पुर्खाले दिएको नासोलाई जोगाई राख्छौं


संस्कृति के हो ? यसलाई जोगाउन कसको के भूमिका रहन्छ ?

संस्कृति मूर्त सम्पदाको अभिन्न अंग हो । मानव जीवन सभ्यताको सांस्कारिक रूप हो । जुन हाम्रो पहिचान र अस्तित्वसँग जोडिएको हुन्छ । यसलाइ जोगाउन पूर्वजदेखि चलिरहेको परम्परा निरन्तरताका लागि पुस्तान्तरणको जरुरी हुन्छ । जसका लागि अस्तित्वलाई अपनत्वसँग व्यावहारिक रूपमा जोडन सक्नुपर्छ । जुन विविधताले अन्तर्राष्ट्रिय जगत्मा नेपालको जस्तो चिनारी छ । त्यो चिनारीलाई संरक्षण र प्रवर्धनमा राज्य सबैभन्दा बढी संवेदनशील हुन जरुरी छ ।

युवाले संस्कृति जोगाउन के कस्तो भूमिका खेलेको पाउनुभएको छ ?
समय परिस्थिति त्यो पनि थियो जहाँ अग्रजहरूको बढी उपस्थिति ले जात्रा, पर्वहरू, प्रथाजन्य गुथिहरू निरन्तरता दिइन्थ्यो । समयकोे परिवर्तनसँगै अहिले प्राकृतिक, सांस्कृतिक सम्पदा तथा जात्रा पर्व व्यवस्थापन गर्न युवाको लहर बढेको छ । त्यतिकै सहभागिता पनि । नेपालमा अभिलेखीकरणको कमी र संसारमा नै महत्व फैलाउन प्रविधि र दस्तावेजीकरणको काम समेत भोलिका पुस्ताका लागि सुरक्षित गर्न अहिले महत्वपूर्ण भूमिका युवाले नै गर्न थालिसकेका छन् । जात्राको उल्लास विभिन्न बाजाको परम्परागत धुनले मौसमअनुसारको धुनले र त्यहीसँग जोडिएको विभिन्न समुदाय जातिले बजाउने बाजा हाल अग्रज, युवा, साना भाइबहिनीहरुले समेत अग्रसरता देखाउँदा यसको चिरकालसम्म जीवन्त रहिरहने कुरामा हामी ढुक्क भएका छौं ।पुर्खाले दिएको नासो अझ उपत्यकाको कुरा गर्नु पर्दा हिजोको समाज र त्यसको बनावट सामाजिकीकरण हाम्रो चुकः, बहाः, बहि, ख्य, ननि यो सबै सु–संस्कृत, नैतिक र व्यावहारिक शिक्षा ग्रहण गर्ने थलो थियो । हाल यो सबैको महत्व लोप हुँदै गएको छ। यो व्युँताउनुपर्ने आवश्यकता देखिएको छ । जसमा अहिले युवा अग्रसरताले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित तुल्याउन र देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउनसमेत महत्वपूर्ण आफ्नो उपस्थिति अवलम्बन गर्न थालेको छ ।

