पृष्ठभूमि :
विश्वका कुनै पनि स्थानमा बस्ने मानिसको सामूहिक क्रियाकलाप, अभ्यास नै संस्कृति हो। मूर्त र अमूर्त संस्कृतिले ओगटने क्षेत्र विशाल छ। संस्कृतिलाई विभिन्न ढंगले विभिन्न कोणबाट परिभाषित गरिएको छ। कुनै पनि समुदायको पहिचान र गौरवको रूपमा संस्कृतिलाई बुझ्ने गरिन्छ। राष्ट्रिय परिचयमा, संस्कृतिको प्रमुख भूमिका हुन्छ।
कुनै पनि देशको सांस्कृतिक, प्राकृतिक र मिश्रित सम्पदालाई मूर्त र अमूर्त संस्कृतिमा वर्गीकरण गरेर अध्ययन गर्ने परिपाटी छ। मूर्त संस्कृतिअन्तर्गत कला र वास्तुकलाका विभिन्न स्वरूप छन्। ती स्वरूपहरूमा मन्दिर, बिहार, स्तुप, दरबार, घर, पाटी पौवा, इनार, ढुंगेधारा आदि पर्दछन्। अमूर्त संस्कृतिअन्तर्गत जातजाति तथा समुदायको भाषासहितका मौखिक परम्पराहरू तथा अभिव्यक्तिहरू, अभिनय कलाहरू, सामाजिक व्यवहार, अनुष्ठानहरू तथा चाडपर्व उत्सवहरू, प्रकृति र ब्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहारहरू र परम्परागत कलाकौशल आदि पर्दछन्। आजको स्थितिमा राज्यस्तरबाट मूर्त र अमूर्त सम्पदालाई संरक्षण गरेर जन समुदायमा अपनत्वको भाव जगाउन लगातार प्रयन्त गरिरहनु पर्छ । संस्कृतिको क्षेत्र विशाल छ।
हाम्रो संस्कृतिको जगेर्ना गर्न, विभिन्न समूदायको भाषा, साहित्य, संस्कार, कृषि, चाडपर्व, कलाकौशल, वास्तुकला सबैको अहम भूमिका रहेको छ । हाम्रो संस्कृति जोगाउन स्वदेश र विदेशमा रहेका कर्मठ नेपालीहरूको अहम भूमिका छ । स्वदेश र विदेशमा बसेका युवा पुस्ताले आफ्नो संस्कृति प्रति गौरव गर्दै त्यसको प्रचारप्रसार र संरक्षण गर्ने कार्य गरेका छन् । हाम्रो संस्कृति जोगाउन युवा पुस्ताको महत्वपूर्ण भूमिका भएकोले, अग्रजहरूले आफ्ना ज्ञान, सिप हस्तान्तरण गर्ने कार्यलाई महत्व दिनुपर्छ ।
महत्वपूर्ण श्रोतहरूः
हाम्रा प्राचीन इतिहास, संस्कृतिको बारेमा जान्न हामीसँग पुरातात्विक र साहित्यिक दुवै श्रोतहरू उपलब्ध छन् । मौखिक परम्परा, किंवदन्ती, लोक गीत, बाजा, टुक्का, उखान, ठ्यासफु, धलपौ (डायरी),विदेशीद्वारा लिखित साहित्य, अनुश्रुति, लोककथा र बंशावलीबाट हाम्रा पुर्खाको बासस्थान, विश्वास र तन्त्रमन्त्रबारे पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।
साहित्यिक श्रोतको आधारमा पुरातात्विक श्रोत खोज्न सजिलो हुन्छ । पुरातात्विक श्रोतलाई विश्वको कुनै पनि कुनामा बस्ने मानिसका समुदायले पूर्ण रूपले स्वीकार गरेर इतिहास लेखेको पाइन्छ । सिद्धार्थ गौतम बुद्धको जन्म लुम्बिनी उपबनमा भएको घटनालाई विश्वका संपूर्ण मानिसहरूले मान्यता दिनुको एउटै प्रमुख कारण हो, त्यहा भएको राजा अशोकले स्थापना गरेका शिलालेख । यस्तै, चाँगुनारायणमा राजा मानदेवले स्थापना गरेका शिलालेखको आधारमा नेपालको प्रथम प्रामाणिक राजा मानदेवलाई मानिएको छ । यसरी शिलालेखलाई महत्वपूर्ण पुरातात्विक श्रोत मानिन्छ । श्रोत खुलाएर इतिहास र संस्कृति को बारेमा हामीले बोल्न र लेख्न सक्यौ भने त्यो विश्वको लागि अमूल्य खजाना हुन्छ ।
