काठमाडौं ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले बिहीबार सिद्वार्थ आर्ट ग्यालरी, बबरमहलमा कला–स्रष्टासँग लेखक कार्यक्रम आयोजना गरेको छ।
३८ वर्षदेखि परम्परागत पौभा कला क्षेत्रमा सक्रिय कलाकार सुन्दर सिंख्वालको साधनानामक पौभाको पहिलो एकल प्रदर्शनीमा आधारित रहेर गरिएको कार्यक्रमको नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले संयोजन गरेका थिए।
कार्यक्रममा कलाकार तथा प्रतिष्ठानका प्राज्ञ सभासदस्य सुन्दर सिंख्वालले कला, कलायात्रा, शैली, शिल्प, दर्शन, प्रभावजस्ता विषयमा प्रकाश पारेका थिए। प्रदर्शनीमा ३० पौभाचित्र समाविष्ट छन्। दुई तीनवटा छाडेर प्रायः सबै पौभा चित्र ६–७ वर्षको अन्तरालमा बनाइएका हुन्।
प्रदर्शनीमा हिन्दु र बौद्ध दर्शनमा आधारित पौभा छन्। जसमा हिन्दु दर्शनका गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर आदि तथा बौद्ध दर्शनका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, वसुन्धरा, बज्रधर, जम्भला (कुबेर), चक्रसंवर शक्ति, २१ तारा आदि छन्। पौभाहरू गौछे, वाटर, एक्रेलिक र ओयल कलरमा बनाइएका छन्।
प्रतिक्रिया