संस्कृति जोगाउन युवाको भूमिका कस्तो हुनुपर्छ ?
देश विकास, व्यवस्थापनसँगै देशको मौलिक चिनारी यहाँको विभिन्न जाति समुदाय, भाषा र भेषभुषा र एक अर्कामा सद्भाव संस्कृतिले जोडेको र चिनाएको छ । सबैले सबैको सम्मान र राष्ट्रको नै गौरवको रूपमा मनन पनि गरेको छ, संविधानले पनि सुनिश्चितता प्रदान गरेको छ । कहिलेकाहीँ सरकारले कानुन बनाउने कुरामा जनताको मर्म नबुझ्दा बाटो बिराउँदा गुठी विधेयकविरुद्ध घर घरबाट स्वस्फूर्त अभियान आन्दोलन आफ्नो अस्तित्वको लागि ऐतिहासिक जनप्रदर्शनको उदाहरण पनि युवाबाट नै शुरू भएको हो जसको नेतृत्व म आफंैले पनि राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजक भएर लिएको थिएँ । जब जब आफ्नो पहिचान जुन राष्ट्रसँग नै जोडिएको हुन्छ त्यो प्रति कसैको दुष्भाव हुँदा दुई तिहाइको बहुमतको सरकारलाई समेत झुकाउन सफल भएर विधेयक राष्ट्रसभाबाट फिर्ता गराउन सक्यौं । त्यसले पनि प्रमाणित गर्छ युवा जोशमा मात्र हैन होसमा शान्तिपूर्ण आफ्नो सभ्यताको रक्षा गर्न पनि त्यति नै जिम्मेवार भूमिका बहन गर्न सक्छ भनेर । देशमा विपद २०७२ को शक्तिशाली भूकम्प स्मरण गर्दा मानवता जगाउने सहयोगी हातहरू युवा नै थिए। सम्पदा भत्किँदा पुरातात्विक सामग्री सुरक्षित बनाउनेदेखि सम्पदा पुनः निर्माणमा समेत बुलन्द आवाज अभिव्यक्ति लिएर उभिने युवा जमात नै थियो । हामीले संघर्ष विसं १९९० सालको भूकम्प अगाडिकै प्राचीन रानीपोखरी स्वरूप ग्रन्थकुट शैलीमा फर्काउन सफल भयो । थुप्रै ठाउँमा सांस्कृतिक थलोमा भएको विकृति विसंगति हटाउन सामाजिक सञ्जालमा भए पनि चेतना विकास र बिस्तार भएको छ त्यो जागरणको घण्टी आजको उपलब्धि पनि हो । हनुमानढोका दरबार क्षेत्र निजी स्वामित्वमा सरकारी निकायहरूले नै दिन सम्झौता गरेपछि त्यो बेलाको आन्दोलनमा स्थानीय जसमा अझ मर्म हुन्छ सब एकजुट भएर सडक, सदन र सम्मानित अदालतसम्म पुगेर समेत न्यायको जित गराउन सफल भएका थियौं जुन ठूलो नजिर थियो ।

तपाईं त इन्द्रजात्रा व्यवस्थापन उप समितिका संयोजक भएर १५ वर्ष काम गरिसक्नुभएको छ ? इन्द्रजात्राले नेपालको संस्कृति जोगिएको छ त ?
उपत्यकाको काठमाडौंको सबैभन्दा ठूलो जात्रा यँया(इन्द्रजात्रा) तथा जनबहाःद्यः(सेतो मच्छिन्द्रनाथ) रथ जात्रा व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको १५ वर्ष भयो । सापारु (गाइजात्रा) व्यवस्थापन गर्न १९ वर्ष भयो सहजीकरण गरिरहेको । नेपाल संवत् न्हुदँ राष्ट्रिय समारोह समितिअन्तर्गत १२ वर्ष भयो सांस्कृतिक ¥याली व्यवस्थापन गर्दै आएको । पक्कै पनि यँया (इन्द्रजात्रा) ले पक्कै पनि अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई सांस्कृतिक पर्यटकलाई आकर्षित गरेको छ । इन्द्रजात्राको गरिमा किंवदन्तीहरू, इन्द्रको जात्रासँगै जीवितदेवी कुमारी मा, श्री गणेश, श्री भैरवको रथयात्रा, ठाउँठाउँमा राखिने श्री भैरव भगवानको बिराट मूर्तिहरू सबैको आ–आफ्नो महत्व छ । आठ दिनसम्म मनाइने जात्रामा देश विदेशबाट थुप्रै पर्यटक र भक्तजनको उपस्थिति रहन्छ । श्री पुलुंकिसी (एरावत हात्ती), श्री लाखे आजु, श्री हलचोक आकाश भैरव नाचहरू पनि यही समयमात्र निकाल्ने गरिन्छ । राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिदेखि राज्यसत्तामा रहेका भएका व्यक्तित्वहरू, राजदूतहरूलगायतको उपस्थितिले जात्राको अझ रौनक बढाएको छ ।

