तिहार र छठ पर्वको रौनक देशैभरि चलिरहँदा महोत्तरीको बलवा नगरपालिका–१० धमौराको माहौल भने अलि भिन्न थियो । गाउँलाई असाध्यै माया गर्ने आफ्ना प्रिय अभिभावक स्वर्गीय तेज नारायण सिंहको स्मृति सभाले त्यहाँको वातावरण छिमेकी गाउँको भन्दा भिन्न बनाएको थियो ।
धमौरास्थित श्री जनता राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा स्वर्गीय सिंहको दोस्रो पुण्यतिथिको सन्दर्भमा विशेषगरी तीनवटा महत्त्वपूर्ण कार्य भइरहेको थियो । जसमा पहिलो विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गाउँलेहरूलाई उनीहरूकै घरछेउमा मुटुरोगसँग सम्बन्धित निःशुल्क जाँच र स्वास्थ्यसम्बन्धी सचेतनात्मक कार्यक्रम भइरहेको थियो । दोस्रो सो विद्यालयको शैक्षिक विकासका निम्ति आर्थिक सहायता र तेस्रो गाउँलाई असाध्यै माया गर्ने व्यक्तिको सम्झना गरिँदै थियो ।
उक्त विद्यालय स्वर्गीय सिंहले नै स्थापना गर्नुभएको थियो । तत्कालीन अवस्थामा उच्च शिक्षा प्राप्त व्यक्ति शहर गई आफूले मात्रै अवसर नखोजेर गाउँमै बसी गाउँलेको शिक्षा दीक्षा, कृषि उत्पादन र आयआर्जन बढाउनेतर्फ प्रतिबद्ध भई लाग्नुभएका स्वर्गीय तेज नारायण सिंहको स्मृतिमा बाक्लोे उपस्थित थियो । जहाँ जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय नेता, शिक्षक, विद्यार्थी, अभिभावक, स्वर्गीय सिंहका मित्रहरू, आफन्त र शुभेच्छुक मात्रै होइन ठूलो संख्यामा युवापुस्ता पनि सहभागी थियो । उनीहरूमध्ये केहीले अभिव्यक्तिमार्फत्, कसैले मनमनै त कसैले पुष्पगुच्छाले स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली दिए । जसले जसरी श्रद्धाञ्जली दिए पनि त्यहाँ उपस्थित सम्पूर्णले स्वर्गीय सिंहलाई श्रद्धापूर्वक सम्झिए । उहाँप्रति गाउँलेहरुको उच्च सम्मान रहेको दृष्टान्त त्यहाँको उपस्थितिले पनि उजागर गरेको थियो ।
स्वर्गीय सिंहले गाउँलेको आय आर्जन र उत्पादन बढाउन आधुनिक कृषि, नगदेबालीको खेती गर्न सहयोग गर्नुका साथै समाजमा आइपर्ने हरेक समस्याको समाधान गर्न आफैं अगाडि सर्नुहुन्थ्यो । गाउँका समस्या लिएर सदरमुकामदेखि राजधानीसम्म धाउनु हुन्थ्यो । उहाँले नजिकबाट हेर्ने मित्रहरूमध्ये एक रहेकाले मैले उहाँ एक असल सोच भएको इमान्दार र सोझो व्यक्ति हुनुहुन्थ्यो । जसले गाउँलाई असाध्यै माया गर्नहुन्थ्यो, विचार नमिल्ने व्यक्ति भए पनि यदि कोही उहाँसँग सहयोगको याचना लिएर पुगेको अवस्थामा जोसुकै भए पनि सहयोग गर्नुहुन्थ्यो । आफ्नो मात्रै स्वार्थ हेर्नुहुँदैन्थ्यो । पढेलेखेको व्यक्ति गाउँमै बसेको देख्दा शुरू शुरूमा अनौठो लाग्ने गरे पनि गाउँप्रतिको सर्मपणभावका कारण पछिल्ला दिनमा उहाँँप्रति सम्मान बढ्दै गएको थियो ।
निःशुल्क मुटु शिविर
स्वास्थ्य सेवामा बढी रुची राख्ने र आफैं पनि स्वास्थ्य सचेतना भएको व्यक्तिका रुपमा स्वर्गीय सिंह हुनुहुन्थ्यो । बिरामी गाउँलेको उपचारका निम्ति आफैं खटिनुहुन्थ्यो । गाउँलेहरुमा स्वास्थ्य समस्या नहोस् भनेर सम्झाउनुहुन्थ्यो । उहाँको स्मृतिमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा ग्रामीण क्षेत्रमा दुर्लभ मानिएको मुटु जाँच गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनुले उहाँप्रतिको सच्चा श्रद्धाञ्जली भएको