संस्कृति भनेको एक प्रकारले विज्ञान नै हो । सयौं हजारौँ वर्षदेखि चल्दै आएको परम्परा हो । चाड, पर्व, जात्राको थालनी कुनै कानुनी नीति नियमभन्दा पनि वैज्ञानिक कारणहरूबाट चलन चल्तीमा आएको भन्न सकिन्छ । नेवारी समुदायले जाडोमा घ्यू, चाकु (सख्खरबाट बनेको), तिलको लड्डु खानु, वर्षायाममा मनाइने गुणीपुन्ही (जनै पूर्णिमा) मा विभिन्न गेडागुडीयुक्त क्वाँटी खानुलगायत अन्य चाड पर्वमा समयअनुसार आहार लिनुको पछाडि वैज्ञानिक कारणहरू छन् ।
जन्मेको हुर्केको नै सांस्कृतिक सम्पदाले भरिएको क्षेत्रमा भएकोले म आफूलाई भाग्यमानी ठान्छु । दुईवटा विश्वसम्पदामा सूचीकृत संरचना, ईटुम्बहाल, विजेश्वरी, हारती अजिमा, कंग अजिमा जस्ता अन्य सांस्कृतिक सम्पदा रहेको क्षेत्रमा जन्मेको हुर्केकाले मेरो डीएनएमा नै संस्कृति र सम्पदाप्रति लगाव रहेको जस्तो लाग्छ । सानोमा दशैं आउनु महिना दिन अघिदेखि चंगा उडाउने बेला इन्द्रजात्रामा निकालिने लाखे र पुलकिसीको बाजा सुन्यो कि चंगा छोडेर उनीहरूको पछि लाग्ने गर्थे ।
संस्कृतिसँगै हुर्कंदै गर्दाको त्यो बेलाको बुझाइ र अहिलेको बुझाइमा भने फरक छ । सानो बेला जात्रा र पर्वलाई रमाइलोको रूपमा मात्र लिन्थे । तर, अहिले सभ्यताले धेरै धनी देशका नागरिक भएकोमा गर्व लाग्छ । देशको राजनितिक अवस्थाले गर्दा मात्र हामी पछाडि परेका हौं । सांस्कृतिक रूपमा भने हामी धेरै नै धनी छौं । विश्वलाई गर्वका साथ देखाउन मिल्ने विश्व सम्पदा, मठ–मन्दिर, कलाकृति र संस्कृति छ । यसले सम्पूर्ण नेपालीलाई सांस्कृतिक रूपमा धनी बनाएको छ । अहिले त झन नीतिगत, राजनितिक रूपमा पनि यी कुराहरूलाई उच्च महत्वका साथ स्थापित गर्नुपर्छ भन्ने लाग्छ ।
म राजनीतिमा लागेको एउटा कारणमध्ये संस्कृति जगेर्ना राज्य र सरकारको दायित्व हो भन्ने कुराबाट प्रेरित भएर पनि हो । उपत्यकाको संस्कृतिको लागि त म वागमती प्रदेशको सांसद हुँदादेखि नै लागि परेको हुँ ।
त्यसैबेला भाषा, अमूर्त मूर्त सम्पदा संरक्षणको काममा संलग्न भएर इन्द्रचोक मन्दिर परिसर परम्परागत ढाँचामा निर्माण कार्यमा सक्रिय रूपमा संलग्न भए । संस्कृति संरक्षणको विषयमा चाहिँ हाम्रो राजनीतिक नेतृत्वले नबुझेको जस्तो मलाई लाग्छ ।
अहिलेका कानुन र देशको अवस्थाका कारण अहिले मान्छेमा नैराश्यता छाएजस्तो देखिए पनि सांस्कृतिक पक्षबाट हेर्दा भने मान्छेहरूमा संस्कृति जगेर्नाप्रति उत्साह कायमै रहेको महसुस हुन्छ ।
मैले यो भनेर कुनै एउटा निश्चित संस्कृतिको मात्र कुरा गरेको होइन । समग्र देशभरि रहेको किराँत, तमु गुरुङ्ग, मगर, मधेस, सुदूरपश्चिम, डोटी, जुम्लालगायत अन्य समुदायहरूको संस्कृतिमोह यसको उदाहरण हो ।
