मैथिली कला र संस्कृतिका अभियन्ता प्रेमर्षि


कला, साहित्य तथा सञ्चार क्षेत्रका माध्यमबाट मैथिली संस्कृति संरक्षणमा र प्रवद्र्धनमा क्रियाशील नाम हो धीरेन्द्र प्रेमर्षि । मैथिली साहित्य र संस्कृति संरक्षणका एक अभियन्ता प्रेमर्षिले आफ्ना सिर्जनामार्फत् आफ्नो संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने मात्रै होइन देशलाई जोड्नसमेत सफल हुनुभएको छ ।

मिथिला क्षेत्रमा सीमित संस्कृतिलाई काठमाडौं र देशका अन्य भागसम्म पुर्‍याउनुभएका प्रेमर्षि एक परिचित नाम हो । सिरहाको लहान नगरपालिकास्थित गोविन्दपुर (बस्तीपुर)मा जन्मिनुभएका उहाँको वास्तविक नाम धीरेन्द्र झा हो । तर, कला साहित्य क्षेत्रमा भने ‘धीरेन्द्र प्रेमर्षि’ उपनामले प्रख्यात हुनुहुन्छ ।

विभिन्न रेडियो तथा पत्रपत्रिकाहरूमार्फत् मिथिला संस्कृति, कला, साहित्यको जर्गेना गर्न सक्रिय उहाँ ‘पल्लव’ मैथिली साहित्यिक पत्रिका तथा ‘समाज’ मैथिली पत्रिका, कामना सिने मासिकको सम्पादकसमेत हुनुहुन्थ्यो। वि.सं २०४४ देखि साहित्य लेखनमा थालनी गर्नुभएका प्रेमर्षि मिथिला संस्कृतिका अभियन्ताहरूसँगको संगतसँगै वि.सं २०४६ देखि मिथिला साहित्य र संस्कृतिमा सक्रिय रहनुभएको थियो।

उहाँद्वारा लिखिति विभिन्न पुस्तक विद्यालय तहमा अध्यापनसमेत भइरहेको छ । उहाँको गजल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र र मानविकी संकायको चारवर्षे स्नातक तह प्रथम वर्षको अनिवार्य नेपाली पाठ्यक्रममा समेत समावेश गरिएको छ । प्रेमर्षि २०७५ देखि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य एवम् परम्परागत तथा शास्त्रीय संगीत विभागमा कार्यरत हुनुहुन्छ ।

लेखनसँगै कुशल अनुवादसमेत रहनुभएका प्रेमर्षिले मिथिलाका प्रसिद्ध, कवि कोकिल तथा महाकवि विद्यापतिका ४४ वटा कथा नेपालीमा समेत अनुवाद गर्नुभएको छ। उहाँले विद्यापतिलाई नयाँ पुस्तामाझ चिनाउन आवश्यक रहेको बताउनुहुन्छ। संस्कृति, साहित्य, भाषा र सञ्चार जगत्मा अतुलनीय योगदान पुर्‍याउनुभएका उहाँ विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानबाट सम्मानितसमेत हुनुभएको छ।

भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी नाममा दिँदै आएको अटल सम्मान, २०१९ मा उहाँलाई मिथिला सम्मान प्रदान गरिएको थियो । यस्तै, यात्री–नागार्जुन सम्मान २०१८ कोलकाता, इन्द्र मिथिला रत्न सम्मान २०७९ विराटनगर, मिथिला रत्न सम्मान २००५ दिल्ली, सरस्वती–नागार्जुन कला पुरस्कार २०७२, रामानन्द युवा क्लव जनकपुरधाम, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०७१, विद्यापति पुरस्कार कोष तथा मैथिली समाज बुटवललगायत दर्जनौं पुरस्कार प्रमुख रहेका छन् ।
यस्तै, मिथिला–रत्न सलहेश सम्मान, भानु पदक, नवरंग सम्मान, माटी की गंध कथा सम्मान, साहित्य भास्कर आदिबाट पनि सम्मानित भइसक्नुभएको छ ।

प्रेमर्षिले नेपालमा संस्कृति विविधतालाई मूलधारमा समेट्ने इमान्दार प्रयास नभएको बताउँदै आउनुभएको छ । विगत ४ दशकको कार्यअनुभवमा उहाँले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद् सदस्य, नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञसभा सदस्य, संस्कृति मन्त्रालय विज्ञ सदस्य (अभौतिक सांस्कृतिक सम्पदा परिषद्), रेडियो नेपाल, समाचार–वाचक तथा सम्पादक (मैथिली, नेपाली र हिन्दी समाचार) लगायतका जिम्मेवारी पनि पूरा गर्नुभएको छ।

उहाँका प्रमुख साहित्य कृतिहरू समयलाई सलाम, (नेपाली गजल संग्रह), कोन सुर सजाबी ? (मैथिली गीत–संग्र्रह), मैथिली कविता संग्र्रह, कर्मयोद्धा योगेन्द्र नेपाली, (सम्पादित कृति) प्रकाशकः मिथिला नाट्यकला परिषद्, जनकपुरधाम, नेपालः २०६५, मिथिला मन्थन (सीके लालका मैथिलीमा अभिव्यक्त विचारोद्गार संकलनको अनुवाद तथा सम्पादन), स्वेद–राग (सम्पादित कृति, खाडीमा सिर्जनारत १८ जना युवाका मैथिली गजलहरूको संकलन) जस्ता कृति जनप्रिय छन् ।

त्यस्तै, मैथिली गीति एल्बम चेतना, प्रियतम हमर कमौवा, डेग, भोर, सङ अफ लाइट, नेहक बएन सँगै दर्जनभन्दा बढी गीति एल्बममार्फत् पनि मैथिली संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सक्रिय रहनु भएको छ।