संस्कृतिको सुवास छर्दै, कुटुम्ब ब्यान्ड


रश्मी थापा

धुन सुनाएको भरमा सबैलाई मन्त्रमुग्ध बनाउँदै आएको सांगितीक समूह कुटुम्ब ब्यान्डले सँगसँगै नेपालको कला संस्कृतिको संरक्षण र जगेर्ना त गर्दै आएकै छ, यसलाई नेपालका कुनाकुनादेखि विश्वमाझ पनि परिचित गराउँदै नेपाली मौलिक सांगीतिक संस्कृतिको सुवास पनि छर्दै आएको छ।

दुई दशकदेखि निरन्तर सांगीतिक यात्रालाई अघि बढाउँदै आएको मौलिक बाजाहरू बजाएर मन्त्रमुग्ध बनाउँदै आएको कुटुुम्ब ब्यान्ड अहिलेसम्म पनि उत्तिकै उत्साहका साथ आफ्नो कर्ममा क्रियाशील छ । संगीतको माध्यमबाट नेपाली संस्कार र संस्कृतिका साथमा मौलिक नेपाली बाजाको बचाउमा दुई दशकअघि सांगीतिक यात्रा शुरू ब्यान्ड आफ्नो यात्रामा डगमगाएको छैन। सन् २००४ मा स्थापना भएको व्यान्ड परम्परागत नेपाली मौलिक बाजाहरूको धुनका साथ नेपाली संस्कृतिको बचाउमा अहोरात्र खटिइरहेको छ।

संस्कृति श्लोक वसुधैव कुटुम्बकम अर्थात् संसार नै परिवार होबाट प्रभावित भएर कुटुम्ब नाम राखिएको ब्यान्डको नाम पहिले पूरै श्लोकमै भए पनि पछि सो नाम लामो भएकाले छोट्याएर कुटुम्ब नामाकरण गरिएको थियो ब्यान्ड गठनको संयोग पनि रोचक छ।

काठमाडौंका पवित मर्हजनले सानैदेखि मादल बजाउन सिकेका थिए। उनका हजुरबुवा प्रख्यात नेवारी गीतकार तथा गायक भएकाले उनी संगीतमय वातावरणमा नैं हुर्किए । पछि लिटल स्टार ब्यान्डमा किबोर्ड बादकका रूपमा सक्रिय उनी संगीतमा कसरी अगाडि बढ्ने र कसरी नयाँ काम गर्ने भन्नेबारे आफ्नो साथीहरूसँग आफ्नै पसल आरती स्विट्समा गफिन्थे। साथीहरूसँगको सल्लाह र योजनापछि कान्तिपुर टेलिभिजनमा ताल नामक कार्यक्रममा प्रस्तुति दिन थाले उनले । त्यस्तै, उनीहरूले पाटन दरबार संग्रहालय परिसरमा दुई वर्षसम्म हरेक महिनाको अन्तिम शुक्रवार शुक्रवार नामक सांगीतिक कार्यक्रमको संयोजन गरे । त्यो समय उनीहरू टिकट बेच्ने, पाम्प्लेट टाँस्नेलगायतका सबै काम गर्थे । कार्यक्रममा सुरसुधालगायत अन्य ब्यान्डले प्रस्तुति दिन्थे ।

पवितका अनुसार दुई वर्षसम्म कार्यक्रम गर्दा निकै कम ब्यान्डले मात्र नेपाली बाजा बजाए । धेरैलाई नेपाली बाजा पनि समावेश गर्न अनुरोध गर्दा ईच्छा नदेखाएपछि उनको मनमा मौलिक नेपाली बाजासम्बन्धी ब्यान्डको आवश्यकता रहेको खट्कियो। सो समय राजु महर्जन र रुबिनकुमार श्रेष्ठ त्यस बेलाको झरना ब्यान्ड र अर्कै ब्यान्डमा रहेका अरुण गुरूङ पनि शुक्रवारको प्रस्तुतिमा संलग्न हुन्थे। यसरी एक आपसमा भेटघाट भइरहने उनीहरूले सन् २००४ मा नेपाली लोक बाजाहरूको ब्यान्ड कुटुम्ब स्थापना गरे । ब्यान्ड गठन गर्न पवित, अरुण, रुबिन, राजुलगायत अघि बढेका थिए । ब्यान्डको व्यवस्थापन र प्राविधिक पक्ष भने अरुण गुरुङले सम्हाले । हाल ६ जनाको बाद्यवादक संलग्न ब्यान्डमा सारंगी बाधक किरण नेपाली भने सन् २००९ ब्यान्डमा आवद्ध भएका हुन् ।