देखिन्छ ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने न्यून आय भएका तथा सिमान्तकृत समुदायका मानिसको उच्च सहभागिता रहेको शिविरमा मुटुरोग, मधुमेह, उच्च रक्तचापलगायतको जाँच गर्नुका साथै अन्य स्वास्थ्य समस्याका बारेमा आवश्यक परामर्शसमेत दिइएको थियो । त्यसक्रममा ईको, ईसीजी, रगत जाँच गरी आवश्यक औषधि एक महिनासम्मका लागि निःशुल्कसमेत प्रदान गरिएको थियो । साथै स्थानीयबासीलाई खानपान, स्वास्थ्यसम्बन्धी अन्य जानकारी दिइएको थियो । पाँच दिनसम्म चलेको शिविरमा हरेक दिन सय जनाभन्दा बढी गरी करिब सात सय जनाले सेवा प्राप्त गरेका थिए ।
श्री जनता राष्ट्रिय माविको शैक्षिक विकासमा पहल
वि.सं.२०२७ सालमा स्वर्गीय सिंहले आफ्नै जग्गामा श्री जनता राष्ट्रिय मावि स्थापना गर्नुभएको थियो । विद्यालय सञ्चालनका निम्ति १६ विघा जग्गासमेत दान दिनुभएका सिंहले तीन दशकसम्म व्यवस्थापकीय नेतृत्वको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो । व्यावसायिक शिक्षासमेत प्रदान गरिने सो विद्यालयमा वार्षिक २ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् । जसमध्ये न्यून आय भएका तथा सिमान्तकृत समुदायका बालबालिकाको संख्या उच्च छ ।
उहाँले आफ्नो गाउँमा मात्रै होइन छिमेकी गाउँहरूमा पनि विद्यालय स्थापना, विद्यार्थी भर्ना, शिक्षक छनोट र विद्यालय सञ्चालनका निम्ति स्रोतको सुनिश्चतता र अतिरिक्त क्रियाकलापमा जोड दिँदै शिक्षक तथा विद्यार्थीलाई उत्प्रेरित गर्नुहुन्थ्यो ।
उक्त विद्यालयको शैक्षिक विकासका निम्ति स्वर्गीय सिंहका छोराहरू डा. ओम मूर्ति अनिल, अभय सिंह र अजित सिंहले ५ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्नुभयो । बुबाले रोप्नुभएको विरुवा हुर्काउन उहाँहरुको योगदान पनि प्रशंसनीय छ ।
डा. ओम फाउन्डेसनको सहभागिता
शिक्षा तथा समाजसेवी स्वर्गीय तेज नारायण सिंहका कान्छा छोरा एवम् मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले स्वास्थ्य, शिक्षा तथा सामाजिक रुपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले ‘डा. ओम फाउन्डेसन’ स्थापना गर्नुभएको हो । समाज सेवामा पाइला चाल्ने प्रेरणा र मार्गदर्शन बुबाबाट प्राप्त भएको डा. अनिलको भनाइ छ ।
उहाँले बुबाको स्मृतिमा फाउन्डेसनमार्फत् गत वर्ष पनि आफ्नो गाउँमा मुटु शिविर सञ्चालन गर्नुभएको थियो । त्यसबाहेक स्वास्थ्य, शिक्षा तथा सामाजिक रुपान्तरणका क्षेत्रमा फाउन्डेसनले काम गरिरहेको छ ।
जीवन्त सम्बन्धले चीरस्थायी
बुबाको निधनपश्चात् शोकमा रहनुभएका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले बुबासँग बिताएका पलको स्मरण गर्दै आमा बुबाप्रतिको सन्तानको दायित्व, समर्पण, पारिवारिक सम्बन्ध, सामाजिक परिवेश आदिका बारेमा ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक लेख्नुभएको छ । जुन पुस्तक एक वर्षको अवधिमा ३० हजारभन्दा बढी संख्यामा बिक्री भएको छ । सो पुस्तकको बिक्रीबाट प्राप्त सम्पूर्ण रकम उहाँले फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्चिनु भएको छ । जसले उहाँको बुबाको नामलाई चीरस्थायी बनाएको छ ।
(अवकासप्राप्त कृषि सामग्री प्रशासन विज्ञ झा स्वर्गीय सिंहका मित्र हुनुहुन्छ)
प्रतिक्रिया