संस्कृति संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण



नेपालको संस्कृति कसले जोगाएको छ ?

नेपालको संस्कृति नेपालको सभ्यता हो । प्राचीनकालदेखि नै नेपालको भौगोलिक र पर्यावरणसँग मिल्ने गरी मानव सभ्यतालाई अगाडि बढाउने क्रममा समाजलाई अनुशासित र व्यवस्थित बनाउन भएका वा गरिएका क्रियाकलाप वा संरचना नै नेपाली संस्कृति हुन् । यी महत्वपूर्ण संस्कृति तथा सम्पदाको छुट्टाछुट्टै विशेषताका साथै अद्वितीय महत्वका छन् । हाम्रा पुर्खाले विभिन्न कालखण्डमा सांस्कृतिक सम्पदा निर्माण गर्ने समयमा त्यसको निरन्तर सञ्चालन, संरक्षण र व्यवस्थापन होस् भन्ने उद्देश्यले दाताले गुठी जग्गासहित आय श्रोतको व्यवस्था गरिएको पाइन्छ । त्यस्तै गरी विभिन्न समयमा तत्कालीन सरकारले संरक्षणका लागि आयश्रोतको व्यवस्था गर्नुका साथै नीति नियमसँगै सम्पदामा हानी नोक्सानी गरेमा दण्ड सजायको व्यवस्था गरेको पनि पाइन्छ । यसैका आधारमा नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने समुदायले आआफ्नो संस्कृतिको जर्गेना गर्न र निरन्तरता दिनका लागि महत्वपूर्ण भूमिका खेलिरहेका छन् । नेपाल सरकारले पनि संविधानको मर्मअनुरूप संस्कृति संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । त्यसका साथै विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट संस्कृति संरक्षण र निरन्तरताका लागि काम भइरहेका छन् । नेपाल सरकारले संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आइरहेको छ । पुरातत्व विभागले पनि आफ्नो स्थापनाकालदेखि नै मूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्धन र व्यवस्थापन गर्दै आइरहेको छ । यसरी विचार गर्दा नेपालको संस्कृति स्थानीय समुदाय, सरोकारवाला संस्था र नेपाल सरकारको संयुक्त प्रयास जोगाउँदै आएको छ ।

संस्कृति जोगाउन पुरातत्व विभागले के काम गरिरहेको छ ?
सामान्यतया संस्कृति दुई प्रकारका छन् । ती हुन् मूर्त संस्कृति र अमूर्त संस्कृति । यी दुवै एक अर्काका पूरक हुन । पुरातत्व विभागले मूर्त सांस्कृतिक सम्पदालाई जोगाउन संरक्षण, संवर्धन र व्यवस्थापनका कार्यहरू गर्दै आइरहेको छ ।
मूर्त सांस्कृतिक सम्पदाको संरक्षणले अमूर्त सांस्कृतिक सम्पदाको सञ्चालन, व्यवस्थापन प्रदर्शन गरी संस्कृतिलाई निरन्तरता र जीवन्तताका लागि उल्लेखनीय योगदान गरिरहेको छ । विभागले देशभर रहेका मूर्त सांस्कृतिक सम्पदाहरू जस्तै मठमन्दिर, पाटीपौवा, विहार, गुम्बा, स्तुप, छोर्तेन, ढुङ्गेधारा, जलद्रोणी, प्राचिन पोखरी, ऐतिहासिक व्यक्ति बसेका घर, दरबारहरू संरक्षण र सम्बर्धन गर्दै जोगाइरहेको छ । यस्ता मूर्त सांस्कृतिक सम्पदाको संरक्षणले अमूर्त संस्कृति जोगाउन सहयोग पुगेको छ । संस्कृतिको अध्ययन, अन्वेषण, उत्खनन, मर्मत, जीर्णोद्वार एवं संरक्षणका साथै व्यवस्थापन र प्रचार प्रसार गर्ने कार्यलाई प्राथमिकतामा राखेर सरोकारवाला निकायका साथै विभिन्न समुदायसँग समन्वय गरी प्राविधिक सहयोग, परामर्श प्रदान गरी मूर्त संस्कृतिको संरक्षण गरी अमूर्त संस्कृतिलाई निरन्तरता दिने कार्यमा सहयोग गर्दै आएको छ ।

