उपत्यकाको सांस्कृतिक परिवर्तनको अवस्था कस्तो पाउनु भएको छ ?
संस्कृति देखिने र नदेखिने गरी दुई किसिमका हुन्छन् । मन्दिर, देवालय, प्यागोडा, चैत्यलगायत आँखाले देख्न सकिने संस्कृति हुन् भने परम्परागत रूपमा मनाउने रीतिरिवाज नदेखिने संस्कृति हुन् । केही वर्ष पहिले देखिने संस्कृति मासिने अवस्थामा थिए । विस्तारै स्थानीयतहरूले संरक्षण गर्ने कार्य गरिरहेका छन् । जसमा पुनःनिर्माण कार्यका लागि बजेट नै छुट्याएर काम गरिरहेका छन् । स्थानीय नागरिकको चासो पनि उत्तिकै बढेको छ । भूकम्पले क्षति पु¥याएका संस्कृति सम्पदा पुनःनिर्माणमा संघसंस्थाको सहयोग प्रसंशनीय छ । परम्परादेखि अपनाउँदै आएको संस्कृति अहिले पनि निरन्तर अगाडि बढिरहेको छ । यसमा सामान्य परिस्कृतबाहेक भएको छैन । संस्कृतिप्रति नयाँ पुस्ताको चासो पनि बढेको छ ।
संस्कृति परिवर्तन वा परिमार्जन हुँदै गएको हो ?
कतिपय अवस्थामा संस्कृतिलाई अन्य देशको संस्कृतिले असर पारेको छ । भारतीय सिरियल हेरी विवाहमा हल्दी लगाउने, चप्पल लुकाउने जस्ता कार्य भएका छन् । मान्छे मर्दा पहिले चप्पल नलगाई जाने परम्परा थियो । अहिले चप्पल नलगाई जान सक्ने अवस्था छैन । घाटमा घरबाट आगो लिएर जानुपर्ने व्यवस्था परिवर्तन भएको छ । त्यतिबेला सलाईको विकास नहुँदा घरबाट आगो लगिएको हुन सक्छ । यसमा राम्रो पक्ष संस्कृतिप्रति युवापस्तामा चेतनाको लहर बढेको छ ।
सेतो मछिन्द्रनाथको रथ तान्ने बेलामा रथ तान्न मान्छे नभएर प्रहरी बोलाउनुपर्ने, धिमे बाजा बजाउन ब्यान्ड बाजा बोलाउनुपर्ने, कुमारी पूजाका बेला बाजा बजाउने मानिस नहुने जस्ता समस्या परेको थियो । तर, केही सयमयता युवाहरूको जनलहर बढ्दा स्वयम्सेवक राखेर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । २५ सय वर्षदेखि गुठी व्यवस्था कायम रहेको छ ।
गुठीको आयस्ता सरकारले लिन थालेको धेरै भइसकेको छ । सरकारले गुठीको जग्गा व्यक्तिको नाममा लाने वातावरणले मन्दिर व्यवस्थापनमा समस्या बन्दै छ । जसले गर्दा मठमन्दिरहरू उचित तरिकाले सञ्चालन भएका छैनन् । मन्दिरलाई उपयुक्त तरिकाले सञ्चालन गर्ने हो भने गुठीको जग्गा मन्दिरलाई फर्काउनु पर्छ, होइन भने गुठीमा राखिएको जग्गा मन्दिरलाई नै फिर्ता गर्नुपर्छ ।
संस्कृति बचाउँदा कस्ता फाइदा हुन्छन् ?
धेरै समयसम्म एउटै काम गर्दै जाँदा संस्कृति बन्छ । संस्कृति बाहिरबाट ल्याई मनाइएको हुँदैन । पुर्खाहरूले जुनजुन काम गर्दा सकारात्मक प्रभाव पर्छ, त्यसलाई स्वीकार गर्दै अगाडि बढ्दै जाँदा संस्कृति बनेको हो । आमाबुबाको मुख हेर्ने चलन काठमाडौंका नेवार समुदायको मात्र हो । यो संस्कृति विस्तारै गैर नेवार समुदायमा पनि लोकप्रिय भइरहेको छ ।
पहिला सरकारले बिदा दिने गरेको थियो । बिस्तारै संस्कृतिका रूपमा सबैले स्वीकार गरेका थिए । संस्कृतिको संरक्षणमा सरकारको भूमिका उल्लेखनीय हुन्छ । दशैंमा सरकारले बिदा दिने हुँदा अन्य जातिका मानिसले पनि दशैं मनाउने गरेका छन् ।
सरकारले बिदा नदिने हो भने बिस्तारै संस्कृति लोप हुने थियो । नेवार समुदाय वा अन्य जातिमा पनि भोजभतेर हुने भनेको सम्पन्न भएपछि मात्र हो । नेवारी समुदायमा खेतीपाती हुने बेलामा जात्रा पर्व हुँदैन । जब खेतीपाती सकिन्छ अनि मात्र जात्रा, पर्व हुने गरेको छ । यस्तै बाजा बजाउन पनि धान रोपी सकिएपछि मात्र बजाइन्छ । हरेक संस्कृति प्रकृतिसँग मिलेर गएको हुनाले यसले निरन्तरता पाएको छ । जनजीवनसँग मिल्ने र प्रकृतिले पनि सपोर्ट गर्ने भएको हुनाले निरन्तरता पाएको छ । कतिपय आर्थिक अवस्था कमजोर हुने नेवार समुदायमा संस्कृति बचाउन नसकेर विभिन्न जिल्लामा विस्थापित भएका हुन् । अहिले आर्थिक अवस्था सुध्रिएपछि भने फेरि संस्कृति मान्ने मानिस बढ्न गइरहेको छ । म भएर होला देशैभरका नेवार समुदायले दशैं, म्हः पूजा कसरी मनाउने भनेर सम्पर्क गर्न आउने गरेका छन् । नेवारहरूको मूल थलो काठमाडौं नै भएको हुनाले संस्कृतिलाई जगेर्ना गर्न खोजिरहेका छन् । यसरी बाहिरी जिल्ला वा बाहिरी देश जानेमा व्यापार गर्ने धेरै देखिन्छन् ।
थर परिवर्तन गरेर काठमाडौंबाट पलायन भएका उदाहरण छन् ?