इन्द्रजात्रा व्यवस्थापन गर्न कतिको गाहे छ ?
इन्द्रजात्रा व्यवस्थापन गर्न चुनौती र अवसर दुवै छ । आठ दिनसम्म चल्ने जात्रामा शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन सबै भन्दा जटिल विषय हो । हजारौंको संख्यामा जात्रामा सहभागी हुने मानिसहरूको भीड व्यवस्थापन भित्री कोर सिटीमा चल्ने सवारीहरूको डाइभर्सन र वैकल्पिक पार्किङको व्यवस्था हामी बढी संवेदनशील यसमा हुन्छौ । रथ यात्राको समयमा विपद् व्यवस्थापनको जिम्मा नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीको टिम, स्थानीय संघ–संस्था क्लबको आ–आफ्नो क्षेत्रमा सहयोग सबैको उपस्थितिले जात्रा व्यवस्थापन गर्न सहज भइरहेको छ । सञ्चार माध्यमकै महत्वपूर्ण भूमिका छ । सूचना प्रवाहसँगै जात्राको महत्व पनि बिस्तारै जनमानसमा बुझाउन नेपाल समाचारपत्रले दैनिकले त जसरी सम्पदा–संस्कृतिलाई कोलम नै छुट्याएकोे छ त्यो सराहनीय छ ।

सम्पूर्ण व्यवस्थापन गर्न विभिन्न उपसमितिहरू गठन गरी जिम्मा बाँडफाँट गरी सहजीकरण गर्छौं । हजारांैको उपस्थितिलाई जात्रामा सहजताका लागि हामी जात्रा पूर्व तयारीदेखि अन्तिमसम्म रातदिन खटि नै रहन्छौं ।
जब जात्रा कुनै घटना र दुर्घटनारहित बन्छ तबमात्र हामी सफल भएको महसुस गर्छौ । समूहगत कार्य (टिम वर्क) मा काम गर्नु सबैको लागि सिकाइ नै हो । यसमा पनि युवा सहभागिता र पुस्तान्तरणको लागि हामी प्रतिबद्ध छौं । प्रशासनिक रूपमा नेपाल प्रहरीको ठूलो भूमिका छ । गुरुजुको पल्टन नेपाली सेनाको ऐतिहासिक, सांस्कृतिक टोली जसको पनि शुरूदेखि अन्तिमसम्म बिधिबत उपस्थिति अनिवार्य रहेको छ । विगतदेखि हालसम्म हेर्ने हो भने जात्रा थप व्यवस्थित भएको छ । त्यसैको परिणामस्वरूप हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटक बढदै गरेको हामी सबैले महशुस गरेका छौं । यो वर्ष भदौमा सम्पन्न जात्रामा कामपा २३ वडाले गुठीको सहभागिता एक अर्काको विधि सबै अभिलेखीकरण गर्न तत्परता देखाएको छ।

इन्द्रजात्राले नेपाल र विदेशीबिच कसरी संस्कृति जोगिएको छ ?
इन्द्रजात्रा विदेशसम्म परिचित भएको सबैलाई जानकारी छ । नेपालको राजधानी र अझ विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारक्षेत्र र कोर क्षेत्र जसको आफ्नै महत्व छ जहाँ इन्द्रजात्रा मनाइन्छ । नेपालको नै गौरबको रूपमा बाह्य पर्यटकले बुझ्ने र चिन्ने गरेको छ यो जात्रा । त्यसैले पनि उल्लेखनीय सहभागिता रहने जात्रामा बाह्य पर्यटकको उपस्थिति रहने गर्छ ।
हामीले रथ तान्न पर्यटकलाई पनि सहभागी गराउन थालेका छौं जसले उनीहरूको देशमा हाम्रो राम्रो प्रचार हुन्छ भन्ने पनि लिएका छौं । अहिले सुरक्षाको लागि प्रहरीले र इन्द्रजात्रा व्यवस्थापन समितिले संसारलाई देखाउन ड्रोन क्यामराले प्रयोग गर्न शुरू गरेका छौं । जसले यो जात्राको उत्साह उमंग बढाएको छ ।

संस्कृति जोगाउन तपाईंको भूमिका के ? अर्थात् जसले संस्कृति जोगाइरहेको छ ? भन्ने शीर्षकमा तपाईंको कुरा मेल खान्छ ?