ब्यान्डमा पवित महर्जन धिमे, मादल, दमाहा आदि बजाउँछन्, राजु महर्जन मादल, न्याखी, नगरा र खीँ बजाउँछन् भने अरुण मानन्धर तुङ्ना र अरबाजो, सिद्धार्थ महर्जन घुङरू, झ्याली, झ्याम्टा, भुस्या, किरण नेपाली सारंगी र रुबनिकुमार श्रेष्ठ बाँसुरी बजाउँछन् । त्यस्तै, निरज महर्जन ब्यान्डका लाइन म्यानेजरका रूपमा छन् ।

‘मैले त्यो बेला धेरै ब्यान्डलाई मौलिक नेपाली बाजा पनि बजाउनुस भनेँ । तर, त्यसमा चासो नदिएपछि आफैं गरी हेरौं न भनेर ब्यान्ड खोलियो र सन् २००४ मे ३ मा कुटुम्बको पहिलो कार्यक्रम भयो । त्यो बेला द्वन्द्वकाल थियो । संगीतको माध्यमबाट केही न केही गरौं भन्ने थियो । देशमा कसरी शान्ती ल्याउने भन्ने थियो। हामीले कार्यक्रम मार्फत विभिन्न समुदाय जोड्ने काम गर्‍यौ’ – पवित भन्छन् ।

कुटुम्बको चाहना नै नेपालभरका मौलिक बाजा कुनै समुदायले मात्र नभई देशभरका मानिसले बजाउन र सबैले चिनुन रहेछ । ‘देशभर करीब दुई सयभन्दा बढी मौलिक बाजा छन् । यबै बाजा देशभरका मान्छेले आफ्नो हो भन्ने धारणा रहोस् भन्ने हाम्रो सोच हो । हामीले मात्र बजाएर सक्दैनौं,हामीले बजाएको देखेर अरूले पनि बजाउन र मौलिक बाजाहरू एक पुस्ताबाट अर्को पुस्तामा पुगोस् लोप नहोस् भन्ने हो’– पवितको भनाइ छ ।

स्थापनाकालदेखि नै नेपाली लोक बाजामार्फत् अगाडि बढीरहेको ब्यान्डले सन् २००७ मा सर्च फर कमन ग्राउन्ड नामक संस्थाको सहकार्यमा पूर्वमाओवादी, पूर्वसैनिक, तत्कालीन लिम्बूवान संगठनका कार्यकर्तालगायत विभिन्न क्षेत्रका मानिसबीच अन्तरक्रिया गरेर शान्तिको गीत नामक कार्यक्रममार्फत देशका विभिन्न स्थानको सांगीतिक भ्रमण गरेको थियो । ब्यान्डले त्यो समय जानकी मन्दिरभित्र बाजागाजासहितको कार्यक्रम गरेको थियो । त्यस कार्यक्रमले मधेसी र पहाडीबीचको सम्बन्ध अझ सुमधुर बनाएको पवितको अनुभव छ ।

त्यस्तै, ब्यान्डले सन् २०१३ मा मिथिला नाट्य परिषद् (मिनाप) का कालाकारका साथ मिलेर सांगीतिक यात्रा गरेको थियो । विविधताको उत्सव नामक कार्यक्रममार्फत् ब्यान्डले डडेलधुरादेखि फिदिमलगायतका पहाडी क्षेत्रमा गएर बाँसुरी, मादल, धिमे, सारंगीजस्ता बाजा गुञ्जायो । तराईदेखि पहाडसम्मका स्थान भ्रमण गर्दा उनीहरूले त्यहाँका स्थानीय बाजाबा बारेमा जान्ने र सिक्ने मौका पाए । ती बाजा संकलन गर्न थाले । ‘हामीले मिनापसँग मिलेर टुर गर्नुअघि धुलिखेलमा देशका विभिन्न भागबाट त्यहाँ प्रचलित स्थानीय बाजाका वाद्यबाधक बोलाएर स्थानीयछ’ बाजा र धुन सिक्यौँ । त्यसरी टुरमा निस्किँदा हामीले मौलिक नेपाली बाजा लोक धुनको प्रमोसन गर्दै नयाँ जेनेरेसनसम्म पुर्‍याउन र संगीतको माध्यमबाट एक समुदाय र अर्को सदुदाय जोडन् सक्यांै भन्ने लाग्छ, पवित भन्छन् । यसरी सांगीतिक यात्रा निस्किँदा कुटुम्ब जहाँ जहाँ जान्छ त्यहाँका स्थानीय बाद्यवादकहरूलाई पनि स्टेजमा स्थानीय बाजा बजाउन लगाउने गर्छ ।