सम्पदा र संस्कृति जोगाउने दायित्व विभागको हो कि गुठी संस्थानको ?
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सार्वजनिक प्राचीन सम्पदाको स्वामित्व र संरक्षणको दायित्व पुरातत्व विभागको हो भने निजी स्वामित्वमा रहेका सम्पदाहरू पुरातत्व विभागको निर्देशनमा स्थानीय सरकार वा सम्वन्धित व्यक्तिले संरक्षण गर्नु पर्नेछ । गुठी संस्थानअन्तर्गत रहेका निजी सम्पदाहरूको संरक्षण, मर्मत तथा जीर्णोद्वार पुरातत्व विभागको प्राविधिक सहयोग, निरीक्षण र निर्देशनमा गुठी संस्थानले गर्नुपर्ने प्रावधान रहेको छ । त्यसै गरी गुठी संस्थान ऐनअनुसार गुठी संस्थानअन्तर्गत रहेको गुठीद्वारा सञ्चालन गर्नु पर्ने पूजापाठ, जात्रापर्व सञ्चालन गराउने दायित्व गुठी संस्थानको हो । यसरी हेर्दा सम्पदा जोगाउने काम विभागको हो । सम्पदासँग सम्बन्धित जात्रा, पर्व, पूजा आजा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने काम गुठी संस्थानको हो । निजी गुठीद्वारा सञ्चालन हुने सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने दायित्व सम्वन्धित गुठियारले गर्नु पर्ने हुन्छ ।

विभागले धेरैजस्तो मूर्त संस्कृतिको जगेर्ना गरेको देखिन्छ , अमूर्त संस्कृति जोगाउन कस्तो पहल गरेको छ ?
साधारण वा प्रत्यक्ष रुपमा हेर्दा यहाँले उठाउनुभएको सवला ठिक हो कि जस्तो लाग्छ तर पुरातत्व विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले निर्दिष्ट गरेको प्रावधान र विभागको कार्य अधिकार भित्र रहेर प्राचीन स्मारक अर्थात मूर्त संस्कृतिको संवेदनशीलता, मौलिकताको संरक्षण गरी परम्परागत स्वरूपमा मौलिक प्रविधिमा मर्मत, जीर्णोद्वार र संरक्षण गरिरहेको छ । यसको साथै ऐतिहासिक तथा पुरातात्विक महत्वका मूर्त संस्कृति वा सम्पदामा दुरुपयोग गर्न वा सम्पदाको मर्मविपरीत प्रयोग हुन नदिन आवश्यक प्रवन्धगर्ने कार्य पनि पुरातत्व विभागले नै गरेको छ। मूर्त संस्कृति र अमूर्त संस्कृति बीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । एक संस्कृतिको संरक्षण गर्दा अर्को संस्कृति पनि सँगसँगै संरक्षण हुन्छ । जस्तै, मठमन्दिर, विहार, गुम्बालगायत अन्य भौतिक अर्थात मूर्त सम्पदाहरू मर्मत, जीर्णोद्वार एवं संरक्षण कार्य गर्नु पूर्व गरिने पूजापाठ (क्षमा पूजा) सम्पन्न भई सकेपछि गरिने प्रतिस्थापन पूजा, संरक्षणको क्रममा प्रयोग हुने विभिन्न किसिमका परम्परागत कला र सिपहरू, त्यसमा प्रयोगहुने मौलिक तथा परम्परागत प्रविधि, ज्ञान र कौशलता पनि जगेर्ना हुने गरेको छ । जुन अमूर्त संस्कृतिका महत्वपूर्ण विधाहरू हुन । यी विधाको संरक्षण गर्ने थप जनशक्ति तयार गर्ने उद्देश्यले नयाँ पुस्तालाई परम्परगत कलाकौशलता तयार गर्न सिप र प्रविधिको तालिमलाई निरन्तरता दिइएको छ ।

जात्रा परम्परा जोगाउन विभागको भूमिका कस्तो छ ?
जात्रा परम्परा अमूर्त संस्कृतिका एक महत्वपूर्ण विधा हुनुका साथै पर्यायवाची शब्द हुन । मूर्त संस्कृति र अमूर्त संस्कृति भनेको एक रथका दुई चक्का हुन । एकको अभावमा अर्को सहज र सही ढंगले संरक्षण र सञ्चालन हुन सक्दैन र कालान्तरसम्म संरक्षण हुन पनि सक्दैन । पुरातत्व विभागले जात्रा परम्परा सञ्चालन र प्रदर्शन गर्न आवश्यक भौतिक पूर्वाधारहरू मठमन्दिर, विहार, गुम्बा, सत्तल, डबलीको संरक्षण र संवर्धन गरेको छ ।

