संस्कृति संस्कारको धनी सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्व गौरा (गमरा) पर्वले यहाँ भाइचारा र विश्वासको वातावरण सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गौरा पर्व सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटीमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।
गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।
यस पर्वले सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेशसहित समग्र देशभरमा कला, धर्म, संस्कृति, संस्कारले मुलुकको समृद्धिमा हाम्रो धार्मिक रीतिरिवाजले झन टेवा पु¥याएको छ । गौरा पर्व सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा रहे पनि सबै नेपालीले गौरव गर्ने र राष्ट्रिय भावना जागृत गरी सबैलाई एकताबद्ध बनाउने प्रेरणा प्रदान गरी राष्ट्रियता संवर्धनमा समेत टेवा पुर्याएको छ।
गौरा पर्वको बारेमा विभिन्न धारणा रहेको पाइन्छ । गौरा पर्व भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट शुरू भई अष्टमीसम्म मनाउने प्रचलन रहेको पाइन्छ । गौरा पर्वको सुरुवात बिरुडा अर्थात् पाँचथरीका गेडागुडी भिजाउने र महिला निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गरी बिरुडालाई प्रसादको रूपमा ग्रहण गरी सुख शान्ति र समृद्धिको कामना गरिन्छ ।
केराउ, गहत, गहुँ, गुराँस र मासको मिश्रण गरेर भिजाउने अन्न नै बिरुडाको रूपमा चिनिन्छ । बिरुडा भिजाएको दोस्रो दिन महिलाले पानीको मुहानमा गएर शुभ साइतमा बिरुडा धोएर गौरादेवीको प्रतिमा प्रतिस्थापन गर्ने चलन रहेको पाइन्छ । पार्वती शिवको नामसँग जोडिएको यस पर्वमा विशेष गरी पार्वतीको पूजा गरिन्छ अर्थात् पार्वतीको कठोर तपस्यापश्चात् शिवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक विश्वाससमेत यसमा जोडिएको छ ।
सप्तमीमा गौरादेवीलाई मन्दिरमा भित्र्याएर प्रसादको रूपमा महिलाले दुबधागो भगवानलाई चढाई अभिषेकका साथ लगाउने चलन रहेको छ । दुबधागो पुरुषको यज्ञोपवित धारण गरेजस्तै हो । बिरुडासँगै धान, साउँ (सौँ) तील, अपमार्ग आदि बिरुवाबाट गौरीदेवीको प्रतिमा बनाई गौरा घरमा भित्र्याउने र विसर्जन नगरिएसम्म पूजाअर्चनाका साथ महिला पुरुषले स्थानीय लोकभाकामा डेउडा, फाग, धमारी आदि खेल खेली आनन्दका साथ गौरा मनाउने प्रचलन रहेको छ । गौँरा पर्वले धार्मिक आस्था आपसी सद्भाव बढाउन र शिव पार्वतीको पूजा गरी सुख शान्ति प्राप्त हुने विश्वासका साथ ठूलाबाट सानासम्म पूजा गर्ने (बिरुडाले पुज्ने) चलन रहेको छ । गौरा पर्वलाई रोचक बनाउँदै अष्टमीभन्दा अझ ३/४ दिन थप मनाउने र गोःरा सेलाउन (गौरा विसर्जन) गर्ने प्रचलन पनि रहेको पाइन्छ ।
गौरा पर्व एकताको पर्व हो । काम विशेषले बाहिर अर्थात् विदेश गएका व्यक्तिसमेत घरमा फर्किने र आपसी सद्भाव वृद्धि गरी सुख शान्तिको कामनासहित एक आपसमा बन्धुत्व कायम गरी आपसी सद्भाव वृद्धिमा टेवा पुर्याएको छ। गौरा पर्व मनाउने विषयमा विभिन्न तिथिमितिको कुरा पनि उठेको छ ।
प्रचलित मूल्यमान्यता, परम्परा, विद्वानवर्ग, पञ्चांग निर्णायक र आधिकारिकताका आधारमा यस पर्वलाई मनाउँदै यसले समाजमा सद्भाव, शान्ति विश्वास कायम गरी एकताको भावना सिर्जना गरी यो पर्वलाई सबैको पर्व राष्ट्रिय पर्वको रूपमा मनाउँदै यसको महत्वलाई बुझाउँदै गौरी माताले हामी सबैलाई कृपा प्रदान गरुन भन्ने आदर्शका साथ महिला, पुरुष, बालकदेखि वृद्धसम्म यो पर्व सबैको पर्व बनाई आपसी भाइचाराको वृद्धि गरी मौलिकतालाई कायम राख्दै हाम्रा पर्व, हाम्रा संस्कृति र जगेर्ना गर्दै हाम्रा पर्व राम्रा पर्व, हामी सबैका पर्वमा परिणत गरी संस्कृतिको संरक्षण गर्नु आवश्यक छ ।
