सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि धरानमा भव्य कन्सर्ट


काठमाडौं ।

निकै लामो समयपछि हालैको एक साँझ पूर्वको चर्चित शहर धरानको धरान रंगशाला मैदान पूरै भरिएको थियो।
एकदिन अघिदेखि नै धरानमा छिमेकी देश भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडीलगायत स्थानबाट बाक्लो रूपमा दर्शक जम्मा भएका थिए। पूर्वका विभिन्न शहरस“गै पश्चिमतिर बुटवल, पोखरा, चितवनसम्मका दर्शक जम्मा
भएका थिए।

चिन्डेडाँडा धरानमा निर्माण गर्न लागिएको सांस्कृतिक धरोहर सुम्निमा पारुहाङको प्रतिमा निर्माण अभियानका लागि आयोजित दोस्रो च्यारिटी कन्सर्ट सुम्निमा पारुहाङ साँझ २०८१ मा चर्चित ब्यान्ड जोन एन्ड द लोकल्स् र पूर्ण राई एन्ड दाजुभाइहरूसँगै अर्काे लोकप्रिय ब्यान्ड सबिन राई एन्ड फ्यारोह एउटै स्टेजमा पहिलोपटक सांगीतिक प्रस्तुतिका लागि उत्रिएकाले भीड भएको थियो।

केही अबेर शुरू भए पनि लगातार कलाकारको प्रस्तुतिले पूर्ण मनोरञ्जक बन्न सफल कन्सर्ट अबेर रातिसम्म चलेको थियो। करिब १५ हजार दर्शकको सहभागितामा सम्पन्न कन्सर्टको सुरुवात धरानकी उदयीमान गायिका क्यामरिन माझी र उनको ब्यान्ड आरोहिज्ले भर्खरै दिवंगत धरानका गायक तथा संगीतकार नवराम राईलाई श्रदाञ्जली अर्पण गर्दै उनकै संगीत रहेको लोकप्रिय गीत गुराँसको फेदमुनि गाएका थिए। त्यस्तै, लोकप्रिय गायिका तथा पहिलो नेपाल स्टार विष्णु चेम्जोङले द्रव्य ब्यान्डसँगै लोकप्रिय गीत शान्ति लुकाउ कहा“, यादलगायत गीत गाएकी थिइन्।

युवा पुस्तामाझ चर्चित पूर्ण राई एन्ड दाजुभाइको प्रस्तुति पनि यादगार बन्न पुग्यो। ब्यान्डले आफ्ना चर्चित गीत मनका कुरा, कालो सेतो, तिम्रो माया उन्नान्सयलगायत चर्चित गीत गाएर आफूसँगै दर्शक झुमाएको थियो। पूर्ण राईको प्रस्तुतिपछि आफ्नो लोकप्रिय अन्दाजमा देखा परेको अर्काे लोकप्रिय ब्यान्ड जोन एन्ड द लोकल्स्को प्रस्तुति पनि अविस्मरणीय बन्न पुग्यो।

ब्यान्डका गायक जोन चाम्लिङले के गरूँ, भन् मात्र, फर्कन्नँ होला, प्रश्न, मुटु देखिनँ, बादल सरीलगायत गीत गाएर हजारौं दर्शकलाई झुमाए। कन्सर्टको अन्त्यमा स्टेजमा ओर्लेका अर्का लोकप्रिय गायक सबिन राई एन्ड फ्यारोहको प्रस्तुतिले कन्सर्ट ऐतिहासिक बन्न सफल भयो। सबिनले समर्पण मेरो, म संसार जित्ने आँट गर्दैछु, जाउँ कि बसूँ, तिमी नै हो, कोमल त्यो तिम्रो बदनामलागायत चर्चित गीत गएका थिए।

उनले अर्का गायक पूर्ण राईसँगै भर्खरै दिवंगत गायक तथा संगीतकार नवराम राईलाई श्रदाञ्जली अर्पण गर्दै उनीद्वारा संगीतबद्ध गीत गुराँसको फेदमुनि सम्झनाको छायाँ प्रस्तुत गरेका थिए। दुई चर्चित गायकले एकसाथ स्टेजमा गाउँदा दर्शक थप रोमाञ्चित बन्न पुगेका थिए।

नेपाली पप रक संगीतका हटकेक ब्यान्ड जोन एन्ड द लोकल्स् र पूर्ण राई एन्ड दाजुभाइस“गै सबिन राई एन्ड प्mयारोहको एउटै स्टेजमा एकै दिनको कन्सर्टमा प्रस्तुति पहिलोपल्ट भएकाले दर्शक निकै उत्साहित थिए।

कार्यक्रमको सञ्चालन इक्सा मादेन र महेश लिम्बूले गरेका थिए। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सम्पूर्ण कलाकारलाई धन्यवाद दि“दै सम्मान गरेका थिए। सम्पूर्ण कलाकारले कन्सर्टमा निःशुल्क प्रस्तुति दिएका थिए। सिल्भर इन्टरटेनमेन्टको निर्माण तथा व्यवस्थापनमा सुम्निमा पारुहाङ साँझ २०८० च्याप्टर– २ आयोजना भएको थियो।

कार्यक्रमबाट उठेको सम्पूर्ण रकम केही समयपछि सुम्निमा पारुहाङ प्रतिष्ठानमा बुझाइने कार्यक्रम संयोजक मीना सिंगकले बताइन्। यसअघि गतवर्षको चैत्र १० मा आयोजित सुम्निमा पारुहाङ सा“झ २०८० मा ६४ लाख ८८ हजार नौ सय १९ रुपिया“ रकम हस्तान्तरण गरिएको थियो।