पाटन दरवार क्षेत्रमा दसैको रौनक हराइसकेको थियो।सप्तमीको दिन मानमानेश्वरी भवानी देवीलाई तलेजु मन्दिरमा विराजमान गराई विधिपूर्वक भगवतीको खड्ग प्रतिष्ठान (थापं) गर्ने चलन लोप भइसकेको थियो । त्यस्तै, विजयादशमीमा पाटन दरवारको लिच्छविकालीन मू छेः आँगन घरबाट निस्कने पायो (खड्ग जात्रा) र थेच्वको नवदुर्गा नाच पनि इतिहासमा सीमित भइसकेको थियो।
त्यस्तै मल्लकालीन तलेजु मन्दिरबाट निस्कने पायो र गमन पर्व (लिच्छविकालीन थेच्वको नवदुर्गा नाच, मल्लकालीन पाटनको अष्टमातृका नाच एकै पटक दरवारको दसै घरमा राखिएको जमरा जता ढल्कियो त्यतै नगर परिक्रममा गर्ने परम्परा) पनि बन्द भइसकेको थियो । यसले गर्दा पाटन दरबार क्षेत्र वरिपरि बिहान किनमेल गर्न आउने मानिसको भीड बाहेक सांस्कृतिक रौनक उमंग गायब भइसकेको थियो।
जात्रा, पर्वहरु हराएपछि २४ वर्षअघिदेखि पाटन दरबार क्षेत्रको माहौल यस्तै थियो।२४ वर्षअघिसम्म ती पर्वहरु हेर्दे रमाएको दृष्य ४० नाघिसकेका मानिसहरूको केवल स्मृतिमात्र कैद थियो । भर्खरका युवायुवतीलाई सोबारे याद हुने कुरो पनि भएन । केही व्यक्तिहरूले त्यस्तो वातावरण बनाउन लाग्नुपर्नेमा यदाकदा कुरो उठाउने गर्दथ्यो । तर, ठोस पहलको अभावमा ती कुराहरू केवल चिया गफ वा कुराको लागि कुरामा मात्र सीमित भइरहेको थियो ।
२०७३ असोजतिरको कुरो थियो।दशै आउन एक, दुई सातामात्र बाँकी थियो।ठेचोस्थित नवर्दुगा भवानीका गुठीयारहरूले दरबार क्षेत्रमा हराइसकेको नवदुर्गा नाच (गथु प्याखः) पुनः सञ्चालन गर्नुपर्ने कुरा उठाएका थिए । नवदुर्गा भवानीका गुठीयारहरूले लोप भइसकेको परम्परा ब्युँताउन कहाँ जान्नुपर्ने हो, कसलाई भन्नुपर्ने हो भनेर उनीहरु तयारी अवस्थामा बसिरहेका थिए । त्यसबीचमा गुठीयारका सदस्य प्रशान्त मालीले नाच पुनःसञ्चालन गर्ने विषयमा पत्रकार सम्मेलन गर्ने प्रस्ताव गुठीयार समक्ष राख्नुभएको थियो । गुठीयारहरू पत्रकार सम्मेलन गर्न तयार भए ।
त्यसपछि पत्रकार सम्मेलन गर्न मंगलबजारको पुरानो प्रहरी चौकी अगाडिको एउटा चियापसलमा सञ्चारकर्मी समेत रहेका मालीको र केही पत्रकारहरूबीच त्यसबारे कुराकानी भएको थियो । छलफलमा गुठीयार नाइेक भक्तबहादुर मालीसहित सहित पत्रकार माली, पत्रकार सुनील महर्जन र नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका तत्कालीन सचिव राजेश बज्राचार्य सहभागी हुनुहुन्थ्यो । छलफलमा पत्रकार सम्मेलन नभनी अन्तक्र्रिया कार्यक्रम भनेर नाचसंग सम्बन्धित सरोकारवाला, गुठीयार, प्रहरी, प्रशासन र गुठी संस्थान लगायत सबैलाई बोलाउनु बेश हुने कुरो निस्कियो ।
