मधेसमा संस्कृतिको महत्व बोकेको पर्व छठ



कृष्णउदास खनाल


वीरगञ्ज, तराई मधेसमा अन्य पर्वहरू पनि उस्तै धुमधामका साथ मनाउने गरिन्छ । तीमध्ये यो वर्ष भर्खर सकिएको लोक आस्था र भक्तिको पर्व छठको महत्व फरक छ । छठको अवसरमा मधेसका प्रायः सबै तलाउ, पोखरी, अनि वीरगञ्जको घडीअर्वा पोखरीलाई दुलहीझैं सिँगारिने गरिन्छ ।

देशभरका विभिन्न पोखरीमा हरेक वर्ष लाखौं भक्तजनहरूले छठ पूरा गर्ने गर्दछन् । तराई मधेस, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रूपमा रहेको छ । वीरगञ्जमा बसोबास गर्ने मधेसीसहित पहाडी समुदायका श्रद्धालु पनि छठपर्वको दिन बकैया तटमा पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्नेमा कयौं व्रतालुहरू पहाडिया समुदायका पनि छन् । वीरगञ्जको छपकैया क्षेत्रका केही मुस्लिम समुदायले समेत छठ मनाउने गर्दछन् । छठपर्व विशेषगरी तराईवासीले मनाउने गरे पनि पछिल्लो समय दुवै समुदायले भक्तिभावले मनाउने गरेको संस्कृतिविद्हरूको भनाइ छ ।

सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वको विशिष्ठ महत्व रहेको धर्मशास्त्रविद् एमव् प्राध्यापक डा. विश्वम्भर शर्मा बताउनुहुन्छ । छठको पहिलो दिन नहाय खाय अथवा नुहाएर खाने प्रचलन छ । व्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख–समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन खरना परेको छ। यो दिन साँझ व्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गरेका छन्। तेस्रो दिन छठको मुख्य दिन रहेको छ।

यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ दिने परम्परा छ। अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ। यस दिनलाई पारन भन्ने गरिन्छ। छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरू चढाइन्छ । त्यस्तै, प्रसादको रूपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रूपमा चढाउने गरिन्छ।

छठ पर्वमा विशेष गरी अर्घ दिन व्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ । तराई–मधेसमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ ।

ठेकुवा लोकप्रिय खाद्य पदार्थ
छठ पर्वको अर्को महत्वपूर्ण कुरा भनेको ठेकुवा पनि हो । ठेकुवा भनेको एक प्रकारको खाद्य पदार्थ हो । चामलको पिठो वा गहँुको पिठोबाट नरीबल, काजु, किसमिसलगायतका पदार्थहरू मिसाएर बनाइने यो पदार्थ छठमा निकै लोकप्रिय रहेको छ । व्रत बसेकाहरूले आफ्नो घरमा आफन्त तथा शुभचिन्तकहरूलाई बोलाएर यही ठेकुवा खुवाउने गर्दछन् । जसरी दशैंमा मासु, तिहारमा सेलरोटी खाने प्रचलन छ, त्यसरी नै यो पर्वमा खानेको विशेषता भनेको ठेकुवा नै हो । ठेकुवाको सेवनले पेटमा रहेका बिकारहरू दिसाको रूपमा शरीरबाट बाहिर ल्याउन सहयोग गर्ने मानिसलाई स्वस्थ राख्नमा सहयोग पुग्ने गरेको पन विश्वास रहेको पाइन्छ ।

सबै धर्मावलम्बीहरूको आस्थाको पर्व
त्यसो त यो पर्व विगतको सयमा मधेस तथा तराईका समुदायले मात्रै मनाउने गरेको पाइन्थ्यो तर आजभोलि यो पर्व नेपालको पहाडी भेगमा पनि उत्तिकै मनाउन थालिएको छ । तराईवासी र मधेसवासीहरूले मात्रै मनाउने गरेको यो पर्व नेपालका पहाडी समुदायले पनि धुमधामका साथ मनाउने गरेको पाइन्छ । राजधानी काठमाडौंमा रहेको रानीपोखरीमा छठको दिनमा लाग्ने लाग्ने मेलाले पनि यो कुराको पुष्टि गर्दछ ।

