पत्रकार सुरेश भूल हत्याको प्रसंग

7.8k
Shares

गौरीगङ्गा नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयनजिकै कान्तिपुर टोलमा एउटा मेडिकल छ । छेउमै फोटो स्टुडियो र फोटोकपी पसल पनि छ । त्यो मेडिकल भने पत्रकार तथा सूचनाका अभियन्ता सुरेश भूलको हो । वडा कार्यालयको शौचालयबाहिर एउटा बाख्रो जाडोले काँपेर बसिरहेको हुन्छ ।

त्यसै बखत पत्रकार सुरेश वडा कार्यालयको शौचालयमा पुग्छन् । उनले त्यहाँ जाडोले काँपिरहेको बाख्रो देख्छन् । त्यो काँपिरहेको बाख्रो समातेर सुरेशले आफ्नो मेडिकलको बाहिर बाँधेर राखेका हुन्छन् । कात्तिक २० गते मेडिकल नजिकै बाँधिएको बाख्रो सोही टोलकी बिस्ना भूलको हुन्छ ।

सुरेशको मेडिकल पसलबाहिर आफ्नो बाख्रो बाँधेर राखिएको खबर बिस्नालाई सुनाइन्छ । बिस्ना आफ्नो बाख्रो लिन जानुको सट्टा आफन्तसहित अस्थायी प्रहरी चौकी मुसुरियामा सुरेशले बाख्रा चोरेको भन्दै उजुरी दर्ता गर्न पुग्छिन् ।

प्रहरीमा उजुरी परेपछि सुरेश र बिस्नाबीच बाख्रोबापतको ३० हजार रुपियाँ रकम दिने र बाख्रो पनि दिने सहमति हुन्छ । तर सहमतिअनुसार सुरेशले त्यही दिन ३० हजार रुपियाँ दिँदैनन् । कात्तिक २२ गते शनिबार बेलुकी बाख्राधनी बिस्नाका आफन्त र छिमेकी सुरेशको पसलमा आइपुग्छन् । उनीहरुले ३० हजार रुपियाँ नदिएको भन्दै सुरेशलाई मरणासन्न हुने गरी कुटपिट गर्छन् । कात्तिक २४ गते उपचारको क्रममा सुरेशको मृत्यु हुन्छ ।


निगरानी डटकम अनलाइनका समाचारदाता सुरेशको हत्यामा संलग्न १९ वर्षका दिनेश भूल, ३८ वर्षकी रमा रावल, ३१ वर्षका धर्म विक र २७ वर्षका रमेश रावललगायत केही दोषीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

पत्रकार सुरेशको परिवारले ८ जनाविरुद्ध किटानी जाहेरी दिएको छ । तर प्रहरीले सबै दोषीलाई अहिसम्म पनि पक्राउ गर्न सकेको छैन । सामान्य विषयलाई लिएर घटना भएको देखिए पनि राष्ट्रिय दलित पत्रकार संघ नेपाल, कैलाली जिल्लाका सचिवसमेत रहेका पत्रकार सुरेशलाई हत्या गर्नुको पछाडि धेरै कुरा लुकेको देखिन्छ ।


घटनाको पृष्ठभूमि हेर्दा पत्रकार सुरेशमाथि नियोजितरूपमा आक्रमण भएको र उक्त आक्रमणबाट ज्यान गुमाएको तथ्य प्रस्ट देखिन्छ । घटनाअघि र घटनापछि देखिएको गतिविधिले पनि यसमा नियोजित हो भन्ने कुरामा द्विविधा छैन । यो कुरालाई राष्ट्रिय दलित पत्रकार संघ नेपालले गरेको स्थलगत अध्ययनले पनि पुष्टि गरेको छ । घटनापश्चात् प्रहरीमा दिएको जाहेरी र पक्राउ परेका व्यक्तिहरु विभिन्न प्रत्यक्षदर्शीको भनाइबाट पनि सामान्य घटना दुःखद अवस्थामा पुगेको देखिन्छ । अध्ययनपछि संघले सुरेशको हत्या प्रकरणलाई गम्भीर घटनाका रुपमा लिएको छ ।


संघको प्रतिवेदनले दलित समुदायका युवा पत्रकार सुरेशमाथिको आक्रमण नियोजित भएको देखाउँछ । संघले गरेको स्थलगत अध्ययनपछिको प्रतिवेदनमा भनिएको छ, ‘सुरेश दलित समुदायको भएकाले दलितलाई नै प्रयोग गरी उनीमाथि आक्रमण भएको देखिन्छ, बाख्रा हराएको र चोरीको आरोप केवल बहाना मात्र हो भन्ने कुरा पीडित परिवार र प्रत्यक्षदर्शीहरुको भनाइले पनि प्रस्ट गरेको छ ।’ घटना र विवादको पृष्ठभूमि बुझ्दाबुझ्दै पनि इलाका प्रहरी कार्यालय मुसुरिया र स्थानीय जनप्रतिनिधिले घटनालाई संवेदनशीलरुपमा लिएको देखिँदैन ।


राज्यले यो घटनालाई सामान्यरुपमा लिनुहुँदैन, बरु यसलाई अति संवेदनशीलरुपमा लिनुपर्छ । छानबिन र अनुसन्धानलाई फराकिलो बनाई सबै दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ र कडा कारबाही गरिनुपर्छ । राज्यले पीडित परिवारलाई राहत र न्यायिक क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । घटनाको संवेदनशीलताप्रति बेवास्ता गर्ने प्रहरी कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ ।