कवि बन्ने धुनमा काठमाडौं छिरेका दयाहाङ पत्रकारिता पढेर अभिनयमा जमे

0
Shares

नाटकबाट फिल्ममा उदाएका अभिनेता दयाहाङ राई नाटकदेखि फिल्मसम्म उत्तिकै रुचाइएका छन्। नाटकबाट फिल्ममा प्रवेश गरेदेखि दयाहाङले पछाडि फर्केर हेर्नुपरेको छैन। पछिल्ला केही फिल्मबाट असफलताको स्वाद पाए पनि उनको व्यस्तता र लोकप्रियता भने अहिले पनि उत्तिकै छ।


भोजपुरको पश्चिमी गाविस खावा वडा नं. ५ मा २०३७ साल वैशाख १ गते जन्मिएका उनले १६ वर्षसम्म आफ्नै गाउँमा खेतीपाती र गाईबस्तु गोठालो गर्दै गाउँकै दिल प्राथामिक विद्यालय, पशुपति मावि हँुदै अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसीसम्मको अध्यान गरेका थिए। एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आइएसम्म अध्ययन गरेका दयाहाङ भोजपुरबाट २०५८ सालमा लेखक तथा निर्देशक बन्ने सपनाका साथ काठमाडौं छिरेका थिए। फिल्म क्षेत्रमा लामो मेहनतपछि सफलता हात पारेका दयाहाङबारे केही रोचक तथ्य


 दयाहाङ भोजपुरबाट काठमाडौं झर्दा कवि बन्ने धुनमा थिए। पछि उनमा पत्रकार बन्ने सोच पलायो। त्यसैले उनले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढे। उनले कलेज जीवनमा राजनीति गर्नेदेखि संगीतसम्म सिके। नाटक र फिल्म क्षेत्रका व्यक्तिका साथ भेटघाट बाक्लो भएपछि भने उनी कला क्षेत्रमा आकर्षित भए।

 उनले पहिलोपटक सरुभक्तको नाटक सिरु मारानीमा अभिनय गरेका थिए। नाटक, अभिनय, लेखन तथा निर्देशनमा रमाउँदै गर्दा उनले सन् २००६ मा अनागरिक र मेरो एउटा साथी छ नामक फिल्ममा सानो भूमिका निर्वाह गरेका थिए। तर, ती फिल्मबाट भने दयाहाङले चर्चा पाएनन्।

 उनी फिल्ममा प्रवेश गर्दा हिरो भनेको ज्यान भएको खाइलाग्दो आकर्षक, अग्लो, फिट, चक्लेटी हुनुपर्छ भन्ने मान्यता हाबी थियो। तर, उनी औसत हाइट र सामान्य रुपरंगका थिए। अभिनयका खानी दयाहाङसँग हिरोमा देखिनुपर्ने मापदण्ड भने थिएन।

 फिल्म लुटमा गोफ्लेको भूमिकाबाट रातारात लोकप्रियता कमाएका दयाहाङ त्यसमा सहअभिनेताको भूमिकामा थिए। २०७० सालमा प्रर्दशनमा आएको फिल्म कबड्डीपछि उनले फिल्म क्षेत्रबाट पछाडि फर्केर हेर्नुपरेन। त्यसपछि बधशाला, साँघुरो, टलकजंग भर्सेस टुल्के, कबड्ी सिरिज, सेतो सूर्य, जारी, नाङ्गो गाउँ, दयारानी, गाउँ आएको बाटो, जारी, घरज्वाईजस्ता दर्जनौं फिल्ममा काम गर्दै आएका छन्।


 केहीलाई छोडेर धेरैजसो फिल्म मन पराइएपछि दयाहाङ नेपाली फिल्ममा ब्राण्डको रूपम खडा भए। दयाहाङलाई लिएमा फिल्म हिट हुन्छ भन्दै निर्माताहरूले उनलाई भटाभट फिल्ममा लिन थाले। दयाहाङलाई अफर आएका सबै फिल्ममा काम गरेर फिल्मको सङ्ख्या बढाउने र सम्पत्ती कमाउने चक्करमा लागेको भन्ने आरोप पनि लाग्ने गर्छ।

 अभिनयले खारिएका दयाहाङका बारेमा अभिनेता निर शाहले भनेका थिए दयाहाङ राईजस्तो मान्छे आधा शताब्दीमा एक पटकमात्र जन्मन्छ। दयाहाङमा स्वाभाविक र सरल अभिनय शैली छन्। उनी गुरुङ, मगर, राई समुदायका विभिन्न चरित्रमा देखिएका छन्। उनले धेरैजसो गाउँले चरित्रमा अभिनय गरेका छन्। र यस्ता भूमिकामा रुचाइएका पनि छन्।

 साथीहरूसँग चिया पसलमा नाटकको बारेमा गफिँदै आफ्नै स्थानको आवश्यकता महसुस गरेर उनले आफ्ना नाट्यकर्मी साथीसँगको सहकार्यमा मण्डला नाटकघरको स्थापना गरेका थिए। उनले कयौँ नाटकमा अभिनय गरेका छन् भने डिग्री माइलालगायत केही नाटक निर्देशन पनि गरेका छन्।

 चुलिँदो लोकप्रियतामा पनि साधारण जीवनशैली र सरल स्वभावका कारण दयाहाङ दर्शकमाझ मात्र होइन, फिल्म उद्योगमै रुचाइएका छन्।