कोप २९  सम्मेलन: नेपालको दरिलो उपस्थिति 

जलवायु वित्तको परिमाण उल्लेख्य रूपमा बढ्ने अपेक्षा

1.13k
Shares

बाकु (अजरबैजान)

समुन्द्री सतहबाट २८ मिटर (९२ फिट) तल  रहको अजरबैजानको सुन्दर राजधानी शहर  बाकुमा  जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) समापनको क्रममा छ । विशेष गरी जलवायु वित्त, हानी नोक्सानी न्यूनीकरण र त्यसले पारेको असरलाई व्यवस्थापन गर्न फन्ड स्थापनाको तयारी , हिमालको संरक्षण , प्रविधि हस्तान्तरण, कार्बन फाइनान्स लगायतका विषयमा महत्त्वपूर्ण निर्णय गर्दै यो सम्मेलन भोलि शुक्रवार सकिँदै छ ।
 
  जारी कोप २९ सम्मेलनमा नेपालले  हिमाल र पृथ्वीको सुरक्षाका  मुद्दालाई सशक्त रुपमा उठाइरहेको छ । साथै नेपालले एलडिसिका मुद्धाहरु, जलवायु वित्त, फन्ड निर्माण व्यवस्थापन, कार्बन व्यापार र वित्तका विषयलाई समेत जोडतोडले उठाइरहेको छ । 

 विश्वका ४० भन्दाबढी मुलुकका राष्टप्रमुख तथा एकसय ९६ मुलुकका उच्च पदस्थ प्रतिनिधिहरु संलग्न रहेको सो सम्मेलनमा नेपालले हिमाल र पृथ्वीको सुरक्षाको मुद्दाका साथै  जलवायु वित्त,जलवायूजन्य हानी नोक्सानी न्यूनीकरण,कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्राविधिक र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, लैगिक समानता र समावेशीकरण विषयमा विभिन्न कार्यपत्र मार्फत ती मुद्धाहरुलाई अन्तर्राष्ट्रिय रुपमा राख्न सफल भइरहेको वन तथा वातावरण  मन्त्रालयका सचिव डा दीपक खरालले जानकारी दिए। 

 सम्मेलनमा  २९ वटा बैठक कक्ष छन् ।  नेपाल लगायतका विकासोन्मुख मुलुकहरूले पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने, तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियस कायम राख्नुपर्ने, जलवायु वित्त  बढाउनुपर्ने, पर्वत र पृथ्वीको सुरक्षा गर्नुपर्नेलगायतका मुद्दामा  व्पापाक बहस पैरवी गरिरहेका छन् । सोही आधारमा सम्मेलनले महत्त्वपूर्ण निचोड निकाल्ने विश्वास गरिएको छ । 

  नेपालले हाल वन तथा वातावरण  मन्त्रालयका सचिव डा खरालको नेतृत्वमा विभिन्न छलफल कार्यक्रममा सक्रिय सहभागिता जनाइरहेको छ भने जलवायु परिवर्तन , कार्बन व्यापार बारेमा विभिन्न सम्झौता र हस्ताक्षर भइरहेको छ । नेपालको तर्फबाट राष्टप्रमुखको रुपमा सहभागिता जनाउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेर फर्किसकेका छन् । 

कोपमा आउनुअघि नै कोपमा प्रस्तुत गरिने विषयमा सरोकारवालासँग व्यापक छलफल गरी नेपालले   स्थितीपत्र तयार गरेको थियो । सोही आधारमा  सम्मेलनमा नेपालका अधिकारीहरुले विषयगत एजेन्डामा सक्रिय बहस पैरवी गरिरहेका छन् । नेपालले  सम्मेलन सुरु हुनुअघि राष्ट्रिय जलवायु सम्मेलन गरी स्थितीपत्रमा राष्ट्रिय सहमति कायम गराएको थियो ।  

सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रप्रमुख रामचन्द्र पौडेलले गरेका थिए । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपक खराल ,मन्त्रालयका अन्य प्रतिनिधिहरू, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरु , अन्तरसरकारी निकायका प्रतिनिधिहरू, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी लगायतले सम्मेलनमा सहभागिता जनाइरहेका छन् । 

 प्राविधिक सत्रमा सहभागी भएका नेपाली अधिकारी तथा विभिन्न प्रतिनिधिहरुले नेपालको हितका लागि जलवायुसम्बन्धी ‘एजेन्डा’ कार्यान्वयनमा जोड दिइरहेका छन्  । मन्त्रालयले महासन्धि र पेरिस सम्झौताअन्तर्गतका सात वटा विषयगत क्षेत्रमा प्रत्येकमा सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी सबै समानान्तर वार्ताहरूमा नेपालको सशक्त उपस्थिति र हस्तक्षेप भइरहेको जनाएको छ । सम्मेलनका क्रममा सुरुवाती  दिनमा  वन मन्त्री शाही ठकुरीको  नेतृत्वमा विभिन्न दातृ राष्ट्र तथा निकायसँग नेपालको हितमा द्विपक्षीय वार्ता समेत भएका थिए । ती वार्ताहरुले भविष्यमा सुखद परिणाम दिन सक्ने विश्वास वन मन्त्रालयका अधिकारीहरुले गरेका छन् । 