सरकारले पनि यो विषयमा अभिभावक बनेर जिम्मेवारी बहन गर्नुपर्छ । किनभने देशमा आएको परिवर्तन पछाडि सांस्कृतिक पहिचानको विषयमा उठेको आवाजलाई पनि छुटाउन मिल्दैन । तर, अहिले पनि राज्यले आफैंले गर्नुपर्ने दायित्व र जिम्मेवारीलाई तत्परताका साथ पालना गरेको देखिँदैन । सरकारी र राज्यस्तरबाट केही सुधार नभएको चाहिँ होइन तर, जति हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

राज्यले लिनुपर्ने दायित्व अझ बलियो तरिकाले नीतिगत रूपमा लिएको छैन । सम्पदा मासेर विकास गरेको हामीले देखेका छौं । अब यसलाई विकास भन्ने कि विनास ? हामी जस्तो भर्खर राजनीतिको मूलधारमा आएकाहरूले इन्द्रचोकमा पुरानै सम्पदाअनुसार दबुः पुनर्जीवित गरेका छौं । प्रदेश सरकारको पहलमा स्थानीयहरूको अपनत्व हुने गरी हामीले त्यो बनाएका हौं ।
मेरो विचारमा त्यो सानो पाइला हो तर त्यसले सम्पदा संरक्षणमा ठूलो महत्व राखेको छ । त्यसै गरी विजेश्वरी, नागार्जुनको आदेश्वर, डल्लू क्षेत्रको महाविष्णु मन्दिरमा स्थानीय र हाम्रो पहलमा सम्पदा संरक्षण र पुननिर्माणको काम भइरहेको छ ।
राज्य अथवा सरकारले कुनै जाति विशेषलाई मात्र होइन, राज्यले सबैलाई समान रूपले हेर्नुपर्छ । देशभरि रहेका सांस्कृतिक महत्वका संरचना जगेर्नामा अग्रसरता देखाउनु पर्छ । उदाहरणको रूपमा चीनको सांस्कृतिक क्रान्तिपछि चीनले जगेर्ना र पुनःअस्तित्वमा ल्याएका संस्कृतिलाई लिन सकिन्छ ।
नेपालमा पनि जुम्लाको सिंजा सभ्यता, मधेसमा मिथिला, सिम्रौनगढका पुरातात्विक चिजहरू पनि एकदम महत्वपूर्ण छन् । यी संस्कृतिहरू एकअर्कासँग जोडिएका पनि छन् । मधेसको संस्कृति र काठमाडौंमा हुने कतिपय भजनहरू र मैथिलीमा पनि भएको पाउँछौं ।
राज्यको अहिलेको शीर्ष नेतृत्व र निजामती कर्मचारी संयन्त्रले चाहिँ यो चिजहरूलाई महत्व दिएर हेर्न नसकेको जस्तो मलाई लाग्छ । बरू अहिले यसो हेर्दा सुरक्षा निकायका कर्मचारीहरूले चाहिँ संस्कृति उत्थानमा अग्रसरता देखाएका छन ।
काठमाडौं हनुमानढोकामा रहेको नेपाली सेनाको शार्दूल गणले आफ्नो बाजामा धिमेलाई पनि समावेश गराउनुलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । नेपाल प्रहरीले पनि सांस्कृतिक बाजागाजामा आफ्नो सक्रियता देखाई रहेको छ ।
लोप भएका कतिपय संस्कृतिहरू पनि अहिले पुनर्जीवित भइरहेको छ । उदाहरणको लागि गत वर्षबाट कामपा वडा नं २० मा लगभग दुई दशकपछि “योंशी थने” परम्परा पुनर्जीवित गरिएको छ ।
नागरिकस्तरमा हेर्नुभयो भने संस्कृतिप्रति मान्छेको रूचि पहिलेको तुलनामा बढेको छ । विदेशमा रहनुभएका कतिपय प्रवासी नेपालीहरूले प्रतिकात्मक रूपमा इन्द्रजात्रा मनाएको देख्छौं । त्यस्तै दशैं, तिहारलगायत अन्य नेपाली चाडबाड मनाइरहेको सामाजिक सञ्जालमा भेटिन्छ । यसरी हामी फैलिरहेका पनि छौं ।