धर्म र दर्शनः
संस्कृतिको प्रमुख आधार हो धर्म र दर्शन । नेपालका विभिन्न समुदायले सनातन, बौद्ध र किरात धर्म प्रमुख रूपले मानेको देखिन्छ । जंगली अवस्था, ढुंगेयुगमा शिकारी जीवनयापन गर्दै मानिसले हजारौ बर्ष बितायो । कृषि गर्न जाने पश्चात मानिसको जीवनमा ठूलो परिवर्तन आयो ।
रोपेको अनाज काट्न मानिस एकै ठाउमा बस्न थाल्यो । उसको जीबन सहज हुँदै आयो । खान पुगेर अनाज भण्डारण गर्न थाले पछि उसले आफूले देखेका भोगेका वरपरका वातावरणको बारेमा सोचेर अनेक तर्क गर्न थाल्यो, दर्शन त्यहीँ बेला जन्मियो । विभिन्न मानवशास्त्रीहरूले भनेजस्तै सरल सोच व्यवहारबाट मानिसले आफूलाई पहिलेको तहभन्दा माथिल्लो विकसित तहमा पुर्यायो । सनातन धर्माबलम्वीहरुले यो सम्पूर्ण विश्व, चराचर जगतको निर्माणकर्ता परमात्मा परमेश्वरलाई मानेर आफूलाई सानो कणको रुपमा स्थापित गरेको पाइन्छ ।
विष्णुजीको शब्दमा भन्नु पर्दा दर्शन भनेको कुनै पनि बिषयको दृष्टिबोध हो, जो आफ्नो विशिष्ट सिद्धान्त र विधियुक्त हुन्छ । दर्शनको गुदीमा रहेका चार आधरहरू तत्व, ज्ञान, तर्क, र परिणामको संयोजनमा हाम्रा ऋषि गुरुहरूले निकै लामा वाद–संवाद गरेर आफ्ना समयको वौद्धिक सार हामीसामु राखेका थिए । व्यक्तित्व विकासदेखि प्राकृतिक विनाशसम्म सबैतिर ईश्वरीय लीला देख्ने हुँदा धर्म दर्शनले खोज, प्रयोग र प्रमाणीकरणमा भन्दा विश्वास, भक्ति र मोक्ष कामनामा समर्पित हुनु पर्ने बताउँछ । यसरी धर्म र दर्शनले संस्कृति जोगाउने कार्यमा अहम भूमिका खेलेको देखिन्छ ।
कला कौशलः
संस्कृति जोगाउने अर्को महत्वपूर्ण पाटो हो कला कौशल । मानिसको रचना र सिपको सुन्दर प्रष्फुटन हो कला । कला विभिन्न माध्यम, शैली र स्वरूपमा प्रकट हुने गर्दछ । सामान्यतः कलालाई मूर्त (भौतिक) र अमूर्त (अभौतिक) रूपमा विभाजन गरेर अध्ययन र अनुसन्धान गरिन्छ । शैव आगममा चौसट्ठी कलाको उल्लेख भएको पाइन्छ । कलाभित्र विविध सिप पनि पर्दछन् । प्रकृतिमा भएका विभिन्न बोटबिरुवा, नदीनालालाई पनि परमात्मा, परमेश्वरको कला मानिन्छ ।
हाम्रा कलाकृतिहरू शास्त्रीय पध्दतिमा निर्माण गर्ने विधान छ । वेद, पुराण, विभिन्न शास्त्र, रूपमण्डन, अपराजित पृच्छा, शिल्परत्न, मयदीपिका, मयमत, शिल्पशास्त्र विधान, मानसार, समरांग सूत्रधार आदि ग्रन्थमा उल्लेख गरिएका नियमलाई अक्षरशः पालन गरेर कलाकारले मूर्ति निर्माण गर्दा रहेछन् ।
पूर्वीय कलाकारको मुख्य उद्देश्य आफ्नो कलामा अन्तरआत्माको प्रस्तुति हो, शारीरिक सौन्दर्य प्रस्तुति हैन । त्यसैले पूर्वका कलाकारहरूले कुनै मानिसको मूर्ति बनाउँदा उसको शरीरको विभिन्न भागहरू जसको त्यस्तै बनाउनुभन्दा उसको अन्तस्करणको मूल भाव व्यक्त गर्न मिहिनेत गर्दछन् । मनमा आएको भावलाई कलाकारले आफ्नो कलाकृतिमा सफलतापूर्वक झल्काउन सके त्यसलाई जीवन्त कला मानिन्छ ।