सुदूरपश्चिम क्षेत्रमा मात्रै मनाईने गौरा पर्व पछिल्लो समय संघीय राजधानी काठमाडौंसहित देश विदेशमा पनि मनाउन थालिएको छ । सुदूरपश्चिम प्रदेशमा दशैं, तिहारभन्दा पनि बढी धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रहिआएको छ । यही विश्वासले यो प्रदेशभर सप्तमीसम्म महिलाहरू गौराको व्रत बस्ने गर्दछन् ।
वैदिक विधिअनुसार गौरा माताको व्रत बसी पूजापाठ गरेमा सन्तान, सुख, दीर्घायु प्राप्त हुने गरेको डोटीको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पर्वमा सौभाग्य प्राप्तिका लागि गौरा पार्वती माताको पूजन गरिन्छ, वैदिक विधिअनुसार व्रत बसे मनोकामना पूर्ण हुन्छ ।’
गौरा पर्वलाई यो क्षेत्रका महिलाहरूले मांगलिक कामना गर्दै मनाउने गरेका छन् । यो प्रदेशको पहाडी जिल्लावासीले मनाउने प्रमुख चाड हो गौरा । पछिल्लो समय पहाडबाट बसाइँ सरेर तराई झरेकाहरूले पनि तराईमा गौरा पर्व धुमधामसँग मनाउँदै आएका छन् । गौरा पर्वमा बितरण गरिने विरुवालाई आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण मानिने तथा नवदूर्गाको प्रतिकको रूपमा लिने गरेको तथा गौरा पर्वलाई विशेष महत्व दिएर राज्यबाट नै यसको संरक्षण गरिनु पर्ने संस्कृतिविद् एवं साहित्यकार पदमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गौरा पर्व भनेको एक आपसमा भाइचाराको सम्बन्ध राख्ने, मित्रता कायम गर्ने र संस्कृतिको जगेर्ना गर्ने पर्व भएकाले राज्यबाट नै यसको संरक्षण गरिनु पर्छ ।’
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको डोटीको दिपायलका पुजारी मेखराज भट्टले बताउनुभयो ।
गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ । गौरा पर्व मनाउन तथा संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न किसिमका सहयोगहरू तथा कामहरू गर्दै आएको प्रदेश सांसद शिवसिंह ओलीले जानकारी दिनुभयो ।
यसै गरी गौरा पर्व छिमेकी मुलुक भारतको कुमाउ, गढवालमा पनि मनाउने गरिन्छ भने केही वर्ष यतादेखि अमेरिकामा बस्दै आएका नेपालीहरूले पनि अमेरिकामा मनाउँदै आएका छन् । उता, ज्योतिषी देवीलाल उपाध्यायका अनुसार गौरा पर्व सुदूरपश्चिम प्रदेशसहित भारत, श्रीलंकाका केही भूभागमा समेत मनाइन्छ । धार्मिक ग्रन्थहरूमा भारत, श्रीलंकामा गौरा मनाइने तिथिसमेत उल्लेख गरेको उहाँले बताउनुभयो।
धार्मिक ग्रन्थलाई उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘पञ्यते उदितो लंका पञ्चयते हस्तीनापुर, पञ्च पञ्च पुन पञ्च गौरा व्रत तुकारयत ।’ उहाँका अनुसार गौरा पर्व श्रीलंकामा र भारतको हस्तीनापुरमा भदौ ५ गते मनाइन्छ भने नेपालमा भदौ १० देखि २५ गतेभित्र मनाइन्छ । अगस्त्य ऋषिको उदयपछि गौरा नमनाइने गरेको प्रचलन भएकाले भदौ २५ पछि गौरा नमनाइने उहाँको भनाइ छ ।
‘सामान्यतया भदौ २५ गते अगस्त्य ऋषिको उदय हुन्छ । तर, भदौ २३ र २४ गते पनि हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘अगस्त्य ऋषिको उदयपछि गौरा मनाइँदैन ।’ उक्त दिनभन्दा पछि गौरा पर्व नमनाइने गरेको उहाँले जानकारी दिनुभयो।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको नामले विश्वमा परिचित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको मुख्य भाषा नेपाली हो । नेपालमा बोलिने सबै भाषा, धर्म र संस्कृतिका आआफ्नै विशेषता रहेका छन्। सयौँ थुँगा फूलका हामी, रंगी विरंगी अर्थात् विभिन्न भाषा, संस्कृति र धर्मले अनेकतामा एकताको सन्देश प्रवाह गरेको छ। हिन्दुहरूको जनसंख्या सबैभन्दा बढी रहेको हाम्रो देश विभिन्न संस्कृतिको सन्देशले धर्म नैतिकता र विश्वासमा अडिएको छ ।
प्रतिक्रिया