लोप हुन लागेको मौलिक बाजा संगीत र मौलिकताको जगेर्नाका लागि कयौं कार्यक्रम र पहल गर्दै आएको ब्याण्ड सम्पदा संरक्षण र सामाजिक कार्यमा पनि उत्तिकै अडिग छ। संस्कृति संरक्षण र हस्तानरणका लागि कुटुम्बले स्कुल टु स्कुल कार्यक्रमसमेत गर्दै आएको छ ।

जसमा ब्यान्डले कुनै स्कुलमा गएर प्रस्तुति दिन्छ र त्यहाँका बालबच्चाले स्वस्फूर्त रूपमा दिएको शैक्षिक सामग्री दुर्गम ठाउँका स्कुले बालबालिकासम्म पु¥याउने गर्छ । त्यस्तै, ब्यान्डले प्लेइङ फर हेरिटेज कार्यक्रममार्फत संस्कृति र सम्पदा बचाउने सन्देश दिँदै १ सय ६० वटा कार्यक्रम गरेको छ । अन्य ब्यान्डको सहकार्यमा विभिन्न देशका संगीतकर्मीसमेत सहभागी हुने संगीत महोत्सव ईकोज इन द भ्याली कार्यक्रममा काठमाडौंका स्थानीय र विदेशी कलाकारमाझ प्रस्तुति समेत दिँदै आएको छ । कुटुम्बले नेपाली बाजा बजाउन चाहने विदेशीलाई पनि बाजा सिकाउँदै आएको छ । मौलिक नेपाली बाजाहरूको धुन समावेश ९ वटा एल्बम निकालेका कुटुम्बले एप्स पनि बनाएको छ । जसमा वर्षको ५ सयमा ९ वटा एल्बमको धुन सुन्न मिल्छ । ब्यान्डका सारंगी वादक श्याम नेपालीले सारङ्गी प्रोजेक्ट मार्फत सारंगीको प्रर्वधन गर्दैै आएका छन् ।

‘जताजता जसरी हुन्छ, हाम्रो बाजा देखाउने, सुनाउने र संस्कृति बचाउने हाम्रो लक्ष्य हो। अहिले बाजाको प्रयोग धेरै राम्रो भएको छ । अहिलेको ब्याण्डहरुले पनि नेपाली बाजा समावेश गरेको देख्छु’– पवित हर्ष व्यक्त गर्नुहुन्छ ।

कुटुम्बले विदेशमा पनि नेपाली धुन गुञ्जाएर त्यहाँ रहेका नेपालीसँगै विदेशीलाई पनि नेपाली कला र संस्कृतिसँग परिचित समेत गराउँदै आएको छ । ‘हामी जहाँ जहाँ जान्छौँ, सोही अनुुसारको बाजा बजाएर रमाईलो गराउँछौं । विदेशीले बोलाएमा नेपलालार्ई चिनाउने गर्छौं । नेपालमा भूगोल अनुसारको संगीत छ । तराईमा फास्ट खालको संगीत हुन्छ भने पहाडमा अलि स्लो र हिमाली भेगमा गयौं भने अझ स्लो खालको म्युजिक छ । त्यसैले भूगोल अनुसारको संगीत सुनाएर नेपाली बाजा र धुनको प्रचार गर्छौं’ पवित सुनाउँछन् ‘अहिलेको पुस्ताले स्वतन्त्रता रुचाउँछ, हामी पनि त्यसैमा जोड दिन्छौं । हाम्रा कतिपय बाजा, धुन र नाचहरू विशेष अवसरमा मात्र निकालिने गरिन्छ । कतिपय स्थानमा महिलाहरूले बाजा बजाउन नहुने निश्चित नियम बाँधिएको पाइन्छ । हामी फ्रिडमको कुरा गर्छौं, अहिलेको पुस्ताले फ्रिडम मन पराउँछन् । संगीतमा पनि फ्रिडम चाहिन्छ । संगीतलाई निश्चित नियममा बाँधियो भने सबैले प्रयाक्टिस गर्न पाउँदैन । त्यसैले समयअनुसार यसलाई परिमार्जन गर्दै जानुपर्छ। त्यही भएर त अहिले नारीहरु पनि बजाउनमा समावेश हुन थालेको छन् ।’