अन्र्तक्रिया कार्यक्रमको लागि कसले पत्राचार गर्ने, कसले आवश्यक व्यवस्था मिलाउने भनेर छलफलका क्रममा कुरो निस्किँदा विषयको सान्दर्भिकताको दृष्टिले नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाबाट गर्दा उपयुक्त हुनेमा सबैको एकमत रहयो । यसरी तीन जना पत्रकारको अगुवाई र पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा २०७३ असोज १३ गते विहीबार ललितपुर उद्योग वाणिज्य संघको सभाहलमा जिल्लाका प्रहरी, प्रशासन, स्थानीय निकाय, सञ्चारकर्मी, निजी क्षेत्र, गुठी संस्थान, गुठीयारहरूबीच नाच पुनःसञ्चालन गर्नेबारे पहिलो बृहत् अन्तरक्रिया कार्यक्रम भएको थियो ।
यसरी पाटन दरबार क्षेत्रमा हराइसकेको नाच सञ्चालनको लागि औपचारिक रूपमा पहिलो प्रयास यहाँबाट शुरू भएको जनाउँदै नवदुर्गा भवानी गुठी पूर्व नाइके समेत रहेका मालीले भन्नुभयो यो कार्यक्रम नभएको भए अरू कार्य अघि बढ्दैन थियो । सो कार्यक्रम बारेमा विभिन्न कोणबाट स्थानीय पत्रपत्रिकादेखि राष्ट्रिय दैनिक र टेलिभिजनहरूमा समाचार आएपछि यसमा सबैको ध्यान सोझिएको थियो । नाच सञ्चालन नभएसम्म सञ्चार क्षेत्रबाट निरन्तर खबरदारी, झकझक्याउने कार्य भइरहेको थियो ।
मालीका अनुसार नाच पुनः सञ्चालन गर्ने दिशामा पहिलो अन्तरक्रियाले दुई तीन वटा प्रभाव पारेको थियो । पहिलो नाच सञ्चालनका कठिनाई, समस्याहरू एउटा फेहरिस्त तयार भयो । दोस्रो, कार्यक्रममा उपस्थिति सबैले नाच सञ्चालनको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तत्कालीन ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेले बजेट विनियोजित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तेस्रो, यस विषयमा निरन्तर पैरवी गर्नुपर्ने र विभिन्न गुठीहरू जोडिएकोले तिनीहरूबीच समन्वय र सहजीकरण गर्नुपर्ने खाँचो देखिएको थियो । संस्कृतिका अध्येयता समेत रहेका पत्रकार राष्ट्रिय दबूका तत्कालीन सचिव बज्राचार्यले भन्नुभयो।
एउटा अन्तरक्रिया कार्यक्रमले मात्र बन्द भइसकेको जात्रा पुनःसञ्चालन गर्न सम्भव नभएपछि पत्रकार राष्ट्रिय दबूकै पहलमा २०७३ असोज १७ गते पुनः ललितपुर उद्योग वाणिज्य संघको सभाहलमा सरोकारवाला बैठकको आयोजना गरेको थियो । अन्तरक्रियाबाट आएको निष्कर्षअनुरूप सरोकारवालाबीच समन्वय गर्ने, सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने, डेलिगेसन जान गुठीयारहरू सम्मिलित एउटा समिति गठन गर्ने निर्णय गरियो । समितिको नाउँ यल सांस्कृतिक पर्व संरक्षण समिति राख्ने निर्णय भयो । समितिको संयोजकमा ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष रहने निर्णय गरिएको थियो ।
शुरूशुरूमा पत्रकार दबूले संयोजनको भूमिका निर्वाह गर्नुपर्ने कुरो पनि उठेको थियो । पत्रकारको काम भनेको विषय उठान गर्ने हो । गुठीयारहरूको आवाज सम्बन्धित निकायमा पुर्याइदिने हो । संयोजनकै भूमिकाको नेतृत्व गर्दा अभियन्ता झै देखिने र त्यसले पत्रकारको भूमिकामा असर पर्नसक्छ कि भन्ने कुरो सचेत भएको थिएँ ।’ पत्रकार दबू ललितपुर शाखाका पूर्व सचिव बज्राचार्यले भन्नुभयो । यसले गर्दा उद्योग वाणिज्य संघको तत्कालीन अध्यक्ष सविन श्रेष्ठको संयोजन रहँदा समन्वयमा प्रभावकारी र पैरवी कार्य अघि बढाउन सहज हुने कुरो लगभग सर्वसम्मत झै भएको थियो ।