पहिलेका मान्छेहरूको गुठी अवधारणा वैज्ञानिक लाग्छ । पहिलेका मान्छेले सम्पदा तथा संस्कृतिलाई संरक्षण र कालान्तरसम्म चलाइराख्ने पवित्र उद्देश्यले गुठी पद्धतिको जग बसालेका हुन् ।
अहिले काठमाडौंमा सबैभन्दा मासिएको जग्गामा गुठीको पनि पर्छ । गुठी भनेको कुनै निश्चित परिवार र समुदायको मात्र भन्न मिल्दैन, गुठीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्ने विश्व सम्पदाको पनि हो । यो विश्वभरिकै सम्पत्ति हो ।
विश्व सम्पदा भौतिक संरचनाले गर्दा मात्र होइन, त्यहाँ भएका अमूर्त सम्पदा, जात्रापर्वहरूको गतिविधिले गर्दा त्यसमा आत्मा भरिएको छ । भौतिक संरचनालाई शरीर मान्नुहुन्छ भने त्यहाँ भएका ती सांस्कृतिक गतिविधिहरू चाहिँ त्यसका आत्मा हुन् । विस्तारै त्यस्ता चीजहरू त्यहाँबाट बिग्रेर गएका छन् ।
लोप भएका संस्कृति पुनर्जीवित गर्न नागरिकस्तरको प्रयासले मात्र पर्याप्त हुँदैन । घरबाट मात्र संस्कृति जगेर्ना गरेर धान्छु भनेर सकिन्न । संस्कृति जोगाउन र अनवरत चलाइराख्न लागि गुठीहरू बनेका छन् । तर, ती गुठीहरू सबै संस्थानको मातहतमा छन् ।
संस्थानले गुठीको आयस्रोतका रूपमा रहेका जग्गा जमिनहरू अघिनमा लिएको छ । तर, अनिमियताका कुराहरू पनि बाहिरिने गरेका छन् । यस्ता कुराहरूलाई नजरअन्दाज गर्नु मिल्दैन । गुठीको जग्गा जमिन र श्री सम्पत्तिहरू बिगार्नुमा धेरैको हात छ जस्तो लाग्छ मलाई ।
यो विषयमा पछिल्लो अध्ययनले समयसँगै मान्छेमा पलाएको लोभ लालचका कारण केही बदमास गुठियारहरूले जग्गा हडपने जस्ता काम गरेका छन् । गुठीभित्रका नै केही व्यक्ति एकआपसमा मिलेर सरकारी कर्मचारीलाई पनि त्यसमा राजी गराएपछि मात्र न यस्तो काम सम्भव हुने हो ।
यस्तो कामलाई सघाउने सरकारी कर्मचारीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने हो तर दुर्भाग्यवश त्यस्तो हुन सकेको छैन । अनि सरकारले पनि गुठीलाई समयसापेक्ष परिष्कृत गर्दै लानुपर्छ । राज्यले ती सबै विषयहरूलाई गम्भीरताका साथ केलाउन जरुरी छ । ती विषयमा सम्बोधन गरेमा लोप भएका कतिपय संस्कृति पुनर्जीवित गर्न सघाउ पुग्नेछ ।
राज्यले गर्न खोजेकाहरूलाई कसरी प्रोत्साहन गर्ने र आफूले कसरी जिम्मेवारी लिने विषयमा पनि ध्यान केन्द्रित गर्न जरुरी छ । नागरिकस्तरबाट यो विषयमा चाहना भए पनि स्रोत साधनको अभावले सहज देखिँदैन ।
अहिले पनि गुठीमा जग्गा राखेर नित्यकर्म सञ्चालन गर्नुपर्दा वार्षिक एक मोहर, एक–दुई रुपियाँमा कामहरू भइरहेको छ । जुन परापूर्वकालदेखिकै दर हो । राज्यले जग्गाचाहिँ आफ्नो अधीनमा राख्ने अनि कार्यान्यवनको पक्षलाई चाहिँ समयसापेक्ष नबनाउने हो भने संस्कृति त मर्ने नै भयो नि ।
