रञ्जना लिपिले नेपालको मौलिकतालाई धानेको छ



अनिल स्थापित


नेपाल भाषाको पाठ्यक्रम सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा लागू गरेपछि नेपाल लिपि र नेपालभाषाले युवा माझमा लोकप्रियता हासिल गरेका छन् । युवा वर्गमा नेपालभाषा सिक्ने उत्साह बढेको छ भने नेपाल लिपिमा पनि आकर्षण बढेको छ । काठमाडौं महानगरपालिकामा स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ६, ७ र ८ मा रञ्जना लिपि समावेश गरिएको छ । यसले विद्यार्थीहरूमा रञ्जना लिपि सिक्ने जाँगर पनि चलाइदिएको छ ।

रञ्जना लिपि हेर्दै आकर्षक, मनमोहक देखिने हुँदा नै यसको नाम रञ्जना नामकरण गरिएको भनिन्छ । रञ्जना लिपिको आकर्षण आजभोलि नेवार समुदायमा मात्रै होइन, गैर नेवार र विदेशीहरूमा पनि यसले प्रभाव पारिरहेको छ । रञ्जना लिपि अलग शैलीको अक्षर देखिन्छ । साथै उसले मौलिकता पनि झल्काएको छ।

अहिले नेपालको मौलिक लिपिका रूपमा रञ्जना लिपि पनि छ भन्ने धेरैमा ज्ञान आइसकेको छ । नेपाल संवत्को नयाँ वर्ष ११४५ को उत्सव मनाउन वसन्तपुरमा आयोजना गरिएको कार्यक्रममा हजारौंले आ–आफ्ना नाम रञ्जना लिपिमा लेखेका थिए। जसमा विदेशीहरूले समेत उत्साहित हुँदै उनीहरूको नाम लेखाएका थिए। यो भनेको रञ्जना लिपिको माग बढेको मान्नुपर्छ। रञ्जना लिपिको डिजिटल एप निस्केपछि यसको माग झनै बढेको छ।

यो लिपि सिक्नेको संख्या महिनामा हजारौं पुग्ने गर्छ। रञ्जना लिपिमा सामुदायिक विद्यालयहरूको नामको साइनबोर्डमा लेखिन थालेको छ । साथै हरेक टोलहरूको नाम पनि रञ्जना लिपिमा लेखिन थालेको छ । यो भनेको रञ्जना लिपिप्रति जनमानसमा रहेको चासो र यसलाई जगेर्ना गर्नुपर्छ भन्ने ज्ञान नै हो।

टोल टोलमा सिकाइएको रञ्जना लिपि वर्कसप र क्यालिजात्रा अभियानमा लागेपछि रञ्जना लिपिले जनमानसमा थप प्रभाव पार्न थालेको हो । उपमेयर सुनिता डंगोल र अभियन्ता आनन्दकुमार महर्जनको संयोजनमा मैले टोल टोलमा गएर सडक, बहाल, चोकहरूमै रञ्जना लिपि वर्कसप र क्यालिजात्राको अभियान चलाए । यो निकै प्रभावकारी भयो । एकै पटक सयौं संख्यामा सहभागी भएको देख्दा हामी निकै खुशी र उत्साहित भयौं ।

महिनामा ३,४ पटक अभियान चलाउँदा १ वर्षमा सयौं क्यालिजात्रा र रञ्जना लिपि वर्कसप सञ्चालन गरियो। यसको नतिजा पहिले पहिले कक्षा सञ्चालन गर्दा बढीमा २५ जना हुन्थे, यो अभियानपछि रञ्जना लिपि र नेपाल लिपि सिक्नेको संख्या ह्वात्तै बढे। एउटा कक्षामा १ सयभन्दा बढी सहभागिता हुन्छन् । यसमा चाइनिज, जापानिजहरूले पनि सिक्न आएका छन्। जनस्तरमा लोकप्रिय हुनुको कारण रञ्जना लिपिको महत्व बुझ्दै जानु नै हो । स्थानीय वासिन्दाहरूसँगैं गैर नेवार समुदायका व्यक्तिहरूले समेत यो लिपिमा चासो लिएका छन् । यसले नेपालको संस्कृति बचाएको छ भने मौलिक भाषा भएको हुँदा नेपालमा यस्तो आकर्षक भाषा र लिपि छ भन्ने विश्वमा विस्तारै फैलिँदै गएको छ ।

