गत कार्तिक १९ गते (नेपाल संवत् ११४५, कछलाथ्व, तृतियाका दिन) एक समारोहका बीच ‘बहिनीको आँखामा अमर चित्रकार’ पुस्तक विमोचन भएको थियो । चित्रकार, मूर्तिकार स्व. अमर चित्रकारको सम्झनामा सावित्री सिंह चित्रकारद्वारा यस कृतिमा अमर चित्रकारको परिवार, बाल्यकाल, चित्रकलातर्पmको झुकाव, मूर्तिकला, तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको सदस्य, आजीवन सदस्यको कार्यकाल आदि विषय समावेश भएको पाउँछौँ ।
राज्यबाट ओझेलमा परेका कलाकारहरुको सम्मान गर्नुपर्छ भन्ने उद्देश्य लिई नयाँ पुस्ताहरुले पनि कलाक्षेत्रमा लाग्दा गर्नुपर्ने धैर्य, लगनशीलताको महत्व यस पुस्तकले दर्शाउन खोजेको प्रस्ट छ । आजको विषम सामाजिक अवस्थामा यो पुस्तक अध्ययन गर्ने सोख भएका सर्वसाधारणलाई पनि धेरै हदसम्म मन बहलाउने माध्यम हुने देखिन्छ । यसबाहेक कला क्षेत्र, इतिहास, समाजशास्त्र, संस्कृतितर्पm झकाव राख्ने वर्गहरु पनि यसबाट लाभान्वित हुने अपेक्षा गर्न सकिन्छ ।
राष्ट्रको सम्पत्ति मानिने कलाकारको उचित संरक्षण पनि देश विकासको परिचयात्मक अवस्था हो । राज्यबाट हालको विषम सामाजिक परिस्थितिको केही हदसम्म समाधान अथवा जनताको वितृष्णालाई हटाउनसमेत कलारुपी मलहमको उपादयेता तथा कलाकारितातर्फ थप सक्रियताको समेत अपेक्षा गर्न सकिन्छ । स्व. अमर चित्रकारले जीवित अवस्थामा उचित सम्मान पाएकै आभास हुन्छ तर आजका पुस्ताहरुले बिर्सन सक्ने चुनौती देखा परेको अवस्थाप्रति सावित्री सिंह चित्रकारको ‘अमर दाइलगायत कलाकारका कलाकृतिहरुको संरक्षणको माग सरोकारवालाहरुसँग यसै पुस्तकको माध्यमबाट गर्न चाहन्छु’ भन्ने भनाइ पनि समयसाक्षेप नै देखिन्छ ।
यो पुस्तकमा चार अध्याय विभाजन गरी, खण्ड (क) मा अमर चित्रकार, (ख) मा अमर चित्रकारका चित्रकला र मूर्तिकला, (ग) मा अमर चित्रकारका शब्द–सिर्जनाहरु तथा खण्ड (घ) मा लेखिकाको ‘आफ्नै कथा ः नर्सिङका ३५ वर्ष’ समाविष्ट छन् ।
खण्ड (क) मा अमर चित्रकारको बाल्यकाल र परिवार, बालकृष्ण सम, भूगोल पार्क र मित्रता, मूर्तिकलामा अमर दाइ, पृथ्वीनारायण शाह किन यति राम्रा ? आदि शीर्षकबाट वर्णित कुराहरु समेटिएका छन् । आफ्नो पुख्र्यौली व्यापारतर्पm नलागी चित्रकलातर्पm झुकाव हुनु, बम्बेमा गई तालिम लिनु, फिल्मका पोस्टरहरु लेख्नु आदिदेखि स्वदेश फर्केपछि जुद्ध शमशेरसँगको भेटमा आफूले बनाएको पहिलो मूर्ति जंगबहादुरको देखाएका (हाल यो राष्ट्रिय संग्रहालयमा रहेको) आदि घटनाहरु पढ्न सकिन्छ ।
हाल काठमाडौंलगायत देशका विभिन्न शहर र विदेशमा समेत उनीद्वारा निर्मित चित्र÷मूर्तिहरु राष्ट्रिय संग्रहालयलगायत अन्य स्थानमा देख्न सकिन्छ । उनीद्वारा निर्मित मूर्तिहरुमा पृथ्वीनारायण शाह, जंगबहादुर राणा, आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, चक्रपाणी चालिसे, भवानी भिक्षु, बालकृष्ण सम, राजा महेन्द्र, राजा वीरेन्द्र, बीपी कोइराला, मोतिराम भट्ट, महाकवि लक्ष्मीप्रसाद देवकोटा आदि रहेका छन् । तत्कालीन समयमा उनले प्राप्त गरेका सम्मानहरुमा त्रिशक्तिपट्ट द्वितीय, गोरखा दक्षिणबाहु द्वितीय, इन्द्रराज्य लक्ष्मी पुरस्कार, सर्वोत्कृष्ट परम्परागत कला पुरस्कार हुन् भने अन्तर्राष्ट्रिय मञ्च नेपालद्वारा वर्ष पुरुष उपाधि दिइएको थियो । यसै गरी वि.सं. २०३१ मा शुभराज्याभिषेक पदक पनि प्राप्त गरेका थिए भने बम्बई (मुम्बई) र लखनउमा समेत सम्मान गरिएको थियो ।
