मगर समुदायको संस्कार र संस्कृति जोगाउने योद्धाहरू


ज्ञानेन्द्र पुन मगर
अध्यक्ष, नेपाल मगर संघ केन्द्रीय समिति

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक नेपाल सहिष्णुता, सहअस्तित्व र समानताका आधारमा बलियो सामाजिक सद्भावमा अडिएको छ । बहुलतायुक्त नेपाली समाजमा एक अर्काले गर्ने आदर सम्मानका कारण नेपाली समाज आपसमा मेलमिलापका साथ बसेको छ । कुनै पनि जाति, समाजलाई अप्ठ्यारो पर्दै गर्दा अन्य जाति समाजले साथ सहयोग गर्दछन् ।
त्यसैले पनि जुनसुकै जाति समाजबाट सामाजिक र धार्मिक रूपमा विकसित भएको चाड पर्वहरू एक आपसमा मिलेर नै मनाउने गरिन्छ । जन्म संस्कार, विवाह संस्कार र मृत्यु संस्कारमा पनि टोल छिमेकमा बसोबास गर्ने सबैको सहभागिता हुने गर्दछ । त्यस मानेमा पनि नेपाली समाज बहुलतायुक्त भए तापनि मिलेर एकताबद्ध भई बसेका छन् । तथापि, यहाँका राजनैतिक पार्टी र धार्मिक संघ संस्थाहरूले आ–आफ्नो अनुकूलताको स्वार्थपूर्ण कुरा र व्यवहार गर्ने गर्दा समाजभित्र विभाजनको रेखा बन्न खोजेको छ जसको न्यूनीकरण गरिनु पर्दछ ।

बहुजातीय नेपाली समाजमा आदिवासी मगर जाति एक प्राचीन र ऐतिहासिक जातिको रूपमा रहेको समुदाय हो । गोरखा राज्य बिस्तार हुँदै विशाल नेपाल बन्नुभन्दा अगाडि मगरात राज्यको राजा भएर राज्यसत्ता सञ्चालन गरेको यस समुदाय पनि नेपाली समाजजस्तै बहुलतायुक्त रहेको छ । यस समुदायको बसोबास प्राचीनकालमा मगरात भूगोल (राप्ती, धवलागिरी, गण्डकी–तल्लो पहाड र लुम्बिनी–पहाडी) भए तापनि हाल ७७ वटै जिल्लामा बसोबास रहेको छ । २०७८को जनगणनाको प्रतिवेदनबमोजिम २० लाख १३ हजार ४ सय ९८ मगरको जनसंख्या देखाए तापनि नेपाल मगर संघले ३० लाखभन्दा बढीको संख्यामा रहेको दाबी गरेको छ । मगर समुदायभित्र भाषिक हिसाबले मगर ढुट, मगर खाम र मगर काईके बोलिने गरिन्छ भने सांस्कृतिक हिसाबले भेगभूगोलबमोजिम बसोबास गर्ने मगरहरूको फरक फरक रहेका छन् ।

(क) मगर संस्कृति :
बाह्रमगरात भूगोल, अठारमगरात भूगोल र डोल्पातराली भूगोल गरेर तिनै भूगोलमा बसोबास गर्ने मगरहरूले फरक फरक तरिकाले संस्कृति अवलम्बन गर्ने प्रचलन रहेको छ । बाह्रमगरात भूगोलमा बसोबास गर्ने मगरहरू (विशेषगरी गण्डकी क्षेत्र) ले कौराह (कानराहा), मारुनी नाँच/सोरठी/ठूलो नाच, जिवैमामा/ज्यो मा रे, झाम्रे, रोदी, घाँटु, दिउसुरे आदि संस्कृतिहरू अबलम्बन गर्ने गर्दछन् भने पूर्वी नेपालतिर बसोबास गर्ने मगरहरूले हुर्रा संस्कृति अवलम्बन गर्ने गर्दछन् । त्यसै गरी अठारमगरात भूगोलमा बसोबास गर्ने मगरहरूले भूमे/भुम्या नाच, पैसेरु\पईस्यारु नाच, जौमारे÷ज्योमारे, डिग्रे, ज्यामदाबाने, सिंगारु, नचारु, भूमे नाच, सरङ्ङे नाच, झामरे (लस्केभाका, तेस्रोभाका, ठाडोभाका, चुड्केभाका), दमाचाला नाच, गर्रा नाच, जोरा नाच, ह्याम्पई नाच, रमा नाच, देउआगो, मारुनी नाच, सिंगारुनाच, सोरठी नाच, पुख्यौलीनाच, भैलोनाच, सराँयनाच, आदि संस्कृति अबलम्बन गर्ने गर्दछन् ।