डिजिटल एप बन्यो
नेपाल लिपि र रञ्जना लिपिको डिजिटल एप पनि बन्यो । सन् २०१६ मा नेपाल लिपिको युनिकोड स्वीकृत भयो । यसको लागि धेरै वर्ष संघर्ष गर्नुपरेको थियो । सन् २००८ देखि लिपिलाई डिजिटाइजेसन गर्न प्रयास गरिरहेका थियौं । बल्ल सन् २०१४ डिसेम्बरमा फाइनल प्रपोजल दर्ता गरियो । सन् २०१६ जुलाईमा नेपाल लिपिको युनिकोड स्वीकृत ग¥यो । सन् २०१८ मा गुगलले फन्ट डेभलपमेन्ट गरेको थियो ।

अहिले डिजिटाइलेसन गरेपछि गुगलमै गएर नेपाल लिपिबाट रञ्जना लिपि वा देवनागरी लिपिबाट रञ्जना लिपिमा उल्थाउन सकिने भो । मोबाइलमै एप डाउनलोड गरेर नेपाल लिपि र रञ्जना लिपिमा हेर्न सकिने भएको छ । यसले गर्दा रञ्जना लिपिको जगेर्ना हुनेमा टेवा पुग्ने विश्वास दरो भएको छ ।

यसलाई डिजिटल गर्न धेरै जनाले मेहनत गरेका छन् । जसमा पवनराजा महर्जन र आनन्द महर्जनले डिजिटल एपको डिजाइन गर्नुभयो । एप्पल (आई.ओ.एस.) मोबाइलमा सुयोग्य ताम्राकारले डिजिटल एपको डिजाइन गर्नुभयो । नेपाल लिपिको फन्ट रविन्द्र पाछैले विकास गर्नुभयो । रञ्जना लिपिको फन्ट सनिर कर्माचार्यले गर्नुभएको हो । वहाँहरूको अथक प्रयासले अहिले जनमानसको हात हातमा रञ्जना लिपि र नेपाल लिपि परेको छ।

कोरोनाले वर्ल्डवाइड गरायो
कोरोना भाइरसले सन् २०१९ र २०२० तिर संसार नै ध्वस्त गर्ने संकेत देखाएको थियो । कोरोनाले मानवको अवसान, बजार ठप्प, यातायात ठप्प गरेको अवस्था थियो । मानिसहरूबीचको सम्बन्ध टाढा पारिएको थियो । यस्तो अवस्थामा कोरोनाले नेपाल लिपि र रञ्जना लिपिको विकास गर्न अवसर जुराइदियो ।

अनलाइन कक्षा सञ्चालन गर्दा यी लिपिले विश्वका केही देशहरूमा समेत स्थान पायो । उपमेयर सुनिता डंगोल, नेपाल भाषाका शिक्षक पवित्र कसाःसहित हामीले अनलाइन कक्षा सञ्चालन ग¥यौं । त्यतिबेला देशविदेशमा बस्ने धेरै नेपालीहरूले अनलाइन कक्षामा सहभागिता जनाएका थिए । यसमा विदेशीहरूले समेत चासो लिएर कक्षामा सहभागिता जनाएका थिए । यसले रञ्जना लिपि विकासतिर छ भन्ने संकेत देखाएको छ ।
संघर्ष
रञ्जना लिपिको इतिहास हेर्दा हालसम्म भेटिएको यसको पहिलो ग्रन्थ ११ औं शताब्दीमा लेखिएको प्रज्ञापारमिता फेला पारिएको छ । रञ्जना लिपि बौद्ध र हिन्दु धर्मका ग्रन्थहरूमा प्रयोग गरिने हुँदा यसको प्रभाव जनसाधारणमा त्यति देखिएन । बौद्ध र हिन्दु धर्ममा मन्त्रहरु लेखिँदा कुटाक्षरमा लेखिने गर्छ । यो एकै ठाउँमा लेखिने हुँदा हतपत कसैले पढ्न सकिँदैन । मन्त्रहरू दीक्षा नलिएकाहरूले पढ्न नहुने मान्यता भएकोले कसैले नबुझ्ने लिपिमा लेखिएको हो ।

यतिमै सीमित भएको नेपाल लिपि र रञ्जना लिपिको विकास राजा प्रताप मल्लको पालामा राम्ररी भएको देखिन्छ । कान्तिपुर (पहिले काठमाडौंलाई भनिने नाम) का राजा प्रताप मल्लले झण्डै नेपाल संवत् ७७४ मा हनुमानढोकामा १५ थरि लिपिमा शब्दहरू कोर्नुभएको थियो । यसमा रञ्ज आखर भनेर लेखिएको देख्न सकिन्छ ।