विभागको यो मुख्य दायित्व पनि हो । यसका साथै जात्रासँग सम्बन्धित ऐतिहासिक, सांस्कृतिक महत्वका वस्तुहरूको हानी नोक्सानी, चोरी निकासी रोक्ने कार्यमा पुरातत्व विभागको प्रमुख भूमिका रहेको छ । पुरातत्व विभागअन्तर्गतका स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डामार्फत् दरबारसँग सम्वन्धित र दरबार परिसरमा हुने जात्रापर्व संचालन गर्न आवश्यक सहयोग, समन्वय र सहकार्य गर्दै आएको छ । यसर्थ जात्रा परम्परा जोगाउन पुरातत्व विभागको पनि महत्वपूर्ण भूमिका रहने गर्दछ ।

मठमन्दिर संरक्षण गरेर जात्रा परम्परा जोगिन्छ त ?
जोगिँदैन तर धेरैजसो जात्रापर्व कुनै न कुनै देवी देवतासँग सम्बन्धित हुन्छ । देवी देवताहरूको वासस्थान मठमन्दिर भएकोले जात्रा परम्परा जोगाउन जात्राको तयारी, सञ्चालन, व्यवस्थापन र प्रदर्शन गर्न पूजापाठ गर्न मठमन्दिर संरक्षणले पनि अहम् भूमिका निर्वाह गरेको हुन्छ । मठमन्दिर र जात्रापर्व एक अर्काका परिपूरक हुन । मठमन्दिर मानव शरीर हुन भने जात्रापर्व आत्मा हुन । जात्रापर्व र पूजापाठले मठमन्दिरलाई जीवन्तता दिने गर्दछ । नेपालीहरूको इतिहास र संस्कृतिको पहिचानको रूपमा रहेका जात्रा परम्परा जोगाउन स्थानीय समुदाय, गुठी, सरोकारवाला निकाय, स्थानीय निकायलगायत सबै सक्रिय हुन जरूरी देखिन्छ ।

जात्रापर्व कसले जोगाएको जस्तो लाग्छ ?
वर्तमान परिप्रेक्षमा स्थानीय समुदायबाट जात्राहरू सञ्चालन, संरक्षण र व्यवस्थापन हुँदै आएको देखिन्छ । हाम्रा पुर्खाले सांस्कृतिक सम्पदा निर्माण गर्ने समयमा जात्रा, पर्व, पूजा आदि सञ्चालन र व्यवस्थापन गर्न आयश्रोत सुनिश्चित गरी विभिन्न गुठीहरूको व्यवस्था गरेको पाइन्छ । जसको कारण जात्रापर्वले हजारौं वर्षदेखि निरन्तर हुँदै आजसम्म जीवित रहन सफल भएको छ । वर्तमान सन्दर्भमा जात्रालाई सजह, शान्त र सुव्यवस्थित रूपमा सम्पन्न गर्न समुदायको महत्वपूर्ण भूमिका छ । साथै विभिन्न संघ, संस्था एवं सरकारको प्रत्यक्ष परोक्ष रूपमा संलग्न भइरहेको छ । नेपालको विभिन्न ठाउँमा प्रचलनमा रहेका जात्राहरू नेपाली संस्कृतिका अभिन्न अंगहरू हुन । यस्ता जात्राहरूले सामाजिक सद्भाव र सांस्कृतिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा राज्यका तीनवटै निकायबाट जात्राहरूको संरक्षण र संवद्र्धन हुन जरुरी देखिन्छ ।