संस्कृतिक हिसाबले वर्षमा दुई याम बनाई माघ १ गतेदेखि उभेली शुरू हुन्छ । उभेली याम ६ महिना (माघ १ देखि असार सम्म) र उधेली याम ६ महिना (साउन १ देखि पौष) सम्मको हुने गर्दछ । माघबाट वसन्त ऋतु सुरुआत हुने हुनाले माघेसंक्रान्तिदेखि ठूलठूलो आवाज निस्कने बाजाहरू बन्द गरिन्छ अर्थात् नचारु आदि नाचहरू बन्द गरिन्छ । किनकि वनमा पालुवा पलाउँछ, चराचुरुङ्गी तथा वनका जनावरहरूले बच्चा हुर्काउने समय भएको हुनाले उक्त अवधिमा जीवजन्तु चराचुरुङ्गीहरूलाई आवाजले असर गर्नुहुँदैन भन्ने मान्यता रहेको छ । यसबाट प्रकृति र संस्कृतिको अन्तरसम्बन्ध अनोन्याश्रित छ भन्ने बुझिन्छ ।

(ख) मगर संस्कार र चाडपर्व :
मगर संस्कारहरू पनि ठाउँ भूगोल विशेषमा जन्म, विवाह र मृत्यु संस्कार, पूजाआजा, खानपान, भेषभुषा पनि फरक फरक नै रहेका छन् । मगर समुदायमा प्राचीन कालदेखि पितृ प्रकृतिलाई शक्तिपीठको रूपमा पूजाआजा गर्ने गरिन्छ । भूयाँर÷भयाँरथान पूजा, भूमे÷भूम्या पूजा, पितृथान पूजा, सिद्धथान पूजा, बराहथान, बरजु÷बाजेबजै थान पूजा, चण्डी पूजा, आलम पूजा, मोईथान पूजा, कोट–मौला पूजा, देउराली पूजा, कुलकुलायन पूजा, देउली पूजा गर्ने गर्दछन् भने ठाउँ विशेषमा फरक फरक विधिले पूजाआजा गर्ने र बलीदिने प्रचालन छ ।

मगर समुदायलाई कुनै धार्मिक समूह विशेषबाट चिनिने भन्दा पनि सांस्कृतिक र जातीय समुदायको रूपमा चिनिने गरिन्छ । तर, प्रकृतिसँग सम्बन्धित अनेक अभ्यासहरू छन्, जुन रैथाने अभ्यास हुन् । संसारमा रहेका प्रायः सबै आदिवासीहरूको कुनै अमुक धर्म हुँदैन भन्ने पनि गरिन्छ । यस कारणले गर्दा यो समुदाय कुनै पनि विषयमा कट्टर देखिँदैन । मगर समुदाय सदैव ईमान्दार र बफादारी हुने भएको हुनाले अह्राएको काम खुरुखुरु गर्नुको कारण पनि उसको कुनै निश्चित धर्ममा कट्टरता नभएर हो भन्ने बुझिन्छ।

फलको आशामा कर्मकाण्डमा नअल्झिएको कारण पनि हो । यस समुदायमा अहिले सम्म कुनै धार्मिक वा सांस्कृतिक भैmझगडा देखा परेको छैन । त्यसै गरी मगर समुदायमा प्रथाजनित संस्थाको रूपामा भेजा र तैमाल मुख्या (कचरी) प्रणाली प्रचलनमा छ । यही प्रणालीमार्फत मगर समाज समुदायमा नियमित गरिने खेती प्रणाली, वनजंगलको उपयोग तथा संरक्षण विधि, भैmझगडा मिलाउने विधि, उत्पादित अन्नपात र पशुपक्षीको मूल्य निर्धारण विधि आदिको अवलम्बन गरिन्छ ।

(घ) मुख्य चाडपर्वहरू र समुदायभित्रका थरहरू :
मगर समुदायले आफ्नो राष्ट्रिय पर्वको रूपमा माघेसंक्रान्ति पर्वलाई मनाउने गर्दछन् । माघेसंक्रान्तिलाई २०६५ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्ले मगर समुदायको राष्ट्रिय पर्व भनी निर्णय गरेको छ । यस पर्वमा चेली, प्रकृति र पितृको पूजा गर्ने प्रचलन रहेको छ । यस पर्वलाई मगर समुदायले नयाँ आर्थिक वर्षको रूपमा लिने प्रचलन पनि छ । माघ पञ्चमीमा बिउबिजन ख्यारो (जाँच) गर्ने गरिन्छ ।

फागुन महिनालाई शिकार गर्ने महिनाको रूपमा लिइन्छ र ज्योमारे नाच नाच्ने र परम्परागत खेलकुद धनुषवाण (ताराखेल्ने) खेल्ने चलन छ । चैते दशैंलाई उभेली दशैं भनिन्छ । जेठासी पुन्ने वा चण्डी पुन्नेमा सिद्धको पूजाआजा गर्ने, न्वागी चाख्ने र पितर पूजा गर्ने गरिन्छ ।