त्यहीअनुरूप सबै सरोकारवाला राखेर तत्कालीन ललितपुर उद्योग वाणिज्य अध्यक्ष सविन श्रेष्ठ संयोजन रहने गरी यल सांस्कृतिक पर्व संरक्षण समिति गठन भएको थियो । पत्रकार राष्ट्रिय दबूका तत्कालीन सचिव बज्राचार्यलाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो । पहिलो अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेदेखि लिएर समिति गठन गर्दासम्ममा तत्कालीन निर्वतमान अध्यक्ष अजरमान जोशीको पनि महत्वपूर्ण भूमिका रहेको थियो । त्यसपछि गुठीयार, सरोकारवालाबीच चरणबद्ध छलफलको क्रम अघि बढ्यो । यसरी गुठीयारको आवाजलाई मुखरित गर्ने कार्यमा शुरू पत्रकार, त्यसपछि उद्योगी व्यवसायी, संस्कृतिककर्मी र अभियन्ताहरू पनि जोडिए ।
लोप भइसकेको पायः (खड्ग) जात्रा, नवदुर्गा नाचको सेतुका रूपमा मानमानेश्वरी भवानीदेवीलाई लिइन्छ । यसले गर्दा मानमानेश्वरी भवानी गुठी तयार नभईकन सो नाच चलाउन असम्भव थियो । ती सबै जात्रा पर्व चलाउनको लागि मानमानेश्वरी गुठीयारको भूमिका रहन्छ । मानमानेश्वरी भवानीलाई फुलपाटीको दिन तलेजु भवानीमा विराजमान नगराए खड्ग जात्रा नहुने, मानमानेश्वरी भवानीलाई बाहिर ल्याएर नवदुर्गा भवानीका देवगणले माल्यार्पण नगरेसम्म नवदुर्गा नाच सञ्चालन हुँदैन । सप्तमीको दिन मानमानेश्वरी भवानीलाई तलेजुमा विराजमान गराउने कार्यदेखि अरू धार्मिक कार्यमा मानमानेश्वरी गुठीका मुख्य भूमिका रहन्छ । यसले गर्दा मुख्य गुठीयारको खोजी हुनथाल्यो । खोज्दै जाँदा मुख्य गुठीयार साम्राज्यदेव श्रेष्ठसँग भेट भयो र कुराकानी शुरू भयो । शुरू शुरूमा श्रेष्ठ नाच सञ्चालनका लागि तयार हुनुभएको थिएन ।
किनभने २०७२ सालको भूकम्पले मानमानेश्वरी भवानीको आगन घर भत्किएको थियो । श्रेष्ठबाहेक अरू गुठीयार थिएन । त्यसले गर्दा सो को व्यवस्थापनदेखि धार्मिक विधि प्रक्रिया गर्न महिनौं समय दिन नसकिने कुरा श्रेष्ठले निकाल्नुभयो । श्रेष्ठलाई यस विषयमा बुझाउन र उहाँको कुरो सुनेर नाच चलाउनको लागि सहमत गर्न वर्षौ दिन लागेको बज्रँचार्यले स्मरण गर्नुभयो । पायो जात्रामा थेच्वको नवदुर्गा भवानी देवी, तलेजु, नायः बाजा खलः, यल मुःखल, कोन्ति खलः, महालक्ष्मी धःपाला, कुमारी घर, कुम्भेश्वर मन्दिरका पुजारी, गः प्याखः खलः नकबहिल (अष्टमात्रिका नाच), डंगु खलः हौगलगायत गुठीसम्बन्धी छन् । सबैसँग कुराकानी अघि बढ्दै गएको थियो ।