खण्ड (ख) मा अमर चित्रकारका चित्रकला र मूर्तिकलाअन्तर्गत विभिन्न मूर्ति तथा चित्रहरुको तस्वीर संकलन गरी उनको कृतिलाई झल्काइएको छ । हाल काठमाडौंलगायत देशका विभिन्न शहरहरु अनि विदेशमा समेत उनीद्वारा निर्मित मूर्तिहरु देख्न सकिन्छ । खण्ड (ग) मा अमर चित्रकारको साहित्यिक लेखन, इतिहास, कला–संस्कृति समाजको परिवर्तन हुने स्वरुप, राज्यको कला–संस्कृतिको संरक्षणमा भूमिका, कला र जनजीवनको तादात्म्य आदिको गहन विश्लेषण पढ्न सकिन्छ ।
तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा विभिन्न समयम दिएका प्रवचनहरुलाई प्रतिष्ठानले ‘परम्परागत र आधुनिक चित्रकालको एक झलक’ नाममा प्रकाशित पुस्तकबाट यो खण्ड उतार भएको देखिन्छ । यसमा उल्लेख भएका विभिन्न लेखका शीर्षकहरु यस प्रकार छन्– समबाट चित्रकलासम्बन्धी धेरै ज्ञान पाएँ, परम्परागत नेपाली चित्रकालको रुपरेखा, कलामा देखा परेका केही विभेदहरु, नेपाली जनजीवनमा चित्रकलाको भूमिका, वस्तुवादी चित्रको शैली र स्वभाव, हाम्रो जीवन र कला, प्राचीन नेपाल चित्रकलाको केही अध्ययन, कला र धर्म, आधुनिक चित्रशैली–विषय केही विचार हुन् ।
यी लेखहरुको प्रवचन मिति पनि उल्लेख भएको भए तत्कालीन परिवेश बुझ्न अझ थप मद्दत मिल्ने लाग्छ । यी लेखहरुमा इतिहास, दर्शन, कला, धर्म–संस्कृति, राज्य प्रणाली, शाषकवर्गहरुको संरक्षण नीति आदिमा चर्चा गरेका पाउँछौँ । यी विषयहरु सर्वसाधारण जिज्ञासुहरुलाई पनि रुचिकर लाग्ने अनुभूति हुन्छ । कलाक्षेत्रका विद्यार्थीलाई त विशेष उपयोगी हुने विश्वास गर्न सकिन्छ ।
त्यो पुस्तकको भूमिकामा तत्कालीन कुलपति सूर्यविक्रम ज्ञवाली लेख्नुहुन्छ, ‘ख्यातिप्राप्त चित्रकार तथा मूर्तिकार श्री अमर चित्रकार उपयुक्त दुवै कलाको पारम्परिक पद्धतिका ज्ञाता प्रयोगकर्ता हुनुहुन्छ । यसैले उहाँका प्रवचनहरुको यो सङ्ग्रहद्वारा अनेक प्राचीन विचार तथा पद्धतिको हामी परिचय पाउँछौँ । त्यसैले यो सानो पुस्तकको आफ्नै प्रकारको मूल्य तथा उपयोगिता छ । आधुनिक कालका जिज्ञासुको प्राचीनताका विषयमा जान्न खोज्ने प्रवृत्तिलाई यसले केही अंशमा पनि सन्तुष्ट गराउन सक्यो भने यसको उपादेयता स्वयं सिद्ध हुन्छ ।’
यसै गरी मन्तव्यमा तत्कालीन उपकुलपति लैनसिंह वाङ्देलको भनाइ छ– ‘कलाको क्षेत्रमा धेरै वर्ष काम गरी त्यस क्षेत्रमा धेरै अनुभव प्राप्त गर्नुभएका ख्यातिप्राप्त कलाकार श्री अमर चित्रकारले कलाका विभिन्न पक्षलाई दिनुभएका प्रवचनहरुको सङ्कलन गरी पुस्तकको रुपमा प्रकाशित गर्न पाउँदा हामीलाई खुशी लागेको छ । प्राचीन तथा अर्वाचीन कलाका विषयमा उहाँले आफ्ना अनुभवका आधारमा पोख्नुभएका विचारहरु रुचिकर तथा कलाका विद्यार्थीका लागि पनि उपयोगी सिद्ध हुनेछन् भन्ने कुरा मलाई दृढ विश्वास छ ।’