वास्तुकला कलाकै अर्को मूर्त स्वरूप हो । अधंकासुर दैत्यलाई मारेपछि शिवको पसिनाबाट जन्मिएका वास्तुपुरुषको पूजा गरेपश्चात् हाम्रा मन्दिर, घर, दरबार, इनार, पाटीपौवाको निर्माण गरिन्छ । सामान्यतः धार्मिक कलाअन्तर्गत मन्दिर, विहार, स्तूप, मठ पर्दछ, लौकिक कलाअन्तर्गत घर, दरवार, पाटी पौवा पर्दछ । प्राणप्रतिष्ठा गरेको प्रतिमा मात्रै पूज्न योग्य मानिन्छ । प्राण प्रतिष्ठाको विधान कठिन हुँदा धेरैले यो पालन गर्न छोडेका छन् ।
चाडपर्वहरू
हाम्रा चाडपर्वले हाम्रो संस्कृति जोगाइराखेको छ । नेपालका अधिकांश चाडपर्व सूर्य र चन्द्रको गतिअनुसार निर्धारण गरिएका छन् । कालवेलालाई आठ भागमा (संवत्बसर, अयन, ऋतु, मास, पक्ष, तिथि, वार र नक्षत्र) मा वर्गीकरण गरिन्छ । पञ्चांगमा कालका प्रमुख ५ वटा पक्षहरू, तिथि, बार, नक्षत्र, योग र करणको संयोजनमा पञ्चांग निर्माण गरिएको देखिन्छ।
कालबेला र मुहूर्तको आधिकारिक जानकारी दिन वार्षिक रूपमा पात्रो, क्यालेन्डर प्रकाशित गरिन्छ । पात्रोमा शुभलग्न, साइत, ग्रह दोष निवारण, सम्पूर्ण संस्कारको मुहूर्तको जानकारी दिइएको हुन्छ । पात्रोमा दिइएको तिथि मितिकै आधारमा हामी चाडपर्व मनाउने गर्दछौं । हाम्रा चाडपर्व पितृसम्मान, खानपान र मनोरञ्जनको संगम हो । हाम्रा चाडपर्वलाई विज्ञहरूले यसरी वर्गीकरण गरेका छन् ।
१) ऋतुसम्बन्धी चाडपर्वहरू
२) देवदेवतासम्बन्धी चाडपर्व
३) पितृसम्बन्धी चाडपर्वहरू
४) पशुपंक्षीसम्बन्धी पर्वहरू
५) देवत्वमा परिवर्तित भएका मानवसँगसम्बन्धी चाडपर्वहरू
६) असुर जातिलाई विशेष महत्व दिएर मनाइने पर्वहरू
७) खट र रथसँग टोलटोल घुम्ने पर्वहरू
यसरी समष्टि रूपमा भन्नुपर्दा पर्यावरण र पुर्खाप्रति कृतज्ञता र मनोरञ्जन सँगै खानपानको त्रिवेणी हो । नेपाली चाडपर्व नेपाल चाडपर्वको घर हो । अन्न रोप्ने, काट्ने, नयाँ अन्न घर भित्र्याउने आदि कार्य गर्दा हामी उत्सवको रूपमा केही न केही गर्दछौं ।
हिन्दूहरूको चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षसँग जोडेर पनि पर्वहरूको वर्गीकरण गरिएको छ । वैद्धिक कालदेखि कुनै न कुनै रूपमा प्रचलनमा रहेको चाडपर्वमध्ये विजया दशमीलाई धर्म, तिहारलाई अर्थ,फागुलाई काम र श्रावणी अर्थात रक्षावन्धनलाई मोक्ष प्राप्त गर्ने संस्कार र ताडपर्वको रूपमा वर्णन गरिएको छ । चाडपर्वलाई एक सामयिक र अनेक सामयिक (समय) गरेर पनि वर्गीकरण गरिएको छ ।
चाडपर्वको अध्ययन, अनुसन्धान गर्दा यसले समेटेको दर्शन र सामाजिक परिवेश दुवै छर्लंग हुन्छ । ईश्वर, प्रकृतिप्रति कृतज्ञता, पारिवारिक मूल्य मान्यता, साथी भाइसँगको जमघट र मनोरञ्जन (जसमा खानपान, गीत , नाच र अभिनय पर्छ ) सबैको संगम हो हाम्रा चाडपर्व । हाम्रो संस्कृति जोगाउन चाडपर्वको प्रमुख भूमिका छ ।
प्रतिक्रिया