यस क्रममा यल सांस्कृतिक पर्व संरक्षण समितिले २०७३ चैत्र १५ गते मंगलबार श्री उग्रचण्डीमाई परिसर ताम्रकार समाजको सभाहलमा संस्कृति संरक्षणमा दीगो विकास : समस्या, चुनौती र अवसर विषयक अन्तरक्रिया गोष्ठी तथा बृहत् सरोकारवाला भेला आयोजना गरिएको थियो । ललितपुर उद्योग वाणिज्य संघ तथा यलपर्व संरक्षण समितिको आयोजनामा तत्कालीन जिल्ला विकास समितिको सहयोगमा सहयोगमा सो भेला भएको थियो । भेलाले नाच संञ्चालनको लागि सरोकारवालासँग संवाद गर्ने भेला, डेलिगेसन र ज्ञापनपत्र बुझाउने कार्यलाई तीव्रता दिने निष्कर्ष निकालेको थियो ।
पहिलो अन्तरक्रिया आयोजना गरेको दिनदेखि देखि दोस्रो अन्तरक्रिया भएको छ । महिनाको अवधिमा नाच सञ्चालनको माहौल बन्दै गएको थियो । ललितपुर महानगरपालिकाले नाच सञ्चालनको २ लाख बजेट प्रस्तावित गरिसकेको थियो । गुठीयारहरुबीच लोप भइसकेको जात्रा, पर्व चलाउने मनस्थिति बलियो बन्दै गएको थियो । सञ्चारमाध्यमहरूले लगातार यसबारे गरेको ध्यानाकर्षणले सम्बन्धित निकाय सामु २०७४ सालमा जसरी भएपनि नाच सञ्चालन गर्नुपर्ने परिस्थिति बनेको थियो ।’ ललितपुर उद्योग वाणिज्यका तत्कालीन अध्यक्ष एवं समितिका संयोजक सविन श्रेष्ठले भन्नुभयो ।
भैरव, काली र बाराहीको नृत्यसहित मनमानेश्वरी देवीलाई माल्यार्पण जात्राको मुख्य आकर्षण हो । पायो जात्रा पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीनमध्ये सबैभन्दा पुरानो जात्रा हो । यो जात्रा लिच्छविकालीन मू (मूल) छेः (घर) आँगन गुठीद्वारा सञ्चालन गरिन्छ ।
मनमानेश्वरी देवीको पूजा विधि अर्को महत्वपूर्ण पर्व हो।नवदुर्गा नाच मंगलबार चतुर्थी र कोजाग्रत पूर्णिमाका अवसरमा पाटन दरबार क्षेत्रस्थित मूलचोकमा प्रदर्शन गरिन्छ । लगातारको प्रयासपछि शुरूमा २०६९ सालमा बन्द भएको कोजाग्रत पूर्णिमाको अवसरमा पाटन दरवारको मूलचोकमा नचाउने ठेच्वको नवदुर्गा नाच २०७४ मा पुनः सञ्चालन गर्न सफल भयो । २०७४ मा खड्गजात्रा पनि पुनः सञ्चालनमा ल्याउने उद्देश्यले मू छँे आँगन घरका गुठीयार, पुजारीद्वारा मूलचोकमा क्षमापूजा गरियो । मानमानेश्वरी भवानी विराजमान नगराइएकोले चलन अनुसार विजया दशमीको दिन नवर्दुगा नाच सञ्चालन हुन सकेन।मूः छेः आगः द्यः गुठी व्यवस्थापक साम्राज्यदेव श्रेष्ठले आफनै खर्चमा क्षमा पूजा आयोजना गरेकोले पूर्णिमाको दिन नाच सञ्चालन सम्भव भयो । यसरी लोपभइसकेको एउटा पर्व बल्लबल्ल सञ्चालन भयो, त्यो पनि आंशिक रुपमा।यसले अर्कोे वर्ष नाच पूरै सञ्चालन गर्नको लागि अर्को आधार तयार गरिदियो ।
यसबीचमा स्थानीय तहमा जनप्रतिनिधिबहाल भइसकेको थियो । सो अवसरमा नाच, पर्व अर्को वर्ष सञ्चालनका लागि जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराइएको थियो । यसबीचमा गुठीयारहरूले पनि ललितपुर महानगरपालिकामा ध्यानाकर्षण गराउने कार्यलाई तीव्रता दिएको थियो । मूलचोकमा आयोजना गरिएको क्षमापूजामा ललितपुर उद्योग वाणिज्य संघ, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, गुठी संस्थान, प्रहरी प्रशासन, पाटन संग्रहालयलगायत निकायबाट सहभागी थिए । यसरी बन्द भइसकेको जात्रापर्व पुनः सञ्चालनमा ल्याउन गुठीयार, खलःको पनि महत्वपूर्ण भूमिका रहेको छ । नवदुर्गा भवानी गुठीले ललितपुर महानगरपालिकामा औपचारिक रूपमा पत्र दर्ता गरेर नाचको लगातार ध्यानाकर्षण गर्दै आएको थियो ।