यी भनाइहरुलाई मनन गर्दा स्व. अमर चित्रकार मूर्तिकार, चित्रकार मात्र नभई साहित्यकारसमेत हुन् भन्न सकिन्छ । औपचारीक शिक्षा ६ कक्षासम्म मात्र अध्ययन गरी स्वाध्यायनको बानी, अनुभव, कार्यक्षेत्रको निपुणता आदिबाट यस्तो गहन विश्लेषणात्मक लेखहरु आउनु पनि कुनै हालतमा कम आँक्न सकिँदैन ।
राणाकालीन अवस्थामा कक्षा ६ को शिक्षा पनि कम स्तरीय नभएको आँकलन गर्न कठिन नहोला । अझ तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा सदस्यको नियुक्तिसँगै प्रत्येक सदस्यले तीन–तीन महिनामा प्रवचन दिनुपर्ने नियमबमोजिम प्रवचन दिन गाह्रो मानी दुःख मानेको, जीवनको पहिलो प्रवचन दिँदा गोडा कामेको बताउने उनको प्रवचनको अन्त्यमा सबै सदस्यले ताली दिएर प्रशंसा गरेको कुरा पनि अझ स्मरणीय लाग्छ । यस अर्थमा मूर्तिकार, चित्रकार र साहित्यकारतर्पm पनि आफ्नो कद अझ बढाएर गएको मान्न सकिन्छ ।
पुर्खाको गौरवता प्रस्तुत गर्न सक्षम, परिवारको शालीनता, सौहार्दता, संयुक्त परिवारको महत्ता झल्काउन सफल तथा तत्कालीन सामाजिक परिवेश, परम्परा, भोजभतेर र कलाको अन्तरसम्बन्धदेखि विश्वको समाज र कलाको भूमिकासहित स्व. अमर चित्रकारका लेखहरुको प्रस्तुति गहकिला मान्न सकिन्छ । यसलाई कृतिलाई स्कूल, कलेजतर्पm आवश्यकतानुसार पाठ्यक्रममा समावेश गर्न सके राष्ट्रको धरोहर सुरक्षित हुने अपेक्षा गर्न सकिन्छ ।
यहाँनिर स्मरणीय छ, हाम्रो पालामा कक्षा ८ वा ९ तिर सामाजिक शिक्षाको पाठ्यक्रममा सामान्यरुपमा यस्तो जानकारीमूलक पाठ त पढाइन्थ्यो नै, आजकाल भने देखेझैँ लाग्दैन ।
‘बहिनीको आँखामा अमर चित्रकार’ पुस्तिकाको खण्ड (घ) मा ‘आप्mनै कथा ः नर्सिङका ३५ वर्ष’ ले स्वास्थ्य क्षेत्रको जानकारी, कार्यस्थलको चुनौती तथा उपलब्धिहरु पढ्न पाइए पनि शीर्षकसँग अन्तरसम्बन्ध नभएकोले पुस्तकको गरिमा घटाएको हो कि भन्ने आभास हुन्छ । कृतिकारबाट स्वास्थ्य सेवाको आफ्नो ३५ वर्षको अनुभवलाई अझ विस्तृतरुपमा थप प्रकाशनको अपेक्षा गर्नु शायद गलत नहोला ।
पुस्तकमा शब्दहरुको त्रुटि एवं केही प्रसंगहरु दोहोरिएका पनि छन् । खण्ड (ग) का लेखहरुको साभार उल्लेख नहुनु पनि विडम्बना मान्न सकिन्छ । यसो त खण्ड (क) को सम्मानका शब्द गुच्छाअन्तर्गत तत्कालीन कुलपति र उपकुलपतिका भनाइहरु अध्ययन गर्दा खण्ड (ग) मा समावेश सबै लेखहरु ‘परम्परागत र आधुनिक चित्रकालको एक झलक’ पुस्तकबाट साभार गरेको अनुमान गर्न कठिनाइ हुँदैन । तर पनि सम्बन्धित खण्डमै यसको पुष्ट्याइँ भए अझ राम्रो हुन्थ्यो । यसै गरी पुस्तक प्रकाशक साहित्य पोस्ट भनी उल्लेख हुनु तर प्रकाशकीय भनाइ नहुनु पनि विडम्बना लाग्छ ।
यस्ता केही गल्ती भए पनि कृतिकारले भाइटीकाको भोलिपल्ट पुस्तक विमोचन गरी आफ्नो दिवंगत दाइसँगको अन्तिम टेलिफोन संवाद (लक्ष्मीपूजाको दिन)– ‘तिमी भोलि आउन सक्छौ ?’ ‘भाइटीकाको भोलि आउँछु’ भनी जवाफ दिएको प्रसंग आफूले भेट गर्ने भनेकै बिहान नभई निधन (वि.सं. २०५६ कार्तिक २५ तदनुसार नेपाल संवत् ११२०, कछलाथ्व, तृतियामा) भएको व्यथा र पछुतो लेख्न पनि छुटाउन भएन । त्यो दुई दिन पनि समयले नकुरेको मर्मस्पर्शी व्यथालाई तथा सोही दिनको सम्झनास्वरुप र समर्पण गरी स्व. अमर चित्रकारलगायत कलाकारहरुको कलाकृतिहरुको संरक्षणको माग सरोकारवालाहरुसँग गर्ने जमर्काे गर्नुभएकोमा साधुवाद !
प्रतिक्रिया