उखु ढुवानीमा सास्ती खेप्दै सुस्तावासी

1.32k
Shares

नवलपरासी। 

पश्चिम नवलपरासीकाे सुस्ता गाउँ पालिका ५ सुस्ता सम्म पुग्न नारायणी नदीमा पुल बने पनि उखु ढुवानीमा स्थानीयले पुरानै सास्ती खेप्नु परेको छ ।

नेपाली भूमी भएर पनि नारायणी नदीले धार परिवर्तन गर्दा सुस्तावासीले यस अघि पुल अभावमा सदरमुकाम परासी आउजाउ गर्न डुङ्गा र फेरीकै भरपर्नुपरेकाे थियो ।

लामो प्रयास पछि नदी पारीकाे सुस्ता गाउँलाई जाेडने गरी नेपालकै सबै भन्दा लामो १ हजार ५ सय ५८ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको हाे ।

पुल बने पछि सुस्तामा उत्पादित तरकारी फलफूल लगायतका खाद्यान्न साईकल,माेटर साईकल या भारी बाेकेरै स्थानीय पक्लिहवा, प्रतापपुर, त्रिवेणी लगायतका बजार ल्याउने गरेका छन् ।

तर सुस्ताका किसानले ठूलाे मात्रामा उत्पादन गर्ने उखु सिजनका बेला स्थानीय  लुम्बिनी,बाग्मती,इन्दिरा लगायतका चिनीमिलमा बिक्रीका लागि ल्याउन नदीकै भर पर्नु परेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताए ।

जैसवालले भने यस पटककाे बाढीले फेरी अर्थात् काठै काठ जोडेर बनाइएको डुङ्गा तहस नहस बनाई दिदा त्यसलाई नदीमा लगेर मिलाउने कार्यमै सुस्ताबासीकाे दिन बितेकाे छ ।

एउटा फेरीमा २/३ वटा उखु लाेड भएका टेक्टर राखेर तार्ने हाे, गह्रौं वजनले डुङ्गा नदीमा भासिन्छ ठेलेर ल्याउनु पर्दा अधिक खर्च र ठूलाे सास्ती खेप्नु परेको जैसवालले बताए ।

यही सास्तीले गर्दा कतिपय सुस्तावासीले गाउँकै खाडसारी वा भेली मिलहरूमा सस्तैमा भए पनि उखु बेेच्न बाध्य हुने गरेकाे स्थानीयको भनाई छ ।

उखु पेल्नका लागि सुस्तामा १ दर्जन बढी भेली मिल सञ्चालनमा रहेका छन् ।

ती मिलमा उत्पादन भएका गुण,भेली,सख्खर पनि उद्योगीले सहज रूपमा बेच्न पाएका छैनन् ।

कतिपय उद्योगीका नाममा नागरिकता प्रमाणपत्रकाे अभाव,उद्योग दर्ता प्रक्रियामा कठिनाइले गर्दा बिक्री बितरणमा समस्या रहेको बताईन्छ ।

बर्षाै देखि सुस्ता बचाउमा लागेका नेपालीलाई नागरिकताकाे विशेष व्यवस्था सहित,बिद्युत् जडान,उद्योग दर्ता आदिमा राज्यले सुविधा दिनु पर्ने स्थानीयको माग रहेको छ ।