यसैको परिणति र अरू गुठीयारको दबाबले खड्ग जात्रा सञ्चालनको लागि २०७५ भदौंतिर महानगरपालिकाले बैठक बोलाउन थालियो । यसबीच उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णलाल महर्जन आइसक्नुभएको थियो । यसरी सरोकारवालाको बैठक अब महानगरपालिका हुन थाल्यो । गुठीयार, पत्रकार, निजी क्षेत्र, लगातारको प्रयासपछि महानगरपालिकाले जात्रा,पर्व सञ्चालनको केही बजेट बिनियोजित गर्ने र त्यसमा उद्योग वाणिज्य संघले रकम थपेर जात्रा सञ्चालन गर्ने निर्णय भएको थियो ।
लगातारको प्रयत्नपछि अन्ततः २४ वर्षदेखि रोकिएको पायः खड्ग जात्रा सञ्चालन भयो । २०७३ सालमा असोज १३ गतेबाट शुरू भएको औपचारिक प्रयासले २०७५ सालमा सार्थकता पायो । त्यस वर्ष विजया दशमीको दिन मानमानेश्वरी भवानीलाई नवदुर्गाका देवगणले माल्यार्र्पण गर्ने, पायः जात्रा सञ्चालन भएको थियो । भने २०७६ सालमा पट्को टोल सुधार समिति, गुठीयारको पहलमा र ललितपुर महानगरपालिकाको १६ को सहयोगमा पट्कोमा डबली विजया दशमीको दिन नवदुर्गा नाच देखाइएको थियो ।
यसरी एकपछि अर्को श्रृंखलाबद्ध प्रयासको परिणतिस्वरूप हराइसकेको नाच सञ्चालन भयो । दरबार क्षेत्रको रौनक फेरि फर्कियो । अन्ततः गुठीयारको प्रतिबद्धता र इच्छाशक्ति, सरोकारवालाको पैरवी, सञ्चार क्षेत्रको भूमिका, उद्यमी व्यवसायी र स्थानीय तहको संयुक्त आर्थिक सहयोगलगायत समष्टिगत प्रयासको नतिजास्वरूप पायः जात्रा, नवदुर्गा नाचले पहिलोपटक पुनर्जीवन पाएको थियो ।
लोप भइसकेको जात्रा, पवलार्ई कसरी पुनर्जीवन दिने ? पुनर्जीवन दिने क्रममा के कस्ता कठिनाईसँग जुध्नुपर्ने हुन्छ ? संस्कृति जोगाउने सवालमा यी प्रश्नहरू निकै महत्वपूर्ण छन् । खड्ग पायः जात्रा, नवदुर्गा नाचको पुनरामणको संघर्षले यही प्रश्नहरूको उत्तर दिएको छ । लोपोन्मुख एउटा अमूर्त संस्कृति सबैको निरन्तरको प्रयासले पुनर्जीवित भएको छ । जिम्मेवार सबै पक्षले आ–आफ्नो स्तरमा संयुक्त प्रयास थालनी गर्ने हो भने संस्कृति जगेर्नाको क्षेत्रमा सफलता हासिल हुन सक्छ भन्ने पाठ पनि यस सन्दर्भले सिकाएको छ ।
जिम्मेवार सबै पक्षले आ–आफ्नो स्तरमा संयुक्त प्रयास थालनी गर्ने हो भने संस्कृति जगेर्नाको क्षेत्रमा सफलता हासिल हुन सक्छ भन्ने पाठ पनि यस सन्दर्भले सिकाएको छ तर, अझै पनि विजयादशमीको अवसरमा निस्कने लायेकु पायो अर्थात गमन पर्व निकाल्न सकेको छैन । जुन जात्राको मुख्य पाटोमध्ये एक हो ।
प्रतिक्रिया