूले किन ड्रेस राख्छन् भनेर प्रश्न गरेपछि सबै मौन भए । ड्रेस अनुशासनको आधार हो । कुमारीलाई बाहिर हिड्न प्रतिबन्ध छैन । इन्द्र जात्रा सबैभन्दा पहिला कुमारीले नै बाहिर निस्केर अवलोकन गर्ने प्रचलन छ । राणा कालमा महिलाहरूले बाहिर हिड्न पाइन्न भन्थे तर गाईजात्रा, कुमारी जात्रा, इन्द्र जात्रालगायतमा कुमारीलाई जात्रा देखाउन लैजान्छन् । गाई जात्रामा कुमारीलाई असनदेखि भगवान वहाल, लगनसम्म लगिन्छ ।
पुस महिनामा हुने सेतो मछेन्द्रनाथको जात्रामा लगनमा राख्दा सेतो मछेन्द्र नाथको रथ जात्रा देखाउन लगेर राख्छन् । पशुपतिको कलश ल्याउदा हनुमान ढोकाको तलेजु भवानीमा कुमारीलाई राखेर भित्र्याइन्छ । अहिले हेर्न लैजाने ठाउँ परिवर्तन गर न । पहिला त २००७ सालको कुरा छ । भक्तपुरमा चै विनाबज्र मुनाकर्मीले तलेजु भवानी किताब लेख्दा प्रमुख अतिथि नै त्यहाँको कुमारीलाई बनाउनुभयो । कुमारीलाई ल्याएर खटमै राखेर हलको अगाडि पूजा गरेर सबैलाई कुमारीले टीका, प्रसाद दिएर कार्यक्रम शुरू भएको थियो । काठमाडौंमा पूर्व कुमारीलाई ल्याएर प्रमुख अतिथि बनाइयो । यस्तो खालका परिवर्तनबाट शुरू गरौं न ।
अर्को घटना इशावेदले कुमारीको डकुमेन्ट्री बनाउने भनेर काठमाडौंमा आइन् । काठमाडौंमा धेरै कडा सुरक्षा भएकाले सकिनन् । भक्तपुरको कुमारीको डकुमेन्ट्री बनाइन् । भक्तपुरको कुमारी स्कुल जाने, भोजमा जान मिल्ने थियो । डकुमेन्ट्री बनाएपछि सीएनएनबाट उद्घाटन गर्ने भनेर कुमारीलाई अमेरिका लगे । त्यसको विरोध पनि भयो । कहिल्यै देश बाहिर नगएको कुमारीलाई अमेरिका लगे । कुमारीको आमाबाबुसहित अरू कसैलाई नभनी अमेरिका लगे । नेपालमा विरोध हुँदा भारतमा ल्याएर लुकाएर राख्नुपर्यो । यता, कुमारीको शक्ति प्रत्यारोपण गर्न नपाएकाले अर्को कुमारी राख्न पाइएन । नेपालमा विरोध सामसुम भएपछि बल्ल कुमारीलाई नेपाल ल्याइयो । काठमाडौंमा कुमारीको नित्य पूजा २ पटक गरिन्छ । एउटा राजोपाध्यायबाट र एउटा बज्राचार्यबाट । बज्राचार्यबाट गर्ने पूजाकोठीमा गुरुज्यू र कुमारीबाहेक कोही पनि भित्र जानु हुन्न । कुमारीको आगन तल र माथि छ । माथि जयश्री मल्लको पूरा कला भएको कक्ष छ । त्यहाँ हिन्दुहरूले राखेर पूजा गर्छन् । तलको आगनमा बज्राचार्यहरूले गर्छन् । यो पूजा पूरा अनुशासनमा राखेर गरिन्छ । समाजले भूमिका खेले कुमारी पूजा तथा प्रथाको राज्य र कानूनले नै संरक्षण गरेको छ । अब कानूनी रूपमै बलियो संस्कृतिका रूपमा कुमारी प्रथा स्थापित भयो । कुमारीको विरोध सर्वोच्चमा नपुगेको भए यति धेरै हाईलाइट, चर्चा हुने थिएन । अब कसैले बोल्नु परेन कानुनी रूपमै बलियो संस्कृति बन्यो । यसमा कसैको हार जित भन्दा पनि संस्कृतिको जगेर्ना र संरक्षण गर्नुपर्छ भनेर सर्वोच्च अदालतले नै स्थापित गरिदियो । नेवारी समाजमा कुमारी संस्कृति महत्वपूर्ण छ । यसका लागि महिला समूहले ठाउँ ठाउँमा गएर चर्चा गर्ने र बुझाउने काम गरे ।
टोखामा कुमारी र गणेश दुवै बालिका हुन्छन् । सबैभन्दा पहिला जुनसुकै जात्रामा कुमारीलाई नै राख्छन् । पहिला कुमारी भनेर हेप्ने, विहे गरे लोग्ने मर्छ भन्ने दुस्प्रचार गर्छन । विजय मल्लले कुमारी उपन्यास लेखे र नीर शाहले कुमारीको रंगीन फिलिम बनाए । त्यो फिल्ममा कुमारीलाई चालकले मनपराउँछ ऊ दुर्घटनामा मर्छ । त्यसपछि कुमारीले मैले मनपराएको मान्छेसँग विवाह गर्यो भने मर्छ भनेर अन्त्य गरियो । त्यस विषयमा मैले विजय मल्ललाई भेटी प्रश्न गर्दा उहाँको उपन्यासमा त्यस्तो नलेखिएको र नेवार संस्कृतिमा महिलाको सम्मान छ । नेवारी परम्परामा छोराले मात्र विवाह गरेर ल्याउने नभई छोरीले पनि विवाह गरेर ल्याउन मिल्छ भन्नेछ । धनन्जय उपाध्यायलाई बज्राचार्यको छोरीले विवाह गरेर भित्र्याएको छ । महिला र पुरुषलाई बराबरी अधिकार नेवारी संस्कारमा थियो भन्ने प्रमाण हो । इन्द्र जात्राको बेलामा तिनै उपाध्यायले आमा र छोरीको फोटो राख्ने प्रचलन चलाए । केटीले केटालाई विवाह गरे नराम्रो हुँदैन । कुमारी प्रथा बचाउन धनन्जय उपाध्यायको महत्वपूर्ण भूमिका छ । धनन्जय उपाध्यायले स्वस्थानी लेखे हिन्दुले मान्छन् । उहाँलाई असाध्य मान्छन् ।
(नेपाल भाषाको पहिलो महिला प्रोफेसर बज्राचार्यसँग नेपाल समाचारपत्रकी सहसम्पादक भगवती तिमल्सिनाले गर्नुभएको कुराकानीमा आधारित )











प्रतिक्रिया