प्रताप मल्लको अवसानपछि भने रञ्जना लिपिको प्रयोग घट्दै गएको थियो । यो पढ्न र लेख्न नसकिने हुँदा लोप नै भएको अवस्थामा थियो । राणाकालीन समय भारतमा गई उच्चशिक्षा अध्ययन गर्न गएका समय कलकत्ता विश्वविद्यालयमा नेपाल भाषा समावेश गर्नका लागि माग गरिए । यसका पाठ्यक्रमका लागि प्रस्तावना पेस गर्नेक्रममा धर्मादित्य धर्माचार्यले नेपालका प्राचीन साहित्य तथा नेपाल लिपि र रञ्जना लिपिसहित अन्य चार लिपिका बारे प्रस्तुत गर्नुभयो । पछि २००७ सालमा प्रजातन्त्र आएपछि भने फेरि एकपटक रञ्जना लिपिको चर्चा भयो ।

२००८ सालमा शताब्दी व्यक्ति सत्यमोहन जोशीको अध्यक्षतामा रहेको सामाजिक संस्था रक्षामण्डलले कला प्रतियोगिता आयोजना गरिएको थियो । त्यसमा रञ्जना लिपिबाट लेखिएको कलाकृति नै पहिलो भएको थियो । त्यतिबेला राजा त्रिभुवन र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको पनि सहभागिता जनाउनुभएको थियो । उहाँहरूले समेत रञ्जना लिपिबाट लेखिएको कलाको प्रशंसा गर्नुभएको सत्यमोहन जोशीले स्मरणमा बताउनुभएको थियो ।

तर, पनि यसलाई स्थान दिन संघर्ष गर्नुपरेको थियो । २०३६ सालमा पंचायती काल भए पनि नेपालको मौलिक लिपि सिक्नु पर्छ भन्ने भावनाबाट नेपाल र रञ्जना लिपिको कक्षा सञ्चालनमा ल्याइयो । तर, खासै प्रभावशाली भएन । त्यतिबेला शुभकामना, निमन्त्रणा कार्ड र पुस्तकका शीर्षकमा रञ्जना लिपि लेखिने गरियो । बिस्तारै हस्तलिखित पत्रिका प्रकाशन गरी नेपाल लिपि र रञ्जना लिपि उकास्ने काममा टेवा दिनथाल्यो ।
संघर्ष जारी छ
जनमानसमा यसले चेतना जगाए पनि सरकारीस्तरमा भने रञ्जना लिपिको कुनै महत्व देखिएको छैन । विद्यालयको पाठ्यक्रममा पुग्यो तर, सरकारी कार्यालयहरूमा यसले जग बसाल्न सकिएको छैन । नेपालको मौलिक लिपिका रूपमा विकसित यस लिपिलाई जगेर्ना गर्न सरकारीस्तरबाट पनि पहल गर्नु पर्दछ ।

यसको संरक्षण र प्रवद्र्धन कार्य अझै जनस्तरबाट नै गर्नुपर्ने बाध्यता रहेको छ । वागमती प्रदेश सरकारले रञ्जना लिपिलाई कार्यान्वयन गर्ने घोषणा गरेको पनि १ वर्ष भइसकेको छ । तर, हाल सम्म पनि यसले मूर्तरूप लिन सकेको छैन। नेपाल लिपि र रञ्जना लिपि संरक्षण तथा प्रवद्र्धनमा काठमाडौं महानगरपालिकाले भने सहयोग गरिरहेको छ।

लोकप्रियता बढ्दै
आजभोलि रञ्जना लिपिको लोकप्रियता डिजाइनमा समेत बढेको पाइएको छ । औंठीमा रञ्जना लिपिमा नाम लेखाएर लगाउने गरेका छन् । महिला वर्गमा लकेटमा नाम लेखाएर लगाउने गरेका छन् भने कानको झुम्कामा समेत लिपिबाट नाम लेखाएर लगाउने चलन विस्तारै बढ्दै छ ।

रञ्जना लिपि मौलिकता र आकर्षक देखिएको हुँदा विदेशमा समेत यसको प्रयोग भएको देखिन्छ । ११ औं शताब्दीमा विकास भएको रञ्जना लिपि तिब्बत, जापान, मंगोलिया, भियतनाम जस्ता पूर्वी देशमा समेत प्रयोगमा ल्याइएको देखिन्छ । बौद्ध धर्मअन्तर्गत बज्रयान र महायानमा प्रयोग गरिएको छ ।

अहिले काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका, बनेपा नगरपालिका, कीर्तिपुर नगरपालिकाको साइनबोर्डमा रञ्जना लिपि प्रयोगमा ल्याइसकेको छ । टोल टोलका नामहरू समेत रञ्जना लिपिमा लेखिने भएपछि यो लिपि सिकेर काम समेत पाइरहेका छन् र आम्दानी पनि गरिरहेको छ । यसले रञ्जना लिपिको संरक्षण हुने पक्कै देखिन्छ ।
प्रस्तुति : फिरोज राजोपाध्याय