कतिपय अवस्थामा थर नै परिवर्तन गरेर बसेका उदाहरण छन् । भारतका विभिन्न ठाउँका बसेका समुदायले फुपूलाई निनी, मामालाई पाजु भन्ने गरेका छन् । तर, त्यो बाहेकका अरू केही पनि थाहा छैन । उनीहरूले पनि नेवारी परम्परा कस्तो हुन्छ र कसरी अगाडि बढ्ने, सिकाइ दिनु परो भनेर भनिरहेका छन् । नेपालबाट भारतको सिक्किम, दार्जिलिङ जहाँ गए पनि सबैले प्रधान लेख्ने चलन थियो । तर, अहिले कतिपय परिवारलाई भने शाक्य, प्रधान भएको थाहा भएको छ । सिक्किममा म आफैं गएका बेला भव्य रूपमा इन्द्र जात्रा मनाएको देखेको थिएँ । अखिल भारतको तथ्यांकअनुसार भारतमा मात्र ४ लाखभन्दा बढी नेवार समुदाय रहेको पाइएको छ ।
तपाईंले संस्कृति बचाउन गर्नु भएको उदाहरणीय काम के के हुन् ?
म सानैदेखि सामाजिक कार्यमा सहभागी हुने गर्दथेँ । म बसेको ठाउँ वरपर फोहोरको समस्या थियो । म आफैँ गएर फोहोर व्यवस्थापन गर्थें । टोलका सबैले मनपराउने भएका कारणले सानै उमेरमा वडाअध्यक्ष भएँ ।
बहुदल आएपछि पनि वडावासीले मलाई नै अध्यक्ष बनाउनुभयो । मैले जितेको वडा भनेको जात्रा पर्वको मनाउने वसन्तपुर क्षेत्र हो । यहाँ संस्कृति बचाउन मेरो महत्वपूर्ण योगदान भएका कारण सबैले मन पराउँथे । वडाअध्यक्ष भएर काम गर्न पञ्चायत र बहुदल दुवै कालमा अप्ठ्यारो भएन । बहुदलमा कुनै पार्टीबाट वडाअध्यक्ष जिते पनि आफूलाई काम गर्दा पार्टीले हस्तक्षेप नगर्ने लिखित सर्तमा गएको थिएँ । त्यो लिखित सर्त अहिले पनि सुरक्षित छ । मैले जनताको चाहनाअनुसार जनतालाई सोधेर काम गर्दथेँ ।
अहिले कुन कुन संस्कृति छायामा परेका छन् र यसलाई बचाउन के गर्नु पर्दछ ?
नेवारी संस्कृतिसम्बन्धी अध्ययन गर्नु पर्दछ । नेवार सभ्यता भनेको काठमाडौंको नेवार समुदायको मात्र होइन । यो बौद्धिक सम्पत्तिले सबैलाई फाइदा दिन सक्छ । धेरै ठाउँबाट आएर यहाँ बसेका हुनाले नेवार सभ्यतालाई मान्ने सबै नेवार हुन् । अस्ट्रेलियामा खेती हुन थालेको २ सय वर्ष पनि भएको छैन । नेपालमा खेतीको परम्परा शुरू भएको हजारौं वर्ष भएको थियो ।
पृथ्वीनारायण शाहले जितेपछि साःगुथी भन्ने ग्रन्थ महिनौंसम्म जलेको थियो भन्ने भनाइ छ । ५ सय वर्ष पहिले बनेको ५ तले मन्दिर बनाउँदा पनि इन्जिनियरहरू रहेका थिए । नेपाल धेरै वर्ष पहिले नै सबै क्षेत्रमा सम्पन्न थियो । पृथ्वीनारायण शाहपछि बौद्धिक सम्पत्ति संरक्षण भएन । युनेस्कोलगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाले पनि पुरातात्विक विषय पहिलेकै अवस्थामा बनाउनु पर्छ भन्ने गर्दछ । विदेशीले पनि भूकम्प प्रतिरोध नेवारी आर्किटेक्चर भनेर भन्ने गरेको छ । काष्ठमण्डप भत्किनुमा पनि नयाँ तरिकाले पिलर थप्नाले हो । पुरानो तरिकाले बनाएको भए भत्किने थिएन । नेवारी आर्किटेक बचाउने हो भने नेपाल पनि युरोपजस्तै विकसित हुने थियो । त्यसै गरी संस्कृति बचाउने हो भने गुठीको जग्गा फिर्ता गर्नुपर्छ । गुठी संस्थान खारेज गर्नुपर्छ ।
अबको पुस्तालाई संस्कृति बचाउन के सन्देश दिन चाहनुहुन्छ ?
नयाँ पुस्ता बुझेर भन्दा पनि मान्नु पर्छ भनेर लागिरहेका छन् । युवाहरूले बुझेर लाग्दा अझ प्रभावकारी हुने थियो । नबुझी संस्कृति मान्दा काम चलाउमात्र हुन्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई ज्ञान छोडेर जानु पर्छ । तन्त्र, मन्त्र गोप्य राख्नु पर्छ भनेर नयाँ पुस्तालाई नदिने गर्दा लोप भइरहेका छन् ।
प्रतिक्रिया