हामीले संस्कृति जोगाउने विषयमा कुरा गरिरहेका छांै, हालसम्म विभागले कसरी संस्कृति जोगाएको छ ?
विगतदेखि निरन्तर रूपमा संस्कृति जोगाउन पुरातत्व विभागले प्रत्यक्ष अप्रत्यक्ष रूपमा काम गरिरहेको छ । विसं २०५७ साल भन्दा अगाडि जात्रापर्व सञ्चालन गर्न मन्त्रिपरिषद्को निर्णयबमोजिम आर्थिक अनुदान दिँदै आएको थियो । हाल पनि देशका विभिन्न क्षेत्रमा सञ्चालन हुने पूजा पर्वमा पुरातत्व विभाग र यसअन्तर्गतका कार्यालयहरू मार्फत पूजापर्वहरू सञ्चालन गर्ने र जात्रा सञ्चालन कार्यमा समन्वय र सहकार्य गर्दै आएको छ । जस्तै गोरखा दरबार परिसरमा रहेको गोरखकालीको पूजापर्व, गोरखनाथको नियमित एवं पर्वपूजा सञ्चालन तथा व्यवस्थापन कार्य गोरखा दरबार हेरचाह अड्डामार्फत् हुँदै आएको छ । हनुमानढोका दरबारक्षेत्रमा हुने जात्रापर्वहरू इन्द्रजात्रा, चाँगुनारायणको कलशयात्रालगायत अन्य जात्रा पर्वहरूमा स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डामार्फत समन्वय र सहकार्यमा भइरहेको छ । त्यसै गरी भक्तपुर दरबारक्षेत्र र पाटन दरबार क्षेत्रमा हुने जात्रापर्वमा समुदायलगायत अन्य निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ । त्यसै गरी पुरातत्व विभागको स्थापनाको उद्देश्य हाम्रा पूर्वजहरूले निर्माण गरी छोडेर गएका सयवर्ष भन्दा पुराना मठमन्दिर, विहार, पाटीपौवा सत्तल, गुम्बा र प्राचीन दरबार आदिलाई मौलिक स्वरूपमा परम्परागत निर्माण सामग्री र प्रविधिहरू प्रयोग गरी तिनीहरूको ऐतिहासिक पुरातात्विक, धार्मिक र सांस्कृतिक पक्षलाई जीवित राखी भावी पुस्तालाई हस्तान्तरण गर्नु हो । अघि भनेजस्तै यी सम्पदाहरू देशका मूर्त संस्कृति हुन, जसले अमूर्त संस्कृतिलाई साकार स्वरूप दिई निरन्तरता पाउन सहयोग गर्दछ । विभागले हरेक वर्ष आफ्नो क्षमता र उपलब्ध आर्थिक स्रोतले भ्याएसम्म सयौं सम्पदाहरू जोगाइरहेको छ । यो निरन्तर जारी छ ।

विभागको स्थापना र यसको उद्देश्य के हो ? हामीले संस्कृति जोगाउने विषयमा कुरा गरिरहेका छौं ? हालसम्म विभागले कति संस्कृति जोगाएको छ ?

पुरातत्व विभागको स्थापना विसं २००९ सालमा भएको हो । यसको स्थापनाको प्रमुख उद्देश्य देशभर रहेका मूर्त सांस्कृतिक सम्पदाहरूको अध्ययन अनुसन्धान, संरक्षण र व्यवस्थापन गर्नुका साथै पुरातात्विक स्थलहरूको अन्वेषण उत्खनन् र संरक्षण गर्नु हो ।
साथसाथै संग्रहालयहरूको व्यवस्थापन, विश्वसम्पदा स्थल र सम्भावित विश्व सम्पदा स्थलहरूको व्यवस्थापन गर्नु पनि हो । साथै इतिहास, पुरातत्व, संग्रहालय र संस्कृतिसम्बन्धी अनुसन्धान मूलक लेखहरू र कृतिहरू पनि विभागले प्रकाशन गर्दै आएको छ । नेपालका ७७ जिल्लामा हालसम्म प्रकाशनमा आएका करिब ६ हजार सूचीकृत सम्पदाहरू छन् । यी सम्पदाहरूको मर्म र संवेदनशिलताअनुसार मौलिक स्वरूपमा परम्परागत निर्माण सामग्री र प्रविधिहरू प्रयोग गरी संरक्षण गरिरहेको छ । यसका साथै विभागले विसं २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका ९२० सम्पदाहरूमध्ये करिब ८० प्रतिशत सम्पदाहरू संरक्षण, जिर्णोद्वार र पुनः निर्माणको कार्य पनि सम्पन्न गरिसकेको छ ।

संस्कृति संरक्षण गर्न गुठी संस्थान, विभाग र स्थानीय निकाय बीच समन्वय भएको छ ?
गुठी संस्थान, पुरातत्व विभाग र नगरपालिका र महानगरपालिकाको फरक फरक कार्यक्षेत्र, कार्य प्रणाली र दायित्व रहेको छ । संस्कृति सम्पदा संरक्षण गर्नु तीनवटै निकायको कार्यक्षेत्रअन्तर्गत पर्दछ । त्यसैले संस्कृति संरक्षण गर्न गुठी संस्थान, पुरातत्व विभाग, नगरपालिका, महानगरपालिका र अन्य स्थानीय निकायहरू बीच समन्वय हुनु आवश्यक छ।
सम्पदा संरक्षणका लागि सम्बन्धित निकायसँग आवश्यकता अनुसार समन्वय गरी संरक्षणको कार्यहरू भइरहेका छन् । सम्पदा संरक्षण कार्यमा कुनै समस्या आएमा तीनवटै निकायहरू बसेर समस्याको समाधान गर्ने गरिएको छ ।

प्रस्तुतिः ईश्वरराज ढकाल