संस्कृति जोगाउन मेरो भूमिका मेरो जन्म थलो र कर्म थलो काठमाडौंको कोर सिटी हो । यही ठाउँ जहाँ म जन्मिए नेपालको पुरानो पहिलो पर्यटक नगरी झोछें (freak Steet ),जात्रा पर्व, फल्चा, चुक स्वहाँ बहि, ननि, ख्य सबैबाट नैतिक र सांस्कृतिक शिक्षा विद्यालय सङ्गै पाए । जुन मेरो जीवनको लागि महत्वपूर्ण थियो । सम्पदामा केही समस्या हुँदा मेरो मन पोल्थ्यो । केही गरौं भने भावना थियो । आज फर्केर हेर्दा मैले आफ्नो जीवनमा यही सम्पदा र संस्कृतिमा काम गर्न शुरू गरे । यही भावनाले केही गर्ने अवसर पाए यही गौरवको विषय हो । म त एकजना पात्र मात्र हुँ धेरै छन् तर त्यो बेला सीमित थियो आज असीमित अभियन्ता छन् जुन उपलब्धि नै मान्छु म । हामीले नगरे कसले गर्ने भन्ने मनमा लिए ।

तपाईं युवाहरू नेपाली संस्कृति, संस्कार र परम्परालाई चासो दिनेलाई कसरी प्रोत्साहित गर्नुहुन्छ ?
अहिले देशको अवस्था राजनैतिक अस्थिरताका, देशभित्र कुनै सम्भाव्यता भएर पनि सरकारको अभिभावकत्वमा कमीको कारण दिन प्रतिदिन युवाहरू बाहिरिँदा हामीले ती युवालाई ढाडस र सम्भाव्यतामा पनि सरकारलाई उत्तरदायी बनाउने अभियानमै छौं। सांस्कृतिक अभिभारा र बहनको विषयमा सबैभन्दा मान्छे जहाँ पुगे पनि उस्लाई चाहिने आफ्नो पहिचान हो त्यो पहिचान यही संस्कृति नै हो यही माटो नै हो । त्यसैले पनि कतिपय जात्राको समयमा छुट्टी लिएर नेपाल आउने गरेका छन् ।
केही युवाहरू त हाम्रो जात्रा व्यवस्थापन गर्न सहयोग गर्न आउँछन् उनीहरूप्रति लगाव छ अझ बढी युवामा नै देखेको छु । किनकि जात्रामा बाजादेखि व्यवस्थापनसम्म युवा नै छन् । म सबैलाई आग्रह पनि गर्न चाहन्छु कि हामीले भविष्य त हेरेर बाहिरिन्छौं तर तपाईंभन्दा पछिका पुस्तालाई जसरी हाम्रो पुर्खाले नासोको रूपमा विशाल सम्पदा र संस्कृति तपस्याले दिए त्यो नासो हामीले पनि हस्तान्तरण गर्न सक्नु पर्छ त्यो कसैले नभुलौं ।

सांस्कृतिक संरक्षणमा लाग्ने युवालाई तपाईंले के सन्देश दिनहुन्छ ? अर्थात युवालाई संस्कृतिको जगेर्ना गर्न कसरी प्रोत्साहन गर्नुहुन्छ ?

मेरो सबैभन्दा पहिलो प्रेरणा नै घर थियो बुवा स्व. चैतन्यलाल श्रेष्ठ नेपालको प्रथम पद यात्री हुनुहुन्थ्यो समाजसेवी हुनुहुन्थ्यो। बुवासँग सानो बेला भजन सुन्न जानेदेखि हरेक जात्रापर्व अवलोकन गर्न पुग्थे । आज जात्रा व्यवस्थापन र संस्कृति संरक्षण गर्न अग्रसर छु । जात्रा व्यवस्थापन गर्न मुख्य नेतृत्व लिदा बुवा नभए पनि बुवाको आशीर्वाद पाएको नै छु। हाम्रो घरको सबै सदस्य सामाजिक कार्यमा नै अग्रसर छन् । त्यति बेला जयप्रकाश मल्ल राजाको समयमा हाम्रो पुर्खा मन्त्रीको पद सम्हालेका धनज्युको सन्तान हौं हामी । जतिबेला हनुमानढोका मुल राजदरबार हुँदा झोछें मन्त्री क्वार्टर थियो जहाँ श्रेष्ठ परिवार साहुखलः भनी चिनिन्थ्यो । सायद त्यही रगत सम्पदाको लागि केही पर्दा पोल्ने गर्छ र लाग्न प्रेरित गर्छ।