वन तथा वातावरण मन्त्रालयका सचिव डा खरालले सम्मेलनमा एलडीसीका तर्फबाट  जलवायु वित्त बढाउन विकसित पक्ष राष्ट्रलाई सहमतिमा ल्याउन प्रयास भइरहेको जानकारी दिए । सचिव खरालले  कोप २९ सम्मेलनले पेरिस सम्झौता कार्यान्वयनका लागि सकारात्मक निर्णय लिने  कार्बन व्यापारका लागि आधारहरू तय गर्ने , अनुकूलन तथा जलवायु न्यूनीकरण र जलवायुजन्य हानी नोक्सानीका लागि आवश्यकता पर्ने जलवायु वित्तको परिमाण उल्लेख्य रूपमा बढाउने तर्फ आवश्यक निर्णय हुने  अपेक्षा गरिएको जानकारी दिए । सम्मेलनमा सहभागी हुनुभएकी प्रतिनिधि सभाकी सदस्य मैना कार्कीले कोप २९ मा  नेपाली पक्षले महत्त्वपूर्ण एजेन्डाहरू राख्न सफल भइरहेकाले महत्त्वपूर्ण उपलब्धि हात पर्न सक्ने विश्वास व्यक्त गरिन् । 

नेपालले यसरी जनाइहरेको छ कोप २९ मा  सक्रिय सहभागिता 

वन तथा वातावरण मन्त्रालयका सहसचिव सिन्धु ढुंगानाका अनुसार सम्मेलनमा २९ वटा बैठक कक्ष छन् । सबैमा समानान्तर छलफल भइरहेको छ । वन तथा वातावरण मन्त्रालयले  नेपालबाट आएका प्रतिनिधिलाई फरक भूमिका दिएर छलफल मार्फत वहसपैरवी गराइरहेको छ । नेपालका प्रतिनिधिहरुले थिमेटिक रुपमा पैरवी गरिरहनुभएको   र आफ्ना एजेन्डालाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउन प्रभावकारी भूमिका निर्वाह गरिरहनुभएको मन्त्रालयका सहसचिव ढुंगानाले जानकारी दिए । 

 मन्त्रालयले सबै छलफलमा आफ्नो सक्रिय सहभागिता जनाउन  सात जना सह–सचिवहरूको नेतृत्वमा सात वटा मुख्य विषयगत क्षेत्रमा सरकारका सरोकारवाला निकायका  अधिकारीहरू, जलवायु विज्ञ, नागरिक समाजका प्रतिनिधिलाई, प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यसमेत सहभागी गराई सबै वार्ता बैठकमा नेपालको उपस्थिति हुने गरी प्रबन्ध मिलाइएको जनाएको छ । मन्त्रालयले  आवश्यकता अनुसार विज्ञ र प्राविधिकहरुलाई परिचालन गरिरहेको छ । मन्त्रालयका अधिकारीहरु रातिको समयमा पनि एकै पटक  धेरै वटा समानान्तर वार्तामा सहभागी भइरहेका छन् ।  विषयगत कार्य समूहमा तोकिएका सबै प्रतिनिधि राती अबेरसम्मका बैठकमा सहभागी भइरहेका छन् । मन्त्रालयका अधिकारीहरुले कोप २९ मा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय जगतमा देखिने र सुनिने गरी काम गरिरहेको दाबी गरेका छन् । 

हामीले कोप २९ मा   अन्तर्राष्ट्रिय जगतमा देखिने र सुनिने गरी काम गरिरहेका छौँ- डा दीपक खराल  सचिव, वन तथा वातावरण मन्त्रालय

कोप २९ मा नेपालका मुद्धाहरुलाई सशक्त किसिमले राख्न सफल भएका छौँ  । यसको लागि हामीले केही  महिनादेखि नै राम्रो किसिमले पूर्व तयारी गरेका थियौं । कोपमा प्रस्तुत गरिने विषयमा सरोकारवालासँग व्यापक छलफल गरी उहाँहरुको धारणा  समावेश गरी सात वटा विषयगत कार्यसमूह बनाएर  स्थिति पत्र तयार गरी ल्याएका थियौ । सोही अनुसार कोपमा नेपालका मुद्धाहरुलाई राखेर स्थापित गर्न सफल भएका छौँ । हामीले कोप २९ मा अन्तर्राष्ट्रिय जगतमा देखिने र सुनिने गरी काम गरेका छौँ  । विभिन्न वार्ताबाट भएका निर्णयका आधारमा जलवायु वित्तका परिमाण बढ्ने, कार्बन व्यापार को आधार तयार हुने र हाम्रो जस्तो अल्पविकसित  मुलुकका  लागि जलवायु वित्तमा सहज पहुँच बढ्ने  हुँदा नेपालको जलवायु अनुकूलनको पक्षमा भावी दिनहरुमा महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिएका छौँ । एलडिसी, जी ७७ , चीन लगायतका समूहबाट महत्त्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिएकाले हामी सुखद नतिजाको पर्खाइमा छौ ।