असार १ गते भूमे भूम्या पर्व मनाउने गरिन्छ । यस पर्वलाई ठाउँ विशेषमा फरक फरक नामबाट मनाइन्छ । यस पर्वमा भेडाको साँढ बलि दिने गरिन्छ । साउन १ गते साउने सकराई राङ्ख्यातिवार मनाउने, लुतो फाल्ने, मादल बाजा फुकाउने गरिन्छ ।
यसै दिनदेखि उधेली याम शुरू हुने नचारु ओखला पस्ने, जल जमिन आगोको पूजा गर्ने गरिन्छ । यसको अलवा मगर समुदायमा भूमे वर्ष, साउनेसकराई पर्व, ज्यूमारे, बलिहाङ तिहार पर्व, पुुुसे पन्ध्र पर्व, न्वागी पर्व, चण्डी पर्व, मंसिर पूर्णिमा आदि पूजा गर्ने परम्परागत प्रचलन रहेको छ । उपर्युक्त पूजा आजा चालचलन र पद्दति तथा पूजाको नाम ठाउँ विशेषमा फरक फरक हुनेहुनाले एकरूपता नहुन सक्दछ ।

मगर समुदायभित्र हजारौं मुख्यथर र थरहरू रहेका छन् । पुन, बुढा, घर्ती, रोका, आले, राना र थापा गरी ७ वटा थरहरूलाई मुख्यथरको रूपमा लिइन्छ भने सारु, पुलामी, सिंजाली, गाहा, पाईजा, गर्बुजा, पाईजा, पहरे, तिलिजा, पूर्जा, चोचाङ्गी, श्रीस, खपाङ्गी, लुंगेली, दर्लामी, नामजाली, रेश्मी, मास्की, दगाई, साई, खाई, भलाई, भलामी, काउछा, बगाले, छन्टेल, भूजेल, उलुङ्गे, सुतपहरे, बैजाली, खप्तरी, भण्डारी, खड्का, हितान आदि गरेर १ हजारभन्दा बढी मगर थरहरू रहेका छन् ।

(ङ) संस्कार संस्कृति संरक्षणमा क्रियाशील भइरहेका संस्थाहरू र अभियन्ताहरू :
मगर संस्कार संस्कृति संरक्षण संवद्र्धनका लागि नेपाल मगर संघ र यसको भ्रातृसंस्था मगर सांस्कृतिक संघ, मगर महिला संघ, मगर विद्यार्थी संघ क्रियाशील रहेका छन् यसको सांगठनिक संरचना नेपालका प्रायः सबै जिल्लाहरूमा र तीन सयभन्दा बढी पालिका समितिसमेत गठन क्रियाशील रहेका छन् भने मगर लेखक संघ, मगर युवा संघ, मगर खेलकुद संघ, सम्पर्क समन्वय मगर संघ पनि आ आफ्नो क्षेत्रमा क्रियाशील रहेका छन् ।

संस्कार संस्कृति विशेष संस्थाहरू क्रमशः अठार मगर कलाकार संघ, हुर्रा देउसी संरक्षण तथा संवद्र्धन समिति, मौलिक कौराहा संरक्षण समिति नेपाल, पुर्खेउली नाँच संरक्षण नेपाल, कर्वाकेली समाज, पुनमगर समाज, कानुङ लांघाली समाज, रोष गुष्ठा, मगर भेजा समाज, मगर उत्थान समाज, मगर परिवार नेपाल, तकसेरा समाज, भूमे पर्व संरक्षण नेपाल, थवाङ्गी समाज, लुकमेल समाज, अठार मगरात मगर प्रतिष्ठान, भूमे समाज नेपाल, लिसरा सांस्कृतिक समूह, प्रकृति पूजक समाज, सेरोफेरो लांघाली समाज, तैमाल मुख्या संस्था, म्याग्दी मगर समाज, बाजेबजै थान संरक्षण नेपाल, मगर झाँक्री समाज, चेलीवेटी महिला समूह, सोरठी संरक्षण प्रतिष्ठान, सती घाँटु संरक्षण मञ्च, रुङ्ग समाज, भुयाँर थान संरक्षण नेपाल आदि संस्थाहरू रहेका छन् भने संस्कार संस्कृति संरक्षणका लागि संस्कृतिविद् बमकुमारी बुढा मगर, डा. मिन श्रीसमगर, एम.एस थापा मगर, सुरेश आले मगर, लोकबहादुर थापामगर, प्राडा केशरजंग बराल मगर, बलबहादुर घर्ती मगर, नवीन रोका मगर, डा.विष्णु सिंजाली मगर, झकेन्द्र घर्ती मगर, तारा थापा मगर, खड्ग गर्बुजा मगर, कविता आले मगर, खड्ग बुढा मगर, राजेश थापा मगर, सोम राना मगर, जगबहादुर बुढा मगर, हर्क पहरे पुन मगर, बिल पुर्जा पुन मगर, चन्द्रज्योति आले मगर, हर्क आले मगर, मेखबहादुर सारु मगर, बलवीर थापा मगर, बलविक्रम थापा मगर, कृष्ण थापा मगर, तिलक रोका मगर, गोपाल पुन मगर, कविराज मगर, प्रसाद खप्तरी मगर, हर्क घर्ती मगर, मदन रोका मगर, तिर्शना घर्ती मगर, दिपसागर थापा मगर, श्रीराम थापा मगर, चन्द्रबहादुर थापा मगर आदि अभियन्ताहरू मगर मौलिक संस्कृति संरक्षणमा विगत लामो समय देखि क्रियाशील हुनुहुन्छ ।