अरु ब्यान्डमा जस्तो कुटुम्ब ब्यान्डमा शुरूदेखि नै भोकलिस्ट छैन । यो ब्यान्डले गीत पनि प्रस्तुत गर्दैन । धुनबाटै सबैलाई लठ्याइदिन्छ । ‘हामी समानतामा विश्वास गछौं । हाम्रो लागि सबै ब्यान्ड मेम्बर समान छौँ । त्यसैले हाम्रोमा कुनै पनि भोकलिस्ट छैन । जसले गर्दा एक जना मात्र हाईलाईट हुदैनन्, सबै जना बराबर हो’ पवितले खुलाउनुभयो ।

कुटुम्ब जन मानसमा प्यारो हुनुको अर्को कारण हो यसको सरलपन । ‘हामी जस्तो छ, त्यस्तैमा बाजा बजाउन तयार हुन्छौं । लोकल ठाउँदेखि क्लबमा गएर पनि बजाउछौँ। विदेशी सगीतमात्र बज्ने क्लबमा पनि नेपाली मौलिक बाजाको धुनमा आनन्द लिन मिल्दो रहेछ । त्यस्तै, बाजा बजाउँदा अडियन्स हेरेर बजाउने गरिन्छ । युवा, बालबच्चा बुढाबुढी छन् भने त्यहीअनुसार बजाइन्छ।

तराईतिर जाँदा मैथली, अवधी, पश्चिमतिर जाँदा देउडा धुन बजाउँछौं । यसरी हामीलाई हाम्रो बाजाले नै पुग्छ । पश्चिमी बाजा बजाउन पर्छ भन्ने छैन भन्ने सन्देश दिन सकिन्छ । हाम्रो बाजा बजाउन धेरै मिहिनेत गर्नु पर्दैन । कतिले त सानैमा सिकिसकेको हुन्छ । लगानी पनि धेरै छैन र मिहिनेत पनि धेरै पर्दैन । आफ्नैमा भएको मादल बोकेर गयो भने पनि हुन्छ’ पवित भन्नुहुन्छ ।
कुटुम्बको अबको योजना भने आफ्नो कार्यक्रमलाई विस्तार गर्ने रहेको छ ।

‘अहिले नेपाली बाजाको प्रयोगमा विशेष गरी काठमाडौं उपत्यकामा धेरै कार्यक्रम गरियो र काठमाडौंका मानिसले बाजाको महत्वबारे पनि बुझेका छन् । नेपालकै अन्य भूभाग पहिचान गरेर कार्यक्रम गर्ने र इन्टरनेसनल एरिनाहरू जहाँ हजारौं दर्शक हुन्छन्। त्यहाँसम्म नेपाली बाजा लिएर कार्यक्रम गर्ने योजना छ । यसमा हामीले वर्कअप पनि गरेका छौ’– पवितले जानकारी गरानुहुन्छ ।

नेपाली लोक बाजा मासिनु हुन्न, नेपाल चिनाउने यही हो भन्ने कुटुम्बले प्रस्तुति दिन गएका बेला भेटेसम्म त्यहाँका स्थानिय बाजा आफ्नो साथमा ल्याएर संरक्षण गर्ने गर्छ । सारंगी, मादल, ढोलक, तुङ्नाको, अरबाजोलगायत करिब ६० बाजा संकलन गर्दै कतिपय लोप हुन लागेका बाजाको संरक्षणसमेत यो ब्यान्डले गरिरहेको छ ।

‘नेपाली मौलिक बाजाको संख्या नै २ सयभन्दा बढी छ । परम्परागत नेवारी बाजा अनेकौं छन् । मादल र बाँसुरी पनि अनेक खालका छन् । कुटुम्बले आफूसँग समावेश गर्न चाहेर पनि नपाएको बाजा भने हुड्क्यौली हो । डमरु आकारको यो बाजा सुदूरपश्चिममा लोकप्रिय र लोप हुन लागेको अवस्थामा पुगेको छ । हामीले लिन खोजेका थियौँ, उहाहरूसँग पनि सीमित भएर दिनु भएन’ –पवितले दुःखी हुँदै सुनाउनुभयो ।