यो पर्वमा अहिले आएर हिन्दू बाहेकका धर्मावलम्बीहरूले पनि यसलाई आस्था र भक्तिको रूपमा लिएको पाइन्छ । स्थानीय घडीअर्वा स्पोटर्स क्लबका पूर्व अध्यक्ष शुशील कुमारका अनुसार वीरगञ्जको घडीअर्वा छठ घाटमा पूजा गर्नका लागि अहिले उलेख्य मात्रामा मुस्लिम समुदायका व्यक्तिहरू पनि आउने गर्दछन् । यसबाट पनि के कुरा स्पष्ट हुन्छ भने छठ सबै धर्मावलम्बीहरूको आस्था र श्रद्धाको पर्वको रूपमा स्थापित भइसकेको छ ।
घडीअर्वा र छठ
हरेक वर्ष घडीअर्वा पोखरीमा छठ मेला लाग्ने गर्दछ । वीरगञ्जको केन्द्रमा छ घडीअर्वा पोखरी । वीरगञ्ज आउनेहरूका लागि आकर्षणको केन्द्र हो यो । वरिपरि पर्खालले घेरिएको पोखरीको बीच भागमा सूर्यको मन्दिर छ । रथमा सवार सूर्यको प्रतिमा निकै कलात्मक छ । पर्यटकहरू बस्नका लागि ठाउँ–ठाउँमा कुर्सीहरू छन् ।

पोखरीमा बोटिङ गर्न पाइन्छ । वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको यो पोखरीलाई छठमा सजाएर झनै आकर्षक बनाउने गरिन्छ । घडीअर्वा पोखरीको नामकरण ‘घडियाल’ अर्थात् गोहीको नामबाट अपभ्रंश भएर बनेको किंवदन्ती छ । स्थानीयका अनुसार यसको पूर्वपट्टिको भागमा ‘गोह’ थियो । पश्चिममा घडियाल बस्दै आएको थियो । घडियाल भएको ठाउँ विस्तारै घडीअर्वाको नामले परिचित हुन थाल्यो । पहिले वीरगञ्ज व्यापारिक क्षेत्र नहुँदा मानिसहरूको आवत–जावत गर्ने मार्गको रूपमा परिचित थियो । यात्राको समयमा यात्रु आएर पोखरी छेउमा आराधना गर्दै भाँडा वर्तन मागेपछि पाउने र प्रयोगपछि सफा गरेर पोखरीमा खसाएर फर्कने चलन थियो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम साहले ०५६ साल पुस १३ गते सौन्दर्यकरण गरिएको घडीअर्वा पोखरीको उद्घाटन गर्नुभएको थियो ।

अझै प्रचार प्रसार आवश्यक
यसरी समग्रमा विश्लेषण गर्ने हो भने छठ नेपालको सांस्कृतिक र धार्मिक महत्व बोकेको एक अति नै महत्वपूर्ण पर्व हो । यो पर्वको महत्वको विषयमा अझै पनि झल्काउन सकिएको खण्डमा मुलुकमा धार्मिक पर्यटकहरूको संख्यामा उलेख्य वृद्धि गरी मुलुकको आम्दानीमा समेत वृद्धि गर्न सकिन्छ ।

हुन त पछिल्लो समयमा छठको महत्व बिस्तार हुँदैन । नेपालका सञ्चार माध्यमहरूले यो पर्वको महत्वको विषयमा प्राथमिकताका साथ समाचार वा यस्तै विषयवस्तुहरू प्रकाशन र प्रसारण गर्ने गरेका कारण अहिले नेपालमा यसको महत्व बढ्दै गइरहेको भने छ । तर, पनि यसको प्रचार प्रसारमा अझै जोड दिन भने आवश्यक छ ।

नेपालको तराई क्षेत्रमा बढी मनाइने यो पर्वको सांस्कृतिक र धार्मिक महत्व रहेका कारण यसको प्रचार भएको खण्डमा विदेशीहरूसमेत यो पर्वको समयमा नेपालमा आउने सम्भावना देखिन्छ । आस्था र विश्वासको पर्व भएकाले धार्मिक पर्यटकहरूलाई सजिलै नेपाल भित्र्याउन पनि सकिन्छ र जसले गर्दा यसलाई पनि आम्दानीको स्रोत भने बनाउन सकिन्छ ।