(च) समस्या तथा चुनौतीहरू :
१) बसाइँ सराइले संस्कार संस्कृति संरक्षण नभई लोप हुने अवस्थामा छ ।
२) पुराना र पाको पुस्ताले नयाँ र युवा पुस्तालाई पुस्तान्तरण अर्थात हस्तान्तरण गर्ने यथोचित वातावरण नहुनु ।
३) संस्कार संस्कृति संरक्षण संवद्र्धन गर्ने नेपाल सरकारको यथोचित नीति, योजना र कार्यक्रमहरू नबन्नु ।
४) विद्यालय तथा विश्वविद्यालय तहमा संस्कार संस्कृतिको बारेमा पाठ्क्रमहरू नबन्नु ।
५) आफ्नो मौलिकता बचाउने भन्दा पनि युवा पुस्ताहरू आर्थिक उपार्जनका लागि आफ्नो सबै समय खर्चिनु ।
६) नेपाली संस्कार संस्कृतिको बारेमा सञ्चार जगतले स्थान नदिनु ।

(छ) संरक्षण संवद्र्धन उपायहरू :
मगर समुदाय पृथक सामाजिक संरचना भएको समुदाय भएको हुनाले मगरात सभ्यताको जगबाट विकसित भएको यस समुदायमा उत्पत्तिको अवधिमा एकै प्रकारको संस्कार संस्कृति भेषभुषा, रहनसहन, रीतिथिति, चालचलन, प्रथा प्रचलन भए तापनि शिक्षा, स्वास्थ्य, रोजगारी तथा विविध अवसरहरूका कारण मगरहरू बसाइँसराई गर्न बाध्य भए फलस्वरूप मगर समुदायमा भाषिक, सांस्कृतिक, थरगत, भेषभुषा, संस्कार रीतिरिवाजहरूमा फरकपनहरू देखिएका छन् ।
फरक क्षेत्र भूगोलमा बसोबास गर्ने मगरहरूमा उक्त भूगोलको सामाजिक परिवेशअनुसार पनि संस्कार संस्कृतिमा फरकपन देखिएको छ । आजको दिनमा मगर समुदायको विविध पक्षहरूमा देखिएका फरकपनहरूको मौलिक पक्षको संरक्षण संवद्र्धन गर्न युवा पुस्ताहरूलाई पुस्तान्तरण गर्नका लागि ठोस कार्ययोजना बनाएर काम गर्नुपर्ने छ ।
मगरभित्र भएको विविधता समस्या नभई सम्पत्तिको रूपमा आत्मसात गरिएको छ । नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने हो भने पर्यटकहरू नेपालमा कि प्रकृति हेर्न आउँछन् कि त संस्कृति हेर्न आउँछन् । प्रकृति स्वनिर्मित हुनेभए तापनि संस्कृति मानव समुदाय निर्मित हुन्छ । नेपाल सरकारको संस्कृति संरक्षण संवद्र्धन गर्ने यथोचित नीति कार्यक्रम नहुँदा, बसाइँ सराइको प्रभाव र युवा पुस्ताको संस्कृति संरक्षणमा कम प्राथमिकता हुँदा मगर मौलिक संस्कार संस्कृतिहरू छिट्टै नै लोप हुने देखिन्छ । नेपाल मगर संघले आफ्नै बलबुताले संरक्षणका लागि जागरण कार्यक्रम गर्ने र यसको दस्तावेजीकरण गर्ने कार्य गरिरहे तापनि पूर्ण छैन । त्यसैले संस्कृति बच्यो भने देश बच्छ भन्ने मान्यतालाई आत्मसात गरी नेपाल सरकारले पनि विशेष नीति कार्यक्रम बनाउनु पर्दछ र मगर समुदायले संस्कार संस्कृति बचाउनुपर्दछ । यसको लागि हामी सबै लागौं ।