मेरो निर्वाचन क्षेत्र काठमाडौं दरबार स्क्वायरमा विश्व सम्पदा सूचीमा सूचीकृत छ । यहाँको सम्पदा र संस्कृतिमार्फत् आयआर्जन र रोजगारीलाई बढावा दिन सकिन्छ । यो कार्य धेरै पहिलेदेखि नै भइरहेको छ । केही समययता यो स्थान अवलोकनका लागि आउने पर्यटकका लागि प्रशिक्षित गाइडहरूले रोजगारी पाएका छन् । काठमाडौं महानगरपालिकाले पर्यटक प्रवेश शुल्कमार्फत् वार्षिक रूपमा करोडांै आम्दानी पनि गर्ने गर्छ ।
तर, राज्यको स्पष्ट नीति नभएकोले त्यहाँबाट संकलित रकम सही ठाउँमा खर्च भने भइरहेको छजस्तो मलाई लाग्दैन । जुन कामको लागि पर्यटकबाट शुल्क उठाइन्छ त्यसैको लागि खर्च भइरहेको देखिँदैन ।
यो विषयमा राज्य उदासीन देखिन्छ । जुन ठाउँले कमाएर देशको ढुकुटी भरिरहेको छ त्यही ठाउँको संरक्षणका लागि विदेशी दातृ संस्थाले सहयोग गरिरहेको देखिन्छ । भत्किएका कतिपय सम्पदा विदेशी सहयोगले पुनःनिर्माण भइरहेका छन् ।
सम्बन्धित निकायले त्यहाँबाट उठेको पैसाको निश्चित प्रतिशत त्यहीँकै सम्पदा र संस्कृतिको संरक्षण, जीर्णोद्धारलगायतका काममा खर्च गर्नुपर्ने कुरा मैले सुनेको छु तर त्यस्तो भइरहेको जस्तो मलाई लाग्दैन । अहिले स्थानीय सरकारले धेरै अधिकार पाएको हुँदा केही प्रणालीहरू विकास गरेर त्यस्ता पुरातात्विक महत्वका संस्कृति र सम्पदा संरक्षणमा स्थानीयलाई सहभागी गराउनु पर्छ ।
जात्रापर्व भने पहिलेभन्दा व्यवस्थित भएको हो छ । अहिले स्थानीयको उत्साहपूर्ण सक्रियता, संघसंस्थाको समन्वय र चुस्त सुरक्षा व्यवस्थाले गर्दा पहिलेको तुलनामा अहिले धेरै व्यवस्थित भएको छ ।
मेरै कतिपय साथी, दाइभाइहरू अहिले जात्रापर्वलाई सभ्य र भव्य बनाउनका लागि व्यवस्थापन कार्यमा संलग्न छन् । जात्रापर्व प्रति मेरो पनि यस्तो लगाव छ कि आफंै पनि बाजा बजाएर सहभागी हुन्छु । सानैदेखि जात्रापर्वमा मेरो अत्यधिक रूचि र लगाव भएकोले साथीभाई तथा अग्रजहरूले बाजा बजाएको हेरेर नै मैले पनि सिकेको हुँ । जात्रापर्वमा आफूले जानेको बाजा बजाउँदा मलाई आत्मसन्तुष्टि मिल्छ ।
नेपाली मौलिक संस्कृतिलाई बचाउन र अझ व्यापक बनाउन सबैले आ–आफ्नोतर्फबाट केही गर्नुपर्छ जस्तो मलाई लाग्छ । यसले हाम्रो कलाकृति, संस्कृति र सम्पदा जगेर्ना गर्न ठूलो मद्दत पुग्छ ।
अहिलेको युवा पुस्ता जात्रा पर्वप्रति उत्साही र जागरूक छ । अहिले जात्रा पर्वमा आफ्नो परम्परागत पोशाक लगाएर युवायुवतीहरू सहभागी भएको देखिन्छ । पहिलेको तुलनामा परम्परागत बाजा बजाउनेहरूमा पनि युवायुवती दुवैको संलग्नता व्यापक देखिन्छ । अहिले मौलिक खाना र परिकार पकाएर बेच्नेदेखि कलासम्बन्धी सामग्री प्रदर्शन गर्ने संस्कारको विकास भएको छ । यस्तो लहर देशभरि नै बढेको छ ।
हरेक जातजातिकाले आफ्नो चाडपर्वमा आफ्नो मौलिकता झल्कने पोशाक, बाजागाजालाई पहिलेभन्दा अझ बढी प्राथमिकता दिएको छ । यस्ता सकारात्मक विषयलाई सरोकारवाला निकायले अझै व्यवस्थित ढंगले अघि बढाउँदै लैजानुपर्छजस्तो लाग्छ